कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने

विराटनगर, २५ माघ । कोशी प्रदेश सरकार र पहिचान पक्षधर बीच आज वार्ता हुने भएको छ । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले वार्ता समिति गठन गरेपछि सरकारसँग वार्ता हुन लागेको हो ।
वार्ता दिउँसो ३ बजे विराटनगरको एक होटलमा हुने तय भएको छ ।
माघ छ गते बसेको मन्त्रिपरिषदको बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ता समितिको सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् । वार्ता टोलीले माघ १२ गते संयुक्त संघर्ष समितिलाई वार्ताका लागि पत्र पठाएको थियो ।
माघ २४ गते बसेको संयुक्त संघर्ष समितिको बैठकले वार्तामा जाने निर्णय गर्दै वार्ता समिति गठन गरेको थियो । समितिले आज सरकारसँग वार्ता गर्ने पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिए ।
वार्ता समितिमा आन्दोलनरत पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोबिन्दबहादुर आङबुहाङ, किरात राई यायोखा उपाध्यक्ष युवराज राई, नेपाल आदिबासी जनजाति महासंघका महासचिव दिवस राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन (मिराक), नेकपा एकीकृत समाजवादी सम्बद्ध लिम्बु संघ समाजवादीका उपाध्यक्ष पदम लिम्बु, नेकपा माओवादी केन्द्र सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अर्जुन जम्नेली राई लगायत छन् ।
हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर पहिचानका आधारमा नाम राख्नुपर्ने मागसहित आन्दोलनमा छन् ।
तत्कालिन सरकारले तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । सो वार्ता टोलीसँग २०८० असार ४ गते पहिचान पक्षधरले पहिलो पटक वार्ता गरेको थियो । कोशीमा सरकार अस्थिर भएका कारण त्यसपछि वार्ता हुन सकेको थिएन ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय