रवि लामिछाने फेरि प्रहरीको हिरासतमा

काठमाडौं । कास्की प्रहरीको हिरासतबाट छुटेका रास्वपा सभापति रवि लामिछाने ७२ घण्टा नबित्दै काठमाडौं प्रहरीको हिरासतमा पुगेका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत बिहिबार धरौटीमा छुटेका लामिछानेलाई फेरि प्रहरी हिरासतमा लगिएको छ । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण सम्बन्धि मुद्दाको थुनछेक बहस नसकिएकाले उनलाई पुनः हिरासतमा लिइएको हो ।

आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको अपरान्ह ३ बजेसम्म बयान लिइएको थियो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान लिएर थुनछेक बहस अघि बढाइएकोमा इजलाशले न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।

लामिछानेका कानुन व्यवसायीहरूले प्रहरी हिरासतमा नपठाएर परिवारको जिम्मामा छाड्न माग गरेका थिए । लामिछाने आफैंले पनि आजै बहस सकिदिन वा परिवारको जिम्मा लगाउन माग गरेकोमा इजलाशले कसैलाई थुन्ने र कसैलाई छाड्ने आदेश गर्न नमिल्ने भन्दै हिरासतमा पठाउन आदेश दिएको हो ।

थुनछेक बहसमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस गरेका थिए । थुनछेक बहस भोलि पनि हुनेछ ।

मध्यपहाडी लोकमार्गको कास्की-बागलुङखण्डमा १९३ किमि कालोपत्रे

बाग्लुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ । कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किमि र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किमि सडक कालोपत्र हुन बाँकी छ । आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी रहेको ५१ किमि सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । लमजुङसँगको सिमानामा पर्ने कास्कीको भैँसेदेखि रुदीखोलासम्म १६ किमि सडक भने पर्वतस्थित आयोजना कार्यालयका प्रमुख शम्भुप्रसाद आचार्यले जानकारी दिए । याम्दीदेखि पर्वत हुँदै बागलुङको मालढुङ्गासम्मको सडक पनि कालोपत्र गरेर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको उनले बताए । मालढुङ्गादेखि बागलुङ सदरमुकामको उपल्लाचौरसम्मको पाँच किमि सडक चौडा र स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहेको प्रमुख आचार्यको भनाइ छ । उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २६ किमि सडकमध्ये १३ किमि कालोपत्र भइसकेको र १३ किमि कालोपत्र हुने चरणमा रहेको उनले बताए । उक्त खण्डको काम लामो समयसम्म अलपत्र परेपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत काम काम सुरु गरिएको प्रमुख आचार्यले बताए । ‘बयलडाँडादेखि घोडाबाँधेसम्मको कालोपत्र एक वर्षभित्र पूराना गर्ने लक्ष्य लिइएको छ’, उनले भने, ‘उपल्लाचौरदेखि बयलडाँडासम्मको खण्डमा पनि पाँच किमि सडक कालोपत्र हुन बाँकी छ ।’ घोडाबाँधेदेखि रुकुमपूर्वको सीमाना पातीहाल्नेसम्मको ९९ सय किमि सडक भने कालोपत्र भइसकेको छ । घोडाबाँधेदेखि-हटियासम्म कालोपत्र गरिएको सडक जीर्ण भएपछि मर्मत सुधार गरिएको आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले जानकारी दिए । पश्चिमतर्फको खण्डमा पनि आयोजना कार्यालयमार्फत सडक मर्मतसम्भारको काम भइरहेको छ । निसीखोला गाउँपालिका हुँदै पातीहाल्ने जोड्ने सडकमध्ये १४ किमि सडक मात्र सडक डिभिजन कार्यालयलाई हस्तान्तरण भएको छ । अन्य खण्डमा भने निर्माण कम्पनीले योजना फरफराक समयमा नगरेका कारण हस्तान्तरण हुन बाँकी छ । सूचना अधिकारी सुवेदीले कास्की, पर्वत र बागलुङमा पर्ने लोकमार्गअन्तर्गतको सडक खण्ड स्तरोन्नति गरी दुई लेन कालोपत्र गरिने बताए । सडक स्तरोन्नतिसँगै उक्त खण्डभित्र कास्कीको याम्दी खोला, पानीबिहाद, पर्वतको तमादी खोला, सुन्दरे खोला र बागलुङको काठेखोलामा गरी पाँच पुल निर्माणाधीन अवस्थामा रहेका छन् । पर्वतको मोदी र पाती खोलामा ठेक्का व्यवस्थापन भई डिजाइन स्वीकृतिको क्रममा रहेको आयोजना कार्यालयले जनाएको छ । लोकमार्गअन्तर्गत कास्की, पर्वत र बागलुङमा सडक तथा पुल निर्माणका लागि चालु आवमा ७६ करोड ८० लाख विनियोजन भएकामा गत मङ्सिर मसान्तसम्म २० करोड ४० लाख ४८ हजार पाँच सय १२ खर्च भइसकेको सूचना अधिकारी सुवेदीले बताए । ठेक्कामार्फत सडक र पुलका गरी ११ वटा योजना सञ्चालनमा रहेको उनको भनाइ छ । लोकमार्गअन्तर्गतकै हरिचोक–याम्दी खण्ड पनि कालोपत्रका लागि अहिले ‘प्लान्ट’ राख्ने काम भइरहेको सूचना अधिकारी सुवेदीले बताए । करिब २२ सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो । आगामी माघभित्र सडक कालोपत्रको काम पूरा हुने जनाइएको छ । दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले उक्त सडक निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक समयमा निर्माण हुन सकेको थिएन । समयमा काम नभएपछि आउँदो चैतसम्मलाई ठेक्काको म्याद थप गरिएको थियो । दुवैतर्फ चार लेनको सडक बनिसक्दा पनि उक्त खण्ड निर्माण नहुँदा लोकमार्गको यात्रामा असहजता थपिएको थियो । विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्याजस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ हुँदै आएको थियो । लोकमार्ग आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले कामको गति बढाएको थियो ।

सर्वेन्द्र खनालले छाडे नेकपा एमाले

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू  कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको बताएका हुन् ।  उनले लेखेका छन्– 'हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन। म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। ' उनले आगामी दिनमा देश र समाजको हितका लागि आफ्नो समय व्यतीत गर्ने पनि उल्लेख गरेका छन् । खनाल औपचारिक रूपमा ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका थिए ।  गत आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका उनी उपनिर्वाचनमा तनहुँबाट समेत पराजय बेहोरेका थिए । 

रास्वपा केन्द्रीय समितिको बैठक आजदेखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ। शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। आजको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सवलीकरण र जागरणलगायत विषयमा छलफल गर्ने एजेन्डा छ। आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ। बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ। पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले तयार गरेको तालिकाअनुसार उक्त बैठकले प्रस्तावानाको व्याख्या एवं विकासको भावी रोडम्यापबारे छलफल गर्नेछ। रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे यस बैठकमा छलफल हुने बताइएको छ।

‘प्रचण्ड’को सचिवालयले भन्यो- 'शेरा दरबारको जग्गाबारे आधारहीन कपोलकल्पित कुप्रचार बन्द गरियोस्'

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले शेरा दरबार जग्गा प्रकरणमा पार्टी र पार्टी नेतृत्वलाई जोडेकोप्रति आपत्ति जनाएको छ । ‘प्रचण्ड’की स्वकीय सचिव गंगा दाहालले विभिन्न काल्पनिक र भ्रामक विषयहरू राखेर विनाकुनै प्रमाण र तथ्यविना दिवंगत भइसकेका व्यक्तिमाथि गरिएको कुप्रचार बन्द गर्न माग गर्नुभएको हो ।  ‘शेरा दरबार प्रकरणलाई माओवादी केन्द्रसँग जोड्नु भ्रामक मात्र नभएर बदनियत पूर्णसमेत छ । उक्त प्रकरणका अभियुक्तहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न पार्टीले सरकारसँग मागसमेत गरिसकेको छ । अभियुक्त जुनसुकै आस्था, दल वा समुदायको होस्, पूर्वाग्रह नराखी अनुसन्धान र कारबाही गर्नुपर्छ भन्नेमा हामी दृढ र स्पष्ट छौँ।’उहाँले भन्नुभएको छ । भ्रष्टाचार र अनियमिततामा जोसुकै जोडिए पनि निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्छ भन्ने अठोटका साथ नै पार्टीले सुशासनको मुद्दालाई प्राथमिकता दिएको उहाँले बताउनुभएको छ । उहाँले कुनै आधार र प्रमाणविनाको कपोलकल्पित कुप्रचार बन्द गर्नसमेत माग गर्नुभएको छ ।

मातृभूमि जागरण अभियान सञ्चालन गर्ने भीम रावलको घोषणा

काठमाडौं । एमालेबाट बर्खास्तीमा परेका भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।  अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ’, उनले भने । उनका अनुसार मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने छ । सो क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने छ । उनले एमालेसहित अन्य दलका कारण जनतामा निराशा बढ्दै गएको र  राष्ट्रिय स्वाधीनता पनि कमजोर बन्दै गएको बताए । ‘यस्तो अवस्थामा राजनीतिक दल गम्भीर हुनुपर्थ्यो । तर केपी ओली गुटले पार्टीलाई दिशाहीन बनाएको र धकेलेको छ । एमाले रंग खुइलिएको बामाले भएको छ । यो भन्नुपर्दा मलाई दुख लागेको छ । अन्य कतिपय दल पनि सोही बाटोमा छन्’, उनले भने ।  देशलाई समृद्ध बनाउने र जनताको आवश्यकतालाई पूरा गर्ने जनमत र सरकारको आवश्यकता रहेको बताए ।

नेकपा विभाजन हुनुको मुख्य कारक केपी ओली नै हुन्ः रावल

काठमाडौं । नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको मुख्य कारक केपी शर्मा ओली भएको बताउनुभएको छ । पार्टीबाट निष्काशित भएपछि आफ्नो धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘कुनै पनि जीवन्त पार्टीमा अन्तरविरोध हुन्छन् तर नेकपाभित्रको अन्तरविरोधलाई विभाजनसम्म पुर्याउने मुख्य पात्र केपी शर्मा ओली हुन्’– उहाँले भन्नुभयो– ‘पहिले मैले केही सोचेको छैन भन्ने पछि आफूलाई किन अध्यक्षमा उम्मेदवारी दिएको भनेर कारवाही गरियो, यो ओलीको निरंकुश र स्वेच्छाचारिकको नग्न रुप हो ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा सिम्खडा

काठमाडौं ।  संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा जगतबहादुर सिम्खडा चयन भएका छन् । काठमाडौंमा भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनले सिम्खडालाई एक वर्षको लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो । केन्द्रको महासचिवमा इन्द्रदेव मिश्र र महिला संयोजकमा सीता लामालाई चयन गरेको छ । महिला समितिको सचिवमा सरिता घिसिङ चयन भएकी छन्। जेटियुसीसीमा हाल नेपालमा मान्यता प्राप्त दश वटा ट्रेड युनियन महासंघ आवद्ध छन् । हरेक एक/एक वर्षमा हुने जेटियुसीसीको अध्यक्षमा भने प्रत्येक वर्ष छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्ने गरेका छन् । जेटियुसीसीका नवनिर्वाचित अध्यक्ष जगत सिमखडाले जेटियुसिसीको अध्यक्ष बन्नु चुनौतीको रुपमा लिएको बताए । उनले नेपालको ट्रेड युनियन आन्दोलन अफ्ठ्यारो अवस्थामा रहेको भन्दै संविधानमा श्रमिकका विषयलाई सम्बोधन भएपनि श्रमिकको हितमा कानूनहरु बन्न नसकेको बताए। अध्यक्ष सिम्खडाले उल्टो बाटोमा हिँड्न थालेको नेपालको ट्रेड युनियन आन्दोलनलाई सुल्टो बाटोमा ल्याउने प्रयास गर्ने बताए ।

