ट्रम्फ र शी जिनपिङबीच टेलिफोन वार्ता, यस्तो भयो कुराकानी
बेइजिङ
चीनका राष्ट्रपति सी चिनफिङ र संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । समसामियक मुद्दाहरुमा निकै विस्तृत वार्तापछि दुबै पक्षबाट सकारात्मक प्रतिक्रिया व्यक्त भएको छ।
चाइना डेलीका अनुसार शीले ट्रम्पलाई दोस्रो पटक अमेरिकी राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिएको र प्रत्युत्तरमा ट्रम्पले सीसँगको आफ्नो उत्कृष्ट सम्बन्धलाई माया गर्ने बताए। साथै, दुवै राष्ट्रप्रमुखहरूले युक्रेन संकट र प्यालेस्टाइन-इजरायल संघर्षजस्ता समान चासोका प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूमा विचार-विमर्श गरे।
"दुवै राष्ट्रप्रमुखहरू प्रमुख चासोका मुद्दाहरूमा रणनीतिक सञ्चार च्यानल स्थापना गर्ने र नियमित सम्पर्क कायम राख्नेमा सहमत भए," परराष्ट्र मन्त्रालयबाट समाचार विज्ञप्तिमा जनाएको छ।
वार्ताको क्रममा, सीले दुवै नेताहरूले आपसी अन्तर्क्रियालाई ठूलो महत्व दिने बताएका थिए । दुबै पक्षले नयाँ अमेरिकी राष्ट्रपतिको कार्यकालमा चीन-अमेरिका सम्बन्धमा राम्रो सुरुवात हुने आशा व्यक्त गरे। थप प्रगति हासिल गर्न नयाँ सुरुवातबाट चीन-अमेरिका सम्बन्धलाई अघि बढाउन इच्छुक रहेको बताए। "चीन र अमेरिका जस्ता दुई महान देशहरू आफ्ना सपना पछ्याउँदैछन्" र आफ्ना जनताहरूलाई राम्रो जीवन बिताउन सक्षम बनाउने प्रतिवद्धतामा छन्।" शीको भनाइ उल्लेख गर्दै चाइना डेलीले लेखेको छ- "दुवै देशका बीच साझा चासोका क्षेत्रहरू प्रशस्त छन् र सहकार्यका लागि ठूलो ठाउँ छ। यी दुई देशहरू साझेदार र मित्र बन्न सक्छन्, एक-अर्काको सफलतालाई सहयोग गर्न सक्छन्, साझा समृद्धि हासिल गर्न सक्छन् र दुवै देश र विश्वलाई लाभ पुर्याउन सक्छन्।"
फरक राष्ट्रिय अवस्थाका कारण चीन र अमेरिकाबीच केही मतभेद हुनु स्वाभाविक भएपनि शीले आपसी सम्मान र चासोको समाधानमा ध्यान दिनुपर्नेमा जोड दिए, "मुख्य कुरा भनेको एक-अर्काको मूल चासो र प्रमुख मुद्दाहरूको सम्मान गर्नु र समस्याहरूको उपयुक्त समाधान खोज्नु हो," उनले भने।
ट्रम्पले नियमित संवाद र सञ्चार कायम राख्न चाहेको र छिट्टै सीसँग भेट्न उत्सुक रहेको बताए।
अमेरिकी नवनिर्वाचित राष्ट्रपतिले अमेरिका र चीन आजको संसारका सबैभन्दा महत्वपूर्ण देशहरू भएको र दीर्घकालिन मित्रता कायम राख्दै विश्व शान्तिको रक्षा गर्न सँगै काम गर्नुपर्नेमा जोड दिएका थिए।
वार्ताका क्रममा सीले ताइवान सम्बन्धी विषय चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको लागि महत्वपूर्ण रहेको उल्लेख गरे र अमेरिकी पक्षलाई यसलाई सावधानीपूर्वक समाधान गर्न आग्रह गरे। "चीन-अमेरिका आर्थिक र व्यापार सम्बन्धको सार आपसी लाभ र जीत-जीत सहयोगमा आधारित रहेको छ, र टकराव र द्वन्द्व दुवै देशहरूको विकल्प हुनु हुँदैन", उनले भने।
दुवै पक्षले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत-जीत सहकार्यको सिद्धान्तमा आधारित भएर सहकार्यलाई बलियो बनाउनु पर्छ र दुवै देश र विश्वलाई लाभ पुर्याउन प्रमुख, ठोस र सकारात्मक कामहरू थप गर्नुपर्छ, सीले थपे।
दुवै पक्षले "चीन र अमेरिका — दुई विशाल जहाजहरू जस्तै — स्थिर, स्वस्थ र दिगो विकासको मार्गमा अघि बढिरहनु पर्छ" भन्ने सुनिश्चित गर्नु पर्छ, उनले भने।
शुक्रबार नै, परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै वाशिङ्टन डीसीमा सोमबार आयोजना हुने ट्रम्पको पदग्रहण समारोहमा राष्ट्रपति सीका विशेष प्रतिनिधि, उपराष्ट्रपति हान झेङ, सहभागी हुने जनाएको छ। "हामी नयाँ अमेरिकी सरकारसँग संवाद र सञ्चारलाई बढावा दिन, मतभेदहरूलाई उचित रूपमा व्यवस्थापन गर्न, पारस्परिक रूपमा लाभदायक सहकार्यलाई विस्तार गर्न, र दुवै देशको स्थिर, स्वस्थ र दिगो सम्बन्धको खोजी गर्न तयार छौं," विज्ञप्तिमा थपिएको छ।
सी-ट्रम्प फोन वार्ता र हानको यात्राको घोषणाले दुइ देशबीचको सम्बन्धको भविष्यलाई सक्रिय रूपमा आकार दिने बेइजिङको प्रयासको रुपमा विश्लेषकहरुले टिप्पणी गरेका छन् । "अमेरिका पनि त्यही लक्ष्यतर्फ काम गरोस्", चीन अन्तर्राष्ट्रिय अध्ययन संस्थानको अमेरिकी अध्ययन विभागका उपनिर्देशक सु सियाओहुईले भनेको चाइनाडेलीले जनाएको छ।
"बेइजिङको सन्देश स्पष्ट छ: दुवै पक्षले स्पष्ट सिद्धान्तहरूमा काम गर्नुपर्छ र साझा लक्ष्यहरू पछ्याउनुपर्छ यदि उनीहरूले दुईपक्षीय सम्बन्धलाई थप स्थिर बनाउन चाहन्छन् भने," उनले भने।
"एक-अर्कालाई उपदेश नदिईकन, आपसी सम्मानले मात्र दुवै पक्षलाई एक-अर्कालाई राम्रोसँग बुझ्न मद्दत गर्न सक्छ... हामीले वाशिङ्टनको चिन्ता देखेका छौं कि सम्बन्धहरू नियन्त्रण बाहिर जाने सम्भावना छ, र अन्य प्रमुख देशहरूसँगको अमेरिकाको ठूलो द्वन्द्वले निश्चित रूपमा विनाशकारी परिणाम ल्याउनेछ," उनले थपे।
यदि वा)शिङ्टनले सधैं चीनलाई रणनीतिक प्रतिस्पर्धामा प्रतिद्वन्द्वीको रूपमा परिभाषित गर्दछ भने सम्बन्धहरू राम्रो अवस्थामा रहने सम्भावना छैन, सुले भने।
चाइना डेली (https://www.chinadaily.com.cn/) बाट
चीनद्वारा दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय
काठमाडौं । चीनको एक सैन्य अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ । सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्री रहेका वेई फेङ्हे र सन् २०२३ मा केही महिना मात्र उक्त पद सम्हालेका उनका उत्तराधिकारी ली शाङ्फुलाई बिहीबार घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो । लीमाथि घुस दिएको अभियोग पनि प्रमाणित भएको बताइएको छ । दुवैलाई दुई वर्षको ‘रिप्रिभ’ अर्थात् निलम्बनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । साथै, उनीहरूलाई ‘प्यारोल’को सुविधा नदिइने अदालतले जनाएको छ । चीनमा यस्तो सजाय प्रायः दुई वर्षपछि स्वतः आजीवन कारावासमा परिणत हुने प्रचलन रहेको छ । चीनको सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार, दुवैको राजनीतिक अधिकार आजीवनका लागि खोसिएको छ भने उनीहरूको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गरिनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट मानिएका ली शाङ्फु मन्त्री नियुक्त भएकै वर्ष अर्थात् सन् २०२३ मा अन्य धेरै उच्च सैन्य अधिकारीहरूसँगै सार्वजनिक जीवनबाट अचानक गायब भएका थिए । सन् २०१२ मा सी चिनफिङ सत्तामा आएपछि सुरु गरिएको भ्रष्टाचारविरुद्धको शुद्धीकरण अभियानअन्तर्गत हालसम्म लाखौँ अधिकारीहरू कारबाहीमा परिसकेको बताइएको छ । विभिन्न रिपोर्टअनुसार केही उच्च पदस्थ अधिकारीहरूको हिरासतकै क्रममा मृत्यु समेत भएको छ ।
इरानी कार्गो जहाज अमेरिकाले कब्जा गरेपछि चीनको विराेध
काठमाडौं । अमेरिकी सेनाले इरानी झण्डावाला कार्गो जहाजलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ । सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सम्बन्धित पक्षहरूलाई जिम्मेवार भई युद्धविराम सम्झौता पालना गर्न आग्रह गरे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले होर्मुज जलमार्गको अवस्था संवेदनशील र जटिल रहेको बताएका छन् । सम्बन्धित पक्षहरूले थप तनाव बढ्न नदिई होर्मुज क्षेत्रमा सामान्य पारवहन सुचारु गर्न आवश्यक वातावरण बनाउनुपर्ने चीनले बताएको छ । साथै सबै पक्षलाई युद्धविराम र वार्ताको गतिलाई निरन्तरता दिन आग्रह गरेको छ । “अहिले शान्तिको अवसर खुलेको छ, त्यसैले युद्धलाई छिट्टै अन्त्य गर्न अनुकूल परिस्थिति निर्माण गरिनुपर्छ,” प्रवक्ता गुओले भने । अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी तोड्ने प्रयास गरेकाले उक्त इरानी कार्गो जहाजमाथि गोलीबारी गरी नियन्त्रणमा लिएको बताएको थियो ।
अण्डमान सागरमा डुंगा दुर्घटना : २५० रोहिङ्ग्या र बंगलादेशी बेपत्ता
एजेन्सी । बंगलादेशबाट मलेशिया जाँदै गरेको एक डुंगा हिन्द महासागरको पूर्वी भागमा पर्ने अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा परेका उनीहरू रोहिङ्ग्या र बंगलादेशी नागरिक रहेका छन् । बीबीसीका अनुसार माछा मार्ने प्रयोजनले प्रयोग गरिने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो । तीव्र हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिस सवार भएका कारण डुंगा डुबेको जनाइएको छ । बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार अप्रिल ९ मा आफ्नो एक जहाजले दुर्घटनामा परेका ९ जनाको उद्दार गरेको थियो । डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे भने स्पष्ट जानकारी प्राप्त भएको छैन । रोहिङ्ग्या म्यानमारको मुसलमान अल्पसंख्यक समुदाय हो । सन् २०१७ मा म्यानमारमा भएको हिंसात्मक अभियानपछि ठूलो सङ्ख्यामा रोहिङ्ग्या बंगलादेशमा शरण लिएका थिए । बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्यालाई नागरिकता दिइँदैन । बंगलादेशमा कठिन अवस्था भएका कारण धेरै रोहिङ्ग्या जोखिमपूर्ण समुद्री यात्रा गरेर मलेशिया पुग्ने गरेका छन् । बंगलादेश कोस्ट गार्डले उद्दार गरेका मध्येका एक ४० वर्षीय रफिकुल इस्लामले उद्दार हुनुअघि आफू ३६ घण्टासम्म समुद्रमा तैरिनुपरेको बताएका छन् । मलेशियामा काम पाइने आशामा आफू यो जोखिमपूर्ण यात्रामा निस्किएको उनको भनाइ छ ।
ट्रम्पद्वारा इरानसँग युद्ध अन्त्य गर्नका लागि यसै हप्ता वार्ता पुनः सुरु हुने सङ्केत
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै हप्ता वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका छन् । गत शनिबार इस्लामावादमा भएको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएलगत्तै अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको थियो । ट्रम्पले न्युयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “तपाईंहरू त्यहीँ (इस्लामावाद) रोकिनुपर्छ, किनकि आगामी दुई दिनभित्र केही हुन सक्छ र हाम्रो झुकाव पनि त्यसतर्फ बढी छ ।” उनको यो अभिव्यक्ति यस्तो बेला आएको हो जब अमेरिकी सेनाले होर्मुज जलसन्धिमा नाकाबन्दी लागू गरेको पहिलो २४ घण्टाभित्र त्यहाँबाट कुनै पनि जहाज नगएको दाबी गरेको छ । यस गतिरोधले दुई हप्ते युद्धविराम सम्झौता सकिन लाग्दा थप प्रश्न उठाएको छ । इरानतर्फबाट ट्रम्पको भनाइमा अझै कुनै प्रतिक्रिया आएको छैन । तर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ‘धेरै सम्भावना’ रहेको बताएका छन् । तेल बजारमा राहत खाडी क्षेत्र, पाकिस्तान र इरानका अधिकारीहरूले पनि अमेरिका र इरानका टोलीहरू यसै सप्ताहान्तमा पाकिस्तान फर्कन सक्ने बताएका छन्, यद्यपि कुनै मिति तय भइसकेको छैन । यो जानकारी रोयटर्स समाचार एजेन्सीले दिएको हो । दुवै पक्षबीच वार्ताको सम्भावना बढेपछि तेल बजारलाई केही राहत मिलेको छ । मङ्गलबार तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा तल झरेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको हवाई आक्रमणपछि इरानले विश्वका लागि अत्यन्त महत्त्वपूर्ण तेल तथा ग्यास परिवहन मार्ग होर्मुज जलसन्धिलाई प्रभावकारी रूपमा बन्द गरेको थियो । अहिले एक दर्जनभन्दा बढी अमेरिकी युद्धपोत र करिब १०,००० अमेरिकी सैनिकले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा बाहिरिने जुनसुकै देशका जहाजहरूमाथि नाकाबन्दी लागू गरिरहेका छन् । यसले इरानको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ । के नाकाबन्दी प्रभावकारी छ ? यो कदमको मुख्य उद्देश्य इरानमाथि दबाब बढाउनु हो । इरानको आम्दानीका दुई मुख्य स्रोत— तेलबाट हुने आम्दानी र होर्मुज जलसन्धिबाट उठाइने टोल— लाई निशाना बनाइएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी लागू भएको पहिलो २४ घण्टामा ६ वटा व्यापारिक जहाजले अमेरिकी निर्देशन पालना गर्दै इरानी बन्दरगाहतर्फ फर्किएको दाबी गरेको छ । तर बीबीसी भेरिफाईको जहाज ट्र्याकिङ डेटाको विश्लेषणअनुसार नाकाबन्दी भए पनि इरानसँग सम्बन्धित कम्तीमा चारवटा मालवाहक जहाज होर्मुज जलसन्धि पार गरेका छन् । तीमध्ये दुईवटा जहाज पहिले नै इरानी बन्दरगाहमा थिए । गत शनिबार र आइतबार इस्लामावादमा भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेन । अमेरिकाको भनाइअनुसार इरानले उसका सर्तहरू स्वीकार गरेन । इरानको आणविक महत्त्वाकांक्षा नै मुख्य अवरोध बनेको थियो । एक अमेरिकी अधिकारीले बीबीसीको साझेदार सीबीएस न्युजलाई बताएअनुसार अमेरिकाले इरानलाई २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा निलम्बन गर्न आग्रह गरेको छ । तर इरानले भने ५ वर्षसम्म मात्र रोक्ने प्रस्ताव गरेको छ । आर्थिक मन्दीको खतरा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस युद्धले विश्व अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बीबीसीसँग भनेका छन्, “विश्वभर लामो समयसम्म शान्ति र सुरक्षा कायम राख्ने सर्तमा थोरै आर्थिक पीडा स्वीकार्य छ ।” मङ्गलबार चीनले भने यस नाकाबन्दीलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ भन्दै तनाव अझ बढाउने चेतावनी दिएको छ । चीनको भनाइ छ— पहिलेदेखि नै कमजोर रहेको युद्धविराम सम्झौता होर्मुजको नाकाबन्दीले थप कमजोर हुनेछ । यसैबीच, इजरायल र लेबनानले मङ्गलबार वासिङ्टनमा भएको वार्तापछि सिधा वार्ता सुरु गर्न सहमति जनाएका छन् । इरान समर्थित हिज्बुल्लाहलाई निशाना बनाएर इजरायलले लेबनानमा गरेको हवाई आक्रमणपछि यो पहल भएको हो । यो बैठक सन् १९९३ पछि दुवै देशबीच भएको पहिलो सिधा वार्ता थियो । लेबनानी राजदूतले यसलाई ‘सकारात्मक’ भनेका छन् भने इजरायली राजदूतले यसले ‘शान्तिको नयाँ युग’ को बाटो खोल्न सक्ने बताएका छन् । एक अमेरिकी अधिकारीले जोड दिँदै भनेका छन्— इस्लामावादमा भएको अमेरिका–इरान वार्ता र वासिङ्टनमा भएको इजरायल–लेबनान वार्ताबीच कुनै सम्बन्ध छैन ।

