पाकिस्तानी कलाकार सवा कमरले बलिउडका हस्तिहरुको खिल्ली उडाएपछि …

फागुन ७ । पाकिस्तानी चर्चित कलाकार सबा कमरले बलिउका हस्तिहरुलाई तथानाम भनेपछि अहिलेआएर माफीमागेकी छिन् । आफ्नो नयाँ चलचित्र ‘हिन्दी मिडियम’ प्रदर्शनमा आउने बेलामा नायिका सवाले एक टक शोमा बलिउड सुपरस्टारहरुलाई खिसी गरेको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेपछि उनले आफ्नो भाषालाई सच्चाउनप्रति लागेकी हुन् । उनले बीबीसीसँग भनेकी छिन्, ‘बलिउडका कलाकारहरुलाई मैले बोलेको कुरा अहिले सोसियल मिडियामा भाइरल बनेको छ, त्यो पुरानो भिडियो हो र मैले त्यो मजाक गरेको हो ।’

कमरले आफूलाई सोधिएको प्रश्नको जवाफ जिस्किएर दिएको स्पटिकरण दिएकी छिन् । तर त्यो भिडियोले अहिले सामाजिक सञ्जालहरुमा अध्याति ठाउँ पाउन थालेपछि यो विषय अनाहकमा उचालिएको उनले बताइन् । ‘मानिसले जिस्किने पारामा धेरै कृुराहरु भन्छन्, तर सो कुरालाई अनाहकमा उचालिनु हुँदैन’ उनले भनिन् ‘म सबै कलाकारलाई सम्मान गर्छु ।’

के भनेकि थिइन् टक शोमा सवाले ?
‘गुड मर्निङ जिन्दगी’ मा बलिउडमा कलाकारहरुको तस्बिर देखाएर उनीहरुसँग काम नगर्नेको कारण सोधिएको थियो । सवाले यसरी जवाफ दिएकी थिइन्
सालमान खान : धेरै मात्तिएका, उनलाई डान्स गर्न नि आउँदैन ।
ऋतिक रोशन : उनी त दुई बच्चाका बाउ हुन् मेरो अनुसारका होइनन् ।
इमरान हाशमी : मेरो मुखको क्यान्सर होस भन्ने म चाहन्न ।
रितेश देशमुख : म पाकिस्तानकी ‘ए ग्रेड’ कलाकार हुँ त्यसैले इन्डियामा पनि त्यस्तै कलाकारहरुसँग मात्रै काम गर्छु ।
रणबीर कपूर : रणविरका लागि भने म तयार छु, तर रणवीरको त दीपिकासँग चक्कर छ त्यसैले उनी पनि मेरो लागि हुन्न ।

धुर्मुस–सुन्तलीलाई घर बनाउन एक लाख सहयाेग

फागुन १ । एकीकृत नमुना निर्माणमा लागेको धुर्मस–सुन्तली फाउन्डेसनलाई होटल व्यवसायीको तर्फबाट रु एक लाख सहयोग गरिएको छ । महोत्तरीको बर्दिबासमा मुसहर बस्ती एकता वस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोगार्थ होटल व्यवसायी हिरा गौतमले शनिबार रु एक लाख रकम प्रदान गरेका हुन् । होटल व्यवसायी गौतमले इँटा टाउकामा बोकेका ‘धुर्मुस’लाई चेक हस्तान्तरण गर्दै भने, – “म पनि यो पुण्य काममा थोरै सहभागिताले मिसिन आएको छु ।” बस्ती निर्माणका लागि अस्ट्रेलियाबाट रु ६५ लाख सहयोग प्राप्त भइसकेको छ । “सहयोगी मनहरुकै साथ र सहयोगले हामी निरन्तर राष्ट्र निर्माणको अभियानमा लागिरहेका हौँ” धुर्मुसले भने, “मुसहर बस्तीको निर्माण सम्पन्न गरी वैशाख १ गते वर्षौैंदेखि घरबारविहीन मुसहरलाई नयाँ घरमा प्रवेश गराउँदैछौँ ।” रु चार करोड ७८ लाखको लागतमा ५० घर मुसहरका लागि वस्ती निर्माण गर्न लागिएको हो । गत पुस २५ गते महजोडीले शिलान्यास गरेसँगै निर्माण सुरु भएको बस्तीको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ ।

एकता वस्ती निर्माणमा नायिका स्वेता खड्का

भूकम्प गएको २१ महिनापछि पनि टहरामा कष्टमय जिवन गुजारिरहेका सिन्धुपाल्चोक ठुलोसिरुबारीका ६३ माझी परिवारको लागि अभिनेत्री श्वेता खड्काको पहलमा माझी गाउँ एकिकृत बस्ती बसाउने भएको छ । शनिबार ठुलोसिरुबारी माझी गाउँमा पुगेकी अभिनेत्री खड्काले माझी गाउँमा सुविधाजनक एकिकृत बस्ती बनाउने प्रतिबद्धता जनाएकी छिन् । ‘माझी गाँउको मुहार फेर्न बस्ती बसाउने अभियान थाल्न लागेका हौं,’ उनले भनिन, ‘यसैको लागि तपाईंहरुलाई भेट्न आएको हौं । अब चाँडै बस्ती निर्माणतर्फ लाग्नेछौं ।’ उनले स्वागातार्थ बसेका माझी परिवारलाई आवासदेखि अन्य सुविधा समेत उपलब्ध गराउने योजना रहेको जानकारी दिइन् । हालसम्म माझी बस्तीमा आर्थिक अभावमा कसैले पनि घर बनाउने काम थाल्न सकेका छैनन् ।

यस्तो छ दर्पण छायाँ–२ को ट्रेलर (भिडियाे)

माघ २७ । सुपरहित नेपाली चलचित्र दर्पण छायाँको सिक्वेल दर्पण छाँया–२ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मस्को प्रस्तुति तरहेको दर्पण छायाँ–२ को लेखन तथा निर्देशन तुलसी घिमिरे गरेका हुन् । आगामी फागुन २७ प्रदर्शन गरिने भनिएको यस चलचित्र दर्पण छाँया–२ को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ । पुष्पल खड्का, श्रद्धा प्रसाई र सहारा कार्कीको मुख्य भूमिका रहेको यस फिल्ममा सरोज खनाल, विएस राणाको पनि अभिनय रहेको छ । यस्ताे छ ट्रेलर

इशु श्रेष्ठले जितिन् मिस नेवाको ताज

काठमाडौं । ‘१२ औं नेपाल टेलिकम मिस नेवाः ११३७’ को उपाधि इशु श्रेष्ठले जितेकी छिन् । नेप्लिज फेशन होमद्धार बुधबार काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित सो प्रतियोगितामा आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेवाको ताज जितेकी हुन् । उपाधिसँगै उनले आईएमईका तर्फबाट ३० हजार रुपैयाँ र सालिमार ज्वेलरका तर्फबाट चाँदीका ताज तथा विभिन्न उपहार प्राप्त गरिन् । सो प्रतियोगितामा २० हजार रुपैयाँ र विभिन्न उपहार सहित फस्ट रनरअपको उपाधि ओजस्वी श्रेष्ठले हाँसिल गरिन् । यस्तै १५ हजार रुपैयाँ र विभिन्न उपहार सहित सेकेन्ड रनर अपको उपाधि सृष्टी खड्गीले हाँसिल गरिन् । अन्य विभिन्न उपाधि तर्फको प्रतिस्पर्धामा रोज महर्जन मिस ट्यालेन्ट, ओमिजिना महर्जन बेस्ट नेपाल भाषा, आज्ञा कारञ्जित बेस्ट ड्रेस, मोनिमा खड्गी मिस एलिगेन्ट घोषित भए । यस्तै बिनिता डंगोलले मिस फ्रेन्डसिप, रोश्ना श्रेष्ठले मिस चार्मिङ, क्रिजना डंगोलले बेस्ट स्माईल र सामाजिक सदभाव राजदुत, लेनिना बज्रचार्यले बेस्ट स्किनको उपाधि जिते । समीता श्रेष्ठले बेष्ट हेयर, मिस डिसिप्लेन सलिना श्रेष्ठ, मिस पर्सनालिटी पल्पसा श्रेष्ठ, मिस पब्लिक च्वाईस ओमिजिना महर्जन र मिस सोसियल वेलफेयर एम्बेस्डर समिता श्रेष्ठ, मोरिना मानन्धर घोषित भए । उधोग राज्यमन्त्री कृष्ण बादेको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगिताको निर्णायकमा प्राईम बैंकमा उपमहाप्रबन्धक, हिट्को कम्पनीका निर्देशक प्रदीपमान प्रधान, कार्टुनिष्ट रबिन सायमी, पूर्व मिस नेपाल एलिशा बज्राचार्य, दन्त चिकित्सक शिक्षिता श्रेष्ठ, नमुन कलेज अफ फेशन टेक्नेलोजीका उपप्रमुख जिवेश्वरलाल श्रेष्ठ र नेपाल बुटिक एशोसियसनका सँस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ रहेका थिए । नेवार समुदायका युवतीहरुलाई नेवारी संस्कृति, भाषा, भेषभुषाको संरक्षण सम्बर्धनमा लगाउँदै उनीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि मिस नेवा ः बिगत १२ वर्ष देखि आयोजना गरिँदै आएको आयोजक सँस्थाकी अध्यक्ष हेमा मानन्धरले कार्यक्रममा बताईन् । गायिक निशा देशारको गायन र नेवा डान्स एकेडमीका कलाकारको नृत्यले कार्यक्रमलाई अध्यक्ष मनोरम तुल्याएको थियो ।

शाहरुख र ऋतिकको भिडन्त

माघ २५ । बलिउड किङखान शाहरुख खान र चर्चित स्टार ऋतिक रोशन बीच निकै ठूलो प्रतिष्पर्धा चलेको छ । एकसाथ प्रदर्शनमा आएका दुई फिलिमहरु खानकाे ‘रइस’ र ऋतिकको ‘काविल’का कारण उनीहरूबीच प्रतिष्पर्धा भएकाे हाे । हाल दोश्रो सातामा प्रदर्शनरत यी फिल्महरुको विजनेसमा सुरुमा ‘रइस’को कलेक्सले जितेको भएपनि हालसम्म आईपुग्दाल भने ‘काविल’ले हात मारेको छ । बर्ष २०१७ कै ठूलो ठुलो भीडन्त मानिएको वलिउडका यी दुइ फिल्महरुबीचको प्रतिष्पर्धा कायमै छ । शाहरुख खानको फिल्म भएका कारण यसैपनि सुरुवाती दिनमा विजनेस अघि आउने स्वभाविक थियो । तर ऋतिक रोशनको ‘काबिल’ले प्रदर्शनको ११ औं दिनबाट विजनेसमा ओभरट्र्याक सुरु गरेको छ । प्रदर्शनको दोश्रो शनिबार रइसले ८ करोड आसपासको विजनेस गर्दा ‘काबिल’ ले ९ करोड बढिको विजनेस गर्यो भने दोश्रो आइतबार  ‘काबिल’ ले ११ करोड ८८ लाखको विजनेस गर्दा ‘रइस’ले ९ करोडको विजनेसमा चित्त बुझायो । यसैपनि फिल्म हेर्ने दर्शकहरूले ‘रइस’लाइ भन्दा ‘काबिल’लाइ बढी महत्व दिएकाे देखिन्छ ।

१२ करोडका कारण बलिउडकी चर्चित नायिका चप्पलले पिटिइन्

माघ २४ । पर्दामा जस्तो सुकै रोल गर्न सक्ने भएपनि धेरै कलाकारहरुको वास्तविक जीवन कलह र उलट पुलटमा वितिरहेको हुन्छ । त्यसकै एउटा उदाहरण हुन बलिउड नायिका अमिषा पटेल । सुपरहिट चलचित्र ‘कहो ना प्यार है’बाट चलचित्र यात्रा सुरु गरेकी नायिका पटेलले ‘गदर’, ‘हमराज’ जस्ता चर्चित फिलिमहरु दर्शकलाई दिएकी छिन् । तर उनको वास्तविक जीवनमा भने धनै नै तनाव भएको खुलासा भएको छ । यहाँसम्म कि उनलाई आफ्नी आमाले चप्पलले हान्नुपर्ने अवस्थाको पनि सिर्जना भएको छ । आफ्नै बाबु अमित पटेलले १२ करोड हिनामिना गरेको प्रहरीमा उजुरी गर्दै उक्त रकम पाऊँ भनेपछि नायिका पटेलकी आमा आशा पटेलले अमिषालाई चप्पलले मात्रै कुटिनन्, उनलाई घरबाट समेत निकालिदिइन् । उक्त कुरा नायिका पटेलले मिडिया समक्ष नै बताएकी हुन् । हाल उनी फिलिम क्षेत्रमा खासै देखिँदैनिन् । उनको अन्तिम फिलिम ‘देसी मौजिक’ रहेको थियो ।

‘म नेपाली तेरिया हुन चाहन्छु’

माघ २२ । भारतको चर्चित टेलिभिजन कर्लसबाट प्रशारण हुने डान्स रियालिटी शो ‘झलक दिखला जा’को नवौ सिजन जितेकी तेरिया फौजा मगरले आफू नेपाली तेरिया भएर बाँच्न चाहेको बताएकी छिन् । शुक्रबार मात्रै नेपाल आईपुगेकी तेरियाले शनिबार रिपोर्टर्स क्लब नेपालमा टेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा आभार प्रटक कार्यक्रममा आफूलाई यो सफलता नेपाल र नेपालीले नै दिएको बताएकी छिन् । उनी नेपालमा नभई अन्यन्त्रै बस्दै आएको भन्ने टिका टिप्पणी चलिरहेका बेला तेरियाले भनिन्, ‘यदि मैले नेपालमै बसेर प्रगति गरे भने म तेरिया मात्रै हुन्छ, तर यदि विदेशमा बसेर प्रगति गरे भने नेपाली तेरिया हुन्छु । त्यसैले म जहाँ भएपनि नेपाली तेरिया भएर बाँच्न चाहन्छु ।’ कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँणले झलक टेरिया मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभाको रुपमा घोषण गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका छन् । तेरियाले नेपाल र नेपालीको सिरउच्च पार्नेजस्तो महत्वपूर्ण काम गरेकोमा उनलाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका छन् । टेरिया फाउण्डेशनकी संरक्षक समेत रहेकी तेरियाले भविष्यमा गएर यही फाउन्डेसन संचालन गर्ने बताएकी छिन् । बागेश्वरी कला केन्द्रबाट नृत्य सिकेकी टेरियाले आज विश्वमा नेपालको नाम चिनाउन सफल भएकोमा केन्द्रका संचालकले खुशी व्यक्त गरे ।

चलचित्र काबिलः बलात्कारीले कहिलेसम्म उन्मुक्त्ति पाउने यो समाजमा ?

शक्ति र पैशाको आडमा अनैतिक काम गर्ने र न्यायको लागि आवाज उठाउने वर्गबीच यो समाजमा सधैं द्न्द चलिरहन्छ । जोसंग शक्ति छ, उसले निर्वल र असहायमाथि थिचोमिचो गरिरहन्छ । एक महिला त्यो पनि दृष्टिबिहिन, उनी माथि बलत्कार हुन्छ ।  बलात्कारको पिडा सहन नसकेर उनले मृत्युको बाटो रोज्छिन् ।  प्रहरी प्रशासनले बलात्कारीलाई सजाय दिन केही गर्न सक्दैन । बलात्कारिलाई सजाय दिन राज्यको नियमले त रोक्दैन तर शक्ति र पहुँचवालाले कानुन र नियमलाई नै किनिदिन्छ ।  अन्यायको बिरुद्ध राज्यले केही गर्न सक्दैन भने एक असहाय मानिसले न्याय पाउनको लागि के गर्ने ? को संग न्यायको भिख माग्ने ? वा आँफैले कानुनलाई हातमा लिएर दोषीलाई सजाय दिने ? यो हाम्रो समाजको यथार्थ हो । जो पिडित छ उसले मात्र अन्यायको पिडा महसुस गर्छ । यस्तै कथा बोकेको चलचित्र हो ‘काबिल’ । कथाः  चलचित्रको कथा रोहन भटनाकर (ऋतिक रोशन) र सुप्रिया शर्मा (यामी गौतम)को हो । सुप्रिया आँखा देख्न सक्दिनन् । उनीहरुको भेट हुन्छ र एकअर्कासंग प्रेममा परेपछि बिवाह गर्छन् । यी दुइको बैवाहिक जीवन राम्रै चलिरहेको हुन्छ अचानक प्रेम कहानीमा हलचल आउँछ । आँखा नदेख्ने सुप्रियाको दुइ जना खलनायक अमित शेलार (रोहित रॉय) र साथी वसीम (सहीदुर रहमान) मिलेर सामुहिक बलात्कार गर्छन् । न्यायको लागि उनीहरु प्रहरीको जान्छन तर प्रहरीले पनि केही मद्त गर्न सक्दैनन् । किनकी बलात्कारीहरु निकै शक्तिशाली र पैशावाला हुन्छन् । बलात्कारपछि सुप्रिया भित्रैबाट टुट्छिन् र उनले आत्महत्या गर्छिन् । सुप्रियाले आत्महत्या गरेपछि कथाले मोड लिन्छ । यस घटनापछि रोहनले सबैसंग बदला लिन खोज्छन् । कानुनलाई आफ्नो हातमा लिँदै रोहनले सबैसंग बदला लिन्छन् । जुन तरिकाबाट रोहनले सबैलाई सजाय दिन्छन् त्यो साँच्चै नै तारिफयोग्य छ । बदलाको भावनाले कसरी रोहनले दोषीलाई सजाय दिन्छन त्यो हेर्न चलचित्र काबिल हेर्नैपर्छ । अभिनय ऋतिक रोसनको अभिनयको कुरा गर्ने हो भने उनले यो चलचित्रमा निकै राम्रो अभिनय गरेका छन् । चलचित्रमा उनको अभिनयको प्रसंसा गर्नैपर्छ । उनले आफ्नो भुमिकालाई न्याय दिएका छन् । उनको यो चलचित्रको अभिनयले दर्शकले उनलाई लामो समयसम्म याद गर्नेछन् । चलचित्रकी अभिनेत्री यामी गौतमले पनि ऋतिकसंग अभिनयमा टक्कर दिएकी छिन् । नकरात्मक भुमिकामा रहेका रोहित और रॉनित रायले पनि दमदार अभिनय गरेका छन् । किन हेर्नेः यो चलचित्र हेर्ने कारण धेरै छन् । चलचित्रमा ऋतिक रोशनको अभिनय निकै दमदार र मन छुने छ । यामी गौतमले एक दृष्टिबिहिनको भुमिका निकै राम्रोसंग निभाएकी छिन् । यो चलचित्रको गीतसंगित पनि निकै कर्णप्रिय र कथा अनुरुप छ । चलिचत्रको सिनेमाटोग्राफी निकै आकर्षक छ । चलचित्रले भरपुर मनोरन्जन र सन्देश दिएको छ । चलचित्रः काबिल निर्माताः राकेश रोशन निर्देशमः संजय गुप्ता संगीतकारः राजेश रोशन  कलाकार : रितिक रोशन, यामी गौतम, रोनित रॉय, रोहित रॉय, उर्वशी रौटेला (आइटम नंबर )

