पर्यटकीय क्षेत्र सहलकोट ओझेलमा

पर्यटकीय क्षेत्र सहलकोट ओझेलमा

पाल्पा, चैत १५ । प्राकृतिक रुपमा निकै सुन्दर हरियाली डाँडाकाँडाले घेरिएको पर्यटकीय सहलकोट क्षेत्रमा भौतिक पूर्वाधारको विकास नहुँदा पर्यटकको आकर्षण बढ्न सकिरहेको छैन ।

सदरमुकाम तानसेनदेखि करिब ७२ किलोमिटर पूर्वमा अवस्थित सहलकोट क्षेत्र प्राकृतिक रुपमा भरिपूर्ण छ । भौतिक पूर्वाधार विकास नहुँदा सहलकोट ओझेलमा परिरहेको छ । पूर्व दक्षिणमा नवलपरासी, उत्तरमा कालीगण्डकी, तनहुँ, कास्की, लमजुङ, उत्तर पश्चिममा स्याङ्जा र पश्चिम सहलकोटको फेँदीमा रामपुर उपत्यका पर्छ । यहाँबाट धौलागिरि, माछापुच्छ्रे हिमाललगायत दृश्य अवलोकन गर्न सकिन्छ ।

यहाँको हरियाली वनपाखा, प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई मनमोहित पारिरहेको हुन्छ । सहलकोट क्षेत्रकै चिनारी जुरेलेक, घाँगी गुफा गरी यहाँ करिब ५० को हाराहारीमा गुफा रहेका छन् । तर प्रचारप्रसार भने हुन सकेको छैन । स्थानीयस्तरबाट केही प्रयास भए पनि यसको प्रवद्र्धनमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।

सुकेकोटमा रहेका गुफाका सम्बन्धमा सरोकारवाला नै बेखबर छन् । सुकेकोट क्षेत्रमा मात्रै मुख्य आठवटा र अन्य कयौँ गुफा भेटिएका छन् । सुकेकोट गाउँभन्दा तलको भागमा चमेरा गुफा रहेको छ । मगर भाषामा घिचिन ओडारका नामले पनि यो चिनिन्छ । यहाँ विभिन्न प्रजातिका चमेरा पाइने गर्छ । झन्डै पाँच सय मिटरको लम्बाइमा फैलिएको यस गुफाको मुहानबाट पसेर पुछारसम्मको भागमा निस्कन मिल्ने बनोट रहेको छ । गुफाभित्र विभिन्नखालका आकृति देख्न सकिन्छ ।

त्यस्तै चमेरा गुफाभन्दा केही तल घन्टी ओडार गुफा रहेको छ । एक ठाउँबाट पसेर अर्को ठाउँमा निस्कन मिल्ने घन्टी ओडार गुफाभित्र दुई लाम्चो आकारको ढुङ्गा रहेको छ । त्यस ढुङ्गामा हिर्काउँदा घन्टीको जस्तो आवाज निस्कने हँुदा यस गुफाको नाम घन्टी गुफा रहन गएको स्थानीयवासी श्यामप्रसाद सोती बताउनुहुन्छ । यहाँ आउने जो कोहीले पनि ढुङ्गा बजाउने गरेको पाइन्छ । गुफाको लम्बाइ करिब ३० मिटर रहेको छ । गुफाभित्र ५० जनाभन्दा बढी मान्छे बस्न मिल्ने अवस्था छ ।

फ¥याच पहार गुफा घिचिन ओडारको आडमा रहेको छ । यसमा पनि विभिन्न आकृति देख्न सकिन्छ । सुकेकोट गाउँभन्दा तल्लो भाग पहाडले घेरिएका कारण यहाँ असङ्ख्य मात्रामा विभिन्न गुफा रहेका स्थानीयवासी बताउँछन् । यस क्षेत्रमा पुरानो लाम पहाड गुफा, नाम्सु ख्वाच पहाड गुफा, करङ्चो हुल्मा गुफा, ख्वाच पहाड गुफा र चितुवा मिमडाँडा गुफा रहेको सोतीले बताउनुभयो ।

“गुफैगुफाले भरिपूर्ण रहे पनि विकासले गति लिन नसक्दा यस्ता पर्यटकीय गुफाको महत्व बढाउन सकिएको छैन,” उहाँले भन्नुभयो । सोतीले यहाँ रहेका अधिकांश गुफाभित्र पसेर अवलोकन गरिसकेको बताउनुभयो । प्रचारप्रसार हुन नसक्दा पर्यटकको आकर्षण बढ्न नसकेको उहाँको भनाइ छ ।

स्थानीयस्तरबाट नै गुफालाई महत्व नदिँदा ओझेलमा परेको स्थानीय बासिन्दा तिलवीर राना बताउनुुहुन्छ । ग्रामीण सडकमा सुधार नहुनु, गुफा क्षेत्रमा भौतिक पूर्वाधार विकास नहुनु र यहाँ रहेका पर्यटकीय गुफाको विषयमा स्थानीय बासिन्दा, स्थानीय निकाय मौन रहँदा सहलकोट क्षेत्र ओझेलमा परेको हो । सहलकोटको जुरेमा पनि आठभन्दा बढी गुफा भेटिएका छन् ।

भौतिक पूर्वाधार विकास भएको खण्डमा यस क्षेत्रलाई गुफैगुफाको गाउँका नामले देशमै पहिचान स्थापित गराउन सकिन्छ । जसले गर्दा भविष्यमा यहाँ दिनहुँ ठूलो सङ्ख्यामा पर्यटक भित्रिँदा गाउँमा आम्दानीको स्रोत पनि बढ्दै जानेछ ।

उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।  काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।

कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।

बाराको गढीमाई मन्दिरमा मेला शुरु

बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।

लोकप्रिय