नयाँ दलले लोकरिज्याइँको राजनीति गर्दै संविधानमाथि प्रहार गरे : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलबाट संविधानमाथि प्रहार भइरहेको आरोप बताएका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले निर्वाचनमा भाग लिएको जस्तो देखिए पनि इतिहासलाई मेटाउने, संघर्षका दिनलाई मेटाउने काममा लागेको बताए। उनले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिज्याइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए ।
उनले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझेलमा पार्ने काममा लागेको बताए ।
महामन्त्री थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताए । अहिले सुशासनलाई मन्त्र बनाएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।