कर्णाली प्रदेशमा “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ
सुर्खेत, फागुन १९ । कर्णाली प्रदेशले समृद्धिका लागि सुरक्षा अभियान अन्तर्गत “सडक सुरक्षा कार्यक्रम” आज विधिवत् शुभारम्भ गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरसहित १० वटै जिल्लामा एकैसाथ “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ गरिएको हो । सो कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री शाहीले मान्छेको जीवन सुरक्षित नभएसम्म कुनै पनि कामको विकास र प्रगति नहुने बताउनुभयो ।
उहाँले यो प्रदेशले आफ्नो समृद्धिका लागि सुरक्षा अभियान अघि बढाएको छ, नागरिकको जीउधनको सुरक्षाको प्रत्याभूति गराउनेछ भन्नुभयो । उहाँले हरेकलाई आफैभित्रबाट सोंच, बानी र संस्कार बदल्न आग्रह गर्नुभयो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समृद्धिको लागि शान्ति सुरक्षा कायम गरेर कर्णाली प्रदेशलाई देशको नमूना प्रदेश बनाउने बताउनुभयो ।
कर्णाली प्रदेशका ग्रामीण भेकमा रहेका ज्येष्ठ नागरिक, असक्त, असाहय र पहुँच भन्दा बाहिर रहेका नागरिकका लागि घरमै पुगेर शान्ति सुरक्षाको सेवा दिने प्रदेश सरकारको योजना रहेको उहाँको भनाइ थियो ।
उहाँकाअनुसार डिजिटल प्रदेश निर्माणका लागि प्रविधिसँग सुरक्षालाई जोडेर आजबाट यो प्रदेशका २१५ वटै प्रहरी इकाइमा एकैपटक “सडक सुरक्षा कार्यक्रम” शुभारम्भ गरिएको छ ।
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।