चालकको लापरबाहीले नारायणगढ–मुग्लिन सडकखण्डमा बढी सवारी जाम

चालकको लापरबाहीले नारायणगढ–मुग्लिन सडकखण्डमा बढी सवारी जाम

नारायण अधिकारी

चितवन, भदौ २९ । नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएरभन्दा पनि चालकको लापरबाहीले गर्दा धेरै समय जाम हुने गरेको छ।

बीच बाटोमा गाडी रोकिँदा यात्रुले लाममा बसेर यात्रा गर्न बाध्य हुनु परेको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाले राम्रो नबनाए र प्रहरीले जाम नहटाए यो सडकखण्ड सहज बन्न नसक्ने देखिन्छ।

चालकले सावधानी अपनाउन नसक्दा र नियमको पालना नगर्दा बढी मात्रामा जाम हुने गरेको हो। पहिरो र सडकका खाल्टाखुल्टीका कारणभन्दा धेरै गुणा चालकको लापरबाहीका कारण यो सडकमा सवारी चाप बढ्ने गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त चालकले बेवास्ता गरिदिँदा सवारी जाम बढ्ने गरेको बताउँछन् ।

चालकले जहाँ पायो त्यहीँ उछिन्ने, दुई सवारी बीचको दूरी थोरै राख्ने, गाडी रोकेर धुने, खाना खाने, आराम गर्ने, रातको समयमा सुत्ने, सडक नजिक घर भएका चालकले सडककै छेउमा गाडी राखेर घर जानेजस्ता कारणले आवागमनमा निकै ठूलो समस्या पर्ने गरेको उनले बताए।

यो सडकखण्डमा १८ वटा पुल रहेका छन् जसको चौडाइ छ मिटर मात्र छ। पुलको दुवै मुखमा ठूला सवारी रोकिँदा दुवैतर्फ सवारी जाम हुने गर्छ।

चालकले यसतर्फ कम ध्यान दिँदा पनि सवारी आवागमनमा समस्या आउने गरेको पन्तको भनाइ छ।

यो सडक छिर्नुअघि चालकले सवारीको स्वरुप र यान्त्रिक स्थितिका बारेमा ध्यान नदिँदा पनि सडकको बीचमा सवारी बिग्रने र समस्या बन्ने गरेको छ।

पन्तले भने,‘यो सडकमा दैनिक १० भन्दा बढी सवारी साधन बिग्रने गर्छन् र त्यस्ता सवारीलाई पन्छाउन लाग्ने समयभर यातायात एकतर्फी मात्र सञ्चालनमा आउँछ। कतिपय ठाउँमा दुईतर्फी सडक नै अवरुद्ध हुने गर्छ ।’

सडक एकतर्फी सञ्चालन भइरहँदा लाममा बसेका सवारीमध्ये कतिपयले उछिनेर अघि जाने र ती सवारी हटाउन नसक्दा दुईतर्फी नै सवारी आवागमन रोकिने पन्तको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापा सडक राम्रो भएर प्रहरीसमेत परिचालन हुँदा पनि चालकले लापरबाही गरिदिँदा यो सडकमा समस्या आउने गरेको बताउँछन्।

जथाभावी उछिनी सवारी आवागमनलाई भद्रगोल बनाइँदा पनि समस्या उत्पन्न हुने गरेको उनको भनाइ छ।

‘लाइफलाइन’ सडकका रुपमा रहेको यो सडक हुँदै दशैँ तिहारको समयमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आउजाउ हुन्छ जसमध्ये ७५ प्रतिशत यात्रुबाहक रहने गर्छन्।

त्यसमा २५ प्रतिशत ढुवानीका साधन हुने गर्छन् । यिनीहरुले तराई र भारतबाट दैनिक उपभोग्य सामान ओसार्ने गर्छन्।

राजधानी काठमाडौंका जनतालाई पाल्ने र त्यहाँ जाने आउने जनता आवतजावत गर्ने मुख्य मार्ग भएकाले यो सडकलाई सरकारले लाइफलाइन सडकका रुपमा प्राथमिकतामा राखेको छ।

नारायणगढबाट ३६ किलोमिटर लामो यो सडकको सात किलोमिटर क्षेत्र मात्र कालोपत्रे भएको छ भने अन्य क्षेत्रका सडकमा खाल्टाखुल्टी रहेका छन्।

हाल यो सडकका चार ठाउँमा बेसक्याम्प निर्माण गरी तत्काल उद्धार र पुनः मर्मतमा खटिने टोली तयारी अवस्थामा राखिएको छ।

ठूला उपकरणसहित प्रहरीको नेतृत्वमा मुग्लिनमा, मुग्लिनबाट तीन किलोमिटर पर कालीखोला, मुग्लिनबाटै नौ किलोमिटर पर नारायणगढतर्फ र १२ किलोमिटर सेतीदोभानमा क्याम्प निर्माण गरी सवारी आवागमन सहजीकरण गर्ने काम भइरहेको प्रहरी उपरीक्षक थापाले बताए।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार ठेकेदारले आ–आफ्नो क्षेत्रमा खाल्टाखुल्टी पुर्ने, धुलो उडेका ठाउँमा पानी छर्कने, पहिरो खसेका ठाउँमा पहिरो पन्छाउने, सम्भव भएका ठाउँमा कालोपत्र गर्ने काम गरिरहेका छन्।

यो सडकको हालसम्म ५५ प्रतिशत काममात्र सम्पन्न भएको भए पनि प्रदेश नं २ को निर्वाचन, दशैँ, तिहार र छठलाई ध्यानमा राखेर यातायात सहज बनाउने काममात्र भइरहेको छ। रासस

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय