गच्छदार पनि सरकारमा
काठमाडौं, फागुन २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ मत पुर्याउन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा ल्याउने तयारी गरेका छन् । मधेसी मोर्चाको सातदिने अल्टिमेटम गुज्रिँदै गर्दा सत्ता गठबन्धन जोगाउन राप्रपा नेतृत्वलाई मन्त्रिपरिषद्मा सामेल गराएका प्रमुख सत्तारूढ पार्टी कांग्रेस र माओवादी केन्द्रले फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलाई समेत सरकारमा ल्याउने तयारी गरेका हुन् ।
स्रोतका अनुसार मन्त्रालय र मर्यादाक्रमका विषयमा कुरा मिल्नासाथ गच्छदार सरकारमा आउनेछन् । गच्छदारले मन्त्रिपरिषद्मा आफू दोस्रो मर्यादाक्रममा हुनुपर्ने र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउनुपर्ने माग गर्दै आएका छन् । अहिले कांग्रेसबाट सरकारमा नेतृत्व गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीपछिको मर्यादाक्रममा छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि कांग्रेसकै भागमा छ ।
मर्यादाक्रम छाड्न गृहमन्त्री निधि र भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयबाट अन्य मन्त्रालयमा सर्न लेखक नमानेकाले गच्छदारको सिंहदरबार प्रवेशमा ढिलाइ भएको स्रोतको दाबी छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच संशोधन प्रस्तावको पक्षमा संसद्मा दुई तिहाइ मत पुर्याउन गच्छदारसहित अन्य साना दललाई सरकारमा ल्याउने विषयमा निरन्तर छलफल चलिरहेको छ ।
संविधान संशोधन नगरिकन मधेसमा निर्वाचन सम्भव नदेखेपछि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा दुई तिहाई पुर्याउन खेलमा केन्द्रित हुन थालेको कांग्रेसका एक नेताले बताए ।
सत्तारूढ राप्रपा र प्रधानमन्त्री निर्वाचनमा मत हालेको फोरम लोकतान्त्रिकले यथास्थितिमा संविधान संशोधनको पक्षमा मत हाल्न नसक्ने अडान राख्दै आएका थिए । प्रचण्ड र देउवाले संशोधनको पक्षमा दुई तिहाइ पुर्याउन संसदको चौथो ठूलो दलका अध्यक्ष कमल थापालाई उपप्रधान र स्थानीय विकासमन्त्री दिएर मन्त्रिपरिषद्मा सामेल गरिसकेका छन् । पाँचौं ठूलो दल फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको प्रवेशसँगै अन्य केही साना दललाई पनि सरकारमा ल्याउने र प्रमुख प्रतिपक्ष एमालेबाहेक पनि संविधान संशोधनको पक्षमा दुई तिहाई पुर्याउने योजना सत्तारूढ दलको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री लेखकले गच्छदारलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको स्विकारे । कहिले ल्याउने र कुन मन्त्रालय दिनेबारे आफूलाई जानकारी नभएको उल्लेख गर्दै लेखकले भने, ‘मन्त्रिपरिषद् विस्तार सरकार टिकाउनका लागि मात्रै नभएर सरकारले प्रस्तुत गरेको संविधान संशोधन पारित गर्न हो ।’
