जेलको भुइँमा पूर्वआइजिपीहरू ?

जेलको भुइँमा पूर्वआइजिपीहरू ?

काठमाडौं, असार ११ । डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ । जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो । तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरूको सुत्ने कोठा बनेको छ । अदालतले भ्रष्टाचारी ठहर गरेपछि बिहीबार आफैँ उपस्थित भई उनीहरू जेल गएका थिए ।

तर, डिल्लीबजार जेलमा सुत्ने पर्याप्त ठाउँ छैन । जसका कारण पूर्वआइजिपीहरू लाइब्रेरी कोठामा सुत्न बाध्य छन् । पढ्ने कोठा भएकाले त्यहाँ सुत्ने खाटसमेत छैन । उनीहरू भुइँमै सुत्छन् । अाजको नयाँ पत्रिकामा खबर छ ।

खाग तस्करी पूर्वआइजिपीका कमान्डर 
हरेक जेलभित्र जेलर र प्रहरीको आन्तरिक व्यवस्थापन हुन्छ । जहाँ कैदीमध्येबाटै भाइ नाइके, नाइके र चौकीदार छानिन्छन् । उनीहरूले नै जेलभित्र अनुशासनलगायत सबै किसिमको व्यवस्थापन गर्छन् । डिल्लीबजार जेलमा खाग तस्करीको आरोपमा जेल परेका यामकुमार पुन चौकीदार छन् । उनै पुनको निर्देशनअनुसार पूर्वआइजिपीहरू जेलमा चल्नुपर्ने हुन्छ । बिहीबार पुनले जेलको नियमबारे पूर्वआइजिपीहरूलाई जानकारी गराएका थिए । जेलभित्रै मेसमा उनीहरू लाइन बसेर खाना खाने गरेका छन् । जेलमा आफूहरूले सबैलाई समान व्यवहार गर्ने जेलर कार्की बताउँछन् ।

कैद र जरिवानामा २० प्रतिशत छुट हुने भएकाले जेल चलान
नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचारको अभियोगमा उनीहरूलाई विशेष र सर्वाेच्च अदालतले दोषी ठहर गरी कैद र जरिवानाको सजाय सुनाएको थियो । अदालतले फैसला गरेको ६० दिनभित्र उपस्थित भएमा कैद र जरिवानामा २० प्रतिशत छुट हुने प्रावधान रहेकाले उनीहरू बुधबार आफैँ अदालतमा उपस्थित भएका हुन् ।

सर्वाेच्चले १७ वैशाखमा सुडान भ्रष्टाचार मुद्दाको फैसला गर्दै तीन पूर्वआइजिपी, तीन पूर्वएआइजी र एक पूर्वएसएसपीलाई दोषी ठहर गरेको थियो । फैसलाको सूचना पाएको मितिले दुई महिनाभित्र उपस्थित भएमा छुट हुने प्रावधान छ । दुई महिनाको अवधि ननाघेकाले उनीहरू छुटका लागि चारजना अदालतमा उपस्थित भएका हुन् ।

सर्वाेच्चले राणालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तथा हेमबहादुर गुरुङलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । राणा ०६३ भदौदेखि ०६५ भदौसम्म तथा गुरुङ ०६५ भदौदेखि फागुनसम्म नेपाल प्रहरीको आइजिपी थिए ।

त्यस्तै, दीपकसिंह थाङदेनलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा दीपककुमार श्रेष्ठलाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला गरेको थियो । उनीहरू सुडान मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा प्रत्यक्ष संलग्न थिए । सोही मुद्दामा अदालतले दोषी ठहर गरेका पूर्वआइजिपी रमेशचन्द ठकुरी, पूर्वएआइजी श्यामसिंह थापा र पूर्वएसएसपी रवि राणा उपस्थित भएका छैनन् ।

को–को छन् जेलमा ?
पूर्वआइजिपीहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वएआइजी दीपकसिंह थाङदेन र पूर्वडिआइजी दीपक श्रेष्ठ सोही कोठामा बस्दै आएका छन् । जेलमा नयाँ आउने कैदी–बन्दीले सुत्ने ठाउँ पाउँदैनन् । त्यसकारण उनीहरू लाइब्रेरीमै सुत्नुपर्छ । सुत्नका लागि उनीहरूले घरबाट खाट मगाएका छन् । ‘तत्कालका लागि उहाँहरूलाई लाइब्रेरीमा सुत्ने व्यवस्था मिलाएका छौँ,’ डिल्लीबजार कारागारका जेलर विष्णु कार्कीले भने, ‘अन्य कोठा खाली भएपछि उहाँहरूलाई सार्छाैँ ।’

डिल्लीबजारस्थित कारागारको क्षमता दुई सय २० जनाको हो । तर, जेलमा पाँच सय ७० कैदी–बन्दी छन् । जसकारण उनीहरूले सुत्ने ठाउँसमेत नपाएका हुन् । पूर्वआइजिपी बस्दै आएको कोठामा झ्यालसमेत छैन । गर्मीले त्यहाँ बस्न उनीहरूलाई निकै कठिन छ । राम्रो कोठामा सारिदिन उनीहरूले जेलरलाई आग्रह गर्दै आएका छन् ।

गफगाफ र अध्ययन 
डिल्लीबजार जेलमा रहेका पूर्वप्रहरी हाकिमहरूको दैनिकी प्रायः गफगाफमै बित्ने गरेको छ । त्यसबाहेक पत्रपत्रिका, किताब पढेर उनीहरूले दिन बताउने गरेका छन् । डिल्लीबजार कारागारका एक प्रहरीका अनुसार जेल बस्नुपरेकामा उनीहरूमा हीनताबोध देखिएको छैन ।

वैकल्पिक माध्यमबाट पत्रकार महासंघको चुनाव गराउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौँ। नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् । वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग गरिएको छ ।  रिटमा अब प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्न माग गरिएको छ । यस्तै अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेश आदेश जारी गर्न पनि माग गरिएको छ ।  रिटमा भनिएको छ, ‘नेपाल पत्रकार महासङ्घको मिति २०८१।०५।२८ गतेको मतदाता नामावली सम्बन्धी जेजस्तो निर्णय भए पनि झिकाई उक्त प्रेस विज्ञप्ति सम्बन्धी निर्णय लगायतका सबै निर्णय पत्राचारहरू विपक्षीहरूबाट झिकाई उत्प्रेषणको आदेशले बदर गरी नेपाल पत्रकार महासङ्घको विधानको दफा ३५ (७) बमोजिम पटक पटक मिति तोक्दा पनि निर्वाचन गर्न नसक्ने वर्तमान केन्द्रीय समितिले विधान बमोजिम निर्वाचन गर्न नसक्ने भएकोले प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्नु र अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरी पाउ ।’ सदस्यता विवादका कारण पत्रकार महासङ्घको चुनाव समयमा गराउन नसकेकै कारण अध्यक्ष विपुल पोखरेल र वरिष्ठ उपाध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् भने चुनाव अब कहिले हुने भन्नेमा अन्यौलता कायमै छ । नियमित चुनाव हुँदा महासङ्घको निर्वाचन गत चैतमा नै हुनुपर्ने थियो ।

अमेरिकामा बिरोधको तयारीपछि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगित

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’

माओवादी केन्द्रको परामर्श बैठक सकिदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौ। नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम श्रृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य श्रृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा वृहत भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा यूरोप संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ।  

लोकप्रिय