आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन हुन्छ : मन्त्री बस्नेत

आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन हुन्छ  : मन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने बताएका छन् ।

बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासका निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्ने दाबी गरे ।

‘‘अब यो १० वर्ष, पछिल्लो १० वर्ष नेपालको उर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्नेछ । यो उपलब्धिहरुले हाम्रासामु नयाँ सम्भवानाहरु, हाम्रा निम्ति आउने अवसरहरु पनि सिर्जना गरेको छ । तर एउटा अर्को सत्य के पनि रहेछ भने हरेक उपलब्धिहरु, हरेक सम्भावनासँगै नयाँ चुनौती पनि सिर्जना भएका छन् । ती आउँदै जान्छन् ।,’’ मन्त्री बस्नेतले भने, ‘‘हामीले चुनौतीको उचित व्यवस्थापन गर्ने र सम्भवानालाई अझ व्यावहारिक बनाउँदै जाने, उद्घाटित गर्दै जाने त्यो नीति, विधि र इच्छाशक्तिका साथ हामी अघि बढ्नुपर्छ । अहिले सरकार त्यही बाटोमा अघि बढीरहेको छ ।’’

मन्त्री बस्नेतले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्नसक्ने बताए । मन्त्री बस्नेतले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार अघि बढिरहेको जानकारी दिए । उनले पछिल्लो डेढ वर्षको अवधिमा एक हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादनको अवस्था सिर्जना भइरहेको बताए ।

‘‘हामीसँग सम्भावनाहरुका दृष्टिले हेर्दाखेरि यो एक दशकमा आठ वर्षमा हामीले २१÷२२ सय र अझ आगामी तीनदेखि चार महिनाभित्र चार÷पाँच सय मेगावाट हामी उत्पादन गर्नेछौँ । यो दृष्टिले हेर्दा अहिले १५ देखि १६ म्हिनाको बिचमा, डेढ वर्षको अवधिमा हजारभन्दा बढी विद्युत् उत्पादन गर्नसक्ने अवसस्थासम्म आइपुगेका रहेछौँ । यो दृष्टिले हेर्दा आगामी १२ वर्षमा अब हामीले २८ हजार सात सय उत्पादन गर्न सक्दैनौँ भन्ने कुरा होइन ।,’’ मन्त्री बस्नेतले भने, ‘‘हामी उत्पादन गर्नसक्छौँ । ११२ वर्षको इतिहासबाट हिसाव गर्दा र त्यहाँ प्लस माइनस गुणा गर्दा हिसाव नमिल्न सक्छ । तर पछिल्लो एक दशक र १६ महिनाको अवधिमा एक हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादनको अवस्था सिर्जना भइरहेको छ, यो हिसाबले हेर्दा आगामी १२ वर्षमा हामी २८ हजारभन्दा बढी विद्युत् उत्पादन गर्नसक्छौँ ।’’

मन्त्री बस्नेतले लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्नसके ऊर्जा क्षेत्रका समस्या समाधान हुने बताए। लगानी कर्तालाई थप लगानीका लागि सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको जानकारी दिए ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय