अब सशस्त्र प्रहरी बाह्रै महिना कालापानी नजिक छांगरुमा बस्ने

अब सशस्त्र प्रहरी बाह्रै महिना कालापानी नजिक छांगरुमा बस्ने

काठमाडौं : सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका-१ छांगरुमै बस्ने भएको छ । स्थायीरूपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छांगरुमै बस्ने भएको हो ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छांगरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए । उनले भने, ‘हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं, गएको सशस्त्र प्रहरी तल फर्किदैन ।’

शुक्रबार गृहमन्त्री रामबहादुर थापा (बादल) र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गरेका थिए । भवन समयमै सक्न ठेकेदारलाई निर्देशन भएको जनाउँदै उहाँले जे अवस्था रहे पनि सशस्त्र प्रहरीको व्यवस्थापन गरिने बताए । गत वैशाख ३१ गते व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसेको थियो । गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार व्यासको छाङ्रुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय भएको थियो ।

सशस्त्र प्रहरी अहिले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रभन्दा झण्डै १४ किलोमिटर वरै बसेको छ । अहिले सशस्त्र प्रहरीले छांगरुको गागाबाटै कौवा र तिंकर क्षेत्रसम्म नियमित गस्ती गरिरहेको महानिरीक्षक खनालले बताए । सशस्त्र प्रहरीका लागि रु १० करोड बजेटमा सुविधासम्पन्न भवन बनाउने गरी ठेक्का लगाइएको छ । ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवनको सशस्त्र प्रहरीले बाह्रैमास बस्ने गरी डिजाइन गरिएको छ । ढुङ्गा, माटो र काठबाट बन्ने भवनको छतमा जस्तापाता राखिने छ ।

बहुउपयोग हुने गरी भवनको संरचना बनाइन लागेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता राजु अर्यालले बताउनुभयो । १५ रोपनी क्षेत्रफल जमिनमा तीन दर्जन कोठा निर्माण गरिने छन् । तीन तलाको ब्यारेक भवन निर्माणको योजना रहेको उहाँले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको बैठकः दोस्रो दिन ८० जनाले राखे धारणा

काठमाडौं । कपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टीलाई एकतावद्ध बनाएर जानुपर्ने बताएका छन् । काठमाडौंमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठकको दोस्रो दिनको छलफलका क्रममा उनीहरूले पार्टी सरकारबाट हटेपछि जनतामा जाने ऐतिहासिक अवसर आएको बताएका हुन् । उनीहरू सरकारबाहिर रहँदाको खाली समयमा पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सोमबारको बैठकमा पार्टी महाधिवेशनको मितिसहितको कार्यतालिका तोक्नुपर्नेमा अधिकांश नेताहरूले जोड दिएका छन् । उनीहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन वैज्ञानिक र वस्तुवादी रहेकाले स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्ने धारणा राखेको प्रवक्ता सापकोटाले बताए । बैठकमा १८० जनाले बोल्न नाम टिपाएको थिए । दोश्रो दिन ८० जनाले धारणा राखे । बैठक मंगलबार बिहान ११ बजेसम्मलाई स्थगित भएको प्रवक्ता सापकोटाले बताएका छन् ।

माओवादी केन्द्र केन्द्रीय समिति बैठकः आजदेखि राजनीतिक प्रस्तावमाथि छलफल

काठमाडौं । हिजोदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति बैठकमा आजदेखि राजनीतिक प्रस्तावमाथि छलफल सुरु हुने छ ।  हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । आज ११ बजेदेखि सुरु हुने दोस्रो दिनको बैठकमा छलफल सुरु हुने महासचिव देब गुरुङले जानकारी दिनुभयो । बोल्न चाहने जति बैठकमा सहभागीहरुले बोल्न पाउने छन् र सबैका लागि तीन मिनेटको समय तोकिएको छ । हिजो अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको प्रस्ताव पेश गर्नुभएको थियो । उहाँले सरकारमा रहँदा पार्टीले भ्रष्टाचारविरुद्धको अभियान लगायतका विषयमा लिएका सकारात्मक पहल एवं सरकारबाट बाहिरिदै गर्दा गम्भीर आत्मसमीक्षासहित उत्पीडित वर्ग समुदायलाई गरिएको अपिलको परिणाम आज पार्टीप्रति जनतामा नयाँ आशा पलाएको संश्लेषण सुनाउनुभएको थियो । जनतामा पलाएको यो आशा पार्टीका लागि चुनौती र एउटा अवसर बनेर अगाडि आएको उल्लेख गर्दै उहाँले बैठकले रुपान्तरण र पुनर्निर्माणको ठोस योजनासहित कार्यान्वयनको नयाँ सङ्कल्प लिन जरुरी रहेको बताउनुभएको थियो ।  उहाँले यो विशेष परिस्थितिमा पार्टी एकतालाई सुदृढ गर्नु, जनताका बीचमा गएर अभियानात्मकरुपले जनपरिचालनलाई नयाँ उचाईमा उठाउनु, संगठनलाई यथास्थितिबाट झिकेर अगाडि बढाउनु तथा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानलाई निरन्तर अगाडि बढाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै अन्ततः आगामी महाधिवेशनमा पार्टीले गर्ने नयाँ वैचारिक संश्लेषणले नै सबै कुराको निधो गर्ने स्पष्ट गर्नुभएको थियो ।

माओवादी केन्द्र केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि काठमाडौंमा सुरु हुँदै छ । बैठक दिउँसो १ बजे धुम्बाराही स्थित एक ब्याङ्केटमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । त्यसको तयारीका लागि अहिले स्थायी समिति बैठक बसिरहेको छ । आज दिउँसो सुरु हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारीको समेत सहभागिता रहनेछ ।   

युवा नेता न्यौपानेको प्रश्नः कहाँनेर भेटिन्छन् प्रचण्ड शेरादरबारमा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले विभिन्न सञ्चारमाध्यमले नुवाकोटको शेरादरबारमा तथ्यहिनरुपमा पार्टी अध्यक्ष प्रचण्डलाई जोडेमा आपत्ति जनाउँदै धमिलो पानीमा माछा मार्ने षड्यन्त्र नगर्न चेतावनी दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा बुँदागतरुपमा नै चिरफार गर्दै भन्नुभएको छ– ‘विभिन्न सञ्चार माध्यम र खासगरी लोकान्तरले प्रचण्ड कानूनी रुपमा उक्त जग्गा प्रकरणमा कहीँ कतै जोडिदैनन् भनेर लेखेकै छ त । अनि फेरि माओवादी र प्रचण्ड भनेर किन धमिलो पानीमा माछा मार्न खोजेको ?’ प्रस्तुत छ न्यौपानले गर्नुभएको शेरादरबारको चिरफारः १. विभिन्न सञ्चार माध्यम र खासगरी लोकान्तरले प्रचण्ड कानूनी रुपमा उक्त जग्गा प्रकरणमा कहीँ कतै जोडिदैनन् भनेर लेखेकै छ त । अनि फेरि माओवादी र प्रचण्ड भनेर किन धमिलो पानीमा माछा मार्न खोजेको ? २. कुनै तथ्य र प्रमाणविना कथा बनाएर मरिसकेको मान्छे (सीता दाहाल) ले पैसा दिएको भनेर आरोपित गर्नु कतैबाट पनि मिल्ने कुरा होइन । ३. गडबडी बरु कहाँबाट भएको देखिन्छ भने जग्गामा हदबन्दी लागेपछि १९ रोपनी छाडेर बाँकी १८१ रोपनी जग्गा ट्रष्ट गुठीमा नल्याई कम्पनीमा लैजाने प्रकृयामा हो ।  ४. स्वकीय सचिव भएकोबेला (२०६७÷०६८) मा विकेश श्रेष्ठले प्रचण्डको नाम भजाँएर वा शक्तिको दुरुपयोग गरि उक्त कम्पनीमा छिरेको भन्न सकिएला तर उक्त कम्पनीको जग्गा लिने उनी प्रथम व्यक्ति होइन भन्ने विषय पनि तलको लेनदेनको प्रक्रियामा प्रष्ट देखिन्छ । यद्यपि उनले गैरकानुनी रुपमा जग्गा र कम्पनी हत्याएका हुन् भने उनलाई कारवाहीको दायरामा ल्याउन पर्दैन कसले भन्छ ? ५. त्यसयता क. तत्कालीन अधिराजकुमार हेलेन शाह र विजया राज्यलक्ष्मी शाहीले २०२७ सालमा जग्गा खरिद गरेको । ख. जग्गामा  हदबन्दी लागेपछि १८१ रोपनी जग्गा गौरीशंकर कृषि फार्म (कम्पनी) मा लगेको । ग. २०३६ सालमा उक्त कम्पनी अन्नापूर्ण फार्मिङमा बदलिएको । घ. २०५२ सालमा नरेन्द्रलाल प्रधान र केदारनाथ श्रेष्ठलाई हेलेन र विजयाले बिक्री गरेको । ङ. २०५५ सालमा सजनी प्रधान, सोहिनी श्रेष्ठ र ध्रुवलाल सेरधनी भएर कम्पनीमा छिरेको । च. २०७२ सालमा विकेश श्रेष्ठ र अजय सूर्यवंशी कम्पनीको सेर किनी छिरेको । छ. २०८० सालमा उक्त कम्पनीको सबै सेर विकेश श्रेष्ठ र उनका छोरा मनोबल श्रेष्ठको नाममा आएको वा उनीहरुले किनेको देखिन्छ । फेरि माओवादी, फेरि माओवादी अध्यक्ष प्रचण्ड किन भनेको ? न कानुनी न त व्यावहारिक ढंगले कतै नभएको र नभेटिएको विषय फर्जी आरोप भएन र ?

लोकप्रिय