भारतीय प्रस्ताव: सचिवस्तरीय द्विपक्षीय बैठक महिनापिच्छे बसाैँ

भारतीय प्रस्ताव: सचिवस्तरीय द्विपक्षीय बैठक महिनापिच्छे बसाैँ

भारतले सचिवस्तरीय द्विपक्षीय संयन्त्रका बैठक हरेक महिना आयोजना गर्न नेपालसामु प्रस्ताव राखेको छ । नेपालमा आफ्ना लगानीमा सञ्चालित परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि नियमित छलफल गर्न तथा आवश्यक नयाँ परियोजना पहिचान गर्नसमेत सहयोगी हुने गरी अन्तर्देशीय सचिवस्तरीय संयन्त्रका बैठक हरेक महिना आयोजना गर्न प्रस्ताव गरेको हो ।

नेपाल-भारतबीच परराष्ट्र, वाणिज्य, ऊर्जा, गृहसचिव, सहसचिव तथा प्राविधिक तहका ३० भन्दा बढी द्विपक्षीय संयन्त्र छन् । तर, ती सबै संयन्त्र क्रियाशील छैनन् । भारतले नियमित बैठक बसेर परियोजना कार्यान्वयनमा देखिएका समस्या निराकरण गर्न आवश्यक कदम तत्कालै चाल्ने धारणा नेपालसामु राखेको छ।

प्रधानमन्त्री, परराष्ट्रमन्त्री, सचिव तथा सहसचिव तहमा हालै भएका उच्चस्तरीय भेटवार्ता तथा छलफलमा भारतले यससम्बन्धी मौखिक प्रस्ताव राखेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा समेत भारतले यो विषय उठाएको थियो । देउवाको भ्रमणमा जारी संयुक्त वक्तव्यमा दुई देशबीच विद्यमान संयन्त्र क्रियाशील गराउने उल्लेख छ ।

भारतीय विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने सहसचिव सुधाकर दलेलाले परराष्ट्र मन्त्रालयमा भारत महाशाखा हेर्ने सहसचिव भृगु ढुंगानासँग यसबारे छलफल गरेका छन् । दलेलाले सचिवस्तरीय सबै संयन्त्र क्रियाशील गराउन र देखिएका समस्या हल गरी अघि बढ्न भारतले चाहेको बताएका थिए । भारतले हरेक महिनाजस्तो बैठक बस्न प्रस्ताव गरे पनि नेपाली पक्षले त्यसप्रति उत्साहजनक प्रतिक्रिया दिएको छैन ।

‘भारतीय पक्ष परियोजना कार्यान्वयनमा जान नसकेकोमा निकै चिन्तित देखिएको छ । हामी पनि परियोजना टुंग्याउन राजनीतिक तथा प्रशासनिक दुवै तहमा संवाद गरिरहेका छौं । तर भारतसँग हरेक महिना सचिवस्तरीय संयन्त्रका बैठक बस्नु व्यावहारिक रूपमा सम्भव हुँदैन’ एक वरिष्ठ अधिकारीले भने।

नेपाल—भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगले दुवै देशको सम्बन्धको बृहत्तर छलफल गर्ने म्यान्डेट पाएको छ । यो संयन्त्रको बैठक सन् २०१४ यता दुईपटक बसेको छ । संयन्त्रको बैठकले लिएका अधिकांश निर्णय व्यावहारिक रूपमा कार्यान्वयन हुन सकिरहेका छैनन् । संयन्त्रले वाणिज्य, व्यापार, सुरक्षा, कनेक्टिभिटी, सीमा व्यवस्थापनलगायत दर्जनभन्दा बढी मामिलामा निर्णय लिन सक्छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अघिल्लो वर्ष असोजमा सम्पन्न भारत भ्रमणमा परियोजना अनुगमन गर्न संयुक्त संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिजम) गठन भएको थियो । संयन्त्रको बैठकमा परराष्ट्रसचिवले नेपालका तर्फबाट नेतृत्व गर्छन् । काठमाडौंस्थित भारतीय राजदूतले बैठकमा भारतीय पक्षको नेतृत्व गर्छन् ।

गठन भएयता संयन्त्रको बैठक चार पटक बसेको छ । संयन्त्रको बैठकले द्विपक्षीय विकास परियोजना निर्माण सक्न समयावधि तोक्ने कार्यादेश पाएको छ । तर, पञ्चेश्वरजस्ता ठूला परियोजनाबारे संयन्त्रको बैठकमा साधारण छलफलबाहेक केही हुन सकेको छैन । ‘यस्तो संयन्त्रमा परियोजना कार्यान्वयनबारे साधारण छलफल हुन सक्छ तर पञ्चेश्वरजस्ता ठूला परियोजनाका लागि उच्च तहको राजनीतिक निर्णय र प्राविधिक विषय महत्वपूर्ण हुन्छन्’, अर्का एक अधिकारीले भने।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगका परियोजना कार्यान्वयनमा भएका ढिलासुस्तीबारे व्यक्तिगत चासो दिइरहेको भारतस्थित नेपाली दूतावासका अधिकारीले बताए ।

सीमा विवादलगायत द्विपक्षीय मामिला हेर्न परराष्ट्रसचिव स्तरमा मुख्य संयन्त्र स्थापित छ । भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी र सुस्ताबारे छलफल गर्ने र सरकारलाई ठोस सुझाव दिने म्यान्डेट पाएको यो उच्चस्तरीय संयन्त्रको बैठक एकपल्ट पनि बसेको छैन । त्यस्तै सीमा विवाद हेर्न दुवै देशका नापी विभागका महानिर्देशक र उपमहानिर्देशक तहका संयन्त्र पनि छन् । ती संयन्त्रका बैठक नियमित रूपमा दुवै देशमा भइरहेका छन् । -अन्नपुर्णपाेष्टबाट

आज त्रिविका १४ हजार बढी विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिविले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्न लागेको हो ।  यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।  परीक्षा नियन्त्रक जोशीले गत वर्षभन्दा यसपटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका जानकारी दिए । उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित हुँदैछन् । 

आधा महिनामा पश्चिम नेपालमा सात वटा परकम्प

काठमाडौं । यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो । पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेटमा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ । विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो । विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको हो ।

माओवादी केन्द्रको ठहर– सरकार निजामति ऐनमा ढिलाई गर्न चाहन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्न सरकारले ढिलो गर्न खोजेको आरोप लगाएको छ। शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले निजामती विधेयकमा ढिलाइ गरिरहेको आरोप लगाएका हुन्। उनले समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरू मात्रै आउने र मन्त्री नआउने गरेको गुनासोसमेत गरे। मन्त्रालयले आफ्ना धारणा नराख्ने र सांसदहरूलाई मात्रै बोल्न लगाउने गर्दा सार्थक छलफल नहुने उनको भनाइ थियो। उनले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्यहाँ बस्ने हाम्रा कर्मचारीहरू सबैभन्दा बढी आउनुपर्ने हो। जसले डे टु डे कर्मचारीलाई परेका समस्या केके हुन्, राष्ट्रलाई परेका समस्या केके हुन्, विकास गर्नलाई र अझ यसलाई राम्रो बनाउन केके गर्नुपर्छ भनेर त्यो मन्त्रालयसँग सम्बन्धित छलफल, धारणा, कहिले बुझ्ने हो? मलाई लाग्छ, सबैभन्दा महत्त्वपूर्णवस्तु यो हो। सामान्य प्रशासन हेर्ने मन्त्रीज्यू नै नआउने, त्यसपछि हामी छलफल अघि बढाइरहने? आफ्नो कुरा नराख्ने, टिमले टिप्ने मात्रै। यो विधेयकलाई कतै ढिलो गर्न खोजेको पो हो कि? यो विधेयक त संघीयतासँग सम्बन्धित विधेयक हो। यो विधेयकले त प्रदेशमा असर गरेको छ। यसले त संघीयता कार्यान्वयनलाई असजिलो बनाएको छ।’ बैठकमा एमाले सांसद ठाकुरप्रसाद गैरेले निजामती क्षेत्रमा प्रवेशको प्रक्रियालाई निष्पक्ष, पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताए। जागिरको समग्र आवधिक र समग्र मूल्यांकनको लागि ऐनले निश्चित दिशानिर्देश गर्नुपर्ने उनको धारणा थियो। दण्ड सजाय र पुरस्कारको प्रबन्धका बारेमा यसले स्पष्ट दिशानिर्देश गर्नुपर्ने पनि उनको धारणा थियो।  

गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्ने लगायत विभिन्न सात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष अशोककुमार घिमिरेसहितले ध्यानाकर्षणपत्र बुझाउनुभएको हो ।  प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक गत २०८० माघ २४ गते पश्चात् नबसेकाले अघिल्लो बैठकमा पेस भइ निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने माग गरिएको छ । यस्तै समानीकरण अनुदान कटौती नगर्न, स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणको आरका वृद्धि गर्न, राष्ट्रिय भूमि आयोगका काम छिटो सम्पादन गराउन र जिल्ला समन्वय समितिलाई स्रोतसाधन सम्पन्न बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।  प्रधानमन्त्री ओलीले संविधानबमोजिम स्थानीय सरकारलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । 

लोकप्रिय