देउवाले हतियारको साढे २ अर्ब मिनाहाको आग्रह गर्दा मोदीले ‘रक्षा सहकार्य गरौँ’ भने

देउवाले हतियारको साढे २ अर्ब मिनाहाको आग्रह गर्दा मोदीले ‘रक्षा सहकार्य गरौँ’ भने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपाली समकक्षी शेरबहादुर देउवासँग भारत र नेपालका सेनाबीच सहकार्य थप सुदृढ गर्नुपर्ने प्रस्ताव गरे । भारत र चीनबीच दोक्लामका विषयमा चुलिएको विवादमाझ मोदीको प्रस्ताव अर्थपूर्ण थियो । प्रधानमन्त्री देउवाले नेपालले हतियार खरिद गरेबापत तिर्नुपर्ने रकम मिनाहाका लागि प्रस्ताव गरे । तर, मोदीले स्पष्ट जवाफ दिएनन् । भारतले यो प्रस्ताव स्वीकार नगरेको अर्थमा नेपालले बुझेको छ ।

हैदराबाद हाउसमा दुवै पक्षका १८–१८ जना अधिकारी सहभागी औपचारिक वार्तामा देउवाले प्रस्ताव गरे, ‘नेपाली सेनाले सन् २००६ यता हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म तिर्नुपर्ने रकम २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ मिनाहा गरिदिनुस् ।’ तर, मोदीले मिनाहा गर्ने वचन दिएनन् । जानकार अधिकारीका अनुसार मोदीले दायाँ–बायाँ बसेका भारतीय अधिकारीलाई हेरेर जवाफ दिए, ‘यो विषयमा के गर्न सकिन्छ, म सम्बन्धित तहलाई निर्देश गर्छु ।’ त्यो कुन तह हो भन्नेबारेमा नेपाली पक्षलाई जानकारी गराइएको छैन ।

देउवाले मात्र होइन, यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डले पनि राजकीय भारत भ्रमणका क्रममा उक्त रकम मिनाहा गर्न प्रस्ताव गरेका थिए । ४० प्रतिशत रकमलाई अनुदानमा बदलेर मिनाहा दिन नेपालले चार वर्षदेखि अनुरोध गर्दै आएको छ । स्रोतका अनुसार ०७१ साउनमा भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदा तत्कालीन प्रधानमन्त्री कोइरालाले पनि उक्त रकम मिनाहाका लागि आग्रह गरेका थिए ।

औपचारिक वार्तामा सहभागी वाणिज्यमन्त्री मीन विश्वकर्माले डुबान, भारतीय रुपैयाँ सहटीबाहेक सेनाको रकम मिनाहाबारे पनि प्रस्ताव भएको, तर ठोस जवाफ नआएको बताए । ‘भारतीय पक्षले सकारात्मक रूपमा यसलाई लिएको भनेको छ,’ विश्वकर्माले नयाँ पत्रिकासँग भने ।

भारतसँग यसअघि हतियार तथा सैन्य सामग्री खरिद गर्दा ६० प्रतिशत अनुदान दिने र ४० प्रतिशत मात्रै रकम तिर्नुपर्ने सहमति भएको थियो । नेपालले तिर्नुपर्ने रकम ४० प्रतिशत मूल्यबराबरको मात्रै हो । उक्त रकम भुक्तानी गर्न सेनाले सरकारलाई पटक–पटक आग्रह गर्दै आएको छ । तर, सरकारले मिनाहाका लागि आग्रह गर्दै आएको छ भने भारतले टार्दै आएको छ ।

सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले उक्त रकम मिनाहा गराइदिन सेनाले रक्षा मन्त्रालयमार्फत आग्रह गरेको, तर परिणामबारे जानकारी आइनसकेको बताए । ‘हामीले आफ्नो प्रस्ताव रक्षा मन्त्रालयमार्फत पठाएका छौँ, के भयो भन्ने कुरा जानकारीमा आइसकेको छैन,’ कडायतले भने । सेनाले उक्त रकम भारतले मिनाहा नगरे भुक्तानी गरिदिन सरकारलाई यसअघि पटक–पटक आग्रह गर्दै आएको छ । तर, यसअघिका कुनै पनि सरकारले पैसा तिर्न चाहेका थिएनन् ।

सरकारले प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन तथा प्रदेश र संसद्को निर्वाचनका लागि लजिस्टिक सहयोग, गाडी, हातहतियार, विस्फोटक पदार्थ, भिड नियन्त्रण उपकरणका लागि पनि आग्रह गरेको छ । भारतले यसमा विस्तृत रूपमा लिखित प्रस्ताव पेस गर्न आग्रह गरेको सम्बद्ध अधिकारीले जानकारी दिए ।

लगातारको आग्रह

भारतीय प्रधानमन्त्रीले रक्षा सहकार्यको प्रस्ताव गरे, तर हतियार किन्दा तिर्नुपर्ने २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ मिनाहाको प्रस्ताव मानेनन् ।

यसअघि तत्कालीन प्रधानमन्त्रीत्रय सुशील कोइराला, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पनि हतियार तथा सैन्य सामग्री किनेबापत रकम मिनाहा गर्न आग्रह गरे, मोदीले हेर्छौँ भने, मिनाहा गरेनन् ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०६३ जेठ अन्तिम साता भारत भ्रमणमा जाँदा त्यतिन्जेल नेपालले हतियारबापत भारतलाई तिर्नुपर्ने एक अर्ब ४२ करोड रुपैयाँ मिनाहा गराएका थिए ।

 दश वर्षअघि पौने २ अर्ब मिनाहा

०६३ जेठ अन्तिम साता तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणमा गएका वेला उनका समकक्षी डा. मनमोहन सिंहसँगको औपचारिक वार्ताकै क्रममा हतियारको तिर्नुपर्ने पौने दुई अर्ब रुपैयाँ मिनाहा गराएका थिए । उक्त बैठकमा सहभागी अधिकारीका अनुसार कोइरालाले तुरुन्तै मिनाहाको निर्णय गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेपछि सिंहले तत्कालीन विदेशमन्त्री प्रणव मुखर्जीलाई निर्देशन दिएका थिए । जसअनुसार भारत सरकारले एक घन्टामै सो रकम मिनाहा गर्ने निर्णय कोइरालालाई सुनाएको थियो ।

भारतबाट सरकारले के–के किन्छ ?

भारतबाट लाइट मेसिन गन (एलएमजी), सर्ट मेसिन गन (एसएमजी) जिपिएमजी, टु इन्च मोर्टार, ५० मिलिमिटर लाइट बम, ८१ मिलिमिटर रकेट लन्चरलगायत हतियार र तिनका गोलीगठ्ठा आउने गरेको छ । दोस्रो जनआन्दोलनअघि राजाको प्रत्यक्ष शासनमा रोकिएका यी हतियार तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादको भ्रमणपछि भारतले नेपाललाई पठाएको थियो । भारतबाट लाइफ ज्याकेट, युद्धकालीन टेलिफोन र तार पनि आउने गरेको छ । ५२५ गजसम्म गोली हान्न २ इन्च मोर्टार पनि भारतबाट आउँछ । युद्धकालमा खरिद गरिएका इन्सास राइफलले काम नगरेपछि भारतबाट यो ल्याउन सेनाले बन्द गरेको छ ।

विगतमा सेनाले भारतबाहेकका मुलुकबाट हतियार किनेको थियो । धर्मपालबरसिंह थापा प्रधानसेनापति हुँदा सेनाले ५० करोडबराबरको कोल्टकमान्डो हतियार ल्याएको थियो । सोही हतियार यतिवेला सेनाको विशेष सुरक्षा फोर्सले प्रयोग गरिरहेको छ । सेनाले शान्ति मिसनमा पठाउने उद्देश्य देखाउँदै अमेरिकाबाट करिब २० हजार एम १६ हतियार ल्याएको थियो । – नयाँ पत्रिकाबाट

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय