कोशीमा चार मन्त्री र दुई राज्यमन्त्रीको शपथ सरकारले पायो पूर्णता
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरी मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्।
मुख्यमन्त्री कार्कीले शुक्रबार नेपाली काँग्रेसबाट दुई मन्त्री तथा दुई राज्यमन्त्री र नेकपा (माओवादी केन्द्र) बाट दुई मन्त्रीलाई नियुक्त गरी सरकारलाई पूर्णता दिए।
मुख्यमन्त्रीले नेपाली काँग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री नियुक्त गरे भने इन्दिरा थापा र सुनिताकुमारी गुरुङलाई राज्यमन्त्री नियुक्त गरे।
यसैगरी नेकपा माओवादी केन्द्रबाट नारायणबहादुर बुर्जामगर र राजेन्द्रकुमार कार्की मन्त्री नियुक्त भए। नवनियुक्त मन्त्री सुनुवारलाई स्वास्थ्य मन्त्रालय, खत्रीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, बुर्जा मगरलाई सामाजिक विकास मन्त्रालय र कार्कीलाई खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यस्तै मुख्यमन्त्री कार्कीले समानुपातिक तर्फका सांसद इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनसरीका सांसद सुनिताकुमारी गुरुङ (राम)लाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्।
नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले र राज्यमन्त्रीलाई मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ गराए। शुक्रबार विस्तारसँगै कोशी प्रदेशको मन्त्रिपरिषद १० सदस्यीय भएको छ।
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।