तीन महिनामै ढल्यो फ्रान्सका प्रधानमन्त्री बर्नियेको सरकार
काठमाडौं । फ्रान्सका प्रधानमन्त्री मिशेल बर्निये तीन महिनामै पदमुक्त हुनुभएको छ । तीन महिना अगाडि मात्रै प्रधानमन्त्री बन्नुभएका उहाँविरुद्ध अविश्वास प्रस्ताव बहुमतले पास भएको हो ।
बीबीसीका अनुसार फ्रान्समा ६२ वर्षपछि पहिलोपटक अविश्वास प्रस्तावबाट सरकार ढलेको छ । अविश्वास प्रस्तावबाट सरकार ढलेको सन् १९६२ पछि पहिलोपटक हो ।
सोमबार दक्षिणपन्थी र वामपन्थी दलका सांसदहरुले प्रधानमन्त्री मिशेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव बहुमतले पास भएको बीबीसीले जनाएको छ । अविश्वास प्रस्ताव पास हुनका लागि २८८ मत चाहिनेमा पक्षमा ३३१ मत परेको थियो ।
सो अविश्वास प्रस्तावबाट फ्रान्सको इतिहासमा सबैभन्दा कम समय पदमा रहने प्रधानमन्त्री मिशेल बर्निये बन्नुभएको छ । उहाँ ९१ दिनसम्म मात्र प्रधानमन्त्रीमा रहनुभयो ।
फ्रान्समा यसै वर्षको जुलाईमा आम चुनाव भएको थियो । तर कुनै पनि दलले बहुमत पाएका थिएनन् । त्यसैले राष्ट्रपति इम्यानुअल म्याक्रोले बर्नियेको नेतृत्वमा सरकार गठन गर्नुभएको थियो ।
फ्रान्समा सामाजिक सुरक्षा बजेटको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच तनाव बढेको थियो । प्रधानमन्त्री बर्नियेले संसदमा भोटिङ नगराइकन बजेट पास गर्ने निर्णय गरेपछि वामपन्थी र दक्षिणपन्थी दलका सांसदहरुले अविश्वास प्रस्ताव ल्याएका थिए ।
आज प्रधानमन्त्री बर्नियेले राष्ट्रपति म्याक्रोसमक्ष राजीनामा दिने बताइएको छ । सरकार ढलेसँगै आगामी वर्ष सन् २०२५ मा देशको बजेटलाई लिएर चिन्ता व्यक्त भइरहेको छ ।
स्थानीय तह उपनिर्वाचन : बढ्यो माओवादी केन्द्रको जनमत र सिट
काठमाडौं ।मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । देशभरको अवस्थामा तीन दलको मुख्य प्रतिस्पर्धा देखिएको छ । जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि यो उपनिर्वाचन भएकामा सबै स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नजिताबाट माओवादी हौसिएको छ, एमाले खुम्चिएको छ भने कांग्रेस निराश बनेको छ । किनभने माओवादीको जनमत र सिट दुवै बढेको छ । पहिले आठ वटा स्थानमा जितेको माओवादी केन्द्रले ११ स्थानमा विजय हासिल गरेको छ । यससँगै १२२ स्थानीय सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले अब १२३ स्थानीय सरकारको नेतृत्व गर्ने भएको छ । पराजित बनेका अधिकांश स्थानमा दोस्रो स्थान हासिल गरेको छ । निर्वाचनको मत परिणाम अनुसार माआवादी केन्द्र कांग्रेस एमालेको विकल्पका रुपमा उभिएको छ । जसका कारण पनि माओवादी केन्द्र उत्साहित बनेको हो। त्यस्तैगरी, कांग्रेस र एमालेले सिट र जनमत दुवै गुमाएका छन् । ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ को वडाध्यक्षमा पनि माओवादी उम्मेदवार निर्विरोध भएका थिए। तीन ठाउँमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि आइतबार मतदान भएको थियो। मतदान भएकामा दुईवटा नगरपालिका प्रमुख र एउटा गाउँपालिका अध्यक्ष पद थिए। त्यस्तै उपाध्यक्ष एवं उपप्रमुख पद ५ वटामा मतदान भएको थियो। ३३ वटा वडाध्यक्ष पनि मतदानबाटै चुनिएका छन्। ४४ स्थानमध्ये नेपाली कांग्रेसले १९ ठाउँमा विजय हासिल गरेको छ। दोस्रो बढी माओवादीले जितेको छ। उसले ११ वटा सिट जितेको छ। एमालेले ८ स्थानमा जित निकालेको छ। यस निर्वाचनमा जसपा नेपालले २ स्थान जितेको छ भने नेकपा एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एक-एक ठाउँ जितेका छन्। यस निर्वाचनमार्फत रास्वपाले स्थानीय सरकारमा पहिलोपल्ट प्रवेश पाएको छ। माओवादीले केही आफ्ना पुराना सिट गुमाए पनि नयाँ ठाउँमा जितेर उल्लेख्य सिट बढाएको छ। कांग्रेसले केही नयाँ ठाउँमा जित हात पारे पनि साविकका उल्लेख्य सिट गुमाएको छ। एमालेले केही वडाध्यक्षका पद गुमाएर प्रमुख र उपप्रमुखको पद जोडेको छ। ४१ सिटको मत परिणाम यस्तो छ सोमबार साँझ आएको नतिजाअनुसार काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन्। उनले ५ हजार ३३४ मत ल्याउँदा माओवादीका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाए। उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षमा माओवादीको जित भएको छ। त्यहाँ माओवादीका भरत घिमिरेले ५५९ मत ल्याए। एमालेका मोहन खड्का ५२५ मत पाएर पराजित भए। हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना विजयी भएकी छन्। माओवादीकी तिमिल्सिनाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सविता बुढालाई पराजति गरेकी हुन्। दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उमा मगर शेर्पा विजयी भएकी छिन्। उनले २ हजार ८०५ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पा २ हजार ६ सय मत ल्याएर पराजित हुन पुगिन्। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार ९६९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत पाए। दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही ३ हजार १२७ मतसहित विजयी भएका छन्। उनको प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६७५ मतमा चित्त बुझाउनुपरेको छ। जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने ४ हजार २७२ मत पाएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका इन्द्रा चन्द ९सिंह० ले ३ हजार १४७ मत पाए। रुकुम (पूर्व)को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुरा बुढा ३ हजार ६२७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १२८ मत मात्रै पाइन्। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन्। उनी १ हजार ७४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले १ हजार ४७४ मत पाइन्। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन ३५३ मतसहित विजयी भएकी छन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले २५१ मत प्राप्त गरिन्। झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले ३ सय ५६ मत पाएका छन्। तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू ४ सय ४० मत प्राप्त गरी विजयी भएका छन्। उनीसँग एमालेका बुद्धबहादुर लिम्बु ३६० मत प्राप्त गरी पराजित भए। सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु ८१६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार ७९४ मत प्राप्त गरी पराजित भएका छन्। ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गङ्गाबहादुर तामाङ ३९९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल १७७ मत पाएर पराजित भए। उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार बान्तवा राई विजयी भए। उनले ९ सय २३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरे। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भएका छन्। उनीसँग कांग्रेसका भुलियादेवी थरुनी ५८७ मत मात्र प्राप्त गरी पराजित भइन्। डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव ३७२ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका जोगीन्द्रराय अमातले २७७ मत पाए। धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट ६८४ मतसहित विजयी भए। उनको प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरे। महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिबुल खाँ ६३१ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी आइतीकुमारी यादवले ५३४ मत प्राप्त गरेका छन्। रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित विजयी भएका छन्। एमालेका शेख अनवार ५७५ मत प्राप्त गरी पराजित भए। रौतहटकै गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गीप्रसाद यादवले ६५५ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका जिउतीदेवी यादवले ६३१ मत पाइन्। रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम ७४४ मतसहित विजयी भएका छन्। माओवादीका जिकरलाह ४६३ मत पाएर पराजित भए। नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे १ हजार ८५ मत प्राप्त गरी विजयी भए। कांग्रेसका सूर्य तामाङले ५८७ मत प्राप्त गरे। काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले २ हजार ९०२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरी पराजित भए। काठमाडौँको कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले ४९८ मत मात्रै पाए। कीर्तिपुरकै वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए। उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ले ४९५ मत पाइन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी २ हजार ६३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान १ हजार ५६० मतसहित पराजित भए। गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर ४८६ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी भाइकाजी आलेले ४०२ मत पाए। गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले १ हजार १८४ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९३० मत पाए। कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा एमालेका मोहमद ताहिर मुलसलमाले १ हजार १५० मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले १ हजार ७६ मत पाए। रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर ६४३ मतसहित विजयी हुँदा एमालेका बेगम पुनले ५३५ मत पाए। बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु १ हजार ४३ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी शेरबहादुर थारुले ६७८ मत पाए। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री १६१ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नरबहादुर रोकाले ११६ मत पाए। कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही १४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही ११५ मतमा चित्त बुझाउन पुगिन्। जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह ३४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत पाएर पराजित हुनुपरेको छ। दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत पाएका छन्। रुकुम ९पश्चिम भाग० को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री ५९० मतका साथ निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले ५३७ मत पाए। बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा ६५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा ४८७ मत पाएर पराजित भए। डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा ४६८ मतका साथ निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले ३०१ मतमा सीमित हुनुपरेको छ। दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर ३७६ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका मानसिंह बडाल ३५८ मत पाएर पराजित भए। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द १ हजार १०७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४८७ मतमै चित्त बुझाउनुपरेको छ।
पुथाउत्तरगंगामा कांग्रेस–एमाले गठबन्धनलाई १४९९ मनान्तरले हराउँदै माओवादी केन्द्र विजयी
रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरपुरा बुढा भारी मनान्तरसहित विजयी हुनुभएको छ । उहाँले कांग्रेस–एमाले गबन्धनका केशरीकुमारी तुलाचनलाई १४९९ मतान्तरले हराउनुभएको छ । बुढाले ३६२७ मत प्राप्त गर्नुभएको छ भने तुलनाले २१२८ मत प्राप्त गर्नुभएको छ ।
प्रधानमन्त्रीओली हिमालयन एयरलाइन्स चार्टर्ड गरेर चीन प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गर्नुभएको छ । हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नुभएको हो । चीन प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर दिएको थियो। उहाँलाई विदाई गर्न गृहमन्त्री रमेश लेखक र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीसहितको ८७ जनाको प्रतिनिधिमण्डल सोमबार साँझ पाँच बजे चीनको बेइजिङ पुग्ने छ ।दुईपक्षीय भेटवार्ता भने मंगलबारमात्रै हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मंगलबार प्रधानमन्त्री ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ, चिनियाँ जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले बुधबार पेकिङ युनिभर्सिटीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
३३ वडाको नतिजा सार्वजनिकः कांग्रेस १६, माओवादी ६, एमाले ५ र अन्य ६ निर्वाचित
काठमाडौं । स्थानीय तह निर्वाचनको वडातर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । ३४ वडामा भएको निर्वाचनमध्ये ३३ वडाको नतिजा प्राप्त भइसकेको छ । उदयपुरको बेलका ९ मा विवादका कारण मतगणना रोकिएको छ । ३३ वडाको मतपरिणामअनुसार कांग्रेस ८ वडा गुमाउँदा थपेको ७ र यथावत राखेको ९ गरी अहिलेसम्म १६ वडामा विजयी भएको छ । माओवादी केन्द्र ५ वडा गुमाउँदै ५ थप र यथावत राखेको १ गरी जम्मा ६ वडामा विजयी भएको छ । एमाले ६ गुमाउँदा थपेको ३ र यथावत २ गरी ५ वडामा विजय प्राप्त गरेको छ । रास्वपा, नेकपा एस र नेमकिपाले १ १ थपेका छन् भने जसपाले एक गुमाउँदा एक बोनस लिएर २ वडा जितेको छ । यसअघि स्वतन्त्रले १ जितेकोमा अहिले पनि एक जितेको छ । २०७९ को निर्वाचनमा कांग्रेसले जितेका १८, एमालेले जितेका ८, माओवादी केन्द्रले जितेका ६, जसपाले जितेका एक र स्वतन्त्रले जितेका एक गरी ३४ वडा अध्यक्ष रिक्त भएका थिए ।
कांग्रेसको सिट खोस्दै जाजरकोटको नलगाड उपप्रमुखमा माओवादी केन्द्र विजयी
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। निर्वाचन आयोगका अनुसार नगलगाडको उपमेयरमा देवका लामिछाने ४२७२ मत ल्याई निर्वाचित भएकी हुन्। २०७९ को निर्वाचनमा नेपाली कांग्रेसकी सरिता सिंह विजयी भएकी थिइन्। २०८० कात्तिकमा जाजरकोटमा आएको भूकम्पमा परी सिंहको निधन भएपछि रिक्त पदपूर्ति गर्न नलगाड नगरपालिकामा अहिले उपनिर्वाचन गरिएको हो।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी
मोरङ । मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् । माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५३३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मन ल्याएका छन् । यस्तै राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाए । ग्रामथानमा यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए । माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए ।
कतै गुमाउँदै कतै थप्दै वडा संख्यामा पुरानै वर्चश्वमा प्रमुख दलहरु
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा प्रमुख दलहरुकै वर्चश्व देखिएको छ । उनीहरुले २०७९ सालमा हात पारेको जीत नै कायम गर्ने देखिएको छ । वडा तहमा कांग्रेसले १५ स्थानमा जित हात पारेको छ, ०७९ मा उसले १८ वडा जितेको थियो । २०७९ मा ८ वडा जितेको एमालेले अहिलेसम्म ५ वडा जितेको छ भने ७९ मा ६ वडा जितेको माओवादी केन्द्रले अहिले ५ वडामा जितेको छ । २०७९ मा १ वडा अध्यक्ष जितेको जसपाले २ वडा जितेको छ भने नेकपा एकीकृत समाजवादीले पनि १ वडा थप गरेको छ । पालिकातर्फ अहिलेसम्म एमालेले २ जितेको छ भने माओवादी केन्द्रले २ र कांग्रेसले एक पालिकाको अग्रता लिएका छन् ।
कीर्तिपुरमा आजै मतगणना गर्ने आयोगको तयारी
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख र दुई वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचनको मतगणना आजै शुरू हुने भएको छ । मतदानको समय सकिएपछि मतपेटिका संकलन गरेर आजै रातिबाट मतगणना गर्ने काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । कीर्तिपुरमा ३१ हजार ११२ मतदाता रहेका छन् । बिहान ७ बजेदेखि शुरू भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । १२ बजेसम्म कीर्तिपुरमा ३५ प्रतिशत मत खसेको छ । कीर्तिपुर नगरपालिका प्रमुख, यसका १ र ४ वडाका वडाध्यक्षका लागि अहिले मतदान भइरहेको छ । १० वटा वडा रहेको कीर्तिपुरमा २० मतदानस्थल र ३८ वटा मतदान केन्द्र छन् । मेयर र वडाध्यक्षको मतगणना कीर्तिपुर नगरपालिका कार्यालयको सभाहलमा आजै रातिदेखि हुने भट्टराईले जानकारी दिए । काठमाडौं-१६ को मतगणना पनि आजै हुने जानकारी उनले दिए । यी तीनवटै वडाको परिणाम रातभरमा आइसक्ने छ । उपनिर्वाचनमा कीर्तिपुरको मेयरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, माओवादीबाट शिवशरण महर्जन प्रतिस्पर्धामा छन् । परम्परागत दललाई स्वतन्त्रका राजमान महर्जनले टक्कर दिने सक्ने आकलन गरिएको छ ।
यी हुन् उपनिर्वाचन भइरहेका ४१ स्थान, कहाँ कसले जितेका थिए ? सूचिसहित
काठमाडौं । स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि सुरु भएको छ । ४१ पदका लागि हुन लागेको निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन सुरु भएको हो । उपनिर्वाचन हुने पदहरु– काठमाडौं : कीर्तिपुर नगरपालिका प्रमुख (०७९ मा कांग्रेसले जितेको ) जाजरकोट : नलगाढ नगरपालिका उपप्रमुख (०७९ मा कांग्रेसले जितेको ) दैलेख : महाबु गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको ) बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको ) मोरङ : ग्रामथान गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको ) दोलखा : गौरीशंकर गाउँपालिका उपाध्यक्ष (०७९ मा कांग्रेसले जितेको ) रुकुमपूर्व : पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष (०७९ मा माओवादीले जितेको ) हुम्ला : सुर्केगाढ गाउँपालिका उपाध्यक्ष (०७९ मा माओवादीले जितेको ) वडाध्यक्षहरु ताप्लेजुङ : सिरिजंगा गाउँपालिका वडा नम्बर ३ (०७९ मा कांग्रेसले जितेको ) झापा : कन्काई नगरपालिका वडा नं ६ (०७९ मा एमालेले जितेको ) तेह्रथुम : लालीगुराँस नगरपालिका वडा नं ८ (०७९ मा कांग्रेसले जितेको ) सुनसरी : गढी गाउँपालिका वडा नम्बर ६ (०७९ मा एमालेले जितेको ) ओखलढुंगा : मोलुङ गाउँपालिका वडा नम्बर ५ (०७९ मा एमालेले जितेको ) उदयपुर : त्रियुगा नगरपालिका वडा नम्बर १२ (०७९ मा कांग्रेसले जितेको ) उदयपुर : बेलका नगरपालिका पालिका वडा नम्बर ९ (०७९ मा कांग्रेसले जितेको ) सप्तरी : डाक्नेश्वरी नगरपालिका पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको ) सप्तरी : डाक्नेश्वरी नगरपालिका पालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको ) धनुषा : धनुषाधाम नगरपालिका पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको ) महोत्तरी : रामगोपालपुर नगरपालिका वडा नम्बर २ (०७९ मा माओवादीले जितेको ) रौतहट : ईशनाथ नगरपालिका वडा नम्बर ७ (०७९ मा एमालेले जितेको ) रौतहट : गढीमाई नगरपालिका वडा नम्बर ८ (०७९ मा जसपाले जितेको ) रौतहट : राजपुर नगरपालिका वडानम्बर ६ (०७९ मा कांग्रेसले जितेको ) नुवाकोट : ककनी गाउँपालिका वडा नम्बर २ (०७९ मा कांग्रेसले जितेको ) काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ (०७९ मा कांग्रेसले जितेको ) काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको ) काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ (०७९ मा स्वतन्त्रले जितेको ) मकवानपुर : हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ (०७९ मा माओवादीले जितेको ) गोरखा : गोरखा नगरपालिका वडा नम्बर १२ (०७९ मा एमालेले जितेको ) गुल्मी : मुसीकोट नगरपालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको ) कपिलवस्तु : शुद्धोधन गाउँ पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको ) रुकुमपूर्व : पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ (माओवादीको निर्विरोध जीत) रुकुम पश्चिम : सानीभेरी गाउँपालिका वडा नम्बर ५ (०७९ मा कांग्रेसले जितेको ) रोल्पा : रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको ) बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको ) जाजरकोट : कुसे गाउँपालिका वडा नम्बर ७ (०७९ मा माओवादीले जितेको ) दैलेख : दुल्लु नगरपालिका वडा नम्बत्रर १३ (०७९ मा एमालेले जितेको ) बझाङ : सूर्मा गाउँपालिका वडा नम्बर ४ (०७९ मा एमालेले जितेको ) डोटी : पूर्वीचोकी गाउँपालिका वडा नम्बर ६ (०७९ मा कांग्रेसले जितेको ) कालीकोट : तिलागुफा नगरपालिका वडा नम्बर ४ (०७९ मा माओवादीले जितेको ) डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ (०७९ मा एमालेले जितेको ) दार्चुला : दुहु गाउँपालिका वडा नम्बर ५ (०७९ मा माओवादीले जितेको ) कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नम्बर ६ (०७९ मा कांग्रेसले जितेको )
उपनिर्वाचनमा ३७६ उम्मेदवार, दुई लाख २६ हजार मतदाता
काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत ४१ पदका लागि मतदान सुरू भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष चार र ३३ वडाध्यक्षका लागि मतदान हुँदैछ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन् । उपनिर्वाचनका लागि दुई लाख २६ हजार ७९९ मतदाता ९१ लाख ११ हजार ८९६ महिला र १एक लाख १४ हजार ९०० पुरुष र तीन अन्य० छन् । दल र स्वतन्त्रका गरी ३७६ उम्मेदवार मैदानमा छन् । आयोगले मतदाता परिचयपत्र, नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र तथा स्थायी लेखा नम्बर परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ । ज्येष्ठ नागरिक, गर्भवती, फरक क्षमता भएका व्यक्ति, बिरामी, किरियापुत्री र अन्य लिंगीलाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोग प्रवक्ता नीता पोखरेल अर्यालले सम्बन्धित निर्वाचन क्षेत्रमा बिदाको व्यवस्थासहित आवश्यक निर्देशन दिइएको बताइन् । मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रङका निर्वाचन चिह्न छन् । उम्मेदवारका आधारमा प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्रे डिजाइन गरिएको छ ।