राजेश हमालसँगै छमछमी नाचे नुवाकोटवासी

माघ २१ । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा बट्टारमा सञ्चालन भइरहेको चौथो नुवाकोट महोत्सवमा उपस्थित भएका महानायक राजेश हमाललाई देखेर नुवाकोटवासी मख्ख परेका छन् । महोत्सवमा आजको मुख्य आकर्षण बनेको महानायक हमाल, हाँस्यकलाकार मनोज गजुरेल र चर्चित लोक गायिका सुनिता दुलाललगायतको उपस्थितिलेउ दर्शकहरुलाई खुसी बनाएको थियो । महानायक हमालले स्टेजमा उभिएर यसअघि नुवाकोट आउँदाको संस्मरण गरेका थिए भने उनले आफूलाई चलचित्रको दुनियाँमा दर्शकले यति माया गरिरहेकोप्रति आभार प्रकट गरेका थिए । दर्शक भने उनलाई देखेर दंग थिए । झण्डै तीन घण्टा महोत्सव स्थलमा रहेका महानायक हमाललाई छुन तथा उनीसँग फोटो खिच्नका लागि महोत्सवमा मानिसहरु तछाड मछाड गर्दै थिए । हमाललाई फोटो खिच्नेहरुको भिडबाट निकाल्नका लागि आयोजक पक्षलाई हम्मेहम्मे परेको थियो । त्यस्तै गायिक सुनिता दुलालले गीत खाएर दर्शकलाई नचाएकी थिइन् । दुलालको गीतमा महानायक स्टेजमा नाच्न थालेपछि स्टेजमुनि दर्शकहरु नाचेर माहोल नै रंगीन बनाएका थिए । त्यस्तै चर्चित हाँस्य कलाकार मनोज गजुरेलले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । समसामयिक विषयमा व्यङ्ग्य गर्दै उनले राष्ट्रियताको पक्षमा आफ्नो प्रस्तुती राखे । विभिन्न कलाकार, नेता तथा सामाजिक व्यक्तिहरुको आबाजलाई क्यारिकेचर गरेका गजुरेलले झण्डै ४५ मिनेट प्रस्तुती दिएका थिए । प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतको क्यारिकेचर गरेका गजुरेलले विदेशी नेताहरुको पनि क्यारिकेचर गरे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाका पूर्व राष्ट्रपति बाराम ओमाबा, चीनका राष्ट्रपति सी जिङपिङ लगायतको स्वर नक्कल गरेका थिए । समसामयिक विषयका कटाक्ष गरेका गजुरेलले राष्ट्रप्रति गर्व गर्न र विदेशीको भीख नमाग्न जनताले नेतालाई खबरदारी गर्न पर्ने समेत बताए । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा बट्टार बजारमा भइरहेको चौथो नुवाकोट महोत्सवको आठौं दिनमा अमृता लुङ्गेली मगर, भिमसेन खतिवडाको लोक गीत तथा दोहोरी गीत सरिता प्रजापतीको आधुनिक गीतले पनि दर्शक उचालिएका थिए ।

