पुनःनिर्माणमा पर्म विधि प्रभावकारी बन्दै

पुनःनिर्माणमा पर्म विधि प्रभावकारी बन्दै

नुवाकोट, वैशाख १० । पुनःनिर्माणमा श्रम आदानप्रदान (पर्म) विधि कति प्रभावकारी हुँदो रहेछ भन्ने जीवन्त र सशक्त उदाहरण किस्पाङ गाउँपालिकाअन्तर्गतका काउले र भाल्चेका भूकम्पपीडितले प्रस्तुत गरिरहेका छन् ।

यी दुई गाउँका बासिन्दाले भूकम्पपछि निजी घर आवास बनाउन हराउँदै र मासिँदै गएको पर्म विधिलाई सशक्त रुपमा ब्यूँताउँदा अन्यका लागि प्रेरणासमेत बन्न पुगेको छ । उसो त ‘महिलाले घर बनाउन हुँदैन’ भन्ने परम्परागत मान्यतालाई यहाँका महिलाले अन्त्य गर्दै महिलाको मात्र छुट्टै समूह गठन गरी सामूहिक रुपमा पर्म विधिद्वारा धमाधम घर निर्माण, आय आर्जन र जीविकोपार्जनका अन्य विविध कामसमेत गरिरहेका छन् ।

घडेरी सम्याउने, जग खन्ने, निर्माणका लागि आवश्यक सामग्री निर्माणस्थलसम्म जम्मा गर्नेदेखि लिएर दक्ष डकर्मीलाई आवश्यक पर्ने सहयोग गर्ने काम महिलाले यहाँ गरिरहेका छन् । काउले वडा नं ३ मा गठित महिला समूहकी ४५ वर्षीया सार्की तामाङले भन्नुभयो– “समूहमा बसेर यति छिटो घरको छाना हाल्ने दिन आउँछ भन्ने लागेकै थिएन ।” उनी एक्लै भएपनि पर्म लगाएर समूहले बनाएको घरको छाना हाल्न मात्र बाँकी रहेको छ ।

उनका दुई छोरा घरबाहिर छन् । बूढा अशक्त छन् । गाउँमा आवास निर्माण समूह गठन पर्दा उनी समूहमा आबद्ध भइन् । काउलेमा निजी आवास निर्माण गर्न गठन भएका आठवटा समूहमध्ये तीनवटा समूह त महिलाका मात्र रहेका छन् । समूहमा आबद्ध सबैले पर्मद्वारा धमाधम दिनरात, घाम पानी नभनी ‘आफ्नो लागि आफ्नाले’ नै घर बनाइरहेका छन् ।

यसैगरी भाल्चेमा पनि निजी आवास निर्माण गर्न सातवटा समूह सक्रिय रहेको छन् । ती समूहमा रहेका सबैले नै पर्मद्वारा नै आवास निर्माणमा जुटिरहेका छन् । उसो त नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत अमेरिकन रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा ती दुई गाउँका एक हजार ९५८ निजी आवास निर्माण, जीविकोपार्जनलगायत अन्य आय आर्जन बढाउन उनीहरुलाई आर्थिक एवम् प्राविधिक सहायता प्रदान गरिरहेको छ ।

भूकम्प प्रतिकार्य कार्यक्रम, नुवाकोट जिल्ला कार्यक्रम संयोजक शारदा खतिवडाका अनुसार हाल ती दुई गाउँका अधिकांशले पहिलो किस्ताबापतको रकम प्राप्त गरिसकेका छन् । डिपिसीसम्म सम्पन्न ४३० लाभग्राहीमध्ये २४४ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम बुझिसकेका र बाँकीको प्राविधिक अनुगमनका साथ घर बनाउन तीव्रता दिइरहेका छन् ।

समाजशास्त्रीसमेत रहनुभएका खतिवडा पर्म प्रणालीले सामाजिक एकता र सहिष्णुतालाई बलियो बनाउँदै विपद्का समयमा समुदाय एकजुट भई सामना गर्ने, धैर्य धारण गर्ने र पुनःनिर्माणमा एकजुट हुन प्रेरित बनाउने हुँदा यसप्रति समाजलाई थप उत्साहित, जागरुक बनाउने बताउनुहुन्छ ।

सात हजार निजी आवास निर्माणमा तीव्रता

सोसाइटीले भूकम्पबाट अति प्रभावित १४ जिल्लाहरु गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, ओखलढुङ्गा र रामेछापमा विभिन्न देशका रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

विपद्को सामना गर्न सक्नेगरी समुदायको क्षमता विकास गराउने, विपन्न तथा सङ्कटापन्न समुदायलाई मानवीय सहायताको उपलब्ध गराई पुनः पहिलेकै सुरक्षित अवस्थामा पु¥याउने सो कार्यक्रमको मुख्य ध्येय रहेको कार्यक्रमका केन्द्रीय संयोजक उमेश ढकालले जानकारी दिनुभयो ।

सो कार्यक्रम विशेष गरी अति विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक एवम् सामाजिक जीवनस्तर माथि उठाउन टेवा पु¥याउन छवटा विषयगत क्षेत्र आवास निर्माण, खानेपानी, सरसफाइ तथा स्वच्छता, स्वास्थ्य, जीविकोपार्जनका साथमा नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को संस्थागत विकास गर्न कार्यक्रम केन्द्रित रहेको छ ।
हाल सो कार्यक्रमले ओखलढुङ्गाको हर्कपुर गाविसमा ३२७ र प्राप्चा गाविसमा १९३, रामेछापको रामपुर गाविसमा ६४३, मन्थली दुईमा ४२६, सिन्धुलीको शीतलपाटी गाविसमा ८८० मा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घको आर्थिक एवम् प्राविधिक सहयोगमा आवास निर्माणमा सहयोग गरिरहेको संयोजक ढकालले बताउनुहुन्छ ।

यसैगरी सोसाइटीले जापानिज रेडक्रस सोसाइटीको आर्थिक एवम् प्राविधिक सहयोगमा सिन्धुपाल्चोकको थाम्पालकोटमा ६८३, थाम्पाल धापमा ८१०, अमेरिकन रेडक्रस सोसाइटीको आर्थिक एवम् प्राविधिक सहयोगमा नुवाकोटको काउले ९५३, भाल्चेमा एक हजार पाँच, रसुवाको ठूलोगाउँमा ४४३ र मकवानपुरको गोगनेमा ६३७ भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग गरिरहेको छ ।

कार्यक्रमले अतिप्रभावित १४ वटै जिल्लाका चार हजार २०० जनालाई भूकम्प प्रतिरोधी घर बनाउन डकर्मी तालिम प्रदान गरिसकेको छ । यस्ता डकर्मी हाल निर्माणमा जुटिरहेका छन् । करिब ४४ हजार व्यक्तिलाई सुरक्षित रुपमा आवास निर्माण कसरी गर्ने भन्ने विषयमा प्राविधिक ज्ञान प्रदान गरिएको कार्यक्रम संयोजक ढकालले जानकारी दिनुभयो ।

स्वास्थ्य केन्द्र निर्माण हुँदै

अर्काेतर्फ भूकम्पले क्षति पु¥याएका स्वास्थ्य संस्थाको पुनःनिर्माणमा सोसाइटीले सहयोग गरिरहेको छ । भूकम्प प्रतिकार्य कार्यक्रमका स्वास्थ्य संयोजक डा मौसम बोहराका अनुसार भूकम्प अतिप्रभावित धादिङ, सिन्धुपाल्चोक र काभ्रे जिल्लाका विभिन्न २९ स्वास्थ्य चौकीका पुनःनिर्माण जारी रहेकामध्ये चारवटा सम्पन्न भइसकेका छन् । रसुवाको जिल्ला अस्पताल निर्माणाधीन रहेको छ ।

स्वास्थ्य संस्था भवन पुनःनिर्माण गरी सेवा सञ्चालन गर्न, स्वास्थ्य संस्थाको स्तरोन्नति, समुदायमा आधारित स्वास्थ्य प्रवद्र्धनको लागि प्राथमिक उपचार, पोषण, पूर्णखोप, सुरक्षित मातृत्व, स्वास्थ्य व्यवहार तालिम सञ्चालन एवम् मनोसामाजिक सहायता जारी रहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी सोही कार्यक्रमले भूकम्पले क्षतिग्रस्त खानेपानी आयोजनाहरुको पुनःनिर्माण, थप खानेपानी आयोजना सञ्चालन, खानेपानी उपभोक्ता समूहलाई आवश्यक तालिम, शौचालय पुनःनिर्माण, स्वच्छता प्रवद्र्धनसम्बन्धी गतिविधि सञ्चालन तथा खुलादिशामुक्त क्षेत्र घोषणा गर्ने सरकारको अभियानमा सहयोग गर्ने कार्य पनि अगाडि बढाइरहेको छ ।

जीविकोपार्जनअन्तर्गत कृषि तथा पशुपालनसम्बन्धी तालिम, पशु नश्ल सुधार, पशुधन बिमा प्रवद्र्धन, स्थानीय सीप, स्रोत साधनमा आधारित साना व्यवसाय सञ्चालन, स्थानीय बजारमा भएका गैरकृषि उत्पादन प्रवद्र्धन, सिँचाइ सुविधाजस्ता १५ हजारभन्दा बढी योजना १४ जिल्लामा सञ्चालनमा रहेका र यसले स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याएको कार्यक्रमका संयोजक ढकालले जानकारी दिनुभयो ।

नेपाल रेडक्रसलाई रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घको अगुवाइमा ५० भन्दा बढी देशका रेडक्रस सोसाइटी तथा दातृ निकायले साथ दिएका छन् । तीमध्ये अमेरिकन, अस्ट्रेलियन, बेल्जियम, ब्रिटिस, क्यानेडियन, डेनिस, जर्मन, जापानिज, कोरियन, नर्वेजियन, स्पेनिस, स्विस, कोरियन, मोनाको रेडक्रस सोसाइटी रहेका छन् ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय