प्रहरी प्रतिवेदनको नाममा युएई जाँदा कामदारमाथि चार हजार भार

प्रहरी प्रतिवेदनको नाममा युएई जाँदा कामदारमाथि चार हजार भार

काठमाडौं, फागुन १५ । संयुक्त अरब इमिरेट्स (युएई) को नेपालस्थित दूतावासले रोजगारीमा जाने नेपाली कामदारको प्रहरी प्रतिवेदन प्रमाणीकरण गरेको नाममा प्रतिकामदार रु चार हजार तीन सय रकम थप लिने गरेको छ ।

गत माघ २२ गतेदेखि युएईले त्यहाँ रोजगारीका लागि जाने कामदारले अनिवार्य प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने नियम ल्याएकामा प्रमाणीकरणका नाममा थप रकम लिँदा कामदार मर्कामा परेका छन् । वर्षमा सरदर ५० हजार नेपाली रोजगारीका लागि युएईमा जाने गरेका छन् । यो आर्थिक भार थपिएपछि ती नेपाली कामदारमाथि रु २१ करोड ५० लाख रकम व्ययभार बढेको छ ।

यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले पनि युएई जाने कामदारबाट थप रकम आर्थिक भार पार्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।

संघका अध्यक्ष रोहन गुरुङले आज जारी गर्नुभएको विज्ञप्तिमा नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत रहेको प्रहरीले सिफारिश गरी उपलब्ध गराएको प्रहरी प्रतिवेदनलाई परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरद्वारा प्रमाणीकरण गरिसकेपश्चात् दूतावासबाट थप प्रमाणीकरण गर्न आवश्यक नरहेको उल्लेख छ । उहाँले भन्नुभयो, “नेपाल सरकारको प्रहरी प्रशासन र कन्सुलेर सेवा विभागले प्रमाणित गरेको प्रतिवेदन स्वतः आफैंमा प्रमाणित प्रतिवेदन हो । युएई दूतावासले कुन आधारमा त्यो जाँच गर्नसक्छ ?”

उहाँले यसअघि मलेसिया जाँदा भिएलएन, ओएससी, आइएससी, माईग्राम, बायोमेट्रिकका नाममा कामदारमाथि रु १७ हजार थप आर्थिक भार थोपरिए जस्तै अहिले युएईमा पनि थप आर्थिक भार पार्न खोजिएको बताउनुभयो । सो शुल्कका विषयमा श्रम तथा रोजगार मन्त्रालय मौन देखिनु खेदपूर्ण रहेको उहाँको भनाइ छ ।

नेपाली श्रमिकलाई आर्थिक भार पार्ने गरी अनावश्यक शुल्क लिने दूतावाससँग त्यस्ता शुल्कहरु नलिनका लागि पहल गर्न सरकारसँग संघले आग्रह गरेको छ ।

आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।  विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् ।  विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो ।  यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम  सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो  ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।  उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब  ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।

लोकप्रिय