अर्चना पनेरुको रेट साढे चार करोड !

माघ २१ । नेपाली चलचित्र बजारमा अर्चना पनेरु कुनै नौलो नाम होइन । पोर्नस्टार बन्ने सपना बोकेर लामो समय भारत बसाईपछि पुनः आएपछि उनी एक्कासी चर्चामा आईन् । चर्चामा आएको एक बर्षभित्रै उनले दुर्इ वटा नेपाली फिल्ममा काम गर्ने मौका पनि पाइन् । केही म्युजिक भिडियोहरुमा पनि काम गरिन् । हाल उनको चर्चा नेपालमा मात्रै होइन, भारतमा पनि रहेछ भन्ने भारतीय एक मिडियाले उनको बारेमा समाचार लेखेपछि अझ बढी स्पष्ट भएको छ । चर्चित वलिउड अनलाइन दैनिक भास्कर डटकमले अर्चनाको बारेमा स्टोरी लेख्दै नेपाली सन्नि लियोनको नाम दिएको छ । तर हाँस्यास्पद कुरा के छ भने उक्त वेवसाइटले अर्चनाको बारेमा लेख्दै उनले एउट फिल्म खेलेवापत साढे चार करोड लिन्छिन् भन्ने अफाह हल्ला फिजाएको छ । जबकी नेपाली चलचित्र उद्योगमा सायदै चर्चित हस्तिहरुले पनि लिँदैनन् होला एउटा फिलिम खेलेवापत त्यति ठूलो रकम । राजु गिरीले ‘जिस्म’ बाट अर्चनालाई चलचित्रमा डेब्यु गराएका थिए । तर त्यसमा उनीहरुबीचको पारिश्रमिक भनेको डेढ दुई लाखकाे सहमति भएकाे थियो । कुनै पनि ठाउँको बारेमा राम्रोसँग अध्ययन नगरी समाचार बनाउने बलिउड अनलाइनहरुले यो पटक अर्चना पनेरूको काण्डमा फसेको देखिन्छ । यसरी नेपाली विषयको समाचारमा गम्भिरता नअपनाउने यस अनलाइन गलत जानकारी दिएकाे छ ।

फ्रान्सकी आयरिश बनिन् मिस यूनिभर्स

फ्रान्सकी आयरिश मित्तेनायरेले मिस यूनिभर्सको ताज जितेकी छिन् । पेशाले दन्त चिकित्सक आयरिशले अन्तिम चरणमा पुगेका दुई अन्य प्रतियोगीले उछिन्दै आयरिशले मिस यूनिभर्सको उपाधी जितेकी हुन । प्रतियोगिताको दोश्रो स्थान मिस हैटी पेलिसियरले हासिल गरिन भने मिस कोलम्बिया २३ वर्षीय एन्ड्रिया टोवर तेश्रो स्थानमा रहिन ।

बलिउडमा जम्ने तेरियाको इच्छा, सोनाक्षी सिन्हासँग काम गर्ने सपना

मुम्बई, टेलिभिजन रियालिटी शो “झलक दिखला जा ९” जितेकी तेरिया फौजा मगरले बलिउडमा काम गर्ने इच्छा व्यक्त गरेकी छिन् । यसअघि डान्स इण्डिया डान्स लिटिल मास्ष्टर्सका उपाधी समेत जितेकी तेरियालाई गत शनिबार राती विजयी घोषणा गरिएको थियो । उनले सलमान युसुफ खान र शान्तुन माहेश्वरीलाई हराइएर ट्रफीसँगै ३० लाख जितेकी थिइन । तेरियाले मिडिया सँग कुरा गर्दै अब बलिउडमा काम गर्न खोजेको बताइन । “टेलिभिजनमा बलिउड चलचित्र हेर्दै हुर्किएँ, मौका पाए बलिउडमा नै काम गर्ने इच्छा छ । अब त्यसकै लागि कोशीस गर्नुपर्ला” तेरियाले भनिन् । बलिउडमा सोनाक्षी सिन्हा आफूलाई सबैभन्दा बढी मन पर्ने कलाकार भएको समेत उनले बताइन । “सोनाक्षी सिन्हाको हाउभाउ मलाई औधी मन पर्छ । मलाई निकै सुन्दर लाग्छिन् उनी । म उनीसँग काम गर्न चाहन्छु ।” यो उपाधि पाउनेमा भने आफु कमै आशावादी भएको तेरियाले बताईन । “सलमान र शान्तुन निकै उत्कृष्ट डान्सर थिए, कडा प्रतिष्पर्धा थियो, ढुक्क चाहिँ थिइन । जितेपछि निकै खुशी छु ।” तेरियाको प्रतिक्रिया थियो । अहिले भने केही समय पढाईलाई नै निरन्तरता दिने उनले बताईन ।

नेपाली चेली तेरिया मगर बनिन् झलक दिख ला जा को विजेता

नेपाली चेली तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिख ला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन बलिउड लाइफका अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै यो शो जितेकी हुन् । तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो । तर, भोटिङको आधारमा तेरियाले उपाधी जितेको अनलाइनले बताइएको छ । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ । रुपन्देहीकी तेरियालाई भोट गर्न भन्दै केहि दिन अगाडि मात्र पत्रकार सम्मेलन मार्फत आह्वान गरिएको थियो । अनलाइन र एसएमएसबाट उनलाई भोट गरिएको थियो । तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् ।

प्रियंका चोपडाले फेला पारिन नेपाली केटी

माघ ३ – नेपाली चलचित्र निर्माण गर्ने घोषणा गरेकी बलिउड नायिका प्रिंयका चोपडाले नेपाली केटी फेला पारेकी छिन् । सिक्किम बेस्ड निर्माणमा लागेकी अभिनेत्री चोपडाले अभिनेत्री मन्जु क्षेत्रीलाई आफ्नो फिल्ममा अभिनयका लागि छनौट गरेकी हुन् । सन् २०१३ देखि अभिनय यात्रा थालेकी मञ्जुले नेपाली टेलिसिरियल ‘मेरी बास्सै’मा खड्का जीकी कान्छी श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन् । प्रियंका चोपडाको सिनेमामा मञ्जु अडिशन पछि फाईनल भएकी हुन् । मञ्जुले सिक्किम मनिपाल विश्वविद्यालयबाट एम.बि.ए सकेकी छिन् । फेबु्रअरीको पहिलो साताबाट छायांकन सुरु गरिने भनिएको यस चलचित्रमा अझै अपुग चार जना कलाकारको खोजी कार्य भइरहेको छ ।

नारी पुरुष सम्बन्धको नखोतलिएको पाटो

रामहरि कार्की आदिमकालदेखि नारी र पुरुषको सम्बन्धलाई एक सिक्काका दुई पाटाको रुपमा हेरिँदै आएको छ । जसरी सिक्काको एक पाटोबिना अर्कोको अस्तित्व रहँदैन, त्यसरी नै नारीबिनाको पुरुष र पुरुषबिनाको नारीको अस्तित्व रहन सक्दैन । तैपनि नारी र पुरुषबीचको सम्बन्धलाई गलत तरिकाले चर्चा–परिचर्चा गर्ने, शङ्काको दृष्टिमा राख्ने भनेको हाम्रो परम्परागत रोग नै हो । जुन रोगले आजको आधुनिक पुस्ता, बौद्धिक जमात र शिक्षित पुस्तालाई पनि छाडेको छैन । सूचना र प्रविधिको विकासले संसार साँघुरिन थालिसक्यो । तैपनि नेपाली समाजमा नारी र पुरुषको सम्बन्धलाई गिद्धदृष्टि लाउने आँखाको सङ्ख्यामा भने कमी आउन सकेको छैन । एउटा नारी र पुरुषको सम्बन्ध भनेको केवल लोग्ने–स्वास्नीको मात्र हो र त्यो बाहेक अरु सम्बन्ध हुनु हुँदैन भन्ने भ्रममा बाँचेको छ नेपाली समाज । नारी र पुरुषबीचको सम्बन्धलाई यौनको दृष्टिकोणले मात्र केलाउनु भनेको सम्बन्धलाई साँघुरो घेराभित्र पार्नु हो । सम्बन्ध शारीरिकमात्र नभई भावनात्मक पनि हुन्छ । हरेक नारी र पुरुषबीचको सम्बन्धमा यौनसम्बन्ध नै हुनुपर्छ भन्ने मान्यता गलत हो । यसरी नारी र पुरुषबीच शारीरिक सम्बन्धबाहेक भावनात्मक सम्बन्ध पनि हुन्छ भनेर बुझ्दाबुझ्दै पनि कतिपय अशिक्षित वर्गले यसलाई यौनसँग मात्र जोडेर हेर्ने गर्छन् । तर, आजभोलि केही बौद्धिक वर्गको जमातले पनि नारी र पुरुषको सम्बन्धलाई केवल यौनको दायराभित्र राखेर चर्चा गर्ने क्रम तीव्र भएको पाइन्छ । अझ भन्नुपर्दा एक गिलास ह्विस्कीको चुस्की लगाउँदै नारी र पुरुषको भावनात्मक सम्बन्धलाई पनि यौनक्याम्पमा कैद गरेर चोक र गल्लीगल्लीमा चर्चा–परिचर्चा गर्नु भनेको बौद्धिक वर्गको पक्कै पनि बौद्धिक काम होइन । नारी र पुरुषबीचको भावनात्मक र शारीरीक सम्बन्ध पनि राम्रोसँग बुझ्न नसक्नेलाई साघुँरो मस्तिष्क भएकाहरुलाई बौद्धिक वर्गको पदवि दिनुको के अर्थ छ र ? के नारी र पुरुषको भावनात्मक सम्बन्धलाई झ्याली पिटेर नग्न पार्नलाई बौद्धिक वर्ग बनाइएको हो र ? एउटा केटा र केटीसँगै हिँड्दैमा, सँगै एउटै अफिसको कोठामा बसेर काम गर्दैमा, गफ गर्दैमा, हात मिलाउँदैमा यौनसम्बन्ध भइहाल्छ भन्ने धारणले अझै पनि मस्तिष्कमा जरा हालेको छ । यसरी केटा र केटी सँगै हिँड्डुल गर्दैमा, गफ गर्दैमा शारीरिक सम्बन्ध भइहाल्छ भनेर सोच्नुलाई के यौनाङ्ग हात–गोडा र आवाजमा टाँसिएका हुन्छन् र सम्पर्क हुनलाई ? त्यसैले नारी र पुरुषको सम्बन्धलाई केवल यौन क्रियाकलापसँग दाँजेर नहेरौँ । नारी र पुरुषको सम्बन्ध संवेदनशीलतासँग जोडिएको हुन्छ । कुनै पनि नारी र पुरुषको सम्बन्धलाई अनावश्यक चर्चापरिचर्चा गरेर कसैको व्यक्तिगत जीवनलाई ओरालो लगाउने काम कोही कसैबाट पनि हुनुहुँदैन । चाहे त्यो शिक्षित वर्ग होस् या चाहे अशिक्षित नै किन नहोस् । यही नारी र पुरुषबीचको विविध सम्बन्धलाई बुझ्न नसक्दा संसारमा धेरै दुर्घटना भएका छन् भन्ने कुरा हाम्रो धार्मिक ग्रन्थबाट पनि प्रमाणित हुन्छ । सीता र रामको सम्बन्धमा गिद्धेदृष्टि राख्नाले सिङ्गो लङ्का र रावणको हालत के भयो ? वृन्दा र जालन्धरको सम्बन्धमा छलकपट गर्दा भगवान विष्णुको के हालत भयो ? भन्ने कुरा त हामी सबैलाई थाहा छ । त्यसैले यस्ता सम्बन्धभित्रका संवेदनशीलतालाई ख्याल गर्नुपर्छ । यस्ता कुरामा ख्याल नगर्दा कतिपय मै हँु भन्ने मन्त्री, नेताजस्ता ठूलाबडाको जागिर र करिअर दुवै चिप्लिएका छन्, कति त सडकमै आएका छन् भने कतिपय जेल जान बाध्य भएका छन् र नयाँ–नयाँ किसिमका अपराधको जन्म हुँदै गएको छ । त्यसैले नारी र पुरुषको हरेक सम्बन्ध र सम्वेदनशीलतालाई पनि विचार पु¥याएर व्यक्त गर्नुपर्छ ।