डेडिकेटेड र ट्रंकलाइन वक्यौता विवाद समाधान गर्न छानबिन समिति बनाऔं : सांसद शाही

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुली विवादमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा उनले डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुलीको विषय राष्ट्रिय बहसको विषय भएकाले यसको छानबिनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने बताएका हुन्।

‘यत्रो विषय उठिसकेपछि एउटा संसदीय छानबिन समिति बनाऔं। कसैले कमजोरी गर्छ र त्यसको ढाकछोप गर्छ भने त्यसमा पक्षमा होइन। कसैको अपराधलाई कुनै पनि राजनीतिक दलले लुकाउन हुँदैन। आफ्नै पार्टीको नेता किन नहोस्, आपराधिक क्रियाकलाप गरेको छ भने कानुनी दायरामा ल्याउनैपर्छ,’ उनले भने।

केही विषय उठ्नेबित्तिकै संसदीय छानबिन समिति भन्ने चलन रहेको उल्लेख गर्दै उनले डेडिकेटेड र ट्रंकलाइन विवाद गम्भीर विषय भएकाले संसदीय छानबिन समिति आवश्यक रहेको बताए। सरकारमाथि सुशासनको मामलामा गम्भीर प्रश्न उठेकाले पनि संसदीय छानबिन समिति बनाउनका लागि सत्तारुढ दलहरु तयार हुन उनको आग्रह छ।

उद्योगीले विद्युत् महसुल तिर्ने कि नतिर्ने भन्ने विषयमा बहस गर्न छाडेर समस्या कसरी समाधान गर्ने भनेर कार्ययोजना ल्याउन पनि सरकारलाई उनको आग्रह छ। ‘यसमा धेरै बहस होइन, यसको हल के हो ? उद्योगीहरुले विद्युतको महसुल तिरेनन्, नतिर्नुको पछाडिको कारण के हो ?’ उनले प्रश्न गरे।

भुटानी शरणार्थी, सहकारी र गिरीबन्धु प्रकरणको अनुसन्धानबाट सरकार भाग्न पाउँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणबारे सरकारले दोषी उम्कदैन भन्ने आश्वस्त पार्नुपर्ने बताएका छन्।  मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा दुई ठूला दल मिलेर बनेको यो सरकारले भ्रष्टाचार मुद्दाबाट भाग्न नपाउने बताए। “अघिल्लो सरकारले भुटानी शरणार्थीको विषय जहाँ टुंग्याएको छ । सरकारले प्रष्टसँग भन्नुपर्छ, यति अनुसन्धान भइरहेको छ । यति अभियोजन भएको छ । यति थप अनुसन्धान हुन्छ । अदालतमा विचाराधीन छ । यो विषयमा निर्दोष एउटा पनि छुट्दैन दोषी एउटा पनि उम्कदैन । यो विषयमा कहीँ तलामाथि हुँदैन भनेर आश्वस्त पार्नुपर्छ,” थापाले भने ।  गिरीबन्धु टि स्टेटका विषयमा अदालतले दिएको ०८० माघ २४ गतेको आदेश जुन सरकार आए पनि पालना गर्नुपर्ने बताए ।  सरकारले जे गर्नुपर्ने हो त्यो गर्नुपर्ने बताउँदै उनले अदालतको आदेशअनुसार सरकारले गर्नुपर्ने उनको भनाइ छ।  “सरकारले गिरीबन्धु यो हुन्छ, त्यो हुन्छ होइन । एक्सन चाहियो । तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्‍यो । देशभरी जसले जग्गा दुरुपयोग गरेको छ, त्यो खोसिनुपर्‍यो,” थापाले भने ।

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसोबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा सढेर सुनाउनेछन् । त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ । त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेश गर्नेछन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन २०८१’ पेश गर्नेछन् । यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण थत मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्न गर्न सकिन्न रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछानेले नयाँ सरकारलाई नजिकबाट नियालिरहेको बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा लामिछानले सरकारको सुरुवाती संकेतलाई जनताले मूल्याङ्कन गरिरहेको बताए ।  उनले छिट्टै पार्टीका तर्फबाट सरकारको कामकारबाहीबारे धारणा सार्वजनिक गर्ने पनि जानकारी दिएका छन् । लामिछानले नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउनुपर्ने कुरामा कुनै दुईमत नरहेको बताए । लामिछानेले भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने जानकारी दिए । उनले जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, प्रस्तावित जलन सम्बन्धी गैरसरकारी  विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू बारे छलफल हुने बताइएको छ ।  यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको बारे पनि बैठकमा छलफल हुन लागेको रास्वपाले जनाएको छ ।

संघीय संसदका तीनवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।  विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य सर्त रहेका ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा छलफल हुनेछ ।  विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । भूकम्प प्रभावित क्षेत्रको अनुगमन प्रतिवेदनमाथि छलफल हुनेछ । 

प्रस्तावित राजदूतहरूबारे संसदीय सुनुवाइ आजबाट

काठमाडौं । विभिन्न १८ देशमा नियुक्तिका लागि सिफारिस भएका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजबाट सुरु हुँदै छ । संसदीय सुनुवाइ समितिको (संयुक्त)बैठकमा सुनुवाइ हुनेछ ।  मध्याह्न सवा १२ बजे बस्ने बैठकले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सुरु गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  डा। शंकरप्रसाद शर्मा भारत, कान्ता रिजाल अस्ट्रेलिया, नरेशविक्रम ढकाल साउदी अरेविया, प्रा. डा. कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्रा.धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराईलाई राजदूत नियुक्तिका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको छ ।  श्रीलंका, शनिल नेपाल स्पेन, डा. शैल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी अमेरिका, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा। शिवमाया तुम्बाहाम्फेलाई दक्षिण कोरियामा राजदूत नियुक्तिका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको छ ।  जङ्गबहादुर चौहान रुसी महासंघ, रमेशचन्द्र पौडेल कतार, प्रा.डा.कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधार डेनमार्क, डा.नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणी पोखरेल पोर्चुगल र रीता धिताललाई पाकिस्तानमा राजदूत नियुक्तिका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको छ । 

प्रतिनिधिसभा बैठक बस्दै, ‘टीआरसी’ विधेयक सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  यसैगरी, बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन २०८०’ पेस गर्ने छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने तयारी छ ।  

माओवादी समाजवादी विचारधारको विकास गरेर अगाडि जान्छ : सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठक भोलि सकिने भएको छ । बैठकमा पार्टी भित्रको बहस सौहार्दपूर्ण रुपमा हल भएर जाने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।  पार्टीको स्थायी समितिको बैठक चलिरहेका बेला प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी भित्र देखिएको अन्तर्विरोध र देशको समस्या हल गरेर जाने बताए।   पत्रकारहरुसँग कुरा गर्दै उनले स्थायी समितिको अहिलेसम्मको स्पिरिट जनतासँग पार्टीलाई जोडेर जानुपर्छ भन्ने देखिएको उनले बताए।  उनले भने, ‘अध्यक्षज्यूले भनि सक्नुभयो । बैठक राम्रो सकारात्मक हुँदै गइरहेको छ। उहाँले संकेत गर्न खोज्नुभएको कुरा भित्र जे छलफल भइरहेको छ, बाहिर टुटेफुटेर आएको छ। मैले त समग्रमा भनेकै छु । तर, सत्य एउटा हुन्छ अंशमा गर्दा अर्को पर्न जान्छ।’ उनले बैठकमा स्तरिय छलफल भएको बताउँदै पार्टीमा कुनै समस्या नभएको बताए ।  प्रवक्ता सापकोटाले अहिले पार्टी समाजवादी विचारधाराको विकास गर्न लागेको समेत बताए। उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्ताव लगायतका विषयमा पनि बैठक सकिने बेलामा निचोडमा पुग्ने बताए।बैठक भोलि ११ बजे फेरि बस्ने प्रवक्ता सापकोटाले जानकारी दिए। 

काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।  आजको बैठकमा प्रस्तुत भएका ११ वटा विभिन्न एजेन्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ । आज सबै नेताहरूको धारणा सुनिसकेपछि नेतृत्वले जवाफ दिने र आज नै बैठक सक्ने तयारी काँग्रेसको छ । 

प्रदेश र संघीय मन्त्रालयको संख्या घटाउन यादवको प्रस्ताव (पूर्णपाठ)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले ६१ बुँदे राजनीतिक प्रस्ताव पेस गरेका छन् । ललितपुरको सानागाउँमा जारी बैठकमा उनले संघीयता कार्यान्वयनका निम्ति प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउनुपर्ने प्रस्ताव गरेका छन् । संघीय मन्त्रालयको संख्या पनि घटाउनुपर्ने, प्रदेश मामिलासम्बन्धी विषय प्रदेश सरकारलाई नै जिम्मेवारी दिनुपर्ने उनले प्रस्ताव गरेका छन् । फजुल खर्च कटौती गर्नुपर्ने बताएका छन् । उनले विगतका भ्रष्टाचार, अनियमितता र अधिकारको दुरुपयोगजस्ता विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गरिनुपर्ने जनाएका छन् । मधेस आन्दोलनका बेला सरकार र मधेशी जनअधिकार फोरम, नेपालबीच गरिएको २२ बुँदे सम्झौता, सरकार र संयुक्त मधेशी मोर्चाबीचको आठबुँदे सम्झौताका कार्यान्वयन गर्न बाँकी विषयमा उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।जसपा, नेपालको केन्द्रीय समिति बैठक यही साउन ३० गतेसम्म बस्नेछ । उपेन्द्र यादवको राजनीतिक प्रस्तावको पूर्णपाठ पढ्नोस्–

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहने भएको छ ।  शुक्रबार देखि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसिरहेको बैठक आज पनि बस्ने जारी रहने भएको हो । आइतबार बसेको बैठकमा नेताहरुको सकिएको छैन । बैठक भोलिसम्म चल्ने बताइएको छ ।

अहिले संविधान संशोधन हुन सक्दैन : नेता कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताए । नेता कोइरालाले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पारे। उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाइ बहुमत चाहिने भएपनि सरकारको बहुमत नपुग्ने बताए । उनले दुवै सदनमा बहुमत पु¥याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताए। नेता कोइरालाले संविधान संशोधन गर्दा नेकपा (माओवादी केन्द्र)लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताए । उनले अहिलेको लडाइँ प्रतिनिधित्व, पहिचान र पहुँचको लडाइँ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि विचार पु¥याउनुपर्नेमा जोड दिए। उनले प्रतिनिधि सभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउनेगरी संविधान संशोधन गरिने बताए । नेता कोइरालाले भने– ‘संविधान अहिले नै संशोधन हुन्छ भन्ने कुरापनि दिमागबाट हटाइदिनुस् । त्यो हुन सक्दैन भन्ने कुरा पनि हामीले बुझौँ । किन हुन सक्दैन भने प्रतिनिधि सभा र राष्ट्रिय सभा मिलाएर दुई तिहाई बहुमत चाहिन्छ । राष्ट्रिय सभामा यो सरकारको बहुमत पुग्दैन । दुई वर्ष कुर्नैपर्ने हुन्छ । संशोधन गर्दाखेरी संविधानलाई सुधार गर्ने क्रममा माओवादी लगायत अन्य राजनीतिक दलहरुलाई पनि हामीहरुले साथ लिएर जानुपर्छ । किनभने संविधान भन्नेकुरा नेपाली जनताको हो । कुनै राजनीतिक दलको संविधान हुँदैन भन्ने कुरा हामीले बुझौँ । नेपाली जनताको संविधानलाई सबै राजनीतिक दलहरुले स्वीकार गरेको हिसाबले हामी जानुपर्ने हुन्छ ।’ उनले नेपाली काँग्रेसका मन्त्रीहरुलाई पदबाट बाहिरिँदा निष्कलङ्क भएर निस्किन आग्रह गरेको पनि बताए ।

अध्यक्ष प्रचण्डसँग भारतिय विदेश सचिव मिस्रीको भेट

काठमाडौं ।नेपाल भ्रमणमा रहेका भारतीय  विदेश सचिव विक्रम मिस्रीले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्ष निवास खुमलटारमा भेटवार्ता गरेका छन् । भेटका अवसरमा दुई देशबीचको आपसी हित एवं पारस्पारिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण कुराकानी भएको छ।

प्रधानमन्त्री ओली र भारतिय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय विदेश सचिव विक्रम मिस्रीबीच  शिष्टाचार भेट भएको छ ।  प्रधानमन्त्री कार्यालयमा भएको भेटमा दुई देशको आपसी सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । विदेश सचिव विक्रम मिस्री परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन् ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि जारी छ । बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा तेस्रो दिन पनि बसिरहेको छ ।  शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए । बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिमा पार्टी निर्माण, भावी रणनीतिबारे प्रस्ताव राखेका थिए ।