नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान
काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको ंबताउँदै लगानी गर्न आह्वान गरेका छन्। उनले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताए ।
नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न सम्मेलनमा उपस्थित दुई दर्जन बढी देशका व्यवसायीलाई डा। महतले आग्रह गरे। नेपालमा व्यावसायिक अवसर धेरै भएको भन्दै विदेशी लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने उनले बताए ।
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) को संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७औँ क्यासी सम्मेलनलाई सम्बोधन गर्दै भूकम्प र कोरोना महामारीबाट उठ्दै गरेको नेपाललाई यस किसिमको भेलाले सहयोग पुग्ने बताए ।
उनले भने, ‘‘नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल रहेको छ जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस् ।’’
उनले भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रतिबद्धता गरेको भन्दै लगानीका लागि जलविद्युत् उपयुक्त क्षेत्र भएको बताए । बङ्गलादेशले पनि विद्युत खरिद गर्न चासो देखाइरहेको अवस्थामा जलविद्युतमा गरिने लगानीमा प्रतिफल सुनिश्चित गरेको महतले बताए ।
यस्तै, सूचना र प्रविधि क्षेत्रमा समेत सरकारले लगानीको सम्भावना देखेको बताउँदै उनले भने, ‘‘यही सम्भावना देखेर चालू वर्षको बजेटमार्फत सूचना प्रविधि क्षेत्रमा आयकर घटाएको हो ।’’
सफ्टवेयर निर्यात गर्दा बजेटमार्फत आम्दानीमा लाग्ने करमा ५० प्रतिशत छुटको सुविधा दिइएको छ अर्थमन्त्री महतले भने । ‘‘नेपालको आइटी सेक्टरमा ठुलो सम्भावना छ । विदेशी लगानीकर्ता पनि नेपालमा लगानी बढाउन इच्छुक छन्,’’ उहाँले भन्नुभयो, ‘‘नेपालमा लगानी गर्नेलाई सरकारले स्वागत गर्छ । वातावरण बनाउँछ ।’’
नेपालमा लगानी गर्नलाई ‘वान डोर विन्डो’ सञ्चालनमा रहेको र ठुला लगानीलाई सहयोग गर्न लगानी बोर्ड नै सञ्चालनमा रहेको महतले बताए ।
नेपालमा लगानीका लागि थप वातावरण र कन्फिडेन्स सिर्जना गर्न आगामी फेब्रुअरीमा लगानी सम्मेलन आयोजनाका लागि सरकार जुटेको जानकारी दिंदै महतले भने, ‘‘विश्व बैङ्क र एडिबीले नेपालका दुई जलविद्युत आयोजनामा लगानीको तयारी गरिरहेका छन् । यसबाट नेपाल लगानीको केन्द्र रहेको पुष्टि हुन्छ । ग्रिन बन्डलगायतमा फाइनान्सिङ औजारहरुमा समेत लगानी गर्न मिल्ने गरी नेपाल सरकार अघि बढेको छ ।’’
सेयर बजारमा १४ अंकको गिरावट, सात अर्ब ९१ करोडको कारोबार
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार १४.१२ अंकले घटेको छ । नेप्से ०.५१ प्रतिशतले घटेर २७३४.८३ को विन्दुमा पुगेको हो । यसदिन एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर सात अर्ब ९१ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ । ९९ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको सेयर मूल्य घट्दा सात को मूल्य स्थिर छ । सबैभन्दा धेरै कमाउनेमा सप्तकोसी विकास बैंक र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कारोबारमा रहेका १३ मध्ये चार समूहको मात्रै समूहगत परिसूचक बढेको छ ।
बढ्यो डलर र युरो, यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल कात्तिक २४ गते शनिबार सन् २०२४ नोभेम्बर ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा रहेकामा शनिबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । शनिबारका लागि युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा कायम भएको छ । शुक्रबारका लागि यस मुद्राको खरिददर एकको एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम रहेको थियो । युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा रहेको छ । स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा रहेको छ । बैङ्कका अनुसार सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनबाट विद्युत प्रवाह सुरु
