बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ ।

नेकपाको संसदीय दलको आज प्रधाननमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै क्षेत्रका जनता र प्रतिनिधिका सबै आवश्यकता र चाहना बजेटले समेट्न नसके पनि समृद्धिको आधार तयार गर्न सरकारको बजेट सकारात्मक रहेको बताउँदै असन्तुष्टि भएमा संसद्मा नभई पार्टीमा राख्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाका बैठकमा बजेटमाथिको छलफलका क्रममा कतिपय सत्तारुढ दलकै सांसदले बजेटको आलोचना गरेपछि अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो । ओलीले भन्नुभयो, “तपाईहरुका असन्तुष्टि र भनाइ जायज हुन सक्छन्, मेरै निर्वाचन क्षेत्रमा पनि के के प¥यो, परेन मैले सोचेजस्तो नभएको हुनसक्छ । अघिल्लो सरकारले अर्थतन्त्रलाई असन्तुलित बनाई दायित्व छाडेर गएकाले हामीलाई समस्या परेको हो । हामी यसलाई सही बाटोमा ल्याउने प्रयासमा छौँ ।”

उहाँले भाडामा पर्याप्त खाना नभएपछि केटाकेटीलाई जन्ते बाख्र्रो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र परे झैँ भान्छेलाई बाँड्न गाह्रो हुने प्रसंग उल्लेख गर्दै सरकारका काम र बजेटका असन्तुष्टि राख्न पार्टीका सांसदले नेतृत्वलाई भन्नु उपयुक्त हुने बताउनुभयो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेतासहित सहभागी बैठकमा करीब ५० सांसदले बोल्नका लागि नाम टिपाउनुभएको बुझिएको छ । बैठकमा दलको नियमावली संशोधनबारे पनि छलफल हुनेछ ।

यसैबीच, संसदीय दलको बैठकपछि आजै नेकपाको सचिवालय र स्थायी कमिटीको बैठक बस्नेछ । रासस

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ ।  मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको थियो ।  साथै सो मञ्चका निवर्तमान अध्यक्ष समेत रहनुभएका ढकालले मञ्चको संस्थागत विकासका क्षेत्रमा निर्वाह गर्नुभएको विशिष्ठ भूमिकाको कदरस्वरुप उहाँलाई सो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।   मञ्चको वार्षिक साधारणसभाका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले उहाँलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतका विशिष्ठ व्यक्तित्वहरुलाई  पनि सम्मान गरिएको थियो ।  नेपाल हाल संघीय शासन प्रणालीमा रुपान्तरित भएको भए पनि साविकको पश्चिमाञ्चल विकास क्षेत्रको विकास र प्रवर्धन हेतु स्थापित सो मञ्चले मुलुकको पश्चिमाञ्चल क्षेत्रमा जन्म भई राष्ट्रिय जीवनका उच्च पदमा पुग्न सफल व्यक्तित्वहरुलाई सम्मान गर्ने गर्दछ ।

दसैँका खसी बोका बिक्री सुरु

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु  गरेको छ। कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ र च्याङ्ग्राको एकहजार २३० रुपैयाँ मूल्य निर्धारण गरेको छ । उपभोक्ताका लागि उक्त मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट गरी क्रमशः ६६० र एकहजार २२० रुपैयाँ तोकिएको छ । काठमाडौंको थापाथलीस्थित प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म २०८ वटा खसीबोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको जनाएको छ । यस्तै अन्य खसीबोका र च्याङ्ग्रा ल्याउने क्रम जारी रहेको कार्यलयको भनाइ छ । दशैँको समयमा कम्पनीले प्रत्येक वर्ष खसीबोका र च्याङ्ग्रा खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्दै आएको छ। 

नेपालले कार्बन ब्यापारबाट प्राप्त गर्दै छ एक अर्ब ६० करोड

काठमाडौं । विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड प्राप्त गर्दै छ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ । नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा ६ वर्षमा दुई दशमलव चार मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो । प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले यही अक्टोबरभित्र एक अर्ब ६० करोड प्राप्त गर्ने मन्त्रालयले जनाएको छ । वन मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुङ्गानाका अनुसार विश्व बैंकसँग सुरुमा सम्झौता गर्दा उक्त रकम वन विकास कोषमार्फत आउने गरी सम्झौता भएको थियो । अर्थ मन्त्रालयले मुलुकको कानुनी प्रावधानअनुसार त्यस्तो रकम सर्व सञ्चिति कोषमार्फत आउनुपर्ने र त्यसपछि मात्र वन विकास कोषमा हस्तान्तरण हुने भनेपछि विश्व बैंकले त्यसबारेमा स्पष्ट पार्न सरकारसँग अनुरोध गरेको उनले जानकारी दिए । कार्बन व्यापारबाट प्राप्त हुने रकम स्थानीय लाभग्राही आदिवासी/जनजाति समुदायमा ८० प्रतिशत खर्च गर्नुपर्ने प्रावधान छ । 'यसका लागि सरकारले योजना बनाएर स्वीकृत गरिसकेको छ', प्रवक्ता ढुङ्गानाले भने । कार्बन व्यापारका सम्बन्धमा खासगरी सन् २०१८ मा नेपालको  राष्ट्रिय रेडप्लस रणनीति, राष्ट्रिय वन आधार तह स्वीकृत भएको थियो । त्यसपछि सन् २०१९ देखि २०२४ सम्म तराई भूपरिधिका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रमअन्तर्गत कार्बन व्यापारबाट प्राप्त लाभको बाँडफाँड योजना तयार गरिएको थियो । उक्त कार्यक्रम १३ जिल्लाका एक दशमलव सात मिलियन हेक्टरमा लागू भएको केन्द्रका प्रमुख एवं सहसचिव नवराज पुडासैनीले जानकारी दिए । नेपालको वन क्षेत्रबाट औसतमा प्रतिहेक्टर एक सय ६७ टन कार्बन सञ्चिति भएको छ । सहसचिव पुडासैनीले भने, 'नेपालको तराई भूपरिधि क्षेत्रका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गरी सन् २०२८ सम्म करिब तीन करोड ४२ लाख टन कार्बनडाइअक्साइड ग्यास उत्सर्जन कम गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा २०२३ मा मापन गर्दा २३ लाख टन कार्बन उत्सर्जन कटौती भएको छ ।' ‘लिफ कोलिजन’मा सम्झौता गर्दै नेपाल पहिलो चरणको कार्बन व्यापारपछि नेपालका तर्फबाट ‘उत्सर्जन घटाउन वन वित्त बढाउने साझेदारी कार्यक्रम’ (लिफ कोलिजन) सम्बन्धी प्रस्ताव पेस भई सन् २०२१ नोभेम्बर ३ मा हस्ताक्षर भएको थियो । लिफ कोलिजन बजारमुखी तथा नतिजामा आधारित संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, नर्वे र दक्षिण कोरियासहित २६ निजी कम्पनीको साझेदारी संयन्त्र हो ।

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । 'यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भन्नुभयो, हामी थप लगानीकर्ताहरुलाई पनि प्रोत्साहित गर्नेछौ ।’  नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष थानी र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न वैठकमा आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको हो ।  कतारका अमीर सेख तमीम बिन हमाद अल थानीको गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।  काउन्सिलको यस पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आआफ्नो नेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राख्नुभयो । आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि वैठकमा भयो ।  वैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरुमा गरिएको सुधारले लगानीको अवसर जुट्दै गएको वताउनुभयो । साथै उहाँले कतारका लगानीकर्ताहरुलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप बिकास लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आव्हान गर्नुभयो । यसैगरि, कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता पनि जनाउनुभयो ।

लोकप्रिय