भीम रावलले आज नयाँ राजनीतिक यात्राको घोषणा गर्दै

काठमाडौं । नेकपा एमालेबाट निकालिएका नेता भीम रावलले आज आफ्नो आगामी राजनीतिक यात्राबारे घोषणा गर्दै छन्।  यही पुस १० गते एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्यसमेत नरहनेरी निष्कासन गरिएका नेता रावलले आज आफ्नो नयाँ राजनीतिक योजनाबारे जानकारी गराउने भएका हुन्।  यसका लागि उनले आज दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै छन्।  पूर्वउपप्रधानमन्त्री एवं गृह र रक्षामन्त्रीसमेत रहेका उनले ‘परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे’ आज घोषणा गर्ने उनले बताएका छन्।  यसबीच उनले नयाँ पार्टी खोल्ने चर्चा पनि चलेको थियो। तर नेता रावलले सबै कुरा आजकै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताइरहेका छन्। 

माओवादी केन्द्र पहिलो पार्टी बने भ्रष्टाचार जरैबाट उखेलिने छः प्रचण्ड

झापा, १५ पुस। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो पार्टी बनाइ भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गर्नुभएको छ । झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो। आफ्नो पार्टीले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको उल्लेख गर्दै उहाँले यसमा जनताको तागत पनि जोडियो भने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव रहेको बताउनुभयो। ‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित, उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर बदल्नेबाहेक अरु कुनै विकल्प छैन’— अध्यक्ष प्रचण्डले भन्नुभयो— ‘तपाइँहरुको तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरुलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउन सम्भव छ र बनाइने छ।’ देशैभरि माओवादी केन्द्रप्रति नयाँ आशा र भरोसा बढ्दै गएको उल्लेख गर्दै उहाँले केही समयअघिको निर्वाचनबाट कोशी प्रदेशमा माओवादी केन्द्र पहिलो बनेको र देशभर पनि उल्लेख्य प्रगति भएको बताउनुभयो। यो २०८४ को निर्वाचनको संकेत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने गलत भाष्य अब खारेज भएको बताउनुभयो। ‘हिजो कांग्रेस वा एमालेसँग मिलेर उनीहरुलाई पहिलो पार्टी बनाउनतिर समय खेर फालियो’—उहाँले भन्नुभयो—‘अब एक्लै लडेर हामी एक नम्बरको पार्टी बन्छौं।’ अध्यक्ष प्रचण्डले अहिले नेपाली जनताले प्रयोग गर्न पाएको राजनीतिक अधिकार माओवादीकै कारण सम्भव भएको उल्लेख गर्दै बाँकी राजनीतिक अधिकारलाई पूर्णता दिने, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो। झापाको कोच बाहुल्य क्षेत्रमा सम्बोधन गर्दै उहाँले भन्नुभयो— ‘हाम्रो संविधानले स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको व्यवस्था गरेको छ, म आज कोच समुदायलाई अब स्वायत्त, विशेष र संरक्षित क्षेत्रको अभ्यासमार्फत अघि बढ्न आह्वान गर्न चाहन्छु।’ आफ्नो पार्टीले सुशासनको अभियान सुरु गरिसकेको उल्लेख गर्दै उहाँले देशभरि चलिरहेको खबरदारी सभा यसकै सुरुवात भएको बताउनुभयो। ‘मैले प्रतिनिधिसभामा विश्वासको मत लिंदै गर्दा भनेको थिएँ— भ्रष्ट र बिचौलियाहरुले झालझेल र शक्तिको बल प्रयोग गरेका छन्, हामी जनताको बल प्रयोग गर्ने छौं’—उहाँले भन्नुभयो— ‘अब हामी निरन्तर जनताको बलबाट नै भ्रष्टाचारविरोधी अभियान सफल बनाएरै छाड्ने छौं।’ अध्यक्ष प्रचण्डले आफूले तीनपटक प्रधानमन्त्री हुँदा गरेका कामको विवरण सुनाउँदै आफू पूरै जनताको हितमा केन्द्रित भएको बताउनुभयो। ‘मैले पहिलोपटक भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी लोकमार्गको सुरुवात गरें, जो अब चाँडै सम्पन्न हुँदैछ’— उहाँले भन्नुभयो—‘सामाजिक न्यायको क्षेत्रमा गरीब किसानको कृषि ऋण मिनाह गर्ने अवसर मलाई प्राप्त भयो।’ आफूले पहिलो जस्तै छोटो अवधिमा बिताएको दोस्रो कार्यकालमा मुलुकबाट लोडसेडिङको अन्त्य गरेको स्मरण गराउँदै तेस्रो कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान सुरु गर्ने अवसर पाएको बताउनुभयो। ‘यसबाट जनतामा नयाँ आशाको दियो जलेको थियो, धेरै उच्च पदस्थ भनिने नेता र कर्मचारी र भूमाफियाहरु भ्रष्टाचारको अभियानमा समातिदै गए’— अध्यक्ष प्रचण्डले भन्नुभयो— ‘भ्रष्टाचारविरुद्धको अभियान चलाएकै कारण सरकार छाड्नुपरेको नेपाली जनताले छोटो अवधिमा प्रष्ट रूपमा बुझ्नु भएको छ भन्ने देशव्यापी लहरबाट पनि पुष्टि हुन्छ।’ अध्यक्ष प्रचण्डले सरकार छाड्ने बेलामा अहिलेको गठबन्धन सरकार जालझेलबाट आएको असंवैधानिक र अप्राकृतिक सरकार भएको स्पष्ट गरेको स्मरण गराउँदै उहाँले सरकारले अहिले दलाल र बिचौलियाको काम गरिरहेको पुष्टि हुँदै गएको बताउनुभयो। २०६४ को निर्वाचनमा झापा आएर सम्बोधन गर्दा झापाबाट क्रान्तिको झण्डा फराएको अनुभूति गरेको स्मरण गर्दै उहाँले आजको कार्यक्रमले त्यसमा नयाँ कडी जोडेको र अब झापा सुशासनका लागि हुने क्रान्तिको केन्द्र हुने बताउनुभयो। दुई दिनको बीचमा आफूले पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पाएको उल्लेख गर्दै उहाँले देशभर देखिएको ध्रुवीकरणको लहर अर्थपूर्ण रहेको बताउनुभयो। शेरा दरबारको जग्गासँग जोडेकोमा आपत्ति अध्यक्ष प्रचण्डले १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको भन्दै यसप्रति आपत्ति जनाउनुभयो। ‘हाम्रो सुशासनको आन्दोलन तुहाउने षड्यन्त्रस्वरूप १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको छ, शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहने छ, अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै अर्थ हुने छैन।’ भ्रष्टाचारविरोधी अभियान आफ्नो अभिष्ट रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो—‘प्रधानमन्त्री हुँदा मैले अनुसन्धान अकारीहरुलाई भनेको थिएँ, भ्रष्टाचारीलाई खोज्दै जाँदा कतै प्रचण्ड आयो भने पनि नछाड्नू । अहिले पनि भन्न चाहन्छु, यदि भ्रष्टाचारका मुद्दामा हाम्रा पार्टीका नेताहरु जोडिन्छन् भने छाडिने छैन।’ झण्डै छ सय जना माओवादी केन्द्रमा प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करीब छ सय जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्नेहरूमा अधिकांश राजवंशी समुदायका रहेका छन् । कार्यक्रमअघि अध्यक्ष प्रचण्डले गौरिगञ्ज–१ मा तिलक राजवंशीको घर पुगेर कोच संस्कृतिअनुसार खाना खानुभएको थियो । अध्यक्ष प्रचण्डलाई कोच संस्कृतिको भोजन उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चटनी र पापडलाई कोलाको पातमा दिइएको थियो ।

अध्यक्ष प्रचण्ड झापामा, गौरीगञ्जमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज झापा पुग्नुभएको छ । झापामा अध्यक्ष प्रचण्डले गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्नुहुनेछ । नेकपा (माओवादी केन्द्र)ले केपी ओली सरकार भ्रष्टाचारमा डुबेको र आफ्नालाई काखा पाखा गरिरहेको आरोप लगाउँदै देशव्यापी रूपमा खबरदारी सभाको आयोजना गरिरहेको छ। यस अघि शनिबार कंचनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभामा हजारौंलाई पार्टी प्रवेश गराई सम्बोधन गर्नूभएका प्रचण्डले आज ओलीको गृह जिल्ला झापामा पुगेर ओली सरकारले गरेका व्यथितिविरुद्ध जनतालाई सम्बोधन गर्ने हुनुभएको हो ।  आज दिउँसो १ बजे आयोजना गरिएको उक्त खबरदारी सभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको जनाइएको छ।

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । हिजो साँझ उहाँको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ।अध्यक्ष प्रचण्ड अहिले साझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिदै परिवारसित पनि भेट गर्नुभएको थियो । सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले उहाँको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए। सो क्रममा महासचिव किरणले  क्याविनको भन्दा आइसीयुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभयो । अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गर्नुभयो । सो क्रममा दुबै जना भावुक पनि हुनुभएको थियो । अध्यक्ष प्रचण्ड र महासचिव किरणबीच २०३८ देखि २०६८ सम्म निकै घनिष्ट सम्बन्ध रहेको थियो । पार्टी बिभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उहाँहरुले एकले अर्कालाई निकै आदरभावका साथ सम्मान गर्दै आउनुभएको छ।

लोकतन्त्रको सर्भिसिङ आवश्यकः पुन

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपालको राज्य व्यवस्थाप्रति जनताले प्रश्न उठाएको बताएका छन्। रोल्पामा प्रेस सेन्टर रोल्पा शाखाको छैटौं अधिवेशनको आइतबार उद्घाटन गर्दै उनले अस्थिर राजनीति र विश्वको पुँजी बजारका कारण व्यवस्था माथि नै प्रश्न उठाइएको बताए। 'जनताले विभिन्न ढंगले अहिलेको व्यवस्थामाथि प्रश्न उठाएका छन्। काठमाडौंमा मेयर पदको निर्वाचनमा 'स्वतन्त्र' उम्मेदवारका रूपमा जनताको प्रश्न थियो। अन्यत्र पनि त्यसैगरी व्यवस्था प्रति फरक ढंगले प्रश्न उठाउने गरिएको छ।' पार्टीको उपमहासचिव समेत रहेका नेता पुनले भने, 'जनताको प्रश्न विभिन्न रूप र अवस्थामा प्रकट हुने गरेको छ।' उनले राजनीतिक दल र नेतामाथिको विश्वास र भरोसामा कमी आउँदा व्यवस्था प्रति प्रश्न उठ्ने अवस्था सिर्जना भएको स्वीकार गरे। लामो समयसम्म बिरामी भएर उपचारपछि गृह जिल्ला आएका उनी यतिबेला पार्टी गतिविधि बढाउन व्यस्त छन्। कार्यकर्ता भेला, प्रशिक्षण एवं घरदैलो अभियानमा लागेका उनले विकास निर्माणका योजनाको अनुगमनमा समेत चासो राखेको दाबी गरे । 'हामीले नै गाउँको विकास गर्ने हो। स्थानीय सरकारको काम कारवाहीबारे समन्वय गरेर समानुपातिक विकास प्रति ध्यान दिनु आवश्यक छ।' उनले भने। राष्ट्रिय स्वतन्त्र पार्टीको उत्थान र निर्वाचन नतिजाबारे टिप्पणी गर्दै उनले भने, 'एकथरी शक्तिले हामी लगायत पुराना पार्टीको औचित्य सकियो समेत भने। अर्काथरीले त्यसैको विकल्प खोजिएको अर्थ लगाए भने अन्यले बरु राजतन्त्र नै ठफक छ भनेर पछाडि फर्कन खोजे। यसरी प्रश्न गर्दै व्यवस्थामाथि नै व्यंग्य गरेको स्पष्ट देख्न सकिन्छ।' उनले भने अहिलेको लोकतान्त्रिक व्यवस्था भन्दा राम्रो व्यवस्था विश्वमा न भएको तर्क गरे। 'कसैले बढी अधिकार दिइएको र कसैले पछि फर्केर राजतन्त्र नै मान्ने भने पनि हाम्रो पार्टी माओवादी केन्द्रको विचार यसै व्यवस्थालाई मलजल गरेर बलियो बनाउनुपर्छ भन्नेमा अडिग छ,' उनको भनाइ छ । उपमहासचिव पुनले देशअनुसारको लोकतन्त्रमा मौलिकता र विशेषता हुने बताए । नेपालमा पनि जनताले चाहेको जस्तो मौलिक लोकतन्त्र पाइएको उनको धारणा छ। ' लोकतन्त्रभित्रका समस्या हुन्छन्, अहिले प्राप्त लोकतन्त्रलाई 'सर्भिसिङ' गरेर टिकाउनुपर्ने अवस्था छ। एकपछि झन राम्रो बन्दै जान्छ। बरु विरोध गर्नु न्यायिक होइन,' उनले भने। लोकतान्त्रिक व्यवस्थालाई नयाँ र पुरानोबीचको लडाइ बनाउनु नपर्ने उनको आग्रह छ। जनताको चेतनास्तर अगाडि भएकाले प्रतिगमन र अग्रगमनबारेको अनुमान गर्नु उचित नहुने उनी बताउँछन्। पार्टीजस्तै परिमार्जित भएर अघि जाने नेता मात्र अहिलेको व्यवस्थामा टिक्ने र नेतृत्वमा पुग्ने अवस्था भएको उनको भनाइ छ। हरेक पार्टीभित्र नेतृत्वको लडाइँ भएको इंगित गर्दै उनले भने, 'जबर्जस्ती ठीक छु भन्ने नेतृत्व पतन हुने र बिलाएर सकिने बलियो सम्भावना छ अथवा कुनातिर कतै फ्याँकिन्छ,' उनले भने ।

माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुन्छ : अध्यक्ष प्रचण्ड

पुनर्वास, कंचनपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताउनुभएको छ। कंचनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो। सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उद्घोष गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो - 'हामीलाई दिनमा एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । भ्रष्टाचारीलाई यसै छोडिने छैन। गिरिबन्दु, यति ओन्नीमा, नक्कली भुटानी सरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन। र यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ । हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुनेछ । भ्रष्टाचारीहरुलाई लखेट्ने प्रक्रिया सुरु गरिनै सक्यौं। अहिले मैले अब धेरै भन्नु छैन।' आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मिटर ब्याजीहरू मिटर ब्याजको नाममा जनतालाई शोषण गर्नेहरु पनि भयभीत र आतंकित भएर सरकार ढाल्ल लागि परेको बताउनुभयो। 'सरकार सुशासनका विरुद्ध भ्रष्टाचारका पक्षमा छ। भ्रष्टाचारका विरुद्ध छैन ।' भन्नुहुँदै अध्यक्ष प्रचण्डले सरकार गलत कदम र आफु नेतृत्वले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको बताउनुभयो । पुनर्वासमा एमाले, कांग्रेस लगायतका पार्टीमा क्रियाशिल नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गर्नुभएको प्रचण्डले  भन्नुभयो - 'देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको छ । पर्सि म झापा जाँदै छु। प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा त्यहाँ पनि हजारौं प्रवेश गर्ने तयारी छ ।' सो क्रममा सुदूरपश्चिमको विकासमा आफु दत्तचित भएर लागेको बताउँदै भारत भ्रमणको बेलामा सिमानाको समस्या समाधान गर्नको निम्ति कञ्चनपुरका विभिन्न भागमा रहेका सीमा समस्यादेखि लिपुलेख कालापानीको समस्या सम्म पनि मैले खुलेर भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको, सुदूर पश्चिममा विश्वविद्यालय स्थापनाको प्रस्ताव गरेको, मध्ये पहाडी र हुलाकी लोकमार्गको प्रस्ताव गरेर कार्यान्वयनमा लगेको, कैलाली भजनीमा ४०० केबीको अन्तर देशीय प्रसारण लाइनको काम अगाडि बढाएको, कृषि तथा स्थानीय स्रोतमा आधारित उद्योग स्थापनाका लागि नीति निर्माण विद्युतको क्षेत्रमा पनि सेती परियोजना अगाडि बढाएको, सुदूरपश्चिमका युवाहरुमा क्रिकेटको राम्रो क्रेज राम्रो रंगशाला निर्माणमा पहल गरेको लगायतका काम गरेको बताउँनु हुँदै पञ्चेश्वर परियोजना टुङ्गोमा पुर्याउने कोशिस गर्दै गर्दा सरकार ढलाइएको उहाँले बताउनुभयो। त्यसैगरी, चीनसँग खुलेको नाकाले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो। हुम्लाको चीनसँग नाका चीनले अनुदानमा बाटो बनाउने सहमति भइसकेको र सो काम अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो। सुदूरपश्चिममा भौतिक पूर्वाधारको क्षेत्रसँगै अन्य प्रगतिका निम्ति पनि कोसिस गरेको बताउँदै उहाँले कैलाली, कञ्चनपुर लगायतका क्षेत्रमा नदी नियन्त्रणसँग सम्बन्धित कामलाई दृढतापूर्वक अगाडि बढाउन आफुले पहल लिने विश्वास समेत दिलाउनुभयो। राज्य सत्ताबाट विभेद र अपमानमा परेको सेती महाकालीलाई न्याय दिने उद्देश्यले नै माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासका समस्या समाधानमा दृढतापुर्वक लागेको उहाँले बताउनुभयो।

अखिल क्रान्तिकारीमा उमेर हदको विवाद टुंग्याउन आज मतदान

काठमाडौं । काठमाडौं। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उमेर हदसम्बन्धी विवाद समाधानका लागि मतदान प्रक्रिया सुरु गर्ने भएको छ। गत असोजमा सम्पन्न हुन नसकेको २३औं सम्मेलन उमेर हदको विवादका कारण स्थगित भएको थियो। सो सम्मेलन २३ र २४ मंसिरमा पुनः आयोजना गर्ने तयारी गरिए पनि सम्भव भएन। अहिले ३२ वर्षे उमेर हदको पक्ष र विपक्षमा शनिबार मतदान गर्ने तयारी भएको निर्वाचन समितिले जानकारी गराएको छ। उमेर हदको टुंगो लागेपछि दोस्रो चरणमा संगठनको नयाँ नेतृत्व चयनका लागि मतदान गरिनेछ। यसपटक काठमाडौं बाहिरबाट पनि प्रतिनिधिहरूलाई मतदानको व्यवस्था मिलाइएको छ। निर्वाचन समितिका अनुसार उमेर हदका लागि आठ प्रदेश कार्यालय र दुई विश्वविद्यालय कमान्ड प्रतिनिधिहरूले मतदान गर्नेछन्। भूगोल र गैरभूगोल गरी ८६ स्थानबाट मतदान हुनेछ। नयाँ नेतृत्व चयनका लागि भने भूगोल र गैरभूगोलका आधारमा नौ प्रदेशस्तरीय मतदान केन्द्र तोकिएको छ। उमेर हदका लागि मतदान १३ पुस शनिबार बिहान १० बजेदेखि ४ बजेसम्म हुनेछ। नयाँ नेतृत्व चयनका लागि भने १७ पुसमा ११ बजेदेखि ४ बजेसम्म मतदान प्रक्रिया सञ्चालन गरिने छ। यो मतदानले संगठनभित्र लामो समयदेखि चल्दै आएको उमेर हद विवादलाई टुंग्याउने र नयाँ नेतृत्व चयनमार्फत संगठनलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।

हुम्लालगायत कर्णालीका उच्च भेगमा हिमपात

हुम्ला । हिमाली जिल्ला हुम्लासहित कर्णालीका विभिन्न जिल्लाका उच्च भेगमा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । हुम्लामा यसवर्ष यो तेस्रो पटक हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हिमपातका कारण सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका नागरिकको जनजीवन प्रभावित बनेको छ । हिमपात भइरहेकाले स्थानीय चिसोले घर बाहिर निस्कन सकेका छैनन् । हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो । किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराको भनाइ छ । यतिबेला परेको हिउँले बाली उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।