जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

पञ्चकन्या गाउँपालिका–५ साविक भदु्रटार–३ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई कारागार चलान भएको छ ।

चिरञ्जीवी भन्ने व्यक्तिको जाहेरीले सरकारवादी भएको चोरी मुद्दामा विसं २०१८ साल चैत ६ गते जन्मनुभएका तामाङ विरुद्ध नुवाकोट जिल्ला अदालतको विसं २०१५ साल जेठ १८ को फैसलाले ६ महिना कैद र रु दुई हजार ४२३.५० जरिवाना सुनाएको भन्दै फैसला कार्यान्वयनको क्रममा उनलाई बुधबार जेल चलान गरिएको छ ।

अदालतको फैसलाले दोषी ठहर भएका व्यक्ति खोजी गर्ने क्रममा तामाङलाई बुधबार प्रहरीले भदु्रटारस्थित घरबाट पक्राउ गरी सोही दिन अदालतमा उपस्थित गराएको थियो । उहाँसँग जरिवानाबापतको रकम असुल गरी कैद भुक्तानीका लागि नुवाकोट कारागार चलान गरेको अदालतका श्रेष्तेदार महिमानसिंह विष्टले जानकारी दिनुभयो ।

“दोषी ठहर भएका व्यक्ति यहीँ हो भनेर प्रहरीले उपस्थित गरायो” विष्टले भन्नुभयो “उहाँले पनि गल्ती स्वीकार गरेकाले कारागार पठाएका हौं ।” जन्मनु भन्दा तीन वर्ष अघिको मुद्दामा दोषी ठहरिएर जेल गएका सानुवीरेका छोरा प्रेमबहादुर तामाङले निर्दोष बुबालाई जेल पठाएको भन्दै प्रहरी र अदालतमा पुगे पनि न्यायिक प्रक्रियबाट अघि बढ्न सुझाव दिएका छन् ।

“राउतवँेशी गाविस–८ मा जन्मिएका बुबाले विसं २०४४ मा गाउँखर्क गाविस–३ बाट नागरिकता बनाउनुभएको छ ।” प्रेमबहादुरले भन्नुभयो “२०४६ देखि भदु्रटार आएर बसेका हौं । यता नयाँ मान्छे देखेर ‘नौले’ भन्ने गरेका थिए, अहिले नाम मिल्यो भनेर प्रहरीले जेल पठायो ।”

निर्दोष व्यक्ति जेलमा जानु परेको भन्दै परिवारले रिहा गर्न आग्रह गरेपनि प्रहरी र अदालतले बन्दीप्रत्यक्षीकरण रिटमार्फत उच्च अदालतमा जान सुझाव दिएका छन् । कमजोर आर्थिक अवस्था र शिक्षाको ज्ञान नभएको तामाङ परिवार अहिले अन्यौलमा परेका छन् ।

न्यायिक निकायबाट दोषी ठहर भएका तथा अभियुक्त रहेर फरार भएकालाई पक्राउ गर्न नुवाकोट प्रहरीले माघ २८ देखि ‘विशेष अभियान’ चलाइरहेको छ । जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले फरार दोषी तथा अभियुक्तले समातिएपछि बच्न विभिन्न हर्कत अपनाउने गरेको बताउनुभयो ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय