कक्षा ११ र १२ को मौका परीक्षामा २२ हजारको मात्रै आवेदन

कक्षा ११ र १२ को मौका परीक्षामा २२ हजारको मात्रै आवेदन


काठमाडौं । कक्षा ११ र १२ को मौका परीक्षामा विद्यार्थीको अरुचि देखिएको छ । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर दिएको थियो । 

बोर्डले २०५६ सालको परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीलाई यस्तो परीक्षामा सहभागी हुने मौका दिएको थियो । बोर्डको तथ्याङ्क अनुसार यस अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थी करिब १४ लाख छन् । 

तर परीक्षामा सहभागी हुनका लागि बोर्डले परीक्षा फाराम खुलाउँदा २२ हजारले मात्रै आवेदन दिएका छन् । बोर्डका सहपरीक्षा नियन्त्रक कृष्ण घिमिरेका अनुसार दुई पटकसम्म म्याद थप्दा २१ हजार ८५३ जनाको मात्रै आवेदन परेको छ । 

विविध कारणले तोकिएको समयमा फाराम भर्न नसक्ने विद्यार्थीबाट बोर्डले अहिले पनि केन्द्रीय तथा प्रादेशिक कार्यालयबाट भौतिक रूपमै फाराम सङ्कलन गरिरहेको छ तर फाराम भर्नेहरू नगण्य छन् । पहिलो चरणमा परीक्षा फाराम भर्ने समय मङ्सिर २७ गतेसम्मका लागि थियो । परीक्षा फाराम भर्न बोर्डले निर्धारण गरेको दोस्रो समयसीमा भने पुस १३ गतेसम्मका लागि थियो ।

बोर्डका सहनियन्त्रक घिमिरेका अनुसार परीक्षा फाराम भर्नेमा २०६० सालपछिको परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाहरू धेरै छन् । “त्यसभन्दाअघिका परीक्षार्थीमध्ये धेरै जसोले त उमेरका कारणले पनि फाराम भर्नुभएन होला । कतिपय परीक्षार्थी परीक्षामा अनुत्तीर्ण भएपछि वैकल्पिक बाटोतिर पनि लागिसक्नुभएको होला,” घिमिरेले भन्नुभयो । 

विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी

लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो ।  पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।  अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। 

चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा  बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

लोकप्रिय