जसपाका पूर्व प्रदेश अध्यक्षसहित सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
फागुन । जसपा नेपाल प्रदेश नम्बर १ का पूर्व अध्यक्ष एवं सामाजिक अभियन्तान प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
झापाको दमकमा भएको माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन उद्घाटन तथा खबरदारी सभामा दमक नगरपालिका विभिन्न वडाबाट सयौं नेता कार्यकर्ता प्रवेश गर्नुभएको हो ।
पार्टी प्रवेश गर्नेहरुमा जसपाका दमक नगरका पूर्व अध्यक्ष खेम दाहाल, उपाध्यक्ष अनिल तामाङ, दीपक न्यौपान सहित पूर्व प्रदेश सदस्यहरु, याम लावतीसहितका जसपका विभिन्न तहका नेता कार्यकर्ता, एमाले पूर्वजिल्ला सदस्य मेघप्रसाद दाहालसहित दमक नगर सदस्यसहितका विभिन्न तहका नेता कार्यकर्ता, क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला सदस्य गोविन्द भट्टराईसहितका नेता कार्यकर्ता, राप्रपाबाट इन्द्रबहादुर तामाङसहितका नेता कार्यकर्ता, कांग्रेसबाट राजेश ठकुरीसहित विभिन्न तहका नेता कार्यर्ता, रास्वपाका प्रेमप्रसाद दाहाल सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
दमन नगरपालिका वडा नम्बर ४ बाट मात्रै १२९ जनासहित पाँच सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र दमक नगर समितिले जनाएको छ । उहाँहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउनुभएको हो । अध्यक्ष प्रचण्डले केहीवेरमा खबरदारीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । आजै उहाँले विराटनगरमा पार्टीको प्रदेश बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ
नयाँशक्तिको उपाध्यक्षमा मानुषी निर्विरोध, यी नेता पनि भए निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ। दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएको पार्टीको प्रचारप्रसार विभागले जानकारी गराएको छ । उनीहरूसहित केही सदस्य पदमा पनि निर्विरोध निर्वाचित भएका प्रचारप्रसार विभागले जनाएको छ । नेसपा (नयाँ शक्ति) मा पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा निर्विरोध नेताहरू उपाध्यक्ष (महिला) – मानुषी यमि भट्टराई उपाध्यक्ष (दलित) – दुर्गा सोब कोसी प्रदेश केन्द्रीय सदस्य (खुला) – मणि राई कोसी प्रदेश केन्द्रीय सदस्य (महिला)– तारा बास्तोला दवाडी मधेस प्रदेश केन्द्रीय सदस्य (महिला) – बिबि समिना खातुन वाग्मती प्रदेश केन्द्रीय सदस्य (महिला) – वसुन्धरा सापकोटा गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुला) – चित्र सापकोटा गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला)– नारायणी अधिकारी लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुला)– कमल खनाल लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) – सुनीता काफ्ले कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुला) – लक्ष्मीप्रसाद भट्टराई कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) – मीराकुमारी मल्ल सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुला) – रतनबहादुर टमटा सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला)– सत्यदेवी चापागाईं भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुला) – लोकेन्द्रबहादुर सुनार केन्द्रीय सदस्य – खुला युवा महिला – निशा श्रेष्ठ आदिवासी जनजाति युवा महिला – मन्जुमाया तामाङ मधेसी महिला – अमृताकुमारी देवी दलित के।स। युवा – हिक्मत वि.क. थारु महिला – गीता थनेत यस्तै, नेसपाको अध्यक्ष पदमा डा.बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दिएका छन् ।
माओवादीले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षित गर्ने
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षित गर्ने भएको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीतिअनुसार प्रशिक्षित गराउने उद्देश्यका साथ भेला आह्वान गरिएको माओवादीले जनाएको छ। फागुन १० गते काठमाडौँमा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको महासचिव देव गुरुङले जानकारी दिनुभयो । भेलामा पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको सहभागिता रहने उहाँको भनाइ छ । देशमा उत्कृष्ट काम गर्ने पालिकाहरुमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि नै अगाडि रहेको उल्लेख गर्दै पार्टीको नीतिअनुसार जनप्रतिनिधिलाई प्रशिक्षित गर्न र सम्पूर्ण स्थानीय सरकारलाई ग्रामिण समाजवाद तर्फ अगाडि बढाउन उक्त कार्यक्रम गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
काठमाडौं । आज बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गर्नुभएको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गर्नुभयो । बैठकमा नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ । आज राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले अहिले सरकारले ल्याएको अध्यादेशको विषयमा सबैतिर चर्चा रहेको उल्लेख गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सांसद सुरेशकुमार आलेमगरले देशमा इमान्दारिताको खडेरी लागेको बताउनुभएको छ । राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले देशमा इमान्दारिता आवश्यक रहेको बताउँदै देशलाई अगाडि बढाउन र समृद्धि ल्याउन उद्योगधन्दा, कलकारखाना विकास हुनुपर्नेमा जोड दिनुभयो । तर नेपालमा कलकारखाना, उद्यागेधन्दाहरुलाई हतोत्साही गर्ने प्रवृत्ति देखापरेको बताउनुभयो । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले अध्यादेश संवैधानिक भएकाले अस्वीकार गर्नुको कुनै कारण नरहेको बताउनुभएको छ । अध्यादेश संवैधानिक व्यवस्था भएकाले सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो । सांसद गेल्जेनले आफूलाई पायक पर्दा स्वीकार्ने, पायक नपर्दा अस्वीकार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनुभयो । राष्ट्रियसभाको अर्को बैठक आगामी फागुन ४ गते दिउँसो १ः१५ बजे बस्नेछ ।
समाजवाद हाम्रै पालामा संभव छ : प्रचण्ड
महोत्तरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थित योजनाका साथ जाने हो भने समाजवाद निर्माण हाम्रै पालामा सम्भव रहेको बताउनुभएको छ। महोत्तरीको बर्दिबासस्थित आधारशीला जनकम्युनको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित वैचारिक तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। समाजवाद आकाशबाट खस्ने वा धर्तीबाट जन्मने नभई जनताले निर्माण गर्ने भएकाले यसका लागि सुव्यवस्थित अभियान र आन्दोलन भने आवश्यक रहेको बताउनुभयो । हरेक समुदायमा आफ्नै राजनीति, आफ्नै अर्थतन्त्र र आफ्नै संस्कृति भएको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपालमा समुदाय केन्द्रित समाजवाद नै उपयुक्त हुने धारणा राख्दै अध्यक्ष प्रचण्डले त्यसका लागि समुदायस्तरबाटै समाजवाद निर्माणको अभियान थाल्नुपर्ने बताउनुभयो। आफ्नो पार्टीले लामो बहसपछि भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकबाट समजावाद निर्माणका लागि स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणका काम थाल्ने निर्णय गरेको जानकारी गराउँदै उहाँले पहिले पार्टीले जितेका १२३ पालिकाबाट अभियानकै रुपमा काम थालिने र त्यसपछि ७५३ पालिकामा नै अभियान विस्तार गरिने बताउनुभयो । जनयुद्धको उत्कर्षमा देशभर जनसत्ता र जनकम्युन सञ्चालन गरेको स्मरण गराउदै उहाँले विगतका अभ्यासको अनुभवबाट सिकेर त्यसलाई परिस्कृत गर्दै अब सामाजिक सहकार्यका अभियान निर्माणमा पार्टीले योजना र कार्यक्रम बनाउने बताउनुभयो। अध्यक्ष प्रचण्डले पार्टी अब मधेशमा केन्द्रित हुने गरी कार्यक्रम बनाएको पनि जानकारी दिनुभयो। उहाँले फागुन १२ गतेदेखि हुलाकी मार्गकेन्द्रित जनतासँग माओवादी तराई मधेश जागरण अभियान सुरु गर्ने जानकारी दिंदै यसले पार्टी र जनताबीचको सम्बन्धलाई नयाँ उचाईमा उठाउने विश्वास व्यक्त गर्नुभयो। मधेशी जनताको मुक्तिका लागि लड्ने नेतृत्वदायी पार्टी माओवादी रहेको, पछिल्लो १८ महिने सरकारमा नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदानका लागि कानुन बनाउने र सामन्तवादको अवशेषको रुपमा बाँकी रहेको मिटरब्याजपीडितको समस्या समाधानका ऐतिहासिक थालनी गरिएको बताउनुभयो। आम उत्पीडित जनताको मुक्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने आफ्नो पार्टी भए पनि केही वर्ष यता पुराना शक्तिहरुसँगको सहकार्यले आफ्नो वर्ग र समुदायबाट टाढा हुँदै गएकाले अब पछिल्लो केन्द्रीय समिति बैठकपछि पार्टी पुनः आफ्नै वर्ग र समुदायमा फर्कने अभियानमा अघि बढेको बताउनुभयो । जनकम्युनको अभ्यास गर्न २०५९ माघ २५ गते सामाजिक रुपान्तरणका लागि सामूहिक अभ्यास भन्ने मूल नाराका साथ आधारशीला स्थापना भएको थियो। यो कम्युनमा हाल १६ परिवारको सामूहिक बसोबास र सहकार्य रहेको छ।
दिल्ली चुनावको हारपछि के हुन्छ अब केजरीवालको बाटो ?
नयाँ दिल्ली । आम आदमी पार्टीको बाह्र वर्षे यात्रासँगै अरविन्द केजरीवाल आफ्नो नयाँ दिल्ली विधानसभा सिटमा बीजेपीका प्रवेश वर्मासँग तीन हजारभन्दा बढी मतान्तरले पराजित भएका छन्। पहिलो हार केजरीवाललाई बीजेपीका शीर्ष नेता नरेन्द्र मोदीसँग मिलेको थियो भने दोस्रो हार उनलाई बीजेपीका राज्यस्तरीय नेता प्रवेश वर्मासँग भोग्नुपर्यो। आम आदमी पार्टीको उदय दिल्लीबाट भएको थियो र पहिलो जित पनि दिल्लीमै प्राप्त गरेको थियो। सन् २०१३ देखि लगातार दिल्ली विधानसभा चुनाव जित्दै आएको आम आदमी पार्टीको विजय यात्रा २०२५ मा आएर रोकिएको छ। केजरीवाललाई यो हार त्यतिबेला भोग्नुपर्यो, जब उनी भ्रष्टाचार मामिलामा जमानतमा जेलबाहिर छन्। अरविन्द केजरीवालले जमानतमा छुटेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए र जनताले निर्णय गर्ने बताए कि उनी इमानदार छन् वा छैनन्। यदि केजरीवालले जित हात पार्ने थिए भने उनी अझ आत्मविश्वासका साथ बीजेपीलाई दोष लगाउँदै भन्दथे कि उनलाई जानबुझेर फसाइएको थियो, जसको जनताले जवाफ दिएका छन्। दिल्लीमा आम आदमी पार्टीको हारले अरविन्द केजरीवालको राजनीतिक करियरमा गहिरो प्रभाव पार्नेछ। अहिले आम आदमी पार्टीको सरकार केवल पञ्जाबमा मात्र बाँकी छ। यस हारको असर पञ्जाबको राजनीतिमा पनि पर्न सक्छ। पञ्जाब