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले फोरम लोकतान्त्रिकलाई सरकारमा ल्याउन पहल भइरहेको पुष्टि गरे । राप्रपा र फोरम लोकतान्त्रिकलाई एकैपल्ट सरकारमा ल्याउने प्रयास भए पनि प्राविधिक कारणवश ढिलाइ हुन पुगेको उनको भनाइ थियो । ‘संविधान संशोधन र चुनाव सुनिश्चितताका लागि राप्रपालाई पनि सरकारमा सामेल गरिएको छ । फोरम लोकतान्त्रिकलाई पनि ल्याउने प्रयत्न जारी छ,’ श्रेष्ठले भने, ‘स्थानीय चुनावपछि पनि मधेसी मुद्दा सम्बोधन गर्ने कोसिस हुन सक्छ भनी राप्रपा नेताले नै प्रधानमन्त्री र मोर्चा नेतासँगको बैठकमा भनिरहेको अवस्थामा स्थानीय चुनावपछि र प्रदेशको चुनावअघि संविधान संशोधनको अवस्था हुन सक्छ ।’
सरकारमा सहभागिताको अफर आएपछि गच्छदारले शनिबार साँझ आफू निकट केही नेतालाई ब्रिफिङ गर्दै संशोधन विधेयक पारित गर्ने र चुनाव सुनिश्चितताको सर्त पूरा गर्ने भए सकारात्मक हुन सकिने बताएका थिए । गच्छदारले बैठकमा भने, ‘हामी कमल थापाजस्तै सरकारमा बोलाउनेबित्तिकै फुत्त जाने पार्टी होइनौं, चुनाव हुन्छ र संशोधन हुन्छ भनी आश्वस्त पार्न सक्नुपर्यो ।’ उनले टीकापुर घटनापछि समातिएका कार्यकर्ता छाड्ने विषयलाई प्रचण्ड र देउवासमक्ष सर्तका रूपमा अघि सारेको समेत खुलाए ।
फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले सरकारमा जानेबारे अझै प्रस्ट कुरा भइनसकेको बताए । उनले संविधान संशोधन विधेयक अघि बढे आफ्नो संशोधन प्रस्तावका पक्षमा दल उभिने भन्दै सत्तारोहणको घुमाउरो संकेत समेत गरे । ‘संशोधनबाट समस्या समाधान हुन्छ भन्ने यकिन नभई सरकारमा जादैनौं, पहिले त्यो आश्वस्त पार्नुपर्यो,’ चौधरीले भने । उनकै दलका अर्का उच्च नेताको भनाइमा संविधान संशोधनको मुद्दामा साझा धारणा बन्ने र पारित गर्नेबारे गच्छदारलाई दाहालले आश्वस्त पारे उनी त्यस ‘प्रक्रियालाई सघाउन’ सत्तारोहण गर्नेछन् ।
गच्छदारनिकट ती नेताको उक्त भनाइलाई पुष्टि गर्दै फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले सत्ताका लागि अन्तिम समयमा आएर भाग नखोज्ने, तर संविधान संशोधनका लागि भने तत्पर रहने खुलाए । ‘सरकार संकटमा पर्न लाग्दा हामीसँग उहाँहरू आउन खोज्नु अनुचित भएन, तर हामीले प्रचण्ड गठबन्धनलाई समर्थन गर्दा संविधान संशोधनको जुन वाचा गरिएको थियो, त्यो आजसम्म किन अघि बढेन भन्ने हाम्रो जिज्ञासा हो,’ उनले भने, ‘अन्तिम समयमा सरकारमा जानेबारे हामीलाई रुचि छैन, तर संविधान संशोधनकै लागि हाम्रो साथ खोजेको हो भने सत्तामा गएर सघाउन हामी सकारात्मक छौं ।’
सप्तरी घटनामा पाँच प्रदर्शनकारी र सर्वसाधारण मारिएसँगै गत फागुन २५ गते मोर्चाले तुरुन्त चुनाव रोक्न भन्दै सातदिने अल्टिमेटम प्रचण्डलाई बुझाएको थियो । अल्टिमेटमको अवधि सोमबार गुज्रँदै छ । सोमबारसम्म चुनाव नरोकिए सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुने मोर्चाले आफ्नो लिखित पत्रमा भनिसकेको छ ।
देउवासँग सहमति गरिएको आलोपालो अवधि गुज्रिन लाग्दा सत्ता संकट टार्न प्रचण्डले सधैंका सत्ता खेलाडी थापा र गच्छदारको साथ खोजेका हुन् । तर माओवादी केन्द्रका नेता श्रेष्ठले भने प्रचण्डको प्रयासका पक्षमा बचाउ गर्दै संविधान कार्यान्वयनका लागि चुनाव अघि बढाउन यस्तो निर्णय लिनुपरेको तर्क गरे । ‘सरकारमा कसलाई ल्याउने, कोसँग नजाने भन्नेबारे स्पष्ट मान्यता हुनुपर्छ भन्ने पक्षमा हामी छौं, तर अहिले अप्ठ्यारो बेलामा हामी सरकारमा आइ नै सक्यौं, चुनाव सम्पन्न गर्नका लागि मिति घोषणा र अरू तयारी गरे पनि चुनावसम्म पुग्न सबैको सहयोग आवश्यक छ,’ श्रेष्ठले भने, ‘सरकारले संविधान संशोधनको प्रयास सफल पार्न उहाँहरूलाई सरकारमा ल्याउने अहिलेको निर्णय सही छ ।’
यो खबर आजको कान्तिपुरमा छ ।
दैलेखमा पेट्रोलियम अन्वेषणका लागि अब दुई सय मिटर ड्रिलिङ बाँकी
दैलेख । दैलेखमा पेट्रोलिययम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार शनिबारसम्म तीन हजार आठ सय मिटर ड्रिलिङको काम सम्पन्न भएको छ। अव दुई सय मिटर ड्रिलिङ बाँकी छ। दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेबाट पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ सुरु गरिएको थियो। खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट प्रकाश लुइँटेलले पुस महिनाभित्र ड्रिलिङको काम सम्पन्न हुने बताए। ‘सात महिनामा तीन हजार आठ सय मिटर ड्रिलिङ सम्पन्न भएको छ,’ लुइँटेलले भने, ‘यो महिनाभित्र ड्रिलिङ र अरू प्राविधिक काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’ चिनियाँ र नेपाली टोलीले दुई चरणमा ड्रिलिङको काम गर्दै आइरहेको छ। जियोलोजिष्ट लुइँटेलका अनुसार दैनिक १५ देखि २० मिटरसम्म ड्रिलिङ हुने गरेको छ। दैलेखको पञ्चकोसी क्षेत्रमा वर्षौदेखि ज्वाला बलिरहेको र यस क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास रहेको अनुसन्धानबाट देखिएपछि अन्वेषण सुरु गरिएको हो। ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ। चिनियाँ र नेपाली गरी ८० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ। प्राविधिक टोलीले प्रत्येक मिटरबाट संकलन गरेको स्याम्पल ड्रिलिङस्थल, खानी तथा भूगर्भ विभाग र चीनमा परीक्षणका लागि पठाउँदै आइरहेको आजको नागरिक दैनिकमा खबर छ ।
ओली प्रधानमन्त्री भएपछिका तीन महिनामा बढ्यो ८९ अर्ब सार्वजनिक ऋण
काठमाडौं । केपी ओली नेतृत्वको सरकार सय दिन पूरा गर्ने सम्मुखमा छ । उनी प्रधानमन्त्री भएको तीन महिना (साउन–असोज)मा मात्रै देशको सार्वजनिक ऋण ८८ अर्ब ९४ करोड रुपैयाँले बढेको छ । योसँगै असोज मसान्तसम्म सरकारको थाप्लोमा २५ अर्ब २३ अर्ब तीन करोड सार्वजनिक ऋण पुगेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। यसअघि ०८०/८१ को अन्त्यसम्म २४ खर्ब ३४ अर्ब नौ करोड ऋण थियो । ओली ३० असारमा प्रधानमन्त्री भएका थिए । पछिल्लो तीन महिनामा सरकारले एक खर्ब ३६ अर्ब रुपैयाँ ऋण उठाएको छ भने ६९ अर्ब सावाँ भुक्तानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोज मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण आन्तरिकतर्फ १२ खर्ब ३६ अर्ब ३० करोड र बाह्यतर्फ १२ खर्ब ८६ अर्ब ७३ करोड पुगेको छ । देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा सार्वजनिक ऋण ४४.