गाउँमा सामुदायिक स्वास्थ्य शिक्षा सिकाउँदै नर्सिङका विद्यार्थी
जुम्ला, फागुन १२ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ महाविद्यालय जुम्लामा अध्ययनरत विद्यार्थीले गाउँमा सामुदायिक स्वास्थ्य शिक्षासम्बन्धी चेतना दिन थालेका छन् ।
विशेषगरी गर्भवती तथा सुत्केरी महिलालाई राखेर उनीहरुले सामुदायिक स्वास्थ्य शिक्षा दिन थालेका हुन् ।
जुम्लाका रारालिही, कुडारी, तातोपानी, लाम्रा, तत्कालीन तलिमउ र कार्तिकस्वामी गाविसमा उनीहरुले स्वास्थ्य शिक्षा र प्राथमिक स्वास्थ्य उपचार सेवासमेत दिँदै आएको सो महाविद्यालयका डिन गायत्री राईले जानकारी दिए ।
“यो महाविद्यालयमा अध्ययनरत प्रथम वर्षका विद्यार्थीले समुदायमा गएर आधारभूत स्वास्थ्य शिक्षा, शुद्ध खानेपानी, वातावरणीय सरसफाइ, दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले मातृशिशु स्वास्थ्य, गर्भवती जाँच, आइरन चक्की, पोषणयुक्त खाना र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले व्यवस्थापनसम्बन्धी शिक्षा दिदैं आएका छन्”– उनले भने ।
डिन राईले भने- “विद्यार्थीले एकसय पूर्णाङ्कको सामुदायिक स्वास्थ्य शिक्षा कोर्स पूरा गर्नुपर्छ, त्यसका लागि प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले पाँच, दोस्रो वर्षकाले चार र तेस्रो वर्षकाले दुई हप्ता यो अभ्यास गर्नुपर्ने हुन्छ ।”
स्वास्थ्य चौकीसँग मिलेर त्यहाँ हुने स्वास्थ्यजन्य क्रियाकलापमा पनि यहाँका विद्यार्थी संलग्न हुँदै आएको छ, उनले भने –स्थानीयस्तरमा सामुदायिक स्वास्थ्य शिक्षा प्रभावकारी देखिएकाले आगामी दिनमा यसलाई सिंजा भेकमा रहेका ११ गाविसमा पनि विस्तार गर्ने योजना छ ।
महाविद्यालयमा नर्सिङ प्रथम वर्षमा ३०, दोस्रो वर्षमा ६० र तेस्रो वर्षमा २८ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।
सामुदायिक स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत सामुदायिक स्वास्थ्य सेवा र गर्भवती महिलाको स्वास्थ्य, नवजात शिशुमा देखिने खतराका लक्षण, त्यसबाट बचाउन अपनाइने उपाय र गर्न सकिने प्राथमिक उपचारका विषयमा महिलालाई जानकारी गराउँदै आएको नर्सिङ अधिकृत समीक्षा अर्यालले जानकारी दिए ।
‘एउटा कक्षामा दुईवटा समूह विभाजन गरेका छौँ, जसमा विद्यार्थी स्वयम्ले स्वास्थ्य शिक्षाका बारेमा महिलालाई सिकाउँदै आफू पनि पढ्छन्, अधिकृत अर्यालले भन्नुभयो, सामुदायिक स्वास्थ्य शिक्षाअन्तर्गत परिवार नियोजनका बारेमा पनि जानकारी गराउँदै आएको छ ।’
नर्सिङ तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हरिमाया बुढाले अरुलाई सिकाउँदै पढ्दा आफूलाई बुझ्न सजिलो र निकै स्मरणीय हुने बताए ।
यसरी पढ्दा बोल्ने बानीको विकास हुँदै गएको र व्यावहारिक रुपमा सिक्न सजिलो भएको उनको बुझाइ छ ।
गर्भवती हुँदा गह्रुङ्गो भारी बोक्ने र गोठमै सुत्केरी भएर बच्चा जन्माउँदै गरेका ग्रामीण महिलाले यसबाट बढी लभान्वित भएका छन् ।
कुडारी–४ का स्थानीय महिला हाँसु कामीले यो स्वास्थ्य शिक्षाले गर्भ रहँदा र सुत्केरी हुँदा अपनाउनुपर्ने सावधानीका उपाय तथा बच्चा जन्मिएपछि उनको स्याहारसुसार कसरी गर्ने भन्नेबारे ज्ञान प्राप्त भएको बताए ।
अझै तीन हप्ता डेंगुको जोखिम कायमै
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ । यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले अझै २०/२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो उहाँ भन्नुहुन्छ,“अबको २०-२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।”
थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।
कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह
काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।
पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल
पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।