विश्वविद्यालयका राजनीति विज्ञानका प्राध्यापक आशुतोष कुमारका अनुसार, दिल्लीमा केजरीवालको हारले आम आदमी पार्टीको पञ्जाब इकाइको स्वायत्तता बढ्नेछ र केजरीवालको हस्तक्षेप कम हुनेछ। प्राध्यापक आशुतोष कुमार भन्छन्, "पञ्जाबमा सधैं भनिन्छ कि दिल्लीबाट सरकार चलाइन्छ। अब आम आदमी पार्टीको पञ्जाब इकाइले आफ्ना निर्णयहरू आफैं लिन सक्नेछ। पञ्जाबमा सरकार ढल्ने सम्भावना छैन किनभने ‘आप’सँग ९० भन्दा बढी विधायक छन्, र अहिले कोही पनि सत्ता बाहिर जान चाहँदैन। भगवंत मान केजरीवालका विश्वासपात्र मानिन्छन्, तर अब उनी पनि स्वतन्त्र निर्णय लिन सक्नेछन्। यद्यपि, भगवंत मानका अमित शाहसँग पनि राम्रा सम्बन्ध छन्।" केजरीवालको हारले पञ्जाबमा कांग्रेसलाई प्रत्यक्ष फाइदा पुग्ने आँकलन गरिएको छ। कांग्रेस पहिल्यै बलियो भए पनि अब यसको आत्मविश्वास अझ बढ्नेछ। प्राध्यापक आशुतोष कुमार थप भन्छन्, "२०२७ अझै टाढा छ, तर पञ्जाबमा आम आदमी पार्टीको पुनरागमन सहज हुनेछैन। केजरीवालको हार न केवल कांग्रेसका लागि लाभदायक छ, तर भगवंत मानका लागि पनि अनुकूल हुन सक्छ। हरियाणामा ‘आप’ कांग्रेससँग गठबन्धन गर्न चाहन्थ्यो, तर राहुल गान्धी तयार भएनन्। दिल्लीमा कांग्रेस चाहन्थ्यो कि ‘आप’सँग गठबन्धन होस्, तर केजरीवाल सहमत भएनन्। यदि गठबन्धन भएको भए, दिल्लीको नतिजा केही फरक हुन सक्थ्यो।" दिल्ली विधानसभा चुनावको प्रभाव दिल्लीमै सीमित रहने छैन। यस वर्ष बिहारमा पनि विधानसभा चुनाव हुन गइरहेको छ। यदि केजरीवाल विजयी भएका भए, विपक्षी दलहरू बिहारमा बीजेपीविरुद्ध सशक्त गोलबन्दी गर्न सक्थे। गुजरात विश्वविद्यालयका सामाजिक विज्ञानका प्राध्यापक गौरांग जानीका अनुसार, यो हारपछि केजरीवालको राजनीतिक भविष्य गम्भीर रूपमा प्रभावित हुनेछ। उनका अनुसार, "दिल्लीमा आम आदमी पार्टीको यात्रा रोकिनु केवल राजनीतिक हार होइन, यो प्रतीकात्मक रूपमा गहिरो अर्थ राख्छ। यो उस्तै हो, जस्तो अयोध्यामा बीजेपी हार्नु। यदि केजरीवालले जितेका भए, उनले दाबी गर्न सक्थे कि भ्रष्टाचार मामिलामा उनलाई षड्यन्त्रपूर्वक फसाइएको थियो। तर अब उनी त्यो दाबी गर्न सक्ने अवस्थामा छैनन्।" प्राध्यापक गौरांग जानी थप भन्छन्, "अब केजरीवाललाई निर्णय गर्नुपर्नेछ कि उनी बीजेपीसँग लड्नेछन् वा कांग्रेससँग। उनले विगतमा देशभर कांग्रेसलाई कमजोर बनाउने रणनीति अपनाएका थिए, जसले अन्ततः बीजेपीलाई फाइदा पुग्यो। उदाहरणका लागि, गुजरातको पछिल्लो विधानसभा चुनाव हेर्ने हो भने, ‘आप’को उपस्थितिले बीजेपीलाई नै बल पुर्यायो। आम आदमी पार्टीको राजनीति विचारधारात्मक रूपमा अन्योलपूर्ण देखिन्छ। यो हारपछि, सम्भवतः केजरीवालले आफ्नो राजनीति स्पष्ट पार्न सक्छन्।" अरविन्द केजरीवाललाई केहीले नरेन्द्र मोदीको विकल्पको रूपमा हेर्थे। केही राजनीतिक विश्लेषकहरूका अनुसार, केजरीवालले बीजेपीको बहुसंख्यकवादको राजनीति विरुद्ध सुशासनको एजेन्डाबाट राम्रोसँग प्रतिस्पर्धा गरिरहेका थिए। जेएनयूका राजनीति विज्ञानका एसोसिएट प्रोफेसर सुधीर कुमार भन्छन्, "केही विश्लेषकहरू मान्थे कि केजरीवाल बहुसंख्यकवादी राजनीति भित्र प्रवेश गर्न खोजिरहेका थिए। तर म विश्वास गर्छु कि उनले सुशासनको एजेन्डाबाट बीजेपीको बहुसंख्यकवादको राजनीति राम्रोसँग चुनौती दिइरहेका थिए।" उनका अनुसार, "केजरीवालको हारपछि ठूलो प्रश्न उभिएको छ— बहुसंख्यकवादी राजनीतिलाई चुनौती दिन अब के उपयुक्त उपाय हुन सक्छ? अहिले बीजेपीले हिन्दुत्व र सुशासन दुवैलाई एकसाथ अघि बढाइरहेको छ। यस्तो अवस्थामा, विपक्षसँग यो राजनीति चुनौती दिनका लागि कुनै प्रभावशाली हतियार देखिँदैन।" प्रोफेसर सुधीर कुमारका अनुसार, "अब केजरीवाललाई आफूलाई राजनीतिक रूपमा सान्दर्भिक राख्न निकै संघर्ष गर्नुपर्नेछ।" स्रोतः बिबिसी हिन्दी
२०८४ माओवादीको हुन्छ, कसैले रोक्न सक्दैन : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताउनुभएको छ । अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । २०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले थप उत्साह र प्रेरणा दिइरहेको बताउनुभयो । ‘२०६४ मा यस्तै उभार थियो, नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने अवस्था थियो, जनतामा ठूलो आकर्षण थियो, अहिले त्यस्तै देखिएको छ’– उहाँले भन्नुभयो– ‘म विहानको मर्निङ वाकदेखि दिनभरि जनताकै बीचमा खट्ने गरेको छु, जनताकै उत्साह र प्रेरणाबाट यो संभव भएको छ, म जीवनभर यो अभियान जारी राख्ने छु ।’ आफू ७० वर्षे वृद्ध भइसकेको र अहिले विद्यार्थी संगठनमा ३२ वर्षमुनिका साथीहरु आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको बीचमा जान अब नयाँ खालको प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताउनुभयो । नयाँ पुस्ताका लागि मेहनत र संघर्ष आवश्यक रहेको उल्लेख गर्दै उहाँले विहान ५ बजेदेखि रातिसम्म मेहनतका लागि आफूबाट सिक्न पनि आग्रह गर्नुभयो । यसपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेको उल्लेख गर्दै उहाँले यसपटक पुरानो विरासत स्थापित गरेको बताउनुभयो । ‘पार्टीहरु प्रतिबन्धित भएको विद्यार्थी संगठनबाट राजनीति व्यक्त हुन्थ्यो । विद्यार्थी संगठनहरुले के भन्छन् भन्ने कुराले त्यतिबेलाको राजनीति कता जाँँदैछ भन्ने व्यक्त हुन्थ्यो । विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन भूमिगत भए पनि पार्टीहरुले भूमिका निर्वाह गरिरहेका हुन्थ्यो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यसपटक अखिल क्रान्तिकारीले त्यो विरासतअनुसार आफ्नो छाप स्थापित गर्न सफल भएको छ ।’ सिंगै देशको ध्यान अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा केन्द्रित भएको उल्लेख गर्दै उहाँले यसले संगठको पहिचान थप उँचो बनाएको बताउनुभयो । ठूलो उत्साहका साथ उद्घाटन भए पनि बन्दसत्र अलिअलि महाभारत जस्तो भएकाले धेरैमा चिन्ता सिर्जना भए पनि अन्तिममा लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन हुनु महत्वपूर्ण भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले उमेर हद र नेतृत्व दुबैमा निर्वाचनबाट नै टुंगो लगाउनुपर्छ भनेर पार्टी दृढतापूर्वक लागेको र यसमा पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुंगो लगाउनु महत्वपूर्ण अभ्यास भएको बताउनुभयो । यसबाट माओवादीले नीति र नेतृत्व दुबै लोकतान्त्रिक विधिबाट टुंग्यायो भन्ने शक्तिशाली सन्देश स्थापित भएको पनि उहाँले स्पष्ट गर्नुभयो । विद्यार्थी संगठनको निर्वाचनपछि आफूले यसपटक सही विवेकको प्रयोग गरेको संश्लेषण गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले आएको परिणामले मिलेर अघि बढ्ने र संगठनलाई एकताबद्ध बनाउने वातावरण बनेको बताउनुभयो । यो चुनावले विद्यार्थी नहुने तर विद्यार्थी नेता हुने स्थितिको अन्त्य गरेको बताउनुभयो । उहाँले अब विद्यार्थी संगठनलाई पार्टीले एकताबद्ध बनाएर लैजान सहयोग गर्ने बताउनुभयो । संसारभरिको कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र बहस हुँदा एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता नै महत्वपूर्ण सूत्र भएको उल्लेख गर्दै उहाँले सबैले यसलाई आत्मसात गर्नुपर्ने बताउनुभयो । यो कम्युनिष्टहरुको महत्वपूर्ण दर्शन भएकाले व्यक्ति र गुटवादी होइन, माक्र्सवादी भएर अघि बढ्न विद्यार्थी नेतृत्वलाई आह्वान गर्नुभयो । आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्न आग्रह गर्दै उहाँले अखिल क्रान्तिकारीको नयाँ केन्द्रीय समितिका अगाडि महत्वपूर्ण चुनौतीको रुपमा रहेको बताउनुभयो । स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन निर्देशन दिंदै उहाँले एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रह गर्नुभयो ।
समाजवाद निर्माणको मुख्य आधार कृषिः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह स्थानीय सरकार भएकाले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय सरकारको रणनैतिक महत्वलाई आत्मसात गरेर उत्पादनका निमित्त संघर्ष, वैज्ञानिक प्रयोग र सांस्कृतिक रुपान्तरणमा जोड दिने नीति लिएको बताउनुभयो । आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकासको मूल आधार कृषि उत्पादनमा वृद्धि र कृषिमा आधारित औद्योगिकरणको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दलाल, नोकरशाही, पुँजीपति र विचौलियाले निजीकरण र उदारीकरणका नाममा राष्ट्रिय अर्थतन्त्रको विकासलाई तहसनहस बनाएको तथ्यलाई ध्यान दिएर अब क्रान्तिकारीहरुले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगिकरणको मौलिक बाटो समात्नुपर्ने बताउनुभयो । स्थानीय उत्पादनमा जोड, उत्पादनको प्रशोधन र साना उद्योगहरुको स्थापनामार्फत रोजगारी बढाउने काममा ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले पार्टीले लिएको पछिल्लो निर्णय किसान महासंघले आम किसानको बीचमा लैजानुपर्ने बताउनुभयो । आफ्नो पार्टीबाट जितेका पालिकाका जनप्रतिनिधिहरुलाई राष्ट्रिय भेला गरेर स्थानीय तहमा समाजवादको अभ्याससम्बन्धी प्रशिक्षण दिने कार्यक्रम बनाइएको पनि उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरुले कृषिलाई बेस (आधार) र सूचना प्रविधिलाई लिड (नेतृत्व)को रुपमा स्थापित गरेको जानकारी दिंदै पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले त्यो बजेटलाई तोडमोड गरेकोमा आपत्ति जनाउनुभयो । किसान महासंघले आधारभूत रूपमा सही बजेट र नीति तथा कार्यक्रम कार्यान्वयनका लागि भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले किसान पेन्सन र किसान परिचयपत्र वितरणलाई प्राथमिकतामा राखेर काम थाले पनि अहिले अवरुद्ध भएकोमा उहाँले आपत्ति जनाउनुभयो । आफूले राजनीतिको सुरूवात किसान संघबाटै गरेको स्मरण गराउँदै उहाँले यो संगठनलाई किसानको घर र खेतबारीसम्म पुर्याउनुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले फागुन १२ गते देखि हुने तराई मधेशकेन्द्रित हुलाकी र पूर्वपश्चिम राजमार्ग तथा वैशाखामा हुने मध्य पहाडी लोकमार्गकेन्द्रित अभियान सफल बनाउन किसान महासंघलाई निर्देशन दिनुभयो । बैठकमा अध्यक्ष चित्रबहादुर श्रेष्ठलेसंक्षिप्त प्रतिवेदन पेस भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव नहेन्द्र खड्काले गर्नुभएको थियो ।
