यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ।कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। 

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसैगरी, विभागका अनुसार आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ । विभागका अनुसार ललितपुरको खुमलटारमा सबैभन्दा धेरै वर्षा भएको छ । मौसमविद् लामिछानेका अनुसार खुमलटारमा ३०.७ मिलिमिटर वर्षा भएको छ । कीर्तिपुरमा १२.२, बबरमहलमा ७.६, बूढानीलकण्ठमा २.४ मिलिमिटर वर्षा भएको छ । 

गरिमा बैंकको सीईओमा माधव प्रसाद उपाध्याय

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् ।  बैंकको बुधबार बसेको सञ्चालक समितिको ३०४ औं बैठकले उपाध्यायलाई ४ वर्षको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  यसअघि उनी बैंकमै नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनको सीईओको कार्यकाल वैशाख १ देखि लागू हुने गरिमा विकास बैंक सञ्चालक समितिका अध्यक्ष श्यामप्रसाद बस्यालले जानकारी दिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका छन्। उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन÷प्राध्यापन पेशामा संलग्न थिए । यो विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त हुने भएपछि उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई बिहीबारदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय पनि गरेको छ। काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ । गरिमा विकास बैंक छोटो समयमा स्थापित विकास बैंकको रुपमा रहेको छ ।

प्रदेशमा पनि नयाँ समीकरणलाई समर्थन गर्ने नाउपाको निर्णय

 धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एमाले–माओवादी र रास्वपासहितको नयाँ समीकरणलाई प्रदेशमा पनि समर्थन गर्ने निर्णय गरेको छ । बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ समीकरणलाई समर्थन गर्ने निर्णय गरेको हो । संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहको सरकारमा सत्ता समीकरणलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार २१ जनाको केन्द्रीय सदस्य रहेकोमा आजको बैठकमा १२ जना सहभागी थिए । प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको उनले बताए । नाउपाका संरक्षक रेशमलाल चौधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासको मत दिन ह्ववीप लगाएकी थिइन् । सुदूरपश्चिम प्रदेशमा संरक्षक रेशमलाल चौधरीको जोडबलमा नाउपाका पाँच जना सांसद कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बनेका छन् ।

नेपालसामु नामिबियालाई हराउनै पर्ने दबाब

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने आवश्यकता छ । आजको खेलमा पराजित भए नेपाल औपचारिक रुपमै फाइनल प्रतिस्पर्धाबाट बाहिरिनेछ । नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।  नेपाललाई पहिलो खेलमा हराउन नामिबियाका जान निकोल लोफ्टी एटनले ३६ बलमा ८ छक्का र ११ चौकासहित  १०१ रनको शतकीय इनिङ खेलेका थिए । बिहीबार माइकल लेभिटले १३५ रनको शतकीय इनिङ खेलेपछि नेदरल्यान्ड्सले नामिवियाविरुद्ध २४७ रन बनाएको थियो । रुबेन ट्रम्पलम्यान नामिवियाका प्रमुख बलर हुन् । पावर प्लेमा उनको बलमा बच्न सके नेपालले राम्रो योगफल बनाउन सक्छ । नेपालका भरपर्दा ब्याट्समेन कुशल भुर्तेल दुवै खेलमा शून्यमा आउट भएका छन् । नेपाल दुवै खेलमा फिनिसिङमा कमजोर देखिएको छ । नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । नेपाल फाइनलमा पुग्न दुवै खेलमा जित आवश्यक छ ।

नामिबियासँग नेपाल २० रनले पराजित

काठमाडौं । नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो । नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३२, सोमपाल कामीले ११ बलमा २६ रन तथा गुलशन झाले १२ रन बनाएका थिए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक ४ विकेट लिए भने बेर्नार्ड स्कोल्ज, जान फ्राईलिंक र जान निकोलले २/२ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो । नामिबियाका लागि जान निकोलले १०१ रनको शतकीय पारी खेलेका थिए । उनले ३३ बलमा शतक बनाउँदै टी-२० मा कम बलमा शतक बनाउने नयाँ रेकर्ड बनाएका छन् । यसअघि नेपालका कुशल मल्लले ३४ बलमा बनाएको शतक टी-२० को रेकर्ड थियो । त्यस्तैमलान क्रुगेरले ५९ ,माइकल भान लिंगेनले २० रन बनाएका थिए ।  नेपाली बलर रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । अब सिरिजको अर्को खेल बुधबार नेपाल र नेदरल्याण्डसबीच हुनेछ ।  