दुई दिन भित्रै उपनिर्वाचनको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको मत परिणाम दुई दिनभित्र आइसक्ने बताएको छ। आइतबार बिहानदेखि शुरू भएको मतदानको अन्तिम नतिजा सोमबार अबेरसम्ममा आइसक्ने आयोगले जनाएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताए। स्थानी राजनीतिक दलका प्रतिनिधिले सहयोग गरे सोमबार अबेरसम्ममा परिणाम सार्वजनिक गर्ने आयोगको भनाइ छ। आयोगले एउटा मात्रै केन्द्र रहेको वडामा मतदानलगत्तै मतगणना गर्ने योजना बनाएको छ। वडामा एकभन्दा बढी मतदान केन्द्र भएका स्थानमा भने मतपेटिका एकै ठाउँमा ल्याउनुपर्ने भएकाले मतगणना केही ढिलो हुनसक्ने छ। ४१ पदका लागि मतदान जारी छ। उपनिर्वाचनले नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ जनालाई निर्वाचित गर्ने छन्। रिक्त ४४ पदमध्ये तीन पदमा भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचनको मतपरिणाम आयोगको वेबसाइटबाट हेर्न सकिने आयोगले जनाएको छ ।
देशभरका ४१ स्थानमा मतदान सुरु
काठमाडौं । स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि सुरु भएको छ । ४१ पदका लागि हुन लागेको निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन सुरु भएको हो । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् । यस्तै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । बाँकी पदमा ४१ पदका लागि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
नयाँ शक्ति र अनुहार लोकतन्त्रका सुन्दर कोपिला हुन्, फूल्न दिऔंः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति र अनुहार लोकतन्त्रका सुन्दर कोपिला भएकाले उनीहरुलाई फूल्न दिनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो आग्रह गर्नुभएको हो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइरहेका छन्। जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु’– अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ।’ बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुने उल्लेख गर्दै उहाँले भन्नुभएको छ– ‘सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।’
प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरिएको छ। नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले शुक्रबार एकसाथ विज्ञप्ति जारी गरी भ्रमणको औपचारिक घोषणा गरेका हुन्। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ओली मंसिर १७-२१ (डिसेम्बर २ देखि ५ सम्म) का लागि चीन भ्रमणमा जाने भएका छन्। साथमा उनी पत्नी राधिका शाक्य पनि हुनेछन्। प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने तय भएको छ। यस्तै चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय औपचारिक वार्ताको पनि तालिका बनेको छ। चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा हुने एक कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्। यस्तै चिनियाँ विदेश मन्त्रालयले त्यहाँका प्रवक्ता माओ निङले ‘राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही डिसेम्बर २ देखि ५ सम्म चीनको औपचारिक भ्रमण गर्ने’ घोषणा गरेको भनी विज्ञप्ति जारी गरेको छ।
प्रचण्ड सचिवालयले भन्यो- 'गगनको अभिव्यक्तिमा ओरालो बाटोको मनोदशा राम्रैसँग छचल्कियो'
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति गगन थापाको ओरालो बाटोको मनोदशाबाट ग्रसित भएर आएको टिप्पणी गरेका हुन् । आज (बिहीबार) काठमाडौँको कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले ‘प्रचण्ड’ले प्रधानमन्त्री भइदिनुपर्यो भनेर हप्तामा एकपटक खबर पठाउने गरेको दाबी गरेका थिए। यसैको खण्डन गर्दै प्रचण्डको सचिवालयले वक्तव्य जारी गरेको हो। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले लेखेका छन्, ‘महामन्त्रीजी ! कीर्तिपुरको निर्वाचनमा नेका (नेपाली कांग्रेस) को ओरालो बाटो तपाईंको मनोदशाबाट राम्रैसँग छचल्किएछ। यति कुरा हेक्का राख्नुस्, माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, माओवादी नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ।’