दिल्ली चुनावको हारपछि के हुन्छ अब केजरीवालको बाटो ?

दिल्ली चुनावको हारपछि के हुन्छ अब केजरीवालको बाटो ?

नयाँ दिल्ली । आम आदमी पार्टीको बाह्र वर्षे यात्रासँगै अरविन्द केजरीवाल आफ्नो नयाँ दिल्ली विधानसभा सिटमा बीजेपीका प्रवेश वर्मासँग तीन हजारभन्दा बढी मतान्तरले पराजित भएका छन्।

पहिलो हार केजरीवाललाई बीजेपीका शीर्ष नेता नरेन्द्र मोदीसँग मिलेको थियो भने दोस्रो हार उनलाई बीजेपीका राज्यस्तरीय नेता प्रवेश वर्मासँग भोग्नुपर्‍यो।

आम आदमी पार्टीको उदय दिल्लीबाट भएको थियो र पहिलो जित पनि दिल्लीमै प्राप्त गरेको थियो। सन् २०१३ देखि लगातार दिल्ली विधानसभा चुनाव जित्दै आएको आम आदमी पार्टीको विजय यात्रा २०२५ मा आएर रोकिएको छ। केजरीवाललाई यो हार त्यतिबेला भोग्नुपर्‍यो, जब उनी भ्रष्टाचार मामिलामा जमानतमा जेलबाहिर छन्।

अरविन्द केजरीवालले जमानतमा छुटेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए र जनताले निर्णय गर्ने बताए कि उनी इमानदार छन् वा छैनन्। यदि केजरीवालले जित हात पार्ने थिए भने उनी अझ आत्मविश्वासका साथ बीजेपीलाई दोष लगाउँदै भन्दथे कि उनलाई जानबुझेर फसाइएको थियो, जसको जनताले जवाफ दिएका छन्।

दिल्लीमा आम आदमी पार्टीको हारले अरविन्द केजरीवालको राजनीतिक करियरमा गहिरो प्रभाव पार्नेछ। अहिले आम आदमी पार्टीको सरकार केवल पञ्जाबमा मात्र बाँकी छ। यस हारको असर पञ्जाबको राजनीतिमा पनि पर्न सक्छ।

पञ्जाब विश्वविद्यालयका राजनीति विज्ञानका प्राध्यापक आशुतोष कुमारका अनुसार, दिल्लीमा केजरीवालको हारले आम आदमी पार्टीको पञ्जाब इकाइको स्वायत्तता बढ्नेछ र केजरीवालको हस्तक्षेप कम हुनेछ।

प्राध्यापक आशुतोष कुमार भन्छन्, "पञ्जाबमा सधैं भनिन्छ कि दिल्लीबाट सरकार चलाइन्छ। अब आम आदमी पार्टीको पञ्जाब इकाइले आफ्ना निर्णयहरू आफैं लिन सक्नेछ। पञ्जाबमा सरकार ढल्ने सम्भावना छैन किनभने ‘आप’सँग ९० भन्दा बढी विधायक छन्, र अहिले कोही पनि सत्ता बाहिर जान चाहँदैन। भगवंत मान केजरीवालका विश्वासपात्र मानिन्छन्, तर अब उनी पनि स्वतन्त्र निर्णय लिन सक्नेछन्। यद्यपि, भगवंत मानका अमित शाहसँग पनि राम्रा सम्बन्ध छन्।"

केजरीवालको हारले पञ्जाबमा कांग्रेसलाई प्रत्यक्ष फाइदा पुग्ने आँकलन गरिएको छ। कांग्रेस पहिल्यै बलियो भए पनि अब यसको आत्मविश्वास अझ बढ्नेछ।

प्राध्यापक आशुतोष कुमार थप भन्छन्, "२०२७ अझै टाढा छ, तर पञ्जाबमा आम आदमी पार्टीको पुनरागमन सहज हुनेछैन। केजरीवालको हार न केवल कांग्रेसका लागि लाभदायक छ, तर भगवंत मानका लागि पनि अनुकूल हुन सक्छ। हरियाणामा ‘आप’ कांग्रेससँग गठबन्धन गर्न चाहन्थ्यो, तर राहुल गान्धी तयार भएनन्। दिल्लीमा कांग्रेस चाहन्थ्यो कि ‘आप’सँग गठबन्धन होस्, तर केजरीवाल सहमत भएनन्। यदि गठबन्धन भएको भए, दिल्लीको नतिजा केही फरक हुन सक्थ्यो।"