दिल्ली विधानसभा चुनाव: केजरीवाल र सिसोदिया पराजित
नयाँ दिल्ली, दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीलाई ठूलो झटका लागेको छ। ७० सदस्यीय विधानसभा चुनावमा भारतीय जनता पार्टी ले नाटकीय अग्रता हासिल गरेको छ । हालसम्मका मतपरिणामको अवस्था हेर्दा भाजपाले ४८ सीटमा अग्रता लिएको छ । आम आदमी पार्टी २२ सीटमा अगाडि छ। चुनावमा सबैभन्दा ठूलो आश्चर्य भनेको आम आदमी पार्टीका संयोजक र पूर्व मुख्यमंत्री अरविन्द केजरीवालको पराजय हो। केजरीवाललाई दिल्ली विधानसभा क्षेत्रबाट भाजपाका प्रवेश वर्माले ३१८२ मतको अन्तरमा हराएका छन्। यो चुनावी परिणामले दिल्लीका राजनीतिमा आम आदमी पार्टीको प्रभावको बारेमा पुनः विचार गर्नुपर्ने विषय उठाएको छ। अरविन्द केजरीवालको पराजयसँगै पार्टीका अन्य नेता मनीष सिसोदियाको पनि हार भएको छ, जसले पार्टीको नेतृत्वमा अझ ठूलो संकट ल्याएको छ। चुनावको परिणामसँगै आम आदमी पार्टीका समर्थकहरू शोकमा छन्, जबकि भाजपा समर्थकहरू उत्साहित छन्। दिल्लीमा केजरीवालको नेतृत्वमा तीन पटक लगातार चुनाव जित्ने पार्टी यस पटक बलियो प्रतिद्वन्द्वीको रूपमा उभिएको थियो, तर अन्तिम परिणामले पार्टीको सपनामा पानी फेरिदिएको छ। ७० सिटमध्ये ४८ सिटमा भाजपाको अग्रता भनेको कुनै समय दिल्लीमा सफलतासाथ चुनाव लड्ने पार्टीको हार हो। आम आदमी पार्टीको पहिलो प्राथमिकता भनेको शिक्षा र स्वास्थ्य सुधार थियो, तर यो चुनावमा पार्टीको कमजोर अभियान र कार्यशैलीको आलोचना बढी भयो। अन्ना हजारेको प्रतिक्रिया यस्तो पराजयको अवस्थामा सामाजिक कार्यकर्ता अन्ना हजारेले एकपटक फेरि अरविन्द केजरीवाललाई ुआइनाु देखाएका छन्। अन्ना हजारे, जो द्दण्ज्ञज्ञ को लोकपाल आन्दोलनका मुख्य नेता थिए, उनले केजरीवालको आलोचना गर्दै भने, ूमैले पहिले नै भनिसकेको थिएँ कि अरविन्द केजरीवालको ध्यान सत्ता र धनको पछि लग्यो। उहाँले शिक्षा र स्वास्थ्यको कुरा गरे, तर अन्ततः उहाँले आफ्नो ध्यान शराबका पसलहरूको विक्रिमा लगाएर सरकारी संस्थाको दुरुपयोग गर्न थाले।ू अन्ना हजारेका यी आलोचनात्मक शब्दहरूले अरविन्द केजरीवालको नेतृत्व र सरकारको आलोचना गरेका छन्। उनका अनुसार, केजरीवालले जनतासँगको विश्वास गुमाए र आफ्नो राजनीतिक क्यारियरको लागि स्वार्थको बाटो अपनाए। अब दिल्लीका राजनीतिक विश्लेषकहरू भविष्यमा केजरीवालको नेतृत्वमा आम आदमी पार्टीको पुनर्निर्माण र भाजपा संगको प्रतिस्पर्धा कस्तो रहनेछ भन्ने बारेमा छलफल गर्दैछन्। चुनावी परिणामले दिल्लीको राजनीतिक परिप्रेक्ष्यमा नयाँ दिशा तय गर्न सक्छ। यद्यपि दिल्लीमा आम आदमी पार्टीका समर्थकहरू निराश भएका छन्, त्यसैगरी भाजपाका समर्थकहरूले यसलाई एक ऐतिहासिक विजयको रूपमा हर्षोल्लासित भएका छन्। केजरीवाल र उनकी पार्टीले जनतासम्म पुग्ने र वास्तविकता बुझ्ने कसरत गर्नुपर्ने समय आएको छ। अब दिल्लीको भविष्य कस्तो हुनेछ भन्ने जिज्ञासा भने अझै कायमै छ।
दिल्लीमा केजरीवाललाई झट्का, कमब्याक गर्दै भाजपा
नयाँ दिल्ली । आम आदमी पार्टीलाई सत्ता जोगाउने चुनौती छ, तर एग्जिट पोलका तथ्यांकहरू यसका विपरीत छन्। यद्यपि एग्जिट पोलका अनुमानहरू हरेक पटक सही साबित हुँदैनन्, तर यस पटक दिल्लीमा एग्जिट पोलका नतिजा सही सावित भएमा, भाजपा लगभग २७ वर्षपछि यहाँ सत्तामा फर्कनेछ। मतगणनाको प्रारम्भिक रुझान हेर्दा भाजपा ४८ स्थानमा अगाडि छ भने आप २४ स्थानमा अगाडि छ । यही रुझान् अन्तिमसम्म कायम रहे भाजपाले दिल्लीमा कमब्याक गर्ने निश्चित छ । स्वयं केजरीवाल पनि प्रतिष्पर्धामा पछाडि परिसकेका छन् । यदि आम आदमी पार्टी हार्छ भने, यो पार्टीका लागि ठूलो धक्का हुनेछ। बितेको एक दशकमा आम आदमी पार्टीले दिल्ली र पंजाबमा पूर्ण बहुमतको सरकार बनाउँदै राष्ट्रिय पार्टीको यात्रा पूरा गरिसकेको छ। यस यात्रा क्रममा दिल्लीमा पार्टीको शीर्ष नेतृत्वमाथि कथित मदिरा घोटालाका आरोपहरू लागे, जसकारण धेरै नेताहरू जेल जानुपर्यो। यस घटनाले पार्टीको रणनीतिमा असर पार्यो। सामान्यतया आक्रामक देखिने आम आदमी पार्टी, भ्रष्टाचारका आरोपहरूपछि धेरै अवसरमा बचाउको भूमिकामा देखिन पुग्यो। यो सन् २०११ को कुरा हो। दिल्लीको रामलीला मैदानमा जनसागर उम्लिएको थियो। मानिसहरूले टाउकोमा सेतो टोपी लगाएका थिए, जसमा ‘आई एम अन्ना’ लेखिएको थियो, र मुखमा भ्रष्टाचारविरोधी नारा थियो। अगाडि ठूलो मञ्च थियो, जहाँ अन्ना हजारे आफ्ना सहयोगीसँग अनशनमा बसेका थिए। ती सहयोगीहरूमध्ये एक अरविन्द केजरीवाल पनि थिए। डिसेम्बर महिना सकिन लाग्दा अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलन समाप्त भइसकेको थियो। त्यसपछि अरविन्द केजरीवालले राजनीति प्रवेश गर्ने निर्णय गरे र २६ नोभेम्बर २०१२ मा आम आदमी पार्टीको गठनको घोषणा गरे। त्यतिबेला केजरीवालले भनेका थिए, "मजबुरीले हामी राजनीतिमा आउनुपर्यो। हामीलाई राजनीति आउँदैन। हामी यो देशका आम नागरिक हौं, जो भ्रष्टाचार र महँगीले दुःखी छौं।" केजरीवालले जुन पार्टीलाई ‘मजबुरी’मा गठन गरेको बताएका थिए, त्यस पार्टीले मात्र १० वर्षमा दिल्लीको राजनीतिक परिदृश्यमा आफ्नो बलियो उपस्थिति देखाइसकेको छ। आम आदमी पार्टीले दिल्लीमा तीनपटक विधानसभा र दुईपटक नगर निगमको चुनाव लडिसकेको छ। विधानसभा चुनावमा दुईपटक स्पष्ट बहुमत प्राप्त गर्यो भने एकपटक दोस्रो ठूलो पार्टी बन्यो। सन् २०१७ को नगर निगम चुनावमा पराजित भए पनि २०२२ मा एमसीडीमा जित हासिल गर्यो। केजरीवालले २०१३ मा २८ सिट जित्दै दिल्लीको राजनीतिमा प्रवेश गरेका थिए। त्यसपछि २०१५ मा ७० मध्ये ६७ सिट जित्दै सबै कीर्तिमान तोडेर इतिहास रचे। २०२० मा सिट संख्या घटेर ६२ भयो, तर पनि केजरीवाललाई चुनौती दिने कुनै दल देखिएन। राजनीतिक विश्लेषक अभय कुमार दुबे बीबीसीसँग भन्छन्, "आम आदमी पार्टी अहिले दिल्ली र पंजाबमा सीमित छ। यदि कुनै एउटा राज्यमा पराजय भयो भने, पार्टीलाई ठूलो धक्का लाग्नेछ। दिल्ली आपको मुख्यालय हो, यहीँबाट पार्टीको सुरुवात भएको थियो, त्यसैले यहाँ जित्नैपर्ने स्थिति छ।" तर, आम आदमी पार्टी अहिलेसम्म लोकसभा चुनावमा दिल्लीमा खाता खोल्न सकेको छैन। २०१४, २०१९, र २०२४—तीनवटा लोकसभा चुनाव लड्दा पनि तीनैपटक हार बेहोर्नुपर्यो। स्रोतः बिबिसी हिन्दी
अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत
काभ्रे । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणका क्रममा उहाँले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको हो । तेमाल गाउँपालिकाबाट रावणजी तामाङको नेतृत्वमा २१ जना, धुलिखेल नगरपालिकाबाट भीमबहादुर मोक्तान, वीरबहादुर घिसिङसहित २५ जना र रोशी गाउँपालिकाबाट जोवान लामासहित विभिन्न व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरु कांग्रेस, एमाले लगायतका दलहरु परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । धुलिखेल नगरपालिकाको हलमा राजनीतिक वैचारिक प्रशिक्षण जारी छ । प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्य सूर्यमान दोङलगायतका नेताहरुको सहभागिता रहेको छ ।
स्वर्गद्वारी गुठीपीडित किसानले सिंहदरबारलाई सुनाउन ठटाए थाली
काठमाडौं । स्वर्गद्वारी गुठीका मोही किसानले काठमाडौँमा थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । बुधवार उनीहरूले प्रदर्शनका क्रममा करिब एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन सुरु गरेका थिए । २०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबिच सहमति भएको थियो, जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरु गर्ने उल्लेख थियो । तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन् । काठमाडौँको आन्दोलनमा पनि सुनुवाइ नभए दाङ फर्केर शान्तिपूर्णदेखि सशक्त र दाङ बन्दसम्मका कार्यक्रम गर्ने तयारी पनि भएको स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले चेतावनी दिएको छ । स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिगाहा १७ कट्ठा सात धुर जग्गामध्ये सात सय ५३ बिगाहा जग्गामा मोही कायम छ । मोही कायम भएको जग्गाको स्वामित्व आफूहरूले पाउनुपर्ने मोही किसानको माग छ ।
गृहमन्त्रीको राजीनामा माग्दै दलित अधिकारीकर्मीद्वारा माइतीघरमा प्रदर्शन
काठमाडौं । जातीय विभेदमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको विरोधमा दलित अधिकारर्कीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामासमेत मागेका छन्। अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले तीनपटकसम्म पक्राउ गरेर थुनामा राखी यातना दिएको विषयमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलगायतले दोषीमाथि कारबाही र पीडित युवकलाई न्यायका लागि माग गरेका छन् । सर्लाहीकै नेहा रौनियारसँग विवाह गरेका सत्येन्द्रलाई प्रहरीले मुम्बईसम्म पुगेर पक्राउ गरेको थियो । विवाह दर्ता गरिसकेपछि पनि उनीविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको छ । अन्तरजातीय विवाह छुटाउनकै लागि यसरी प्रहरीले दमन गर्दै आएको पीडितले बताएका छन् । गृहमन्त्रीकै निर्देशनमा यसरी अन्तरजातीय विवाह गर्ने किशोर–किशोरीलाई पटक–पटक पक्राउ गरिएको उजुरीका आधारमा राष्ट्रिय मानव अधिकार आयोगले समेत छानबिन गरिरहेको छ । गृहमन्त्री रमेश लेखकले भने सो घटनाको विषयमा आफूलाई सामान्य जानकारीसमेत नभएको दाबी गरेका छन्। उता प्रहरी प्रधान कार्यालयले पनि बुधबार प्रेस विज्ञप्ति जारी गरी बालविवाहको मुद्दा दर्ता भएको आधारमा रामलाई पक्राउ गरिएको र जातीय विभेदको मुद्दामा कारबाहीका लागि कटिबद्ध रहेको प्रस्टीकरण दिएको छ।
ट्रम्पको रणनीति: अमेरिका कता जाँदैछ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला निर्णयहरू हेर्दा अमेरिका एउटा नयाँ विश्व व्यवस्था बनाउने दिशामा अघि बढिरहेको देखिन्छ। गाजालाई नियन्त्रणमा लिने प्रस्ताव, इजरायलसँगको बलियो गठबन्धन, भारतलाई दोस्रो महत्वपूर्ण साझेदार बनाउने नीति, चीनविरुद्धको आर्थिक र सैन्य दबाब, र युरोपमाथिको अमेरिकी प्रभाव कम गर्दै हिन्द-प्रशान्त क्षेत्रमा केन्द्रित रणनीति—यी सबै कदमहरूले विश्व राजनीति, अर्थतन्त्र, र शक्ति सन्तुलनमा गहिरो असर पार्नेछन्। ट्रम्पको नेतृत्वमा अमेरिका अब "वैश्विक प्रहरी" को भूमिकाबाट हट्दै आफ्नो रणनीतिक हितका क्षेत्रमा बढी सक्रिय देखिन्छ। यो नीति तीन प्रमुख आधारमा अडिएको छ: –मध्यपूर्वमा अमेरिकाको प्रभुत्व पुनर्स्थापना –चीनविरुद्धको आर्थिक तथा सैन्य मोर्चाबन्दी –भारतसँगको गठबन्धन र दक्षिण एसियाको शक्ति सन्तुलन परिवर्तन मध्यपूर्वमा अमेरिकी प्रभुत्वको नयाँ खेल गाजा पट्टीलाई "मध्यपूर्वको रिभिएरा" बनाउने ट्रम्पको योजना केवल पुनर्निर्माण परियोजना मात्र होइन, यो इजरायलको दीर्घकालीन सुरक्षा रणनीति, इरानविरुद्धको रणनीतिक चाल, र अमेरिकी सैन्य तथा आर्थिक प्रभाव विस्तार गर्ने नीतिको हिस्सा हो। गाजा कब्जा गर्ने योजना ट्रम्पले गाजा पुनर्निर्माण गर्ने प्रस्ताव राखे पनि, फिलिस्तिनी पक्षले यसलाई "नयाँ अमेरिकी उपनिवेश" को संज्ञा दिएको छ। यदि अमेरिका गाजामा स्थायी रूपमा उपस्थित भयो भने, यसले इरान, हमास, र अन्य इस्लामिक शक्तिहरूसँगको तनाव झन् चर्काउनेछ। यो रणनीति सफल भएमा अमेरिका-इजरायल गठबन्धन बलियो हुनेछ, तर असफल भएमा नयाँ युद्ध चर्किन सक्छ। तेल बजारमा अस्थिरता यदि इरानले गाजामा अमेरिकी प्रभाव बढ्न नदिने रणनीति अपनायो भने, यसले ओपेक राष्ट्रहरूलाई अमेरिकी नीतिविरुद्ध उभ्याउन सक्छ। साउदी अरब, कतार, र युएईजस्ता देशहरूले तेल उत्पादन नियन्त्रण गर्दै अमेरिका र युरोपमाथि दबाब बढाउन सक्छन्। रूस-इरान सम्बन्धको प्रभाव यदि अमेरिका मध्यपूर्वमा सिधै संलग्न भयो भने, रूस र इरानले रणनीतिक साझेदारी बलियो बनाउन सक्छन्। यसले युक्रेन युद्धमा रूसलाई थप फाइदा पुग्ने सम्भावना छ। चीनविरुद्ध अमेरिका: नयाँ शीतयुद्धको संकेत? अमेरिका-चीन प्रतिस्पर्धा अब केवल व्यापारिक मात्र नभई सैन्य, प्रविधि, र वित्तीय प्रणाली सम्म फैलिएको छ। व्यापार युद्ध पुनः चर्किने सम्भावना ट्रम्प प्रशासनले चीनमाथि नयाँ शुल्क लगाउने योजना बनाइरहेको छ। यदि अमेरिका-चीन व्यापार युद्ध चर्कियो भने, विश्व अर्थतन्त्रमा मन्दी आउने सम्भावना बढ्नेछ। चीनले अमेरिकाको प्रभाव कम गर्न रूस, इरान, र पाकिस्तानसँगको आर्थिक तथा सैन्य सहकार्य बढाउनेछ। हिन्द-प्रशान्त क्षेत्रमा तनाव अमेरिका, भारत, जापान, र अष्ट्रेलियाबीचको QUAD गठबन्धन अझ बलियो हुन सक्छ। चीनले यसलाई रोक्न दक्षिण चीन सागरमा आफ्नो सैन्य उपस्थिति बढाउने सम्भावना छ, जसले नयाँ सैन्य तनाव निम्त्याउन सक्छ। डिजिटल मुद्रा र वित्तीय शक्ति संघर्ष अमेरिका-चीन व्यापार युद्धले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा अस्थिरता ल्याउनेछ। यदि चीनले डिजिटल युआनलाई अन्तर्राष्ट्रिय व्यापारमा प्रवर्द्धन गर्यो भने, अमेरिकी डलरको प्रभुत्व कमजोर हुन सक्छ। दक्षिण एसियाको शक्ति सन्तुलन: भारतको भूमिका बलियो हुँदै ट्रम्पले मोदीलाई नेतन्याहूपछि दोस्रो प्रमुख विश्व नेता रूपमा भेट्नु भारत-अमेरिका सम्बन्धको रणनीतिक महत्व दर्शाउँछ। चीनविरुद्ध भारत-अमेरिका गठबन्धन अमेरिका भारतलाई सेमिकन्डक्टर, कृत्रिम बुद्धिमत्ता, र सैन्य प्रविधिमा सहयोग गर्नेछ। यसले भारतलाई चीनको आर्थिक तथा सैन्य विकल्प बनाउनेछ। पाकिस्तानमाथि कूटनीतिक दबाब यदि भारत-अमेरिका सम्बन्ध बलियो भयो भने, पाकिस्तान झन् चीनतर्फ ढल्कनेछ। ट्रम्पले पाकिस्तानलाई "अमेरिकी सैन्य सहायता" घटाउने संकेत गरिसकेका छन्। रूस-भारत सम्बन्धमा असर यदि भारत अमेरिकी सैन्य प्रविधिमा बढी निर्भर भयो भने, रूससँगको परम्परागत सम्बन्ध कमजोर हुन सक्छ। युरोप र रुसमाथिको प्रभाव ट्रम्प प्रशासनले युरोपलाई प्राथमिकता दिन कम गरिरहेको छ। यदि अमेरिका युक्रेनलाई कम सैन्य सहयोग दिन थाल्यो भने, रुसको प्रभाव बढ्नेछ। युरोपियन युनियन (EU) ले आफ्नो सुरक्षा नीति पुनः परिभाषित गर्नुपर्नेछ। जर्मनी, फ्रान्स, र बेलायतले चीनसँग नजिकिन सक्ने सम्भावना छ। विश्व अर्थतन्त्रमा असर: को फाइदामा, को घाटामा? अमेरिका-भारत व्यापार सम्बन्ध बढ्नेछ → भारतलाई लाभ चीनमाथि व्यापार प्रतिबन्ध बढ्नेछ → चीनलाई घाटा तेल बजार अस्थिर हुने सम्भावना छ → मध्यपूर्व र युरोपलाई असर रूस-इरान-चीन गठबन्धन बलियो हुन सक्छ → अमेरिकालाई चुनौती निष्कर्ष: विश्व व्यवस्था पुनःसंरचनाको दिशामा ट्रम्पको पछिल्लो कूटनीतिक चालहरू हेर्दा, अमेरिका अब युरोपमा भन्दा एसिया र मध्यपूर्वमा बढी ध्यान केन्द्रित गर्दैछ। इजरायललाई समर्थन गर्दै गाजा नियन्त्रण गर्ने रणनीति चीनविरुद्ध भारत, जापान, र अष्ट्रेलियासँग गठबन्धन बलियो बनाउने योजना युरोपमाथिको प्रभाव कम गर्दै आफ्ना राष्ट्रिय आर्थिक हितलाई प्राथमिकता दिने नीति यी सबै निर्णयहरूले २०२५ मा विश्व राजनीति, व्यापार, र सुरक्षा रणनीतिमा ठूला परिवर्तन ल्याउनेछन्। अब प्रश्न उठ्छ: के अमेरिका मध्यपूर्वमा स्थायी रूपमा फसेर नयाँ युद्धमा तानिन्छ? के चीन-अमेरिका प्रतिस्पर्धा नयाँ शीतयुद्धमा बदलिन्छ? के भारत अब अमेरिका र चीनबीच "वैश्विक खेलाडी" बन्न सक्दछ? उत्तरहरू आउने महिनाहरूमा स्पष्ट हुनेछन्, तर यो निश्चय छ कि विश्व व्यवस्था पुनःसंरचना हुँदैछ।
संसद् बस्नुअघि विपक्षी दलहरूले साझा धारणा बनाउँछौं : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बैठक बसेर साझा धारणा तय गरिने जानकारी गराउनुभएको छ ।मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको छ । संसद्को हिउँदे अधिवेशन आगामी १८ गते बस्दैछ । सो बैठकअघि विपक्षी दलहरूको बैठक बसेर सामूहिक ढंगबाट कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूहरूले विशेष अधिवेशन बोलाउने चेतावनी दिएपछि मात्रै सरकारले हिउँदे अधिवेशन आह्वान गरेको थियो । ‘हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउँछौं भनेपछि मात्रै सरकारले सदन बोलाएको छ । हामी पर्सि १८ गतेको सदन बस्नुभन्दा अगाडि विपक्षी दलहरूको पनि बैठक बसेर सामूहिक ढंगले कसरी प्रस्तुत हुने ? सरकारले पछिल्लो ६ महिनामा गरेका जनविरोधी क्रियाकलापहरू,’ प्रचण्डले अघि भन्नुभयो, ‘राष्ट्रविरोधी क्रियापकलाहरू, देशमा आर्थिक संकट झन चर्काउनका लागि अरबौं अरब ऋण बढाउने जो काम गरेको छ, आफ्ना जतिसुकै अपराध गरेका भए पनि तुरुन्तै चोख्याउने र राजनीतिक विरोधीलाई प्रतिशोध साँध्ने जो काम गरेको छ, विपक्षी दलहरूलाई पनि सामूहिक रुपमा अगाडि बढाउने कोसिस पनि गरेका छौं ।’
आफ्नै देशमा पौरख गरौं : अध्यक्ष प्रचण्ड
तेह्रथुम, लसुने १४ माघ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्ति विदेस पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताउनुभएको छ । तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमि, माटोको माया नगर्ने प्रवृतिका कारण विदेस जाने प्रवृति बढ्दै भएको बताउनुभएको हो । उहाँले भन्नुभयो -'मलाई कता कता आज भोलि देशभक्तिको भावना कमि हुँदै गएको होकि ?, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकी ? भन्ने चिन्ता लागेको छ ।म आम समुदायलाई अपिल गर्न चाहान्छु। हामी हाम्रा छोराछोरीहरुलाई , हाम्रा सन्ततिहरुलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफै धनि , आफै आत्मनिर्भ बन्नेबाटो तर्फ प्रेरित गरौं । विदेस पठाउन हतार नगरौं ।' अध्यक्ष प्रचण्डले थप्दै भन्नुभयो-' विदेसमा पनि टुंग्गो छैन । काहाँ के हुने हो । अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौ प्रवासीलाई विस्तापित गरिदै छ । कतिबेला हजारौ नेपालीहरु फर्केर नेपाल आउँनुपर्ने हो टुंग्गो छैन । त्यसैगरी, मध्यपूर्वमा पनि कति बेला ठुलो लडाई भएर नेपालीहरु फर्किन पर्ने हो टुंग्गो छैन । हामीले आफ्नै देशको माटोमा पौरख गरौं। स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गरौं ।' देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता र साहसकोको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन भन्ने स्थापित भएका कारण नेपालीहरुले यहीका सम्भावनालाई अवसरमा बदल्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले भन्नुभयो -'हाम्रो देश साधन स्रोत विहिन देश होइन, हाम्रो देश साधान स्रोतले सम्पन्न देश हो ।हाम्रो देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, मिहनेत र पराक्रमका दृष्टिले सबल र क्षमता र साहसकोको दृष्टिकोणले अब्बल मानिस हौं । हामी नेपाली । त्यसमा पनि कोशी प्रदेश देशको अन्य क्षेत्र भन्दा आर्थिक, र उत्पादक शक्तिको अलिक राम्रो विकास भएको ठाउँ हो ।यहाँ राजनीतिका चेतना र पहिचानको निम्ति , आत्म सम्मानको निम्ति पटकपटक संर्घष भएको ठाउँ हो र अहिले पनि यस क्षेत्रका जनताले संविधानलाई उत्पिडित जाति क्षेत्र, धर्म लिङ्गका समुदायको हक अधिकार र पहिचानलाई संविधानमा अझ राम्रोसँग स्थापित गर्न पर्यो ।आवाज उठाउने क्षेत्रको हो ।हामीले कोशिस गरेका छौं । संविधानमै भएको राम्रा व्यवस्था समेत कार्यान्वयन भएको छैन । यहाँ उठिराखेको आवाजले संविधानमा सकारात्मक संसोधन गर्न मदत गर्नेछ ।यो देश यो क्षेत्र सबै हिसाबले प्राकृतिक स्रोत र साधन, जनशक्तिले यहाँ उत्पादन हुने उत्तिस ,अमलिसो अलैचि अदुवा उत्पादन हुन्छ । हावापानी पनि राम्रो यही मिहनेत गर्यो भने विदेसमा भन्दा पनि राम्रो कमाउन सक्छौं । देशमा भौतिक पूर्वाधारको पनि विकास र सहजता हुँदै गएको छ । तर युवाहरुलाई हामीले किन देशमै राख्न सकेका छैनौं भने देशमा टेक्नोलोजीको विकास मार्फत उत्पादनमा गुणात्मक वृद्धि गर्न सकियोस् भने अर्को दृष्टिकोणको कुरा हो हामी प्रति देश र माटो प्रतिको माया भए दुःख गरेर भएपनि देशमै बसेर माटोमै रहेका आफै आत्मनिर्भर हुने काम गर्छ ।' अध्यक्ष प्रचण्डले आफु भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भैरहेको जानकारी दिनुभयो उहाँले भन्नुभयो -'तपाईहरुले देख्नुभएको छ अहिले म पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न कार्यक्रम तथा समारोहहरुमा सहभागी भैराखेको छु ।देशभर एउटा नयाँ विश्लेषण, नयाँ व्यख्या सुशासनको पक्षमा, भ्रष्टाचारकाविरुद्ध सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै हिडेको छु ।मैले आज यहाँ तेह्रथुमा सहिदको स्मृतिमा पार्क र हलको उद्घाटन गरे । यो कार्यक्रममा सबै दलका नेता कार्यकता आएर सहिदहरु सबैका साझा हुन भन्ने स्थापित गर्नुभयो । यो कार्यक्रम देशभर एउटा सकारात्मक सन्देश गएको छ । म यस कार्यक्रम मार्फत एउटा सन्देश दिन तपाईहरु माझ उभिएको छु ।'