काठमाडौं । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार बेलुकी सात बजेर पाँच मिनेटमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो । यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरिएको छ । उक्त सबस्टेसनमा २२०र१३२ केभी, १६० एमभीएका दुईवटा बैंक गरी ३२० एमभीए र १३२/३३ केभीतर्फ, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्महरू रहेका छन् । आयोजना अन्तर्गतकै त्रिशूली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ । अनुमानित लागत तीन अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) को अनुदान रहेको छ । आयोजनामा युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण रहेको छ ।
अलैंचीको मूल्यवृद्धिले किसान उत्साहित
ताप्लेजुङ । ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपियाँ पुगेको छ । यस वर्ष नयाँ उत्पादन निस्कन थालेदेखि नै सामान्य रूपमा मूल्यवृद्धि हुँदै आएको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९० हजार रुपियाँ पुगेको हो । करिब दुई सातासम्म प्रतिमन ८९ हजार रुपियाँमा स्थिर रहेको अलैँचीको मूल्य बुधबार बढेर ९० हजार रुपियाँ पुगेको स्थानीय व्यवसायीले बताएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा बुधबार अलैँची प्रतिमन ९० हजार रुपियाँमा कारोबार भएको स्थानीय व्यवसायी कमल बरालले बताउनुभयो । बरालका अनुसार दसैँको समयमा अलैँची प्रतिमन ८२ देखि ८४ हजार रुपियाँसम्म कारोबार भएको थियो । व्यवसायीका अनुसार दसैँ सकिएपछि स्थानीय बजारमा अलैँचीको सामान्य रूपमा मूल्यवृद्धि सुरु भएको थियो । दसैँपछि प्रतिमन एक हजार र एक हजार पाँच सयले वृद्धि हुँदै केही दिनको अन्तरालमै ८९ हजार रुपियाँ पुगेको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले बताउनुभयो । फुङलिङ बजारका स्थानीय व्यवसायीसमेत रहनुभएका रेग्मीले अलैँचीको मूल्य प्रतिमन ८९ हजार रुपियाँ भने करिब दुई सातासम्म कायम रहेको बताउनुभयो । उहाँका अनुसार स्थानीय बजारमा बुधबार प्रतिमन ९० हजार रुपियाँमा अलैँचीको खरिदबिक्री भएको छ । ताप्लेजुङमा प्रतिमन ९० हजारले खरिदबिक्री हुँदा झापाको बिर्तामोडमा भने एकदेखि दुई हजार रुपियाँसम्म बढीमा अलैँचीको कारोबार हुने स्थानीय व्यवसायी बताउँछन् । अलैँची व्यवसायी सङ्घका अनुसार यस वर्ष नयाँ अलैँची बजार निस्कन थाल्दा नै प्रतिमन ५५ देखि ६० हजार रुपियाँसम्ममा कारोबार भएको थियो । भदौको पहिलो सातादेखि बजारमा अलैँची निस्कन थाल्ने गरेको छ । अलैँची बजारमा निस्कन थालेको करिब तीन महिना पुग्न लाग्दा सुरुदेखि नै क्रमशः मूल्यवृद्धि हुँदै बुधबार प्रतिमन ९० हजार रुपियाँ पुगेको स्थानीय व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार यस वर्ष अलैँचीको मूल्यमा हालसम्म उतारचढाव अर्थात् मूल्य घटबढ आएको छैन । सामान्य रूपमा भए पनि मूल्यवृद्धि हुँदै आएको उनीहरूको भनाइ छ । हालसम्मको कारोबार र उत्पादनको अवस्थालाई हेर्दा यस वर्ष अलैँचीको मूल्य प्रतिमन एक लाख रुपियाँ नाघ्ने अनुमान लगाउन थालिएको छ । गत वर्षभन्दा उत्पादनमा कमी आएकाले अलैँचीको मूल्यवृद्धि हुने अगुवा किसान तथा व्यापारीको अनुमान छ । अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै जाँदा स्थानीय किसान तथा व्यवसायीमा खुसी छाएको छ । यता अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीमा पर्दछ । जिल्लाका अधिकांश किसान खेतीमा संलग्न रहँदै आएका छन् भने करिब चार हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ ।