जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किएका छन्। मङ्सिर १३ गते राति ९ बजे युएई गएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले स्वागत गरे ।

शनिबार जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताए। उनले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायलाई आह्वान गरे। सम्मेलनमा उनले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता पनि गरे ।

विमानस्थलमा पत्रकारलाई प्रधानमन्त्रीको २१ बुँदे सम्बोधन जस्ताको तस्तै
उपस्थित सञ्चारकर्मी मित्रहरू,
१.संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री तथा उपराष्ट्रपति His Highness Sheikh Mohammed bin Rashid Al Maktoum को निमन्त्रणामा दुबईमा आयोजना भएको United Nations Framework Convention on Climate Change को 28th Conference of the Parties (COP 28) को World Climate Action Summit मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही २०८० मंसिर १३ देखि १७ गते (2023 नोभेम्बर २९ देखि डिसेम्बर ३) सम्म भाग लिएर आज स्वदेश फर्किएको छु।
२.भ्रमणका क्रममा मैले मंसिर १४ गते (नोभेम्बर ३०) अबुधाबीस्थित नेपाली राजदूतावासको अवलोकन गरी दूतावासका कामकारवाही, कठिनाइ/चुनौतीहरू लगायतका विषयमा जानकारी लिई संयुक्त अरब इमिरेट्समा रहेका नेपाली श्रमिकसँग सम्बन्धित उद्धार, राहत, क्षतिपूर्ति, कानूनी प्रतिरक्षा लगायतका सेवाहरू उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी छिटो छरितो एवम् प्रभावकारी रूपमा प्रवाह गर्न निर्देशन दिएको छु। संयुक्त अरब इमिरेट्सबाट नेपालमा लगानी भित्र्याउन समन्वयात्मक हिसाबले पहल गर्नसमेत मैले राजदूतावासलाई निर्देशन दिएको छु।
३.यसै गरी नेपाली राजदूतावासबाट आयोजित त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमा रहेका नेपालीहरूले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानका लागि उहाँहरूलाई धन्यवाद दिँदै मुलुकको विकासमा थप क्रियाशील रहन अनुरोध गरेको छु।
४.नेपाल सरकारले हालका दिनमा श्रम क्षेत्रको सुधारका लागि अबलम्बन गरेका नीति तथा कार्यक्रमहरूले वैदेशिक रोजगारी थप व्यवस्थित, मर्यादित र भरपर्दो हुने अपेक्षा रहेको धारणा नेपाली समुदायका प्रतिनिधिहरूबीच राखेको छु ।विदेशी भूमिमा दुख गरी आर्जन गरेको आयलाई वैधानिक बाटोबाट स्वदेश पठाउदा प्राप्त हुने लाभको उपयोग गर्न अनुरोध गरेको छु ।


५.सोही दिन साँझ नेपाली राजदूतावाससँगको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ तथा दुबई च्याम्बर्सले पहिलोपटक संयुक्त रूपमा दुबईमा आयोजना गरेको Nepal-Dubai Business Forum लाई सम्बोधन गरेँ। उक्त कार्यक्रममा नेपालमा लगानीको उपयुक्त वातावरण रहेकोले नेपालका प्राथिमकता प्राप्त क्षेत्रमा लागानी गर्न युएईका लगानीकर्ताहरूलाई आह्वान गरेको छु। नेपालमा लगानीका प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेको र ती सम्भावनाहरूलाई मूर्त रूप दिन र वैदेशिक लगानीको संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएको थिएँ।उक्त फोरममा उपस्थित युएई सरकारका उच्च अधिकारीहरूले नेपाल र युएईले व्यापार र लगानीका क्षेत्रमा सहकार्य गर्न सक्ने सम्भावनाका सम्बन्धमा सकारात्मक सन्देश प्रवाह गरेका थिए। कार्यक्रममा उद्योगी, व्यापारी एवम् लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
६.भ्रमणको तेस्रो दिन मंसिर १५ गते (१ डिसेम्बर २०२३) का दिन जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २८ ‍औं सम्मेलन COP28 को औपचारिक उद्‌घाटन समारोहमा सरिक भएँ।
७.उक्त उद्‌घाटन समारोहका अवसरमा उपस्थित विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूसँग भेटघाट भएको थियो। सम्मेलनमा भाग लिन आउनुभएका भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग समेत उद्‌घाटन कार्यक्रमका दौरानमा भेटघाट भएको थियो। सो भेटमा नेपालको पश्चिमी क्षेत्रमा भूकम्पले पारेको प्रभावका बारे चासो राख्दै प्रधानमन्त्री श्री मोदीले भूकम्प पीडितलाई आवश्क पर्ने सहयोग उपलब्ध गराउन तत्पर रहेको कुरा बताउनुभएको थियो।
८.सोही दिन अपरान्ह सम्मेलन आयोजना स्थलमा रहेको Nepal Pavilion को अवलोकन भ्रमण गरेको थिएँ। सो क्रममा Pavilion मा उपस्थित जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील नेपालीहरूलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न नेपाल सरकारले चालेका कदमहरू र COP28 मा नेपालले उठाउने एजेण्डा र प्राथमिकताका क्षेत्रहरूको बारेमा जानकारी गराएको थिएँ। जलवायु सम्मेलनमा पहिलोपटक नेपालको आफ्नो छुट्टै Pavilion भएको हुँदा यसको विशेष महत्त्व रहेको मैले पाएको छु।
९.सोही दिन Global Stocktake (GST) High-Level Leaders’ Event on Adaptation विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मैले Paris Agreement को प्रतिबद्धता अनुरूप नेपालले दोस्रो Nationally Determined Cointributions (NDC) पेश गरिसकेको एवम् राष्ट्रिय अनुकूलन योजनासमेत तयार गरेको जानकारी गराएको छु। जलवायु परिवर्तनको असर विरुद्धको लडाइमा युवा पुस्तालाई संलग्न गराउनुपर्नेमा जोड दिँदै विश्व तापमान वृद्धिको सीमा १.५ डिग्री कायम गर्ने प्रतिबद्धताको पालना गर्न विश्व समुदायलाई आह्वानसमेत गरेको छु।
१०.सम्बोधनका क्रममा मैले जलवायु परिवर्तनको जोखिममा परेका अति कम विकसित मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्नका लागि वित्तीय लगानी र प्रविधिको परिचालनमा विलम्ब गर्न नहुनेमा जोड दिएको थिएँ।
११.सम्मेलनको साइड लाइनमा मैले G77 and China का अध्यक्ष क्युवाका राष्ट्रपतिसँग भेट गरी द्विपक्षीय सम्बन्धमा कुराकानी गर्नुका अतिरिक्त G77 and China लाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी गरेको थिएँ।
१२.भ्रमणको चौथो दिन मंसिर १६ गते (२ डिसेम्बर २०२३) का दिन बिहान नेपालले आयोजना गरेको High-Level Roundtable on Call of the Mountains: Who Saves us from the Climate Crisis? को अध्यक्षता गर्दै जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली मुलुकहरूमा पारेको प्रतिकूल प्रभावको न्यूनीकरण गर्न तत्काल पहल गर्नु आवश्यक रहेको विषयमा जोड दिएको थिएँ।
१३.उक्त High-Level Roundtable लाई प्रमुख वक्ता (Key Note Speaker) का रूपमा सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेर्रेसले Roundtable आयोजना गरेकोमा नेपाललाई धन्यवाद दिँदै जलवायु परिवर्तनको प्रतिकूल प्रभाव जताततै देखिन थालेकोले प्रभाव न्यूनीकरणको काममा ढिलाइ गर्न नहुने धारणा राख्नुभएको थियो। आफूले हालै गरेको नेपाल भ्रमणको सुखद स्मरण गर्दै महासचिव गुटेर्रेसले जलवायु परिवर्तनले नेपालका हिमालमा पारेको प्रभाव आफ्नै आँखाले देखेको उल्लेख गर्दै नेपालको सहयोग र हिमालहरूको संरक्षणमा राष्ट्रहरूले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुएको थियो।
१४.सो अवसरमा एन्डोराका प्रधानमन्त्री, किर्गिज गणतन्त्रका विदेशमन्त्री, भूटानका State Secretary र अन्तर्राष्ट्रिय संघ-संस्थाका प्रतिनिधिले Roundtable आयोजना गरेकोमा धन्यवाद दिँदै हिमाल संरक्षणको लागि हिमाली राष्ट्रहरूले एकताबद्ध भएर काम गर्नुपर्ने धारणा राख्नुभएको थियो।
१५.कार्यक्रममा जलवायु विज्ञ, सरकारी अधिकारी, व्यवसायी र जलवायु अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
१६.सोही दिन मैले नेपालको तर्फबाट National Statement दिँदै हरित गृह ग्यास उत्सर्जनमा नेपालको नगण्य योगदान रहेको भए तापनि जलवायु परिवर्तनको प्रतिकूल असरको प्रभाव भने असमान रूपमा भोगिरहेको हुँदा नेपालप्रति अन्याय भएकोले यथार्थलाई दृष्टिगत गर्दै जलवायु वित्त र जलवायु न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने तथ्यप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको थिएँ। साथै, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल सरकारले चालेका कदमबारे पनि मैले जानकारी गराएको थिएँ।
१७.हिमाल मानव सभ्यता र जैविक विविधताको आधार भएकोले बढ्दो तापक्रमको प्रकोपबाट यसलाई जोगाउन अत्यावश्यक भएको कुरा दृढताका साथ राखेको थिएँ।
१८.त्यसैगरी, मैले दुबईमा रहेको फ्युचर म्युजियमको अवलोकन भ्रमण गरेको थिएँ।
१९.आजै बिहान पनि मैले संयुक्त राष्ट्र संघ अन्तर्गतका संघ-संस्थाहरू – WMO, UNDRR, ITU, IFRC ले आयोजना गरेको विपदबाट पर्न सक्ने जोखिमको पूर्व जानकारीमा सबैको पहुँच (Delivering Early Warnings for All) विषयमा नेपालको तर्फबाट मन्तव्य राखेको छु। संयुक्त राष्ट्रसंघका महासचिव समेत सहभागी हुनुभएको उक्त महत्त्वपूर्ण कार्यक्रममा मैले नेपाल लगायत अति कम विकसित मुलुकहरूका विपद र जलवायु परिवर्तनका कारण सिर्जित समस्या सम्बोधन गर्न साधन स्रोत र प्रविधिको अभाव भएको हुँदा साधन स्रोतका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छु।यस महत्त्वपूर्ण Initiative मा नेपाललाई प्राथमिकता प्राप्त मुलुकको सूचीमा समावेश गराउनु भएकोमा संयुक्त राष्ट्र संघका महासचिवको प्रशंसा गरेको छु।
२०.आजै बिहान मसँग बेलायतका विदेश राज्यमन्त्री Andrew Mitchel ले शिष्टाचार भेट गर्नुभएको थियो। भेटका अवसरमा नेपाल-बेलायत सम्बन्ध, जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य, ब्रिटिस गोर्खाका विषयहरु लगायतमा कुराकानी भएको थियो।
२१.अन्त्यमा भ्रमणसम्बन्धी अद्यावधिक समाचार निरन्तर प्रसारण गरी सहयोग गर्ने सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’  सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’  उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’  सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

लोकप्रिय