आगामी स्थानीय निर्वाचनमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छः प्रचण्ड

ग्रामथान (मोरङ) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो ।
२०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनैतिक महत्वको विषय भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौं, अब ग्रामथान थपिएपछि यो संख्या १२३ पुगेको छ । आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्वपूर्ण सन्देश हो ।’
गत मंसिर १६ गतेको स्थानीय तहको निर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइँमा उठाउने सन्देश दिएको उल्लेख गर्दै उहाँले मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई वटा जिताउनुका साथै अन्य वडामा पनि मत संख्या बढाएर पूर्वले बिरोधीहरुलाई ठूलै जवाफ दिएको बताउनुभयो । ‘बिरोधीहरुले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला पूर्वले माओवादीलाई संख्या र लोकप्रिय मत दुबैमा पहिलो पार्टी बनाएको छ’– ‘उहाँले भन्नुभयो– ‘यो एउटा पालिकाको मात्रै विजय होइन, यो देशैभरि विशेष सन्देश दिने रणनैतिक महत्वको जीत हो ।’
उहाँले ग्रामथानबासीले माओवादीलाई ठूलो गुण लगाएको उल्लेख गर्दै यहाँका जनताका लागि आफ्नो निवास खुला रहने र जनताको समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । केन्द्रीय समिति बैठकको दस्तावेजमा आफूले ग्रामथानको नामै उल्लेख गरेर देशभरि विजयको सन्देश प्रवाह गरिएको जानकारी पनि उहाँले गराउनुभयो । उहाँले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताउनुभयो ।
देशमा माओवादी केन्द्रकै कारण आम उत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गर्नुभयो । ‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं’– उहाँले भन्नुभयो– ‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौं, हामी धेरै कुरा सम्झेर तपाइँहरुसमक्ष आएका छौं, तपाईहरुलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।
आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दैे– ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा हामीले राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन गर्न सक्यौं भने नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व पनि ग¥यौं ।’
आफूले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भएको उल्लेख गर्दै अहिले ‘चोरलाई चौतारो, साधुलाई सुली’ भनेजस्तै सरकारले उनै कुलमानलाई निकाल्न खोजेको भन्दै आपत्ति व्यक्त गर्नुभयो ।
उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको स्पष्ट गर्नुभयो ।
आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउने लगायतका महत्वपूपूर्ण काम अघि बढाइएको बताउनुभयो ।
‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । यसले नै पार्टी र आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन पनि आधार तयार गरेको छ।’
सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरु तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढाल्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार सत्तारुढ दलहरुले होइन बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरु उनीहरुका मुखौटा मात्रै भएको टिप्पणी गर्नुभयो । सरकारबाट बाहिरिएपछि आफूहरुले थालेका राम्रा काम लिएर जनताको बीचमा जाने प्रक्रिया सुरु गरेको जानकारी दिंदै उहाँले जनताको तागतबाट नै समाजवाद निर्माणको अभियान अघि बढाउने प्रण गरेको बताउनुभयो ।
‘अहिले यहाँसम्म आउँदा पार्टीमा अभूतपूर्वक एकता कायम भएको छ । परामर्श बैठकपछि देशभरिका नेता कार्यकर्ताले विचार र नेतृत्वको केन्द्रिकरणमा जोड दिएका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जनताले पनि हामीले गरेका र गर्न खोजेका राम्रा काम तथा अहिलेको एमालेले गरेको नराम्रा कामलाई हेरेर जनताको आशा र भरोसा हामीतिर बढेको छ । भर्खरैको उपनिर्वाचनले प्रष्टरुपमा यो नतिजा दिइ पनि सकेको छ ।’
उहाँले माओवादीनिकटका कर्मचारीहरुलाई माओवादीपन देखाउन आग्रह गर्दै भन्नुभयो– ‘अन्यायमा नझुक्ने, अन्याय नगर्ने, आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारका विरुद्ध कठोर रुपमा प्रस्तुत हुने, पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई बल पुर्याउँदै समाजवादको भ्रुण रोप्ने फौजको रुपमा तपाइँहरु अघि बढ्नुपर्छ । यसमा दृढतापूर्वक अघि बढ्नुहोला ।’
गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । उपनिर्वाचनमा माओवादी केन्द्रले पालिका अध्यक्ष जितेपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रो पटक यो पालिकामा आउनुभएको हो ।
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार आवश्यक छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । आज सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याउनुभयो। “निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “राज्यले सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।” सिएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको कामको प्रसंशा गरे । उनीहरुले प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्यको वातावरण सशक्त र प्रभावकारी रहेको स्मरण गरे ।
चलचित्र ‘महाभोज’ समाज परिवर्तनको सशक्त सन्देश दिन सफल: अध्यक्ष प्रचण्ड
काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चलचित्र ‘महाभोज’ सामन्तवादविरुद्धको संघर्ष र समाज परिवर्तनको सन्देश दिन सफल भन्दै सबैलाई हेर्न आग्रह गर्नुभएको छ । आइतबार राजधानीको सिटी सेन्टरमा चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले ‘महाभोज’ लाई चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र गहिरो सन्देश बोकेको चलचित्रका रूपमा मूल्यांकन गर्नुभयो। उहाँले नयाँ पुस्ताले यो चलचित्र हेरेर यसको मर्म बुझ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, अध्यक्ष प्रचण्ड तथा समाजवादी मोर्चाका शीर्ष नेताहरू चलचित्रको विशेष प्रदर्शनी हेर्न सिटी सेन्टर पुग्नु भएको थियो । उपत्यका जनसम्पर्क तथा सांस्कृतिक अभियान अन्तर्गत जनसांस्कृतिक महासंघ, नेपाल बागमती प्रदेशले चलचित्र ‘महाभोज’ को विशेष शो आयोजना गरेको हो। समसामयिक कथावस्तु र प्रगतिशील समाज रूपान्तरणको सन्देशमा आधारित यस चलचित्रले ‘सत्य कहिल्यै लुक्न सक्दैन’ भन्ने मूलभाव प्रस्तुत गर्छ। चलचित्र ‘महाभोज’ का निर्माता हिमाल कडरिया, निर्देशक दिनेश राउत तथा कार्यकारी निर्माता किरण नेपाली हुन्। चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, बुद्धि तामाङ, अञ्जना बराइली, मल्लिका महत, गौमाया गुरुङ र बसुन्धरा भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ। पढनुस् सन्देश "लामो समयपछि चलचित्र हेर्ने अवसर मिल्यो। आज मैले “महाभोज” चलचित्र हलमै गएर हेरेँ। चलचित्र निकै नै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लाग्यो। त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन्। “यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ” भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ। यस सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार मित्रहरू, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यहरूलाई म मनदेखि धन्यवाद दिन चाहन्छु। आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ।"
अध्यक्ष प्रचण्डद्वारा विपद् व्यवस्थापनमा सक्रिय हुन पार्टी पंक्तिलाई निर्देशन
काठमाडौं, देशभर जारी भीषण वर्षाका कारण डुबान र पहिरोको जोखिम बढ्दै गएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले विपद् पूर्व–व्यवस्थापन तथा प्रतिकार्यका लागि सरकारलाई तुरुन्त कदम चाल्न समेत अपिल गर्नुभएको छ। सार्वजनिक सन्देशमार्फत अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “नदी तटीय क्षेत्र, डुबान भइरहने होचो भू–भाग तथा भू–स्खलनको उच्च जोखिम भएका स्थानहरूमा रहेका सम्पूर्ण जनतालाई अत्यन्त सतर्क रहन अनुरोध गर्दछु।” उहाँले विपद् व्यवस्थापनमा सहयोग गर्न, जनतालाई समयमै सूचना उपलब्ध गराउन तथा आवश्यक राहत र सुरक्षाका उपायहरूमा सक्रिय रहन पार्टीका सम्पूर्ण पंक्तिलाई निर्देशन दिनुभएको छ। साथै, नागरिकहरूलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूको सूचनाको पालना गर्न, सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। प्रचण्डले सम्भावित प्राकृतिक प्रकोपबाट जनधनको क्षति हुन नदिन सरकारले उच्च तयारीका साथ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।
साउदी अरबका राजकुमार : २० वर्षको कोमापछि अन्तिम विदाई
दुबई: साउदी अरबका राजकुमार अल वलीद बिन खालिद बिन तलाल अल सउद, जसले दुई दशकभन्दा बढी "सुतिरहेको राजकुमार" (The Sleeping Prince) को रूपमा इतिहास र जनताको हृदयमा ठाउँ बनाए, आज विशेष स्वास्थ्य केन्द्रमा निधन भयो । उनको मृत्युले मात्र शाही परिवार होइन, सम्पूर्ण साउदीलाई शोकमा डुबाएको छ। सन् २००५ मा भएको भीषण सडक दुर्घटनाले १५ वर्षीय युवराजलाई 'गम्भीर मस्तिष्क चोट' पुर्याएपछि उनी कोमामा पसेका थिए। त्यतिबेलादेखि उनका पिता खालिद बिन तलाल ले आफ्नो छोरालाई जीवनयन्त्रमा राखेर अस्पतालको कोठालाई नै आफ्नो घर बनाएका थिए। जीवनको संक्षिप्त झलक जन्म: १९९० अप्रिल, साउदी अरब परिवार: शाही परिवारका प्रमुख सदस्य, अर्बपति राजकुमार अल वलीद बिन तलाल का भतिज शिक्षा: लण्डनमा सैन्य क्याडेटको रूपमा अध्ययन (दुर्घटनाको समयमा) दुर्घटनाको क्षण: एक परिवारको जीवन बदलिएको १५ वर्षको उमेरमा लण्डनको एउटा सडकमा भएको दुर्घटनाले राजकुमारको मस्तिष्कमा गम्भीर आघात पुर्यायो। चिकित्सकहरूले उनलाई बचाउन सकेनन्, तर उनका पिताले कहिल्यै आशा छाडेनन्। "मेरो छोरा फर्किनेछ, अल्लाहले मलाई यसको संकेत दिनुभएको छ," उनी भन्थे। २० वर्षको संघर्ष: आस्था र विज्ञानबीचको लडाइँ चिकित्सकीय अवस्था: कोमा (PVS - Persistent Vegetative State), कहिलेकाहीं अंगहरूको अनैच्छिक हलचल मात्र पिताको समर्पण: विश्वका उत्कृष्ट अस्पतालहरूमा उपचार, तर कहिल्यै होस नफर्किएपछि पनि जीवनयन्त्र हटाउन अस्वीकार जनताको सहानुभूति: सामाजिक सञ्जालमा #SleepingPrince ट्रेन्ड गर्दै, धेरैले उनलाई "आस्था र धैर्यको प्रतीक" भने आध्यात्मिक आशा उनको अस्पतालको कोठा एउटा "तीर्थस्थल" जस्तै बनेको थियो। प्रार्थनाका लागि आउने मानिसहरू, कुरान पाठ गर्ने इमामहरू, र परिवारका सदस्यहरूले उनलाई घेरेर राख्थे। शाही परिवारको बयान र अन्त्यिम संस्कार शाही दरबारले राजकुमारको निधनलाई "ईश्वरको इच्छा" भनी स्वीकार गरेको छ। अन्त्यिम संस्कार मक्का नजिकैको पारिवारिक कब्रिस्तानमा हुनेछ। शोक: साउदी अरबमा ३ दिने राष्ट्रिय शोक घोषणा गरिएको छ। एउटा विरासत: प्रेमले हराउँदैन राजकुमार अल वलीदको कथा एउटा बुबाको अटूट माया, आस्था र मानवीय सहनशक्तिको प्रतीक बनेको छ। उनको जीवनले साउदी समाजलाई नै प्रभावित गर्यो—धेरैले उनका पिताको समर्पणलाई "असल बुबाको उदाहरण" भनेर सम्झन्छन्। "उनी सुतिरहेका छैनन्, ईश्वरले उनलाई आफ्नो मायालु गोदमा सुताएका छन्।" — सामाजिक सञ्जालमा एक श्रद्धाञ्जली (गल्फन्युजबाट साभार)