२३ प्रतिशतबराबर पुगेको छ । सरकारले चालू आर्थिक वर्षमा पाँच खर्ब ४७ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । असोज मसान्तसम्ममा एक खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋण र २१ अर्ब ३१ करोड बाह्य ऋण प्राप्त गरेको छ । यस अवधिमा ५९ अर्ब ६० करोड आन्तरिक ऋणको सावाँ र नौ अर्ब ४३ करोड बाह्य ऋणको सावाँ भुक्तानी गरेको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति २४.९२ प्रतिशत छ । जसमध्ये आन्तरिक ऋण ३४.८५ प्रतिशत र बाह्य ऋण प्राप्ति ९.८२ प्रतिशत छ । अर्थविद् डा. चन्द्रमणि अधिकारी सरकारको आम्दानीभन्दा खर्च धेरै हुँदा ऋण परिचालन बढाउन दबाब भएको बताउँछन् । ‘अहिले सरकारको आम्दानीभन्दा खर्च धेरै (बजेट घाटा) छ । खर्च धान्नका लागि पनि ऋण परिचालन बढाउन दबाब भएको देखिन्छ । विदेशी ऋण परियोजनामा आउने हुन् । तर, पुँजीगत कार्य नहुँदा वैदेशिक ऋण परिचालन बढ्न सकेको छैन । चालू खर्च बढी भएको छ, तर राजस्व संकलन कमजोर भएको छ । त्यसले गर्दा ऋण प्राप्ति बढाउन दबाब भएको देखिन्छ,’ उनले भने, ‘समग्रमा स्रोत अभावकै कारण ऋण प्राप्ति बढाउन परेको देखिन्छ । यसरी पहिलो त्रैमासमा ऋण बढी परिचालन गरेको अवस्थामा आर्थिक वर्षान्तमा स्रोत व्यवस्थापनमा चुनौती हुन सक्छ ।’ ब्याजमै भयो १४ अर्ब खर्च सार्वजनिक ऋण बढ्दै जाँदा ऋण भुक्तानीमा हुने खर्चसमेत बढेको देखिन्छ । चालू आवको तीन महिनामा सरकारले ऋणको सावाँ–ब्याज भुक्तानीमा ८३ अर्ब सात करोड खर्च गरेको छ । यस अवधिमा ६९ अर्ब तीन करोड सावाँ फिर्ता गरेको सरकारले ब्याजमा १४ अर्ब चार करोड खर्चिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक छ । तीन महिनामा आन्तरिक ऋणको ब्याज ११ अर्ब ८५ करोड र बाह्य ऋणको ब्याज दुई अर्ब १९ करोड भुक्तानी गरेको हो । चालू आर्थिक वर्ष ०८१/८२ मा ऋण सेवा खर्चमा चार खर्ब दुई अर्ब वार्षिक बजेट विनियोजन गरिएको थियो । असोज मसान्तसम्ममा वार्षिक विनियोजनको २०.६२ प्रतिशत ऋण सेवामा खर्च भएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा असोज मसान्तसम्ममा कुल ऋण सेवा खर्च १.४६ प्रतिशत छ ।
किन चुलिदैछ कांग्रेसभित्र सरकारप्रतिको असन्तुष्टि
काठमाडौं । कांग्रेस नेता शेखर कोइराला आफ्नै पार्टीसमेत संलग्न सरकारले सय दिन पनि पूरा नगर्दै चर्को असन्तुष्टि व्यक्त गर्न थालेका छन् । सामान्यतः सरकार बनेको सय दिनलाई ‘हनिमुन’ अवधिका रूपमा लिएर अरूले पनि शंकाको सुविधा दिने राजनीतिक प्रचलन छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको साढे दुई महिना मात्र हुँदै गर्दा सत्तारूढ दलकै नेता कोइरालाबाट आलोचना हुन थालेको हो । अनेक शंका–उपशंकाका बीच कोइराला भने अन्य कारण नभएर प्रधानमन्त्री ओलीका केही कार्यशैलीगत विषयप्रति मात्र आफ्नो असन्तुष्टि रहेको बताउँछन् । खासगरी ओली सरकारले गरेका केही निर्णय र पहलकदमीप्रति कोइरालाको मुख्य चासो देखिएको छ । उद्योगीहरूबाट ‘डेडिकेटेड र ट्रंकलाइन’ को महसुल भुक्तानी गर्ने विषयलाई लिएर प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको योजनाप्रति आफ्नो समर्थन नरहेको उनले बताए । ‘कुलमानका कमीकमजोरी थिए भने त्यसलाई हेर्न राज्यका संयन्त्रहरू थिए तर डेटिकेटेड र ट्रंकलाइनको महसुल भुक्तानीको विषयमा जसरी उनलाई हटाउन खोजियो, त्यसमा मेरो असन्तुष्टि हो,’ उनले भने । बालुवाटारमा सर्वदलीय बैठक राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन गरिएको निर्णयप्रति पनि कोइरालाको आपत्ति नै थियो । संसद्मा रानाविरुद्धको प्रस्ताव दर्ता गर्न कांग्रेस र एमालेका मुख्य सचेतकहरूले हस्ताक्षर संकलन गरिरहेको दिन कोइराला पार्टी सभापति शेरबहादुर देउवा र इतरसमूहका नेताहरूसँग असन्तुष्टि जनाउ दिएर आँखा उपचारका लागि सिंगापुर हिँडेका थिए तर पूर्वको सिंगापुर जान उनले पश्चिम दिल्लीको बाटो लिएका थिए । ‘एकपटक हामी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगमा गएर फसेका छौं, अहिले फेरि उपसभामुखलाई हटाउने भनेर फस्न हुन्न भन्ने मेरो कुरा थियो । न दुई तिहाइ पुग्ने अवस्था थियो, न उनीविरुद्धको आरोप पुष्टि हुने अवस्था नै थियो, त्यसैले शेरबहादुरजीलाई नै असन्तुष्टि जनाएर म हिँडेको थिएँ,’ उनले भने । सत्ता गठबन्धनमा कांग्रेस–एमालेका अलावा अशोक राई नेतृत्वको जसपा, महन्थ ठाकुर नेतृत्वको लोसपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि छन् । सत्तामा रहेका सबै दलको सांसद संख्या जोड्दा पनि दुई तिहाइ पुग्दैन । ‘तर अपुग २/३ सांसद पुर्याउन सरकारलाई समस्या थिएन । मधेसमा सत्ता सहकार्य गरेको जनमत वा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमध्ये एउटा दलले समर्थन गर्दा सहजै दुई तिहाइ पुग्थ्यो । कोइरालाकै असन्तुष्टिले प्रधानमन्त्री ओली र हाम्रा सभापति देउवा हच्किनुभयो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘सरकारप्रति भारतले अनुदार व्यवहार देखाइरहेका बेला पार्टीभित्रै असन्तुष्टि बढाउँदा समीकरण तलमाथि हुन सक्ने चिन्ता देखिएपछि रोकिएको हो ।’ कोइरालाको असन्तुष्टिकै कारण उनीनिकट सदस्यहरूले उपसभामुखलाई हटाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् । कोइरालाको साथ नपाएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रानालाई उपसभामुखबाट हटाउने निर्णयबाट पछि हटे । माओवादीसँग सहकार्य गरेकै बेलादेखि सरकारको स्थिरिता र विकासका लागि कांग्रेसले एमालेसँग समीकरण गर्नुपर्ने पक्षमा कोइराला थिए । डेढ वर्षअघि एमालेले सरकार छाडेपछि कांग्रेस–माओवादी सत्ता सहकार्यमा रहेका बेला कोइरालाकै योजनामा कोशी प्रदेश सरकार गठनमा ‘विद्रोह’ गरिएको थियो । संघ र अरु सबै प्रदेशमा माओवादीसँगको गठबन्धनमा सरकार बन्दा कोशी प्रदेशमा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका थिए । कार्की कोइरालाका विश्वासपात्र हुन् । त्यतिबेलादेखि नै कोइरालाले प्रतिनिधिसभाको संसदीय दलमा बहुमत जुटाउने कसरत पनि गरेको नेताहरू बताउँछन् । बहुमत सांसद आफ्नो पक्षमा नदेखिएपछि नै देउवालाई विस्थापित गर्ने योजनाबाट कोइराला पछि हटेका हुन् । माओवादीले गत फागुनमा कांग्रेस छाडेर एमालेसँग सत्तासमीकरण बनाएको थियो । त्यस समीकरणले चार महिना पार नगर्दै गत असारमा कांग्रेस–एमालेको सत्ता सहकार्य सुरु भयो । आफैंले चाहेअनुसारको समीकरण बने पनि नयाँ सरकारले सय दिन पार नगर्दै कांग्रेस नेता कोइरालामा छटपटी देखिन थालेको हो । कतिपय नेताको बुझाइमा भने ओली सरकारप्रति भारतले अनुदार व्यवहार देखाइरहेको अवस्थामा कोइराला लाभ लिन प्रयासमा भित्रभित्रै लागिरहेका छन् । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ भारतबाट भ्रमणको निमन्त्रणा हुने प्रचलन छ । तर ओलीले अहिलेसम्म भारत भ्रमणको निम्तो पाएका छैनन् । संयुक्त राष्ट्रसंघको महासभाका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ता मिलाउन पनि ठूलै कसरत गर्नुपर्यो । कांग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदसमेत ओली नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थिरताको प्रत्याभूति दिने गरी काम गर्न नसकेको बताउँछन् । साउदको भनाइले समेत सरकारलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको संकेत दिन्छ । कोइरालानिकट केन्द्रीय सदस्य गोविन्द पोखरेल ओली नेतृत्वको सरकारले पनि जनतामा भरोसा जगाउन नसके कांग्रेसभित्रबाट कोइरालाले प्रधानमन्त्रीका लागि प्रयास गर्नुपर्ने बताउँछन् । ‘शेखर दाइमा आफ्नो भविष्यको चिन्ताभन्दा सरकारले बढाएको निराशाले छटपटी छ । सरकारका कारण चरम निराशा अझै बढ्दै गए विस्फोटक स्थितिबाट मुलुकलाई जोगाउन शेखर दाइ अघि बढ्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्छ,’ उनले भने, ‘पार्टीभित्र कुनै विवादमा नपरेका, केही आशा गर्न सकिने नयाँ अनुहार पार्टीको १४औं महाधिवेशनबाट नेताका रूपमा स्थापित भएकाले नै शेखर दाइ उपयुक्त पात्र हो ।’ आजको कान्तिपुर दैनिकबाट
बंगलादेशको अन्तरिम सरकार नेपालबाट बिजुली लैजान सकारात्मक
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले समेत नेपालबाट ४० मेगावाट बिजुली लैजान चासो देखाएको छ । बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पालामै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता मिति तय गरिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा सम्झौता स्थगित गर्न भन्दै बंगलादेशले गत साउन पहिलो साता पत्र पठाएर अनुरोध गरेको थियो । बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि साउन २२ मा राजीनामा दिँदै शेख हसिनाले देश छाडेकी थिइन् । हसिनाकै अगुवाइमा भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश लैजाने गरी ४० मेगावाट बिजुली खरिद प्रक्रिया अघि बढेको थियो । तर हसिनाले देश छाडेपछि ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता अब के हुन्छ भन्ने थियो । अहिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने विषयलाई समर्थन गरेको कान्तिपुर दैनिकले लेखेको छ । यसअघि नै सबै कागजपत्र पूरा भइसके पनि तीन देशबीच सम्झौता गर्न मात्र बाँकी थियो । हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६।४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर ९१ अर्ब २३ करोड, बुधबारको विनिमय दरअनुसार० आम्दानी हुने प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर भारत–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।