आज चुनाव प्रचारकाे अन्तिम दिन, कहाँ–कहाँ छन् ठुला दलहरुका सभा ?
काठमाडौं, असार ११ । स्थानीय तहको दोस्रो चरणको चुनावी प्रचार उत्कर्षतिर पुगेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राप्रपालगायतका पार्टीका नेताहरू १४ असारमा निर्वाचन हुने ३४ जिल्लाका कुनै न कुनै अन्तिम चुनावी आमसभालाई सम्बोधन गर्न दौडधुपमा छन् ।
निर्वाचन आयोगको आचारसंहिताअनुसार राजनीतिक दलका नेताहरूले आइतबार (आज) सम्म मात्रै अन्तिम चुनावी प्रचारप्रसार गर्न पाउने भएका कारण अधिकांश शीर्ष नेता अन्तिम चुनावी सभामा सक्रिय देखिएका नयाँ पत्रिकामा खबर छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा एकैदिन दुई जिल्लाका चुनावी दौडाहमा व्यस्त रहे । शुक्रबार कैलाली पुगेका देउवाले शनिबार कञ्चनपुरका छुट्टाछुट्टै तीनवटा आमसभालाई सम्बोधन गरेका छन् । दिउँसो बेलडाँडी, बेलौरी र पुनर्वासको आमसभालाई सम्बोधन गरेका देउवा अपराह्न डडेल्धुराको पर्शुराम नगरपालिकाको सभामा सहभागी भए । त्यसपछि बेलुकी कार्यकर्ता भेटघाटमा व्यस्त बने । आइतबारै उनले डडेल्धुरा सदरमुकाममा सम्बोधन गर्नुका साथै अन्य आमसभामा पनि सहभागिता जनाउँदै छन् ।
पौडेल ५ नम्बर प्रदेशमा सक्रिय
० कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार दाङको राप्ती र लमही नगरपालिका तथा बाँकेको नेपालगन्ज र कोहलपुर नगरपालिकाको चुनावी आमसभालाई सम्बोधन गरेका छन् । आइतबार उनले बुटवल, भैरहवा र नवलपरासीको बर्दघाटको चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका स्वकीय चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
० कांग्रेस नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. रामशरण महतलगायतका नेताहरू प्रदेश नम्बर १ को विभिन्न चुनावी आमसभामा सक्रिय छन् । त्यस्तै, युवानेता गगन थापा, प्रदीप पौडेललगायत सुदूरपश्चिमका चुनावी सभामा छन् ।
एमाले नेताहरू एकैदिन दर्जन सभामा
एमाले शीर्ष नेताहरूले शनिबार एकैदिन दर्जन चुनावी आमसभालाई सम्बोधन गरेका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता झलनाथ खनाल प्रदेश नम्बर १ तथा नेता माधवकुमार नेपाल प्रदेश नम्बर ७ को चुनावी आमसभामा व्यस्त बने ।
० अध्यक्ष ओलीले विराटगर महानगरपालिकासहित मोरङको उर्लाबारी नगरपालिका, पथरी र बेलबारी नगर तथा इटहरी उपमहानगरपालिकाका छुट्टाछुट्टै आमसभालाई सम्बोधन गरेका छन् ।
नेपाल पूर्व र सुदूरपश्चिम दुवैतिर सक्रिय
० वरिष्ठ नेता माधवकुमार नेपालले शनिबारै कञ्चनपुरका तीनवटा चुनावी आमसभालाई सम्बोधन गरेका छन् । भीमदत्त र वेदकोट नगरपालिका तथा बेलडाँडी नगरपालिकाका छुट्टाछुट्टै चुनावी आमसभालाई उनले सम्बोधन गरे ।
० नेता नेपाल आइतबार प्रदेश नम्बर १ को धरान उपमहानगरपालिका, मोरङको सुन्दरपुरहरैचा नगरपालिकाको चुनावी आमसभालाई सम्बोधन गर्न कञ्चनपुरबाट त्यहाँ पुग्ने उनका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए ।
० एमाले उपाध्यक्ष वामदेव गौतम बाँकेको खजुरा नगर तथा उपमहासचिव विष्णु पौडेलले बुटवल उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेका छन् । महासचिव ईश्वर पोखरेलसहित सबै स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय तहका नेताहरू तीनवटै प्रदेशका अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने क्रममा जिल्ला दौडाहमा छन् ।
माओवादी केन्द्र
दुई दिन सुदूरपश्चिममा बिताएर प्रचण्ड काठमाडौंमा
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबारबाट चुनावी सभालाई सम्बोधन गर्न जिल्ला दौडाहामा निस्केका थिए । पूर्वको उदयपुर हुँदै उनी बिहीबार मध्यपश्चिमको बाँके, बर्दियालगायतका जिल्ला पुगेका थिए । शुक्रबार सुदूरपश्चिमको कैलाली, कञ्चनपुरलगायतका जिल्लाका चुनावी सभामा सहभागी भएर शनिबार बिहान काठमाडौं आइपुगेका छन् । आइतबार प्रचण्ड खोटाङ र भोजपुरका चुनावी सभालाई सम्बोधन गर्न निस्कँदै छन् । आइतबार प्रचण्ड खोटाङमा दुईवटा चुनावी सभा र भोजपुरको एउटा चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन् ।
रामबहादुर थापा पूर्वतिरै
माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा नेता रामबहादुर थापा शनिबार दिनभर मोरङका तीनवटा चुनावी सभामा सहभागी भए । पूर्वी मोरङको बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे नगरपालिकाका चुनावी सभामा सहभागी भए । उनी आइतबार पनि १ नम्बर प्रदेशकै चुनावी सभामा सहभागी हुनेछन् ।
कृष्णबहादुर महरा रोल्पामा
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेका कृष्णबहादुर महरा गृहजिल्ला रोल्पाको चुनावी सभामा सहभागी भइरहेका छन् । उनी शनिबार त्यसतर्फ गएका हुन् । उनी १४ असारमा हुने निर्वाचनमा मत हालेर मात्र काठमाडौं फर्किनेछन् ।
दाङमा व्यस्त वर्षमान पुन
माओवादी केन्द्रका ५ नम्बर प्रदेशका इन्चार्ज हुन् वर्षमान पुन अनन्त । उनी समग्र प्रदेशकै कार्यक्रममा सहभागी भइरहेका छन् । केही दिन गृहजिल्ला रोल्पाका चुनावी कार्यक्रममा रहेका पुन शुक्रबार र शनिबार दिनभर दाङको चुनावी कार्यक्रममा सहभागी भए । उनले शुक्रबार दाङका १० वटा चुनावी सभालाई सम्बोधन गरेका थिए ।
गृहमन्त्री जनार्दन शर्मा पनि दाङमै
गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि जिल्लाका कार्यक्रमहरूमा सहभागी छन् । उनी शनिबार दाङतर्फ लागेका छन् । आइतबार उनी दाङका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
उपेन्द्र यादव
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव केही दिनदेखि मोरङमा सक्रियतापूर्वक चुनावी कार्यक्रममा सहभागी भइरहेका छन् । विराटनगर महानगरपालिकामा माओवादी केन्द्रसँग चुनावी तालमेलमा संघीय समाजवादी फोरमले मेयर पाएको छ । विराटनगरमा कांग्रेस एक्लै र एमाले–लोकतान्त्रिक फोरमको गठबन्धन मैदानमा छ । निर्वाचन अवधिभर यादव मोरङमै रहने उनका सहयोगीले बताएका छन् ।
एनपीएल उद्घाटन खेल : विराटनगरविरुद्ध जनकपुरको विजयी सुरुवात
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विजयी सुरुआत गरेको छ । कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको हो ।
पीडामा रहेकाहरुलाई सहयोग गर्ने संस्कृति बढाएर लैजानुपर्छः प्रचण्ड
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःख पीडामा रहेकाहरुलाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्दै यसलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ । गत कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडिको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई शैक्षिक सामग्री सहयोग घोषणा तथा हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । दुर्घटनालगत्तै अध्यक्ष प्रचण्ड कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटस्थित नगरकोटी निवास पुगेर बाबुआमा गुमाएका दुई छोरी गरिमा र अनु नगरकोटीको अभिभावकत्व लिने घोषणा गर्नुभएको थियो । उहाँको घोषणालाई समथर्न गर्दै उद्धव नेपालले गरिमा र अनुलाई कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक पाठ्यपुस्तकलगायतका शैक्षिक सामग्री र पोशाक सहयोग गर्ने घोषणा गर्नुभएको छ । सहयोग घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले शैक्षिक सामग्री सहयोग गर्ने नेपाल, घटनालगत्तै एकताबद्ध भएर यो पीडालाई उजागर गर्दै सहयोग सङ्कलन गर्ने आलापोटबासी र निःशुल्क अध्ययनको व्यवस्था मिलाउने विद्यालयलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो– ‘समाजमा पीडामा भएका र सेवा आवश्यक रहेका व्यक्तिहरुलाई सहयोग गर्ने भावना नेपाली समाजको संस्कृति नै हो, यसलाई बढाएर लैजानुपर्छ ।’ समाजमा पीडामा रहेकाहरुको अभिभाकत्व सरकारले लिनुपर्ने भए पनि अहिले सरकार एउटा भन्ने र अर्को गर्ने अवस्थामा रहेको टिप्पणी गर्दै सकेसम्म समाजका पीडाहरुलाई नदेखेजस्तो गर्ने र गरे पनि आफ्नाहरुलाई मात्र गर्ने अवस्था रहेको बताउनुभयो । यो बेलामा असक्त र पीडितहरुको पक्षमा समाजले नै बढी जिम्मेवारी लिनुपर्ने आवश्कयता रहेको उहाँले बताउनुभयो । आफूले दुर्घटनामा नगरकोटी दम्पत्तिको ज्यान गएको खबर सुनेपछि आलाकोटमै पुगेर पीडित परिवारलाई भेटेको र स्थानीयबासीलाई पनि संक्षिप्त सम्बोधन गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘मेरो घोषणालाई सुनेर सहयोग गर्ने भावना पैदा हुनु महत्वपूर्ण छ, यो एउटा घटना विशेष सहयोग भए पनि दुःखपीडामा परेकाहरुलाई सबैले हातेमालो गरेर सहयोग गर्नुपर्छ भन्ने यो देशैभरिका जनताका लागि एउटा सन्देश पनि हो ।’ पार्टीले बालिकाहरुको अभिभावकत्व लिने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै उहाँले त्यसलाई पूरा गर्ने र कक्षा १२ सम्म पार्टीले नै अभिभावकत्व लिएर बुवाआमा गुमाएका दुई छोरी गरिमा र अनु नगरकोटीलाई राम्रो वातावरणमा पठनपाठनको व्यवस्था मिलाउने बताउनुभयो । सो क्रममा सहयोगी उद्धव नेपालले बालिकाका परिवारलाई शैक्षिक सामग्री पनि हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम सहजीकरण माओवादी केन्द्रका काठमाडौं जिल्ला सचिव महेश्वर फुयाँलले गर्नुभएको थियो ।
नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छः प्रचण्ड
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) को आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छ । अहिले शिक्षाको खोजी बर्षेनी अर्बौं रूपैयाँ बिदेशिएको छ । यो लगानी स्वदेशमै रोक्न गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रणाली विकास गर्नुपर्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘विदेशी विद्यार्थीलाई आकर्षित गर्दै नेपाललाई शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्न सकिन्छ । त्यसका निम्ति व्यवस्थित अनुसन्धान, वैज्ञानिक नीति र सार्थक पहल आवश्यक हुन्छ ।’ निजी क्षेत्रको प्रयासले प्रतिस्पर्धात्मक शिक्षाको विकास एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्तिको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै उहाँले सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताउनुभयो । ‘साझेदारीले शिक्षाको गुणस्तर सुधार्न, सबैलाई समान अवसर उपलब्ध गराउन र देशको समग्र शैक्षिक विकासमा ठूलो भूमिका खेल्छ । शिक्षासम्बन्धी संविधानप्रदत्त व्यवस्था र अधिकारसहित दुवै क्षेत्रको साझा प्रयासले मात्र नेपाललाई शिक्षित र समृद्ध समाजतर्फ अघि बढाउन सम्भव हुनेछ’– उहाँले भन्नुभयो– ‘यसका निम्ति सदाझैँ यहाँहरूको सहकार्य र सहयोगात्मक भूमिका रहने मैले विश्वास लिएको छु ।’ शिक्षामा लगानी भनेको भविष्यमा देशलाई सक्षम बनाउने बाटो भएको उल्लेख गर्दै उहाँले उच्च नैतिक संस्कारयुक्त, राष्ट्रिय आवश्यकताको बोध गर्न सक्ने, सीपमूलक, उद्यमशीलतामुखी, देशभक्तिपूर्ण भावनाद्वारा अभिप्रेरित, नवप्रवर्तनमा आधारित शिक्षाले मात्र आजको कार्यभार पूरा गर्नसक्ने बताउनुभयो । ‘नेपालको शिक्षा विकासमा विविध चुनौतीहरू छन्, जुन गहन र बहुआयामिक छन् । यी चुनौतीहरू नीतिगत, प्राविधिक, सामाजिक र आर्थिक पक्षहरूसँग सम्बन्धित छन् । शिक्षा क्षेत्रमा पर्याप्त नीतिहरू बनेका छन् तर तिनको कार्यान्वयन कमजोर छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘बढ्दो शहरीकरण र बसाइसराइ, घट्दो जनसंख्या दर, शैक्षिक जनशक्तिको विदेश पलायन, परनिर्भरमुखी सोँच, पाश्चात्य शिक्षा एवं संस्कृतिको बढ्दो प्रभाव, विश्वव्यापीकरण जस्ता विषयहरूले हाम्रो शिक्षा नीति र संरचनामा गुणात्मक सुधार अनिवार्य छ । बौद्धिक पलायन नेपालको ठूलो समस्या बन्दै आएको छ । यसलाई रोक्न विद्यालय तहदेखि नै एकातिर सिपमूलक र व्यवहारिक शिक्षा दिएर बौद्धिक जनशक्तिलाई देशभित्रै उत्पादनमा केन्द्रित गर्ने गरी कार्यक्रम बनाउन आवश्यक छ भने अर्कोतिर उनीहरुमा स्वाभीमानी, सिर्जनशील र आत्मनिर्भर सोंचको विकास गराउन आवश्यक छ ।’ संविधानले परिकल्पना गरेको समाजवादउन्मुख आर्थिक सामाजिक व्यवस्थाको जग बसाल्न नयाँ पुस्तामा देशप्रति मायाँ गर्ने, श्रमप्रति सम्मान गर्ने र नवप्रवर्तनमा आधारित उत्पादितमा केन्द्रित हुने सोंचको विकास विद्यालय तहदेखि नै गराउन आवश्यक रहेकोमा जोड दिंदै उहाँले आफ्नो नेतृत्वको सरकारले शिक्षा क्षेत्रको सुधारका लागि महत्वपूर्ण थालनी गरेको बताउनुभयो । संघीय शिक्षा ऐन संसदसम्म पुर्याएको उल्लेख गर्दै उहाँले संसदको आगामी अधिवेशनबाट यसलाई पारित गर्न जोड गरिने र ऐनले निजी विद्यालयहरूको सञ्चालन, शुल्क निर्धारण र व्यवस्थापनमा स्पष्ट र कानुनी दिशानिर्देश गर्ने बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू गर्ने घोषणा मात्र नगरी लागु गरेर देखाएको उल्लेख गर्दै उहाँले अहिलेको सरकारले ती प्रयासहरूमाथि आक्रमण थालेको बताउनुभयो । ‘सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ । मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्ने लगायतका अवान्छित क्रियाकलाप भइरहेका छन्’– उहाँले भन्नुभयो– ‘यी सबै घटनाक्रमलाई मैले गम्भीरतापूर्वक हेरेको छु । म यही मञ्चबाट भन्न चाहन्छु– देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने यो गतिविधि सचेत नेपालीहरूका निम्ति सैह्य हुने छैन । सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहनेछ । भ्रष्टाचार र बेथितिका विरूद्ध नयाँ शिराबाट सङ्घर्षको झण्डा उठ्नेछ ।’
प्रचण्ड सचिवालयले भन्यो- 'गगनको अभिव्यक्तिमा ओरालो बाटोको मनोदशा राम्रैसँग छचल्कियो'
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति गगन थापाको ओरालो बाटोको मनोदशाबाट ग्रसित भएर आएको टिप्पणी गरेका हुन् । आज (बिहीबार) काठमाडौँको कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले ‘प्रचण्ड’ले प्रधानमन्त्री भइदिनुपर्यो भनेर हप्तामा एकपटक खबर पठाउने गरेको दाबी गरेका थिए। यसैको खण्डन गर्दै प्रचण्डको सचिवालयले वक्तव्य जारी गरेको हो। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले लेखेका छन्, ‘महामन्त्रीजी ! कीर्तिपुरको निर्वाचनमा नेका (नेपाली कांग्रेस) को ओरालो बाटो तपाईंको मनोदशाबाट राम्रैसँग छचल्किएछ। यति कुरा हेक्का राख्नुस्, माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, माओवादी नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ।’