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल कात्तिक ५ गते सोमबार सन् २०२४ अक्टोबर २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैँया ४९ पैसा रहेको छ ।  त्यसैगरी, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैँया ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैँया १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ८४ पैसा कायम गरिएको छ । यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

प्रतिनिधिसभा बैठक बस्दै, ‘टीआरसी’ विधेयक सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  यसैगरी, बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन २०८०’ पेस गर्ने छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने तयारी छ ।  

अहिले संविधान संशोधन हुन सक्दैन : नेता कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताए । नेता कोइरालाले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पारे। उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाइ बहुमत चाहिने भएपनि सरकारको बहुमत नपुग्ने बताए । उनले दुवै सदनमा बहुमत पु¥याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताए। नेता कोइरालाले संविधान संशोधन गर्दा नेकपा (माओवादी केन्द्र)लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताए । उनले अहिलेको लडाइँ प्रतिनिधित्व, पहिचान र पहुँचको लडाइँ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि विचार पु¥याउनुपर्नेमा जोड दिए। उनले प्रतिनिधि सभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउनेगरी संविधान संशोधन गरिने बताए । नेता कोइरालाले भने– ‘संविधान अहिले नै संशोधन हुन्छ भन्ने कुरापनि दिमागबाट हटाइदिनुस् । त्यो हुन सक्दैन भन्ने कुरा पनि हामीले बुझौँ । किन हुन सक्दैन भने प्रतिनिधि सभा र राष्ट्रिय सभा मिलाएर दुई तिहाई बहुमत चाहिन्छ । राष्ट्रिय सभामा यो सरकारको बहुमत पुग्दैन । दुई वर्ष कुर्नैपर्ने हुन्छ । संशोधन गर्दाखेरी संविधानलाई सुधार गर्ने क्रममा माओवादी लगायत अन्य राजनीतिक दलहरुलाई पनि हामीहरुले साथ लिएर जानुपर्छ । किनभने संविधान भन्नेकुरा नेपाली जनताको हो । कुनै राजनीतिक दलको संविधान हुँदैन भन्ने कुरा हामीले बुझौँ । नेपाली जनताको संविधानलाई सबै राजनीतिक दलहरुले स्वीकार गरेको हिसाबले हामी जानुपर्ने हुन्छ ।’ उनले नेपाली काँग्रेसका मन्त्रीहरुलाई पदबाट बाहिरिँदा निष्कलङ्क भएर निस्किन आग्रह गरेको पनि बताए ।

कम्युनिस्टहरू अतीतमुखी होइन, आशावादी र भविष्यमुखी हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आशा एवं अपेक्षाहरू पूरा गर्नका लागि सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले देशको अगाडि देखापरेका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।    प्रधानमन्त्री भने, “आन्दोलनका नेताहरूले अझ ठूलो परिवर्तनका निम्ति एवं नेपाली जनताको आशा, अपेक्षा पूरा गर्न फेरि एकपटक सङ्कल्प लिन जरुरी छ, एकताबद्ध एवं केन्द्रित हुन जरुरी छ ।” सबै लोकतन्त्रवादी एवं देशभक्त शाक्तिहरू राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको रक्षा एवं राष्ट्रिय आत्मसम्मानका निम्ति सबै एक ठाउँमा उभिन जरूरी रहेको आवश्यकता औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी परिमार्जन गर्नका लागि केन्द्रित हुन आह्वान गरे ।  देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले निराशा र अतिवादी प्रवृत्तिलाई परास्त गर्दै क्रान्तिकारी आशावादीका साथ सही विचार र राजनीतिक कार्यदिशा विकास गरेर कम्युनिष्ट एकता, राष्ट्रिय एकता एवं राष्ट्रको समुन्नतिको निम्ति स्पष्ट कार्यक्रम लिएर अगाडि बढ्न नेकपा(एकीकृत समाजवादी)लाई सुझाव दिए । “देशमा केही भएको छैन, केही छैन, केही हुँदैन, पार्टीहरू सबै खतम छन्, नेताहरू सबै खतम छन् भन्ने भाष्य बनाउन खोजिएको छ, त्यो भाष्य मेरो विचारमा प्रतिक्रियावादी भाष्य हो, त्यो प्रतिगमनकारी भाष्य हो”, प्रधानमन्त्री प्रचण्डले भने,  “भ्रष्ट्राचार अभियानलाई निस्तेज पार्ने किसिमका प्रचारवाजी गरिएका छन्, यो गलत छ, त्यसकारण राम्रा कामलाई राम्रो भन्न सक्नुपर्‍यो, नराम्रालाई नराम्रो भनेर आलोचना गर्नुपर्‍यो ।” हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले परिस्थितिअनुरूप विश्लेषण गरेर अगाडि बढ्न आग्रह गरे ।  अध्यक्ष प्रचण्डले भने, “एकता, सङ्घर्ष र रूपान्तरणसहित नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढेको छ, यसमा हामी भुक्तभोगी नै छौँ । हामी द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छौँ । कम्युनिष्टहरू अतितमुखी होइन, भाविष्यमुखी भएर सोच्छौँ । हामी निराशावादी होइन, आशावादी भएर सोच्छौँ । क्रान्तिकारीता सहितको आशावादीता कम्युनिष्टहरूको विशेषता हो ।” नेकपा(एस) र नेकपा(माओवादी केन्द्र) एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशका सबै देशभक्त र क्रान्तिकारीहरू एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षालाई सम्बोधन गर्नका लागि पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । 

कार्यव्यवस्था परामर्श समिति बैठकले टुङ्ग्यायो जेठ मसान्तसम्मको कार्यतालिका

काठमाडौँ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा सम्पन्न भएको छ। बैठकले जेठ मसान्तसम्मको बैठकको कार्यतालिका टुङ्ग्याएको छ।  बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले बैठकलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सकारात्मक सहयोग गर्न सबै दलहरूलाई आग्रह गरेका छन् । 

भारतको महाराष्ट्रमा केमिकल फ्याक्ट्रीमा आगलागी : ८ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ। ६० जना घाइते भएका छन्। मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत र घाइतेको निःशुल्क उपचार गर्ने बताएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार महाराष्ट्रको ठाणे जिल्लास्थित औद्योगिक विकास निगम क्षेत्रको अमुदान केमिकल्सबाट आगलागी सुरु भएको थियो।आगोले वरपरका अन्य ७ फ्याक्ट्रीमा पनि क्षति पुगेको छ। स्थानीयबासीलाई पनि आगोले क्षति पुर्याएको भन्दै त्यहाँबाट केमिकल फ्याक्ट्रीलाई स्थानान्तरण गर्ने मुख्यमन्त्री सिन्धेले बताएका छन्।

अर्थ सचिवको जिम्मेवारीमा मधु मरासिनी

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो ।हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । भ्रष्टाचार मुद्दा दायर हुँदा मरासिनी उद्योग मन्त्रालयमा थिए । अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुँदा सरकारको नीति तथा कार्यक्रममा समावेश नभएको र राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको प्रणाली खरिदका लागि २५ करोड रुपैयाँ अर्थ मन्त्रालयको लाइन मिनिस्ट्री बजेट इन्फरमेसन सिस्टममा प्रविष्ट गरेको अभियोग उनीमाथि लागेको थियो ।

सभापति यादवले बोल्न नदिएको भन्दै पूर्वमन्त्री किरातीले गरे छलफल बहिष्कार

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र)का सांसद भनाभन भएको छ । बिहीबारको समितिको बैठकमा सभापति यादवले सांसद किराँतीलाई बोल्न समय दिएका थिए । बैठकमा सांसद किराँतीले १२ मिनेट भन्दा बढी समय बोलिसकेपछि एमसीसीबारे धारणा राख्न थाले । सो विषयलाई रोकेर सभापति यादवले प्राविधिक कुराहरुमा जान आग्रह गरे । सभापतिको आग्रहपछि किराँतीले एजेण्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए । सभापति यादव र सांसद किराँतीबीच भएको सवालजवाफ जस्ताको त्यस्तैः सुदन किराँतीः …हुनतः सार्वभौम सत्ताको कुरा गर्दा हिजो एमसीसी पनि त्यसैअन्तर्गत गयो त हाम्रो देश । सडकमा रक्तपात भयो, राँके जुलुस भयो । देश आन्दोलित भयो । सार्वभौम सत्ता त्यति कमजोर छैन होला तर अहिले कसले हात हाल्ने कसले काम गर्ने परिस्थिति पनि त्यस्तै छ । … सभापतिः मान्य ज्यु एक पटक समयको … सुदन किराँतीः के गर्नु एजेण्डा राखिरहाल्नु भयो, एजेण्डामा त बोलिसकौँ न । सभापतिः टेक्निकल कुरा राखौँ सुदन किराँतीः टेक्निकल त म कसरी राखौँ, राजनीतिक मान्छे । सुदन किराँतीः राजनीतिक व्यक्ति म, टेक्निकल कुरा त, कुन चाहीँ जहाँज कति घण्टा उडाएर त्यसको रिसाइक्लिङ कहिले हुन्छ रु म सक्दिन नि त । विषयमा नीति केन्द्रित भन्नु न सभापति ज्यु । कसरी टेक्निकल्ली, टेक्निकल्ली भन्नुहुन्छ । म त जान्दिन टेक्निकल्ली । म त पाइलट पनि परिनँ । सभापतिः यहाँ टेक्निकल विषयमा वहस हुने हो । सुदन किराँतीः राजनीतिक मान्छेले के गर्छ त ? सभापतिः ठिक छ, यहाँ विषयमा केन्द्रित हौँ न । सुदन किराँतीः केमा गर्दैछु त म । सभापतिः तपाईं राजनीति … सुदन किराँतीः सभापतिज्यु तपाईंले कसरी राख्नुभयो, राखेकै कुरामा म छलफल गरिरहेको छु । सभापतिः त्यही गरौँ न त । समय यहाँ कम छ । सुदन किराँतीः एजेण्डा किन राख्नुभएको त ? सभापतिः कुरा राख्नु त भयो नि । विषयमा अलिकति केन्द्रित होउँ न । सुदन किराँतीः म विषय भन्दा कसरी बाहिर गएँ । तपाईंले पो बुझ्ने समस्या भयो त यो । सभापतिः मान्यज्यु तपाईं अलिकित हद पार गर्दै हुनुहुन्छ । तपाईंले यहाँ… सुदन किराँतीः तपाईं यहाँ दोहोर संपाद गरेर नष्ट गर्ने, धेरै एजेण्डा राख्ने । सभापतिः तपाईं यहाँ … सुदन किराँतीः एजेण्डामा हामी बोल्न नपाउने रु के हो यो ? सभापतिः तपाईंलाई … सुदन किराँतीः तपाईं हठी की म हठी ? सभापतिः म कुरै । सुदन किराँतीः फेरेर कुरा गर्नुहुन्छ । सभापतिः तपाईं समयलाई ध्यान दिनु । सुदन किराँतीः सभापतिज्यु कोर्डिनेशन गर्नुस् । सभापतिः होइन, समयलाई त ध्यान दिनु … सुदन किराँतीः तपाईंले नयाँ मन्त्री छ त किन यति ४/४ वटा गर्नुभयो त । सभापतिः किन गरिँदैन । सुदन किराँतीः मलाई बोल्न दिँदा किन तपाईं रोक्नुहुन्छ । सभापतिः विषयमा राख्नुस् न । सुदन किराँतीः यत्रो पढ्नै थियो, अझै मैले छोट्याउन खोजेको । सभापतिः विषयमा राख्नुस् न । सुदन किराँतीः म त छोट्याउँदैछु, विषय केन्द्रित नभए के हो यो । अरु माननीयजतिले त मैले बोलेकै छैन त । ठिक छ मन्त्रीज्यु म बोलिनँ । सुदन किराँतीः तपाईंको पनि…टेप लाएर… सभापतिः मान्य हरि उप्रेतीलाई … हरि उप्रेतीः कारण कसले पहिल्याउने ? थोत्रा प्लेनको, पाइटको, को पाइलटको कारण की, गुगलको कारण । यो विषय पहिला छुट्याउन जरुरी छ जस्तो लाग्छ मलाई । सुदन किराँतीः सभापतिज्यु म लागेँ । तपाईंले आज धम्क्याउन बोलाउनुभएको रहेछ, धन्यवाद । हरि उप्रेतीः कसैले पनि धम्क्याएको छैन, बसौँ मान्यज्यु । सुदन किराँतीः म बस्दिन । हरि उप्रेतीः यति गम्भीर विषय छ, देशको स्थिति । सुदन किराँती झर्किंदैः गम्भीर विषयमा त कुरा राख्न पाउनुप¥यो नि । हरि उप्रेतीः राख्नुभयो त । त त्यत्रो… सुदन किराँतीः तपाईंले मलाई रुलिङ गर्ने की उहाँले गर्ने रु तपाईं फेरि रुलिङ गर्न थाल्ने रु सांसदहरुः बसौँ न मान्य ज्यु । हरि उप्रेतीः राम्रो विषय राख्नुभएको छ भन्दै छु त । सुदन किराँतीः एजेण्डामा कुरा गर्न नदिने भए किन एजेण्डा राख्नुभयो । सुदन किराँतीः म त छोट्याउँदै थिएँ । सभापतिः यसलाई कन्टिन्यु गरौँ । सुदन किराँतीः अरुलाई बोल्न भारी दिने, मलाई टेक्निकल कुरा गर् भन्ने । सभापतिः बसौँ बसौँ । सुदन किराँतीः म थोडी इन्जिनियर पढेको हो । म राजनीति गरेर आएको हो । सुदन किराँतीः तपाईं गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाईं गर्नुस् । सुदन किराँतीः तपाईं दाइने झर्‍याे की देब्रे झर्‍याे हेर्नुस् । कस्तो बोल्नु दिनुहुन्न । सभापतिः हरि उप्रेतीज्यु बोल्नुस् । थप बोल्न नदिएपछि किरातीले समितिको बैठक नै बहिष्कार गरेर हिँडेका छन् । सभापतिले चार चार वटा मुद्दा छलफलका राखे पनि सम्बन्धित मुद्दामा बोल्न नदिएर अत्याचार गरेको किरातीको आरोप छ ।

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सुरक्षाकर्मीप्रति धन्यवाद व्यक्त, निवास र गाडी हस्तान्तरण

काठमाडौं। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गृह तथा परराष्ट्र मन्त्रालयमा हुँदा आफ्नो सुरक्षामा खटेका सुरक्षाकर्मीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । शुक्रबार संसदमा सरकारमाथिको विश्वासको प्रस्ताव पारित नभएपछि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई साँझ पुल्चोकस्थित मन्त्री निवासमा संक्षिप्त भेट र सम्बोधन गर्दै आ आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले शनिबार नै मन्त्री निवास छोडिसकेका छन् भने गाडी समेत बुझाए । 'काम कर्तव्यको आधारमा हामी फरक फरक जिम्मेवारीमा रहेता पनि, हाम्रो सम्बन्ध मानवतामा र समानतामा आधारित हुन्छ।' सम्बोधनका क्रममा उनले भने-'हामी सबै दाजुभाई, साथीभाई र परिवार हौं।'

काठमाडौंको रामकोटमा कलभर्टमा कार खस्यो, एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको रामकोटमा कलभर्टमा एउटा कार खसेको छ । कलभर्टमा कार खस्दा एकजनाको मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार बिहान करिब २ बजेतिर कार कलभर्टमा खसेको थियो । बा.प ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खस्दा त्यसका चालक अन्दाजी ५० वर्षका पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहानीपखमात्रै कारलाई कलभर्टबाट बाहिर निकालिएको थियो ।

राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत

काठमाडौं । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ । उक्त समारोहमा उनले एकचोटीको नेपाली सधैँको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गरे ।  “जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्याउन म सबै नेपालीलाई आह्वान गर्छु”, राष्ट्रपति पौडेलले भने ।   उनले आफूले अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गरे । उनले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नु आजको विश्वको साझा चुनौती रहेको बताउँदै खासगरी यसका कारक नरहेका विकासशील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनुपर्नेमा जोड दिए ।  उक्त अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा यहाँस्थित  नेपालीहरूले स्वागत गरेका थिए । जर्मनमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेको सहकार्य र समन्वयबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । न्यिदब िक्ष्mभ दबलप उक्त अवसरमा जर्मनमा रहेको गैरआवासीय नेपाली संघका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो । राष्ट्रपति पौडेलले यसअघि आइतबार दिउँसो  जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाको अवलोकन गरेका थिए ।   राष्ट्रपति पौडेल स्विट्जरल्यान्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका हुन् । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा उनी स्विट्जरल्यान्डको भ्रमण सकेर जर्मनीको राजधानी बर्लिन पुगेका हुन् । राष्ट्रपति पौडेल र उनका समकक्षी संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा। फरयाङक वाल्टर स्टाइनमेयरबीच आज औपचारिक भेटवार्ता हुनेछ ।