दिल्ली विधानसभा चुनावको प्रभाव दिल्लीमै सीमित रहने छैन। यस वर्ष बिहारमा पनि विधानसभा चुनाव हुन गइरहेको छ। यदि केजरीवाल विजयी भएका भए, विपक्षी दलहरू बिहारमा बीजेपीविरुद्ध सशक्त गोलबन्दी गर्न सक्थे।

गुजरात विश्वविद्यालयका सामाजिक विज्ञानका प्राध्यापक गौरांग जानीका अनुसार, यो हारपछि केजरीवालको राजनीतिक भविष्य गम्भीर रूपमा प्रभावित हुनेछ।

उनका अनुसार, "दिल्लीमा आम आदमी पार्टीको यात्रा रोकिनु केवल राजनीतिक हार होइन, यो प्रतीकात्मक रूपमा गहिरो अर्थ राख्छ। यो उस्तै हो, जस्तो अयोध्यामा बीजेपी हार्नु। यदि केजरीवालले जितेका भए, उनले दाबी गर्न सक्थे कि भ्रष्टाचार मामिलामा उनलाई षड्यन्त्रपूर्वक फसाइएको थियो। तर अब उनी त्यो दाबी गर्न सक्ने अवस्थामा छैनन्।"

प्राध्यापक गौरांग जानी थप भन्छन्, "अब केजरीवाललाई निर्णय गर्नुपर्नेछ कि उनी बीजेपीसँग लड्नेछन् वा कांग्रेससँग। उनले विगतमा देशभर कांग्रेसलाई कमजोर बनाउने रणनीति अपनाएका थिए, जसले अन्ततः बीजेपीलाई फाइदा पुग्यो। उदाहरणका लागि, गुजरातको पछिल्लो विधानसभा चुनाव हेर्ने हो भने, ‘आप’को उपस्थितिले बीजेपीलाई नै बल पुर्यायो। आम आदमी पार्टीको राजनीति विचारधारात्मक रूपमा अन्योलपूर्ण देखिन्छ। यो हारपछि, सम्भवतः केजरीवालले आफ्नो राजनीति स्पष्ट पार्न सक्छन्।"

अरविन्द केजरीवाललाई केहीले नरेन्द्र मोदीको विकल्पको रूपमा हेर्थे। केही राजनीतिक विश्लेषकहरूका अनुसार, केजरीवालले बीजेपीको बहुसंख्यकवादको राजनीति विरुद्ध सुशासनको एजेन्डाबाट राम्रोसँग प्रतिस्पर्धा गरिरहेका थिए।

जेएनयूका राजनीति विज्ञानका एसोसिएट प्रोफेसर सुधीर कुमार भन्छन्, "केही विश्लेषकहरू मान्थे कि केजरीवाल बहुसंख्यकवादी राजनीति भित्र प्रवेश गर्न खोजिरहेका थिए। तर म विश्वास गर्छु कि उनले सुशासनको एजेन्डाबाट बीजेपीको बहुसंख्यकवादको राजनीति राम्रोसँग चुनौती दिइरहेका थिए।"

उनका अनुसार, "केजरीवालको हारपछि ठूलो प्रश्न उभिएको छ— बहुसंख्यकवादी राजनीतिलाई चुनौती दिन अब के उपयुक्त उपाय हुन सक्छ? अहिले बीजेपीले हिन्दुत्व र सुशासन दुवैलाई एकसाथ अघि बढाइरहेको छ। यस्तो अवस्थामा, विपक्षसँग यो राजनीति चुनौती दिनका लागि कुनै प्रभावशाली हतियार देखिँदैन।"

प्रोफेसर सुधीर कुमारका अनुसार, "अब केजरीवाललाई आफूलाई राजनीतिक रूपमा सान्दर्भिक राख्न निकै संघर्ष गर्नुपर्नेछ।"
स्रोतः बिबिसी हिन्दी

प्रतिक्रान्तिकारीहरुलाई पूरै परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकाहरुलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताउनुभएको छ ।  पार्टीको सहायक संगठन वाइसिएल नेपालको बैठक उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वभाविक नहुने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता प्रयासका विरुद्ध अझ बढी संगठित र सशक्त भएर उनीहरुलाई पूर्णरुपमा परास्त गर्नु क्रान्तिकारीहरुको दायित्व हुने बताउनुभयो ।  अहिलेको सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीहरुले आफूलाई स्पेस पाएको महसुस गर्न थालेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले यसलाई क्रान्तिकारीहरुले क्रान्ति पूरा गर्ने अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । आफ्नो पार्टीले २०६२ सालमै गणतन्त्र स्थापनापछि पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारी बीच बेलाबेला टक्कर चलिरहने र समाजवादी गणतन्त्रका लागि थप संघर्ष गर्नुपर्छ भन्ने विश्लेषण गरिएको स्मरण गराउँदै उहाँले अहिले त्यही संघर्षको विन्दु सुरु भएको उहाँले स्पष्ट गर्नुभयो । गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्ने बेला आएको उहाँले बताउनुभयो । उहाँले युवालाई प्रतिगमनको मतियार बनाउने खतरा बढेकाले आम युवाहरुलाई अग्रगमनका लागि थप सचेत र संगठति गर्नुपर्ने बेला आएको पनि बताउनुभयो । वर्ग संघर्षको विशिष्ट मोडमा नेपाल रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै खाले प्रतिक्रान्तिकारी हर्कतलाई परास्त गरी संविधानलाई अझै परिमार्जन गरेर जनताका अधिकारलाई पूर्णता दिंदै सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवादी क्रान्तिको तयारी गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो ।  प्रतिक्रियावादी शक्तिहरुसँग आवश्यकताभन्दा बढी सहकार्य र सम्झौता गर्दा जनतामा भ्रम पर्न गएको र परिवर्तनका एजेण्डा भनेजस्तो गरी कार्यान्वयन हुन नसकेको ठहरसहित पार्टीले गत केन्द्रीय समिति बैठकबाट गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्ग र समुदायतर्फ फर्कने प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो । यसका लागि पार्टीले जनतासँग माओवादी अभियान सुरु गरिसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अग्रमोर्चामा युवाहरुलाई नै राखिएको र वाइसिएलले पनि देशव्यापी लाखौं युवाहरुलाई तम्तयार अवस्थामा राख्नुपर्ने बताउनुभयो । पछिल्लो पटक सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय  समृद्धिको पक्षमा गरेका पहलका कारण जनतामा सकारात्मक वातावरण बन्दै गएको र पार्टीले जनस्तरबाटै समाजवाद निर्माणको पहल थालेको उल्लेख गर्दै उहाँले यसले युवाहरुलाई पनि आकर्षित गर्दै लगेको र झापाबाट रौतहटसम्म अभियान पुग्दा हजारौं नयाँ युवाहरु पार्टीमा गोलबन्द भएको बताउनुभयो । उहाँले वाइसिएललाईसंघर्ष र उत्पादनको मोर्चा अगाडि बढाउन निर्देशन पनि दिनुभयो ।

जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै होः प्रचण्ड

कैलाली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताउनुभएको छ । कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ, यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ । भ्रष्ट र दलालहरु विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन्, त्यस्तो सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौं ।’ जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा स्पष्ट गरेको पनि उहाँले जानकारी दिनुभयो । ‘हिजो जनवादी क्रान्तिको बेलामा आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्वपूर्ण थियो तर अब समाजवादी क्रान्तिमा यसमा महत्व छ कि छैन भन्ने केही समय अलमल जस्तो देखियोे’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हाम्रो भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको बेलामा यो अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको छ । अब हामीले निष्कृय रहेका मोर्चाहरुलाई समेत ब्यूँताउँदै सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएका छौं, अब क्रमशः भेला सम्मेलनमार्फत सबै मोर्चाहरु सक्रिय बनाउने छौं ।’ हिजो जातीय क्षेत्रीय मोर्चामार्फत संघर्षलाई संगठित नगरेको भए जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को मार्ने स्थिति बन्ने संभावना नरहेको स्पष्ट गर्दै उहाँले थारु समुदायलगायत नेपालका सबै जातीय क्षेत्रीय मोर्चाहरुले संघर्षमा ऐतिहासिक र बलिदानीपूर्ण महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । जनयुद्धमा सबैभन्दा धेरै बेपत्ता पारिने बर्दिया जिल्लाका नागरिक रहेको संयुक्त राष्ट्रसंघको तथ्यांकमा समेत उल्लेख गर्दै उहाँले नेपालको राजनीतिक परिवर्तनमा थारु समुदायले ऐतिहासिक बलिदानी गरेको बताउनुभयो । थारु मुक्तिको कार्यभार अझै बाँकी रहे पनि थारु आयोगको व्यवस्था, थारुलाई मधेशी क्लष्टरबाट छुट्याउने, थारु समुदायका लागि समावेशी समानुपातिक अधिकार स्थापित भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले थारु समुदायका लागि लड्ने शक्ति माओवादी नै नभएकाले अरुको भ्रममा नपर्न आग्रह गर्नुभयो । ‘थारु समुदायमा जागरण ल्याउनेदेखि अधिकार सुनिश्चित गर्नेसम्म माओवादीले नै नेतृत्व गरेको हो’– उहाँले भन्नुभयो– ‘अब माओवादीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गरेर थारु समुदायका बाँकी अधिकार पनि संस्थागत गर्दै लैदाने प्रतिबद्धता व्यक्त गर्दछु ।’ थारु समुदायको नेतृत्व गर्ने राष्ट्रिय शक्ति माओवादी अब फेरि आफ्नो वर्ग र समुदायमा फर्किने प्रतिबद्धतासहित रुपान्तरणको दिशामा अघि बढेकाले थारु समुदायकै मुक्तिका लागि भनेर फरक शक्ति आवश्यक नपर्ने उल्लेख गर्दै उहाँले  रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि माओवादीमा समाहित हुन आह्वान गर्नुभयो । टीकापुर काण्डमा जालझेल गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफूले यो संघर्षको सम्मान गरेको र यही बहानामा एउटा थारुको छोरालाई जेलमा राखिरहन अन्याय हुने निष्कर्षका साथ आफू प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई रिहा गर्ने निर्णयमा पुगिएको ताउनुभयो । उहाँले विगतमा माओवादीमा रहेर हाल अन्य दलमा पुगेका थारु अगुवाहरुलाई पनि मूल घरमै फर्केर थारु अधिकार थप स्थापित गर्ने आन्दोलनमा सहभागी हुन आह्वान गर्नुभयो । पहिलेको तुलनामा जिल्लाजिल्लामा कमैया कम्लरी प्रथा कम भए पनि पहुँचवालाहरुले अहिले पनि कम्लरी राख्ने गरेको उल्लेख गर्दै उहाँले सामन्तवादको अवशेषको रुपमा रहेको यो प्रथालाई पूरै उन्मुलन गर्न थारु समुदायबाटै सशक्त संघर्ष आवश्यक रहेको बताउनुभयो । दाङका स्वर्गद्वारी गुठीपीडित किसानलाई न्याय दिन आफ्नो नेतृत्वको सरकारले विधेयक मस्यौदा प्रक्रिया अघि बढाएकै बेला सरकार परिवर्तन भएकाले यो प्रक्रिया रोकिएको र हाल यसलाई अघि बढाउनुको साटो सरकारले किसानमाथि दमन प्रक्रिया सुरु गरेको आपत्ति जनाउँदै अध्यक्ष प्रचण्डले आफूले केही दिनअघि संसदको विशेष संबोधनबाट पनि आग्रह गरेको र यसमा हुने सडक संघर्षमा पार्टीको सहयो रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । माओवादीले आफ्नो वर्ग र समुदायभन्दा पनि कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्नेतिर ध्यान लगाउँदा माओवादी मात्र होइन, वर्ग समुदायका एजेण्डासमेत कमजोर भएको उल्लेख गर्दै उहाँले अब फेरि त्यस्तो गल्ती नदोहोर्याउने बरु आफ्नै वर्ग समुदायको बलमा २०४८ को निर्वाचनमा बहुमत ल्याएर सबै समुदायका अधिकार सुनिश्चित गर्ने दिशातिर अघि बढेको बताउनुभयो ।      

अध्यक्ष प्रचण्डद्वारा थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन (तस्विरहरु)

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनको आज कैलालीको टीकापुरमा उद्घाटन गर्नुभएको छ । 

नयाँ शक्तिका केन्द्रीय कार्यसमिति सदस्य मल्ल माओवादी केन्द्रमा प्रवेश

सुर्खेत २९ माघ । बाबुराम भट्टराई नेतृत्वको नेसपा नेतृत्वको केन्द्रीय कार्यसमिति परित्याग गरी सुर्खेतमा भिमबहादुर मल्ल 'सुवास' माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ।  मल्ललाई पार्टीको कर्णालि प्रदेश समितिको सातौं बैठकमा सहभागी हुन सुर्खेत आउनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा र माला लगाई पार्टीमा स्वागत गर्नुभएको छ । माओवादी केन्द्रमा प्रवेश गर्दै भिमबहादुर मल्लले भट्टराईले नयाँ बनाउने नाममा कम्युष्टि विचार छाडेको साथै उहाँले भन्ने गरेको नयाँ विकल्पको दिशाहिन राजनीतिको औचित्य समेत समाप्त भएकाले आफु सो पार्टी परित्याग गरेको बताउनुभयो ।  देश र जनतालाई माया गर्ने वास्तविक पार्टी माओवादी केन्द्र भएको अब आफु पुरानै घर फर्र्किएको बताउँदै माओवादी केन्द्रमा रहेर देश र जनताको पक्षमा काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

लोकप्रिय