बाह्र लाख भूमिहीनको निवेदन सङ्कलन

बाह्र लाख भूमिहीनको निवेदन सङ्कलन

चितवन। राष्ट्रिय भूमि आयोगअन्तर्गतका कार्यालयमा १२ लाख भूमिहीनको निवेदन परेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन सङ्कलन भएको हो ।

यो सङ्ख्या १५ लाख हाराहारी पुग्ने अनुमान आयोगका पदाधिकारीले गरेका छन् । ती मध्ये भूमिहीन दलित १५ प्रतिशत, भूमिहीन सुकुम्बासी २० प्रतिशत र अव्यवस्थित बसोबासी ६५ प्रतिशत हाराहारी रहेको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जानकारी दिए। निवेदन सङ्कलन भएकामध्ये छ लाखको ‘कम्प्युटर इन्ट्री ’ भइसकेको छ भने दैनिक पाँच हजार हाराहारीमा ‘इन्ट्री’ को काम भइरहेको छ ।

निवेदन सङ्कलन भएकामध्ये छ लाखलाई निस्सा वितरण गरिसकिएको छ । कम्प्युटर इन्ट्री बाँकी रहेकालाई पनि निस्सा भने वितरण गरिएको छ । आयोगले पाँच सय ३० स्थानीय तहहरूसँग कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम अघि बढाएको छ । बाँकी स्थानीय तहमा यसअघि नै सहमति भई काम भइरहेको थियो । यही भदौ २ गतेबाट २४० स्थानीय तहमा लगत सङ्कलन फर्म भर्ने काम भइरहेको उनले जानकारी दिए । तीबाहेकका पालिकामा यो काम भइसकेको छ ।

पहिला फर्म भरेका पालिकामा छुटेकाका लागि दोस्रो पटक सूचना आह्वान गरिएको उपाध्यक्ष खड्काले बताए । ३३ स्थानीय तहमा लालपुर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोगले २०७८ भदौमा काम थाल्दा निवेदन सङ्कलन गरिएको भए पनि कम्प्युटर इन्ट्री थोरै मात्र भएको खड्काले जानकारी दिए । आयोगले यसअघिका अधुरा कामसमेत गरिरहेको छ । यसअघिका आयोग, कार्यदल, जग्गा दर्ता समितिले काम गर्दा छुटेका र समस्या देखिएकालाई सम्बोधन गर्ने काम भइरहेको उनले जानकारी दिए।

आयोगले सहरी र ग्रामीण क्षेत्रमा प्रयोजनका आधारमा एक सय ३० वर्ग मिटरदेखि एक बिघा १० कट्ठासम्म जग्गा दिने व्यवस्था गरेको छ । ठाउँअनुसार क्षेत्रफल धेरै र थोरै छ । चालु आर्थिक वर्षमा पाँच लाखलाई लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको उनको भनाइ छ । बाँकीलाई आउँदो वर्ष लालपुर्जा वितरण गर्न सकिने खड्काले बताए । उनले भने, “हामीले लिएको लक्ष्यअनुसार काम सम्पन्न प्राविधिक र स्रोत साधन थप चाहिन्छ ।”

स्थानीय तहहरुले समन्वय र सहयोग गरेका ठाउँमा काम छिटो अघि बढेको छ । उनका अनुसार भरतपुर महानगरपालिकामा आयोगको काम धेरै सम्पादन भएको छ । महानगरपालिकाले प्राविधिक जनशक्तिसँगै आवश्यक उपकरण खरिद गरेर कामलाई छिटो गर्न सहयोग गरेको छ । नापजाँचका लागि आयोगसँग न्यून उपकरण छन् ।

महानगरपालिकाले आफैँले खरिद गरेर ‘हाई रिजुलेसन सेटलाइट इमेज’ आयोगलाई उपलब्ध गराएको छ । उपाध्यक्ष खड्काले भने, “भरतपुर महानगरपालिकाले झैँ प्राथमिकता दिएमा छिट्टै भूमिहीनलाई पुर्जा वितरण गर्न सकिन्छ ।”

अन्य पालिकाले पनि सहजीकरण गरिरहेको हुँदा काममा सहजता आएको उनको भनाइ छ । आयोगमा परेका निवेदन ९१ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकको समेत छ । उनीहरू पुस्तौँदेखि लालपुर्जाविहीन भएर बसेकासमेत छन् ।

भ्रष्टाचारको जगमा बनेको ओली सरकार ढाल्नैपर्छः लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको ढोकाबाट प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस भएको आरोप लगाएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेले कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा ओलीले जनतालाई सधैँ दुःखमा राखेर र आफूलाई डेढ वर्ष लगाएर झुटो मुद्दामा फसाएको बताए । उनले सरकार नढलेसम्म ओलीले निर्दोष मान्छे फसाउँदै जाने भएकाले सरकार ढल्नुपर्ने तर्क पनि गरे । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । म फेरि पनि भन्छु – न्याय अदालतको एकदमै धेरै विश्वास गर्छु ।’ आफू अदालती प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले थपे, ‘यिनीहरूको यो वर्चस्व र राज्यसत्ता कब्जा गर्ने, आफ्ना मान्छे भर्ने र जनतालाई सधैँ दुःखमा राख्ने अन्तिम लडाइँ हो । राम्रो मान्छे फसाउने यिनीहरूको सत्ता अब अन्त्य हुनुपर्छ । पोखरामा भएका र देश विदेशबाट नेपाली नागरिकहरू एक भएर सरकारको विरोध गर्न अनुरोध गर्छु ।’

रास्वपा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप, पानीका फोहरा र अश्रुग्याँस प्रहार

पोखरा। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको छ । पार्टीका सभापति रवि लामिछानेलाई 'राजनीतिक प्रतिशोध' मा समातिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

म न्यायिक प्रक्रियालाई सघाउन आएको छुः लामिछाने

पोखरा।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई लाई सघाउन आएको बताएका छन् । आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘ म न्याय प्रक्रियालाई लाई सघाउन आएको छु ।’  उनले सरकारको राज्य सत्ता कब्जा गर्ने आफ्नो बर्चस्व कायम गर्ने योजना रहेको समेत उनले बताए । ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने । आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् । सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने ।

एमालेको पार्टी कार्यालय बनाउन अखिल क्रान्तिकारीले थाल्यो एक रूपैयाँ दान अभियान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध अनेरास्ववियु क्रान्तिकारीले नेकपा (एमाले)ले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरूङसँग जग्गा दान लिएको भन्दै प्रतीकात्मक विरोध प्रदर्शन गरेको छ। आइतबार अखिल क्रान्तिकारीको प्राविधिक जिल्ला समितिले एमाले पार्टी कार्यालय बनाउन एक रूपैयाँ सहयोग संकलन सुरू गरेको हो। प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसअगाडि भेला भएका विद्यार्थी नेता कार्यकर्ताहरूले नाराबाजी गर्दै सहयोग संकलन सुरू गरेका छन्। एमालेले काठमाडौंको कीर्तिपुरमा व्यवसायी गुरूङले दिएको जग्गामा पार्टी कार्यालय भवनको शिलान्यास गरेको थियो। सत्तारूढ दलले व्यवसायीसँग चन्दा लिएर पार्टी कार्यालय बनाउन लागेको भन्दै आलोचना भइरहेका बेला अखिल क्रान्तिकारीले उक्त विरोध प्रदर्शन गरेको हो।

लोकप्रिय