सिमकोटमा छ करोडको आलु बिक्री
हुम्ला । जिल्ला सदरमुकाम सिमकोट गाउँपालिकामा यस वर्ष छ करोड रुपियाँभन्दा बढी मूल्यको आलु बिक्री भएको छ । किसानले व्यवसायिक आलु खेती गर्न थालेपछि सो मूल्यको आलु बिक्री भएको हो ।
सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले यस वर्ष गाउँपालिकाका आठ वटै वडामा गरी छ करोड २५ लाख रुपियाँ बराबरको आलु उत्पादन गरी बिक्री गरिएको बताउनुभयो । गाउँपालिकाभर ६४० हेक्टर आलु खेती गर्दा १२ हजार पाँच सय क्विन्टल आलु उत्पादन भएको छ । सदरमुकाम सिमकोटमा आलु प्रतिकेजी ५० रुपियाँ पर्छ । उहाँले गत वर्षभन्दा यस वर्ष आलु उत्पादन पाँच सय क्विन्टल कम भए पनि आलु किसानका लागि आम्दानीको राम्रो स्रोत भएको बताउनुभयो । आलु खेतीबाट आम्दानी हुने भएपछि किसानले व्यावसायिक रूपमा खेती गर्दा आलु उत्पादन गर्न सकेका हुन् ।
गाउँपालिकाका अधिकांश घरधुरीमा आलु खेती गर्ने गरिन्छ । उहाँले त्यसैले प्रत्येक घरधुरीको आम्दानीको स्रोत आलु नै भएको बताउनुभयो । यो आलु सिमकोट बजार, ठेहे, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकासम्म जाने गर्छ । आलु खेती आम्दानीको स्रोत भएका कारण गाउँपालिकाले आलु खेतीलाई विस्तार गर्ने कार्यक्रमसमेत ल्याउने जानकारी उहाँले दिनुभयो । गोठे तथा प्राङ्गारिक मलबाट आलु खेती गरिने भएका कारण हुम्लाको आलु विषादीरहित हुने गरेको छ ।
हुम्लालगायत कर्णालीका उच्च भेगमा हिमपात
हुम्ला । हिमाली जिल्ला हुम्लासहित कर्णालीका विभिन्न जिल्लाका उच्च भेगमा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । हुम्लामा यसवर्ष यो तेस्रो पटक हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हिमपातका कारण सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका नागरिकको जनजीवन प्रभावित बनेको छ । हिमपात भइरहेकाले स्थानीय चिसोले घर बाहिर निस्कन सकेका छैनन् । हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो । किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराको भनाइ छ । यतिबेला परेको हिउँले बाली उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।
हुम्लामा हिमपात, जनजीवन प्रभावित
हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो । आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए । यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै किसान खुसी भएका छन् । हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।
मुगुको लिब्रुगाउँमा गाडी पुग्दा बाजागाजाले स्वागत
मुगु । मुगुको उत्तरी सोरु गाउँपालिकाका– ४ लिब्रुमा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी भएका छन् । सोरु गाउँपालिकाको केन्द्र सोरुकोट मसिनमेला हुँदै लिब्रु सडकको १३ किलोमिटर ट्र्याक खुलेसँगै बिहीबार पहिलोपटक लिब्रुमा गाडी पुगेको हो । यो सडक निर्माणमा सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत करिब दुई करोड लगानी भएको छ । बिहीबार सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले संयुक्त रूपमा सडक उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै सोरु गाउँपालिकाका अध्यक्ष शाहीले चुनावका वेला कर्णाली करिडोर जोड्ने र गाउँ–गाउँमा विद्युत् र सडक पुर्याउने प्रतिबद्धता गरेको स्मरण गरे । सोरु गाउँपालिकामा ११ वडाका ५६ बस्तीमध्ये अधिकांश वडाका बस्तीमा सडक सञ्जाल जोडिएको छ । हरेक वडा–बस्तीमा सडक जोड्ने लक्ष्यअनुसार करिब ५० बस्तीमा सडक पुगेको र बाँकी बस्तीमा आगामी वर्षसम्म जसरी भए पनि सडक पुर्याउने अध्यक्ष शाहीले बताए । यो सडकको हुम्लामा बेलिब्रिजको व्यवस्थापन गरी कर्णाली करिडोरमा पनि जोडिने उनले बताए । सोरुकोट–मसिनामेला हुँदै लिब्रु जोड्ने सडकले पालिकाका नागरिकलाई मात्र नभई हुम्लाका नागरिकलाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । हुम्लाका सर्केगाडा, अदानचुली र चंखेली गाउँपालिकाका स्थानीयले पनि यो सडकबाट लाभ लिनेछन् । उनीहरूलाई बैंकिङ सेवा लिन हुम्ला सदरमुकाम सिमीकोट जानुभन्दा सोरुकोट आउन सहज हुने सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए । सोरुकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा छ । स्वास्थ्य उपचार तथा व्यापारमा पनि यो सडकले सहजता प्रदान गर्ने शाहीले बताए । गाउँपालिकाको लिब्रुमा सिमी, मास, केराको राम्रो उत्पादन हुने गर्दछ । यातायातको सुविधा नहुँदा यसले राम्रो बजार पाएको थिएन । गाउँमै गाडी पुगेपछि गाउँमा उत्पादित फलफूल र तरकारीको बजारीकरण सहज हुने स्थानीय अगसरा शाहीको विश्वास छ ।
जुम्लाका ६० वडामा एकै दिन खबरदारी सभाको तयारी
जुम्ला । नेकपा माओवादी केन्द्र जुम्लाले कात्तिक २९ गते बिहीबार जुम्लामा हुने खबरदारी सभाको तयारी गरेको छ। कार्तिक २६ गते अर्थात सोमबार बसेको पदाधिकारी बैठकले सुशासन, सामाजिक न्याय, भ्रष्टाचार, कुशासन,कुरिती तथा सहकारी विषयमा आमसभामार्फत खबरदारी गर्न लागिएको छ। जुम्लाका ६० वडामा खबरदारी सभा गरिने जिल्ला पार्टी इन्चार्ज नरेश भण्डारीले बताए। उनका अनुसार सिञ्जा सभ्यता विधेयकका विषयमा गरिएको झुटो प्रचारप्रसारका विरुद्ध यथार्थ र अन्य जिल्लाका गौरवका आयोजनाबारे कार्यकर्ता तथा स्थानीय नागरिकहरूलाई सन्देश प्रवाहित गरिनेछ। खबरदारी सभा सरकारले गरेका पक्षपात, भ्रष्टाचार र बेथितिविरुद्ध हुने भएकाले सम्पूर्ण पार्टीका कार्यकर्ता सहभागी हुने अपिल भनिएको छ। समसामयिक राष्ट्रिय राजनीति जनतामाझ सत्यतथ्य कुरा पुर्याउन खबरदारी सभा आयोजना गर्न लागिएको जिल्ला पार्टीको संयोजक नवराज न्यौपानेले बताए।
जुम्लामा स्याउबाट भित्रियो ६१ करोड रुपैयाँ
काठमाडौं । जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्यबराबरको स्याउ जुम्लाले बेचेको हो । तथ्यांकअनुसार कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा रोपिएका स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो । जसमध्ये ९ हजार ३ सय ९१ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको थियो । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार ट्रक,बस,जिप तथा हाइस र जहाजबाट जुम्ली स्याउ निर्यात भएको थियो । बगैंचामै जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६५ रुपैयाँमा स्याउ बेचेका थिए । बसबाट एक हजार ६ सय ६० मेट्रिकटन,जीप र हाइसबाट ६६४ मेट्रिकटन र जहाजबाट ७४ मेट्रिकटन स्याउ निर्यात भएको हो । मालवाहक ट्रकबाट ६ हजार ९ सय ९३ मेट्रिकटन स्याउ निर्यात भएको थियो । साउनको ४ दिन,भदौको ३१ दिन,असोजको ३० दिन र कात्तिकको १८ दिन गरेर जुम्ली स्याउ ८३ दिन सम्म निर्यात भएको थियो । ८ सय ३७ जना व्यापारीले किसानको स्याउ बजारमा लगेको कृषि प्राविधिक लछिराम महतले जानकारी दिए । उनका अनुसार जुम्लामा गत वर्षको तुलनामा स्याउको उत्पादन कम भए पनि मूल्य बढ्दा स्याउको कारोबार बढेको हो । प्राविधिक महतका अनुसार निर्यात हुने जुम्ली स्याउको तथ्यांक संकलनका लागि नाग्म प्रहरी चौकीमा रेकर्ड फाइल तयार गरेर प्रहरी चौकीलाई दिइएको थियो । फाइलमा स्याउ निर्यात गर्ने व्यापारी र नम्बरसमेत उल्लेख थियो । जुम्लामा रेड,रोयल,गोल्डेनसँगै उच्च घनत्वको स्याउ समेत उत्पादन भइरहेको छ । जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । स्याउ निर्यात हुने समयमा बर्खा लाग्ने भएकोले बजारसम्म लैजान कठिन हुने गरेको किसानहरूले दुःखेसो पोखेका छन् । जुम्लाको स्याउ सुर्खेत,नेपालगन्ज,कोहलपुर,बुटवल,चितवन र काठमाडौंको बजारमा पुग्ने गरेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले एक किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्मको स्याउ बेचेको बताए । उनले भने,‘जुम्ली स्याउ स्वादिलो र पोषिलो हुने भएकोले सबैको रोजाइ बनिरहेको छ ।’ व्यापारीहरूले जुम्ली स्याउ तिज,दसैं र तिहारलाई केन्द्रमा राखेर बजारमा लैजाने गरेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै जुम्ली स्याउको निर्यात सहज बनेको हो । तर कच्ची सडक भएकोले गाडीमा हल्लिएर ५ प्रतिशत स्याउ कुहिने गरेका छन् । स्याउको बजारीकरणका लागि जिल्लामा बृहत् कोल्डस्टोर निर्माण गर्न किसानहरूले माग गरेका छन् । उनीहरूले बाहैं महिना स्याउ बेच्ने वातावरण बनाइदिन सरकारसँग पटक-पटक आग्रह समेत गरिरहेका छन् ।
कर्णालीमा पहिलोपटक विषादी प्रयोगशाला स्थापना
सुर्खेत । कर्णालीमा पहिलोपटक तरकारी तथा फलफूलमा प्रयोग गरिने विषादी जाँच गर्ने प्रयोगशाला स्थापना भएको छ । सुर्खेतको वीरेन्द्रनगर–६, स्थित बुलबुले तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरिएको हो । संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाको सहयोगमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशालाको कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उद्घाटन गरेका छन् । प्रयोगशाला उद्घाटन गर्दै मन्त्री शाहले विषादीरहित तरकारी उत्पादन तथा बिक्री वितरणमा कृषक, व्यवसायी र उपभोक्तामा जनचेतनाको आवश्यक रहेको बताए । कर्णाली प्रदेश आफैँमा अर्ग्यानिक रहेको उल्लेख गर्दै पछिल्लो समय तरकारी तथा फलफूलमा बढ्दै गएको विषादीको प्रयोगले मानवस्वास्थ्यमा गम्भीर असर पर्दै गएकोमा सचेत रहनुपर्ने शाहले बताए । प्रयोगशाला स्थापना भएसँगै प्रदेश सरकारको अर्ग्यानिक प्रदेशको अवधारणालाई सघाउ पुग्ने मन्त्री शाहको भनाइ थियो । सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा रहेका प्रयोगशाला यसै वर्ष सञ्चालनमा आउने मन्त्री शाहको दावी छ, जसका लागि बजेटको व्यवस्थापन भइसकेको उनले बताए । यस्तै, प्रदेश सरकारले विषादी व्यवस्थापनसम्बन्धी कानुन बनाउने तयारी भइरहेको मन्त्री शाहले बताए । जीवनाशक विषादी भन्नाले बोट बिरुवा, कृषिजन्य पदार्थ, वन तथा वन पैदावर, जीव, पशुपक्षी, मानव स्वास्थ्य, भण्डारण, प्याकेजिङ, निर्माण कार्यमा हानि पुर्याउने, रोग, कीरा, सुलसुले, नेमाटोड, झारपात, मुसा लगायतबाट बचाउन प्रयोग गरिने प्रङ्गारिक, वनस्पति, जैविक तथा रासायनिक वस्तु हुन् । यस्ता विषादीको प्रयोग गर्दा मानव स्वास्थ्यमा क्यान्सरजस्ता घातक रोगको जोखिम हुने केन्द्रीय कृषि प्रयोगशालाको प्रमुख महेशचन्द्र आचार्यले बताए । नेपालमा सरदर विषादीको खपत ३ सय ९६ ग्राम खास बिष प्रतिहेक्टर बालीअनुसार खपत हुने गरेको छ, जसमा तरकारीमा एक दशमलव ६० केजी खास विष प्रतिहेक्टरमा प्रयोग हुने आचार्यले बताए ।
कणालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए। उनले यहाँका स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताए। ‘हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकार भएका निकायलाई अनुरोध गरेका छौँ। यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौँ, जसको राम्रो प्रभाव परेको छ’, अध्यक्ष कँडलेलले भने। चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा हाल कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले जानकारी दिए। नेपालसँग सिमाना जोडिएका भारतीय भागमा समेत कर्णालीकै स्याउले बजार पाएको उनले बताए। वीरेन्द्रनगर सुर्खेतका व्यापारी कमान जिसीले भारतीय स्याउ प्रतिकिलो रु एक सय ५० देखि रु दुई ५० र चीनको स्याउ प्रतिकिलो रु एक सय ६० भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो रु ९० देखि एक सय २० सम्ममा पाइन थालेपछि बजार विस्तारमा सघाउ पुगेको बताए। दसैँमा धेरैजसोले उपहारका रूपमा कर्णालीकै स्याउ प्रयोग गरेका जाजरकोट नलगाड नगरपालिका-८ का वीरबहादुर खत्रीले बताए। मुगु, जुम्ला तथा डोल्पाबाट स्थलमार्ग हुँदै आएको स्याउले बजार पाएको उनले जानकारी दिए।
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा भएका छन्। जिल्लाको कनकासुन्दरी गाउँपालिका, हिमा, सिंजा, चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिका साक्षर गाउँपालिकाका रूपमा घोषणा भएका हुन्। साक्षर घोषणा गर्न तोकिएका सूचकहरू पूरा भएपछि साक्षर गाउँपालिका घोषणा गरिएको नागरिक दैनिकमा खबर छ । कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, हिमा गाउँपालिकामा ९६ प्रतिशत, सिंजामा ९६.५ प्रतिशत, चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत र पातारासीमा ९५.२४ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ। कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले साक्षर नगर घोषणा गरेका छन्। मन्त्री भण्डारीले शुक्रबार प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेरै कनकासुन्दरीलाई घोषणा गरेका गरे। उनले गुणस्तरीय शिक्षा अहिले आवश्यकता रहेको बताए। यस्तै पातारासी गाउँपालिका कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले साक्षर पालिका घोषणा गर्नुभएको हो। उनले हिमा गाउँपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री बिजया बुढा र सिंजा गाउँपालिकालाई अध्यक्ष पूर्णप्रसाद धितालले साक्षर घोषणा गरेका हुन्। तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर गाउँपालिका घोषणा गर्न मिल्ने प्रावधानअनुसार धमाधम स्थानीय तह साक्षर घोषणा भइरहेका छन्। कनकासुन्दरी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन रोकायाले कुल १३ हजार ६ सय २५ जनसंख्या रहेको गाउँपालिकामा ९७ प्रतिशत नागरिक साक्षर रहेको बताए। यता पातारासी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अविराज उपाध्यायले १५ देखि ६० वर्षसम्मका १० हजार ४२ जनसंख्या मध्ये ९५.२४ प्रतिशत नागरिक साक्षर भएको उपाध्यायले बताए। उनका अनुसार, एसएलसि वा एसईई पास गरेका ९ सय २८, कक्षा १२ पास गरेका ६ सय ६४, स्नातक तह उत्तीर्ण एक सय ४९ र स्नात्तक तह उत्तीर्ण गरेका ४९ जना छन्। प्रारम्भिक बाल विकास केन्द्रमा ६ सय ३३, आधारभुत हत (१–५) मा ३ हजार ४, आधारभुत हत (६–८) मा १ हजार ३ सय ४५, माध्यमिक तह (९–१०) मा ७ सय १३ र माध्यमिक तह (११–१२) मा ३ सय ६२ जना विद्यार्थी अध्ययनरत छन्। गाउँपालिकाभित्रका रहेका १६ देखि ६० वर्षसम्मका १७ हजार निरक्षरलाई गत वर्षको वैशाख देखि गत असारसम्म साक्षर बनाइएको बताए। यता चन्दनाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले कुल २१ हजार ३६ जनसंख्या रहेको नगरपालिकामा ९८ प्रतिशत नागरिक साक्षर रहेको बताए। उनका अनुसार गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसंख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने ३ सय ८० जनामात्रै भेटिएका थिए। उनीहरूलाई साक्षर बनाएसँगै नगरपालिका साक्षर घोषणायोग्य मानिएको हो। सिंजा गाउँपालिकाले कुल जनसंख्याको ९६ प्रतिशत नागरिक साक्षर भइसकेको देखाएको छ। शिक्षा शाखा प्रमुख शंकर धितालले जनगणनाअनुसार साक्षरता दर ६८ प्रतिशत भए पनि वडागत रूपमा संकलन गरिएको तथ्यांकले साक्षर गाउँपालिका घोषणायोग्य देखिएपछि गाउँपालिका नै साक्षर घोषणा गर्न संभव भएको बताए।हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्यालकुलेटर चलाउन सक्ने, आफ्ना भावना व्यक्त गर्न सक्ने जस्ता सूचकहरू पूरा भएपछि पालिका साक्षर घोषणा गरिएको अध्यक्ष पूर्णप्रसाद धितालले बताए। यस्तै हिमा गाउँपालिको कुल जनसंख्या १२ हजार ८ सय ४ रहेकोमा १२ हजार २ सय २५ जना साक्षर छन्। हिमाका १ देखि ७ वडासम्म ९५.७२ प्रतिशत जनसंख्या साक्षर रहेको र मात्र ४.२८ प्रतिशत निरक्षर छन्। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले शिक्षक, सामाजिक परिचालक र कर्मचारीहरू साक्षर नागरिकको तथ्यांक संकलनका लागि गाउककबस्तीमै पुगेका थिए। गाउँपालिकाको तथ्यांकअनुसार, ५५ जनाले स्नातकोत्तर तह, १ सय ५५ जनाले स्नातक तह, र ८ सय जनाले आइएड तह उत्तीर्ण गरेका छन्। उच्च मावि पास गरेका १ हजार १ सय ९६, एसएलसी पास गरेका ९ सय ५० र एसइई पास गरेका १ हजार ६ सय ४८ जना रहेका छन्। बालविकासको क्षेत्रमा ४ सय २२ जना सामान्य साक्षर छन् भने ५ हजार ३ सय जना विद्यालय उमेरका बालबालिका साक्षर छन्। जिल्लाका अन्य तीन स्थानीय तहले पनि साक्षर पालिका घोषणा गर्न वडास्तरमा कर्मचारीहरू परिचालन गरेर तथ्यांक संकलन गरिरहेका छन्। शिक्षक, अभिभावक, स्थानीय नागरिक र जनप्रतिनिधिहरूसँग घनिभूत छलफल गरिरहेको छन्। तातोपानी,गुठिचौर र तिला गाउँपालिका साक्षर गाउँपालिका घोषणा गर्न लागि परेका छन्।
सिञ्जा गाउँपालिकाका ९६ प्रतिशत नागरिक साक्षर
जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत नागरिक साक्षर भएका छन्। पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको छ। साक्षरताका १२ वटा सूचकमध्ये हस्ताक्षर गर्न सक्ने, मोबाइल चलाउन सक्ने, समय हेर्न र भन्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, एकदेखि १० सम्म अङ्क भन्न र सामाजिक भावना व्यक्त गर्न सक्ने भएकाले साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शङ्कर धितालले बताउनुभयो । बाह्रवटा सूचकमध्ये बाँकी छवटा सूचक पूरा गर्न विद्यार्थी र विद्यालय परिचालन गरिएको छ। मूल्याङ्कन गर्दा सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत मानिएको छ। पच्चीस प्रतिशत परियोजना कार्यमध्येबाट विद्यार्थीले अभिभावकलाई साक्षर बनाउने र एकअर्कालाई सिकाउने रणनीति गाउँपालिकाले लिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
क्रान्तिकारीको कर्णाली प्रदेश अध्यक्षमा मनसिंह शाही
काठमाडौं। नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको कर्णाली प्रदेश समितिको दोस्रो सम्मेलनले सर्वसम्मत नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ । भाद्र ३० गते सुर्खेतमा उद्घाटन भई ३१ गते सम्पन्न बन्दसत्रले सर्वसम्मत रुपमा १३ पदाधिकारी सहित ७५ सदस्यीय प्रदेश समिति निर्माण गरेको हो । जसको अध्यक्षमा मनसिंह शाही चयन हुनुभएको छ । उपाध्यक्षहरुमा हिक्मत बहादुर शाही, हिक्मत शाही,धुर्व आचार्य शर्मा,अजय बिस्ट, टिकाराम बि.क, प्रकाश बि.क र मनिसा चन्द चयन हुनुभएको छ । त्यसैगरी कर्णाली प्रदेश क्रान्तिकारीको प्रमुख सचिवमा नारायण के.सी. चयन हुनुभएको छ । सचिवहरुमा बिष्णु भण्डारी, पदम शाही र शुक्राज रावल चयन हुनुभएको छ । साथै, सम्मेलनले कोषाध्यक्षमा भुवन गौतमलाई निर्वाचित गरेको छ भने जयकृष्ण जैसी र गणेश अधिकारी कार्यलय सदस्यको जिम्मेवारी दिएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) मुगुको अध्यक्षमा कबिदत्त बुमि निर्विरोध निर्वाचित
मुगु ।अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिती मुगुको अध्यक्षमा कबिदत्त बुमि निर्विरोध निर्वाचित भएका छन् । यहीँ भाद्र २५ र २६ गते भएको अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिती मुगुको सातौं जिल्ला सम्मेलन बाट जिल्ला अध्यक्षमा कबिदत्त बुमि, उपाध्यक्षमा महेन्द्र बिक, सचिबमा समीर कुमार शाही, सहसचिवमा गणेश परियार र काेषाध्यक्षमा बिमाला शाही सहित ३१ सदस्य निर्बिरोध निर्वाचित भएको नव निर्वाचित अध्यक्ष कबिदत्त बुमिले बताए । जिल्ला भित्रका चार वटा स्थानिय तह, क्याम्पस र माबी स्कुल बाट छनोट भएर आएका प्रतिनिधिहरुको बीचबाट ५ पदाधिकारी सहित ३१ सदस्यीय जिल्ला समिती निर्वाचित भएको अध्यक्ष बुमिले बताए । सम्मेलनले नेतृत्व निर्माण संगसंगै मुगु जिल्लाका तमाम शैक्षिक समस्या, भ्रष्टाचार, विकृति र विसंगतिका विरुद्ध आन्दोलन र अभियान संचालन गर्ने, बिद्यार्थीको अतिरिक्त क्षमता बिकासको लागी विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रम गर्ने, सबै माबि भन्दा माथीका शैक्षिक संस्थामा संगठन बिस्तार, गठन, पुनर्गठन गर्ने लगायतका निर्णय गरि सम्मेलन सम्पन्न भएको अध्यक्ष बुमिले बताए । "समाजवादी शिक्षा प्राप्तिका निम्ती हाम्रो आन्दोलन ! सशक्त र जुझारू संगठन निर्माणका लागि ७ औं जिल्ला सम्मेलन ! " भन्ने मुल नाराका साथ यहीँ भाद्र २५ गते उद्घाटन २६ गते समापन भएको अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिती मुगुको सातौं जिल्ला सम्मेलनमा अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचीव नवराज कार्की प्रमुख अतिथि थिए भने माओवादी केन्द्रका नेता तथा खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको बिशिस्ट अतिथि थिए र माओवादी केन्द्रका नेता भारत बहादुर शाही लगायत बिद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।
कर्णाली कहर (फोटो फिचर)
अबिरल वर्षाका कारण कर्णाली राजमार्ग सडकखण्ड अन्तर्गत जिल्ला कालिकोट शुभकालिका गाउँपालिका गगने खोला र दैखोलामा गएको पहिरोको कारण पूर्णरुपमा अबरोध भएको बाटो खुलाउनुका साथै पहिरोमा फसेका व्यक्तिहरुलाई उद्धार गर्ने क्रममा नेपाल प्रहरी । तस्विर सौजन्यः नेपाल प्रहरी
आलु खेती विस्तार गर्न समिति गठन
रुकुम पश्चिम । रुकुम पश्चिमको एक वडाले वडामा आलु खेतीलाई विस्तार गर्न समिति गठन गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १० ले वडामा आलु खेती विस्तार गर्न १३ सदस्यीय समिति निर्माण गरेको हो । वडामा आलु खेती विस्तार गर्न, उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न वडामा आलु खेती विकास किसान समिति गठन गरिएको वडा अध्यक्ष धनबहादुर खड्का‘बसन्त’ले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा रहेका सवै बस्तिहरुलाई समेट्ने उदेश्यले वडामा रहेका चार वटा टोलबाट सदस्य रहने गरी लाइकराम खड्काको अध्यक्षतामा १३ सदस्यीय समिति निर्माण गरिएको छ । जसको सचिवमा मिना कंवर र कोषाध्यक्ष कर्णबहादुर खड्का रहनु भएको छ । समितिमा रहेका अन्य सदस्यहरु पनि खेती किसानमै आबद्ध किसानहरु रहेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । समितिले आलु खेती गर्ने किसानलाई प्रोत्साहन, वडा सरकार तथा अन्य निकायबाट अनुदानमा उपलब्ध भएको कृषिजन्य बस्तु सहि ठाउँमा प्रयोग भए नभएको रेखदेख तथा वडामा उत्पादन भएको आलुलाई बजारिकरणको लागि सहजिकरण गर्नेछ । वडामा आलु उत्पादन भएको वर्षौ भइसक्दा पनि परम्परागत शैलिमै उत्पादन भएकाले आलु खेतीलाई थप विस्तार तथा आधुनिक तरिकाले आलु उत्पादन गर्ने उदेश्यले समिति निर्माण गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । ‘‘वडामा आलु कम उत्पादन हुने गरेको र जिल्लामै बिक्री हुने गरेकामा उत्पादन बढाएर जिल्ला बाहिर पठाउने उदेश्यका साथ लागेका छौँ, नयाँ तरिकाले उत्पादन गर्न किसानलाई प्राविधिक तालिम समेत दिने वडाले योजना बनाएको छ ,’’वडा अध्यक्ष खड्काले भन्नुभयो ।
कर्णाली राजमार्ग पाँच दिनपछि सञ्चालनमा
सुर्खेत । पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । १२ भदौको राति परेको अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध सडक आइतबार साँझदेखि सञ्चालनमा आएको हो । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठविस नगरपालिका–५, को मालाचौरदेखि कालिकोटको शुभकालिका गाउँपालिका–१, को हुल्म बजारसम्मको सडक खण्डको पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको हो । यो खण्डमा पर्ने दही खोला, एससमोड, मेयरखोला, गगने खोला लगायतका ठाउँमा ठूलो पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि साविक कर्णालीका चार जिल्ला यातायात सेवाबाट पूर्ण रूपमा अलग भएका थिए । सडक सञ्चालनमा आएसँगै रोकिएका सबै यात्रु तथा मालबहाक सवारीहरू गन्तव्यतर्फ हिँडेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता एवंम् प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो । उनका अनुसार कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर हिँडेका करिब ४५ बढी ट्रकहरू पाँच दिनदेखि अलपत्र परेका थिए । जुम्लाबाट बजार पठाइएका स्याउका ४५ ट्रक अर्थात्, एक सय सात टन (करिब सात करोड मूल्य बराबर) को स्याउ कालिकोटको खाँडाचक्र नगरपालिका–३ को ताडी बसपार्कमा रोकिएका थिए ।
उपल्लो डोल्पामा बाह्र वर्षे मेला सुरु
डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका ३ साल्दाङस्थित शेल गुम्बामा १२ वर्षे शे सुरु भएको छ। दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्व शान्तिको भन्ने मूल नाराका साथ ६७ औँ मेला सुरु भएको गाउँपालिकाका उपाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिनुभयो । प्रत्येक १२ वर्षमा एक पटक लाग्ने मेलाले विश्वमा शान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक धार्मिक तथा सांस्कृतिक पहिचान समेत झल्काउने गर्दछ । यस मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहासिक, प्राकृतिक तथा पुरातात्त्विक सम्पदाको विश्वसामु प्रचारप्रसार हुने आयोजकले जनाएको छ। रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वी डुपतोप सिंगे यिशेको सम्मान स्वरूप लाग्ने यो मेलाबाट समग्र डोल्पो दर्शन समेत बुझ्न सकिने बताइएको छ। मेलामा सहभागी हुन पूर्व मन्त्री तथा डोल्पाका लागि संघीय सांसद धनबहादुर बुढा, डाक्टर सन्दुक रुइत लगायत बौद्ध धर्मालम्बीहरूका प्रमुख लामाहरू समेत पुगेका छन्। मेला चार दिनसम्म सञ्चालन हुने बताइएको छ।