भूकम्प अतिप्रभावित जिल्लामा प्रविधिज्ञ पुनः खटिँदै
काठमाडौँ, साउन ३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित जिल्लाबाट आएका गुनासोलाई सम्बोधन गर्न प्रविधिज्ञ पुनः खटाउने भएको छ ।
भूकम्पबाट क्षति भएका निजी घरको मापदण्ड निर्धारणका लागि प्राधिकरणले ३१ जिल्लामा ३०१ प्रवृधिज्ञलाई परिचालन गर्न लागेको हो । व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले परिचालित प्रविधिज्ञले आफ्नो काम आगामी भदौको पहिलो हप्तासम्ममा सम्पन्न गर्ने र यसबाट सबै खालका गुनासा पनि सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्राधिकरणका अनुसार हालसम्म ती जिल्लामा निजी आवासअन्तर्गत एक लाख १३ हजार भूकम्प प्रतिरोधी आवास निर्माण सम्पन्न भइसकेको, थप ४५ हजार घरको मापदण्ड परीक्षण भइरहेको र सहुलियत दरमा व्यक्तिगत तथा सामूहिक ऋण अनुदानसम्बन्धी कार्यविधि लागू हुने चरणमा रहेको छ ।
उहाँले निजी आवास निर्माण छिटो होस् भन्नाकै लागि आगामी असार मसान्तको समय सीमा निर्धारण गरिएको स्पष्ट गर्दै भारत, पाकिस्तान र इण्डोनेशियाको तुलनामा पुनःनिर्माण कार्य ढिलो नभएको जिकिर गर्नुभयो ।
बैठकमा समितिका सभापति रवीन्द्र अधिकारीले प्राविधिकरणले पुनः निर्माणका कामको प्रगति कागजमा होइन, जनताले अनुभूति हुने खालको हुनुपर्छ भन्नुभयो । उहाँले भूकम्पले क्षति पु¥याएका विद्यालय, स्वास्थ्य, सडक र खानेपानी, सरकारी भवनका पुनःनिर्माण सुस्त रहेको बताउँदै जनगुनासा सम्बोधनमा पहिलो ध्यान दिन प्राधिकरणलाई आग्रह गर्नुभयो ।
सांसद ललितजंग शाहीले भूकम्प अतिप्रभावित १४ जिल्लामा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिरोध कार्यक्रमले निजी आवास निर्माण सहयोग, स्वास्थ्य, सरसफाइ, आयआर्जन, खानेपानी तथा सरसफाइ नमूना कार्यक्रम बनेको बताउँदै यसबाट गैरसरकारी संस्थाले कसरी काम गर्दा रहेछन् भन्ने कुरा सरकारले सिक्नुपर्छ भन्नुभयो ।
सांसद जगदीशनरसिंह केसीले निजी आवास निर्माण गर्न गाउँगाउँमा निर्माण सामग्रीको अभाव रहेको र पु¥याउन अप्ठ्यारो रहेको तथा बनेका घरको प्रमाणीकरण गर्न झन्झटिलो प्रक्रिया रहेको बताउँदै नुवाकोटमा रेडक्रसले निजी आवास निर्माणलगायत अन्य क्षेत्रमा उत्कृष्ट सहजीकरण गरेको जानकारी दिनुभयो ।
सांसद मोहनबहादुर बस्नेतले जनता आफैँले बनाएका घरको प्राधिकरणले प्रमाणीकरण गर्दा प्रविधिज्ञले दुःख दिने गरेको र आफ्नो जिल्लाका जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न ध्यान नदिइएको गुनासो गर्नुभयो ।
सांसद गुरुप्रसाद बुर्लाकोटीले प्राधिकरणलाई पुनःनिर्माणको कामलाई स्थानीय तहलाई नै हस्तान्तरण गर्न सुझाव दिँदै अझै पनि भूकम्प पीडितले निजी आवास निर्माण गर्न अनुदान पाउनबाट छुटेको बताउनुभयो ।
सांसद प्रकाश पौडेलले किन सिंहदरबार पुनःनिर्माण ढिलासुस्ती भएको भन्ने प्रश्न गर्दै यसले गर्दा ग्रामीण क्षेत्रमा नकारात्मक सन्देश गएको छ भन्नुभयो ।
सांसद जनार्दन ढकालले निजी आवास अनुदान प्राप्त गर्न रसुवाका धेरै भूकम्प पीडित छुटेको तथा विद्यालय र स्वास्थ्य संस्था बनाउन ढिलाइ भएको गुनासो गर्नुभयो ।
आज त्रिविका १४ हजार बढी विद्यार्थी दीक्षित हुँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिविले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । परीक्षा नियन्त्रक जोशीले गत वर्षभन्दा यसपटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका जानकारी दिए । उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित हुँदैछन् ।
आधा महिनामा पश्चिम नेपालमा सात वटा परकम्प
काठमाडौं । यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो । पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेटमा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ । विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो । विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको हो ।
माओवादी केन्द्रको ठहर– सरकार निजामति ऐनमा ढिलाई गर्न चाहन्छ
काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्न सरकारले ढिलो गर्न खोजेको आरोप लगाएको छ। शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले निजामती विधेयकमा ढिलाइ गरिरहेको आरोप लगाएका हुन्। उनले समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरू मात्रै आउने र मन्त्री नआउने गरेको गुनासोसमेत गरे। मन्त्रालयले आफ्ना धारणा नराख्ने र सांसदहरूलाई मात्रै बोल्न लगाउने गर्दा सार्थक छलफल नहुने उनको भनाइ थियो। उनले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्यहाँ बस्ने हाम्रा कर्मचारीहरू सबैभन्दा बढी आउनुपर्ने हो। जसले डे टु डे कर्मचारीलाई परेका समस्या केके हुन्, राष्ट्रलाई परेका समस्या केके हुन्, विकास गर्नलाई र अझ यसलाई राम्रो बनाउन केके गर्नुपर्छ भनेर त्यो मन्त्रालयसँग सम्बन्धित छलफल, धारणा, कहिले बुझ्ने हो? मलाई लाग्छ, सबैभन्दा महत्त्वपूर्णवस्तु यो हो। सामान्य प्रशासन हेर्ने मन्त्रीज्यू नै नआउने, त्यसपछि हामी छलफल अघि बढाइरहने? आफ्नो कुरा नराख्ने, टिमले टिप्ने मात्रै। यो विधेयकलाई कतै ढिलो गर्न खोजेको पो हो कि? यो विधेयक त संघीयतासँग सम्बन्धित विधेयक हो। यो विधेयकले त प्रदेशमा असर गरेको छ। यसले त संघीयता कार्यान्वयनलाई असजिलो बनाएको छ।’ बैठकमा एमाले सांसद ठाकुरप्रसाद गैरेले निजामती क्षेत्रमा प्रवेशको प्रक्रियालाई निष्पक्ष, पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताए। जागिरको समग्र आवधिक र समग्र मूल्यांकनको लागि ऐनले निश्चित दिशानिर्देश गर्नुपर्ने उनको धारणा थियो। दण्ड सजाय र पुरस्कारको प्रबन्धका बारेमा यसले स्पष्ट दिशानिर्देश गर्नुपर्ने पनि उनको धारणा थियो।
गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्ने लगायत विभिन्न सात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष अशोककुमार घिमिरेसहितले ध्यानाकर्षणपत्र बुझाउनुभएको हो । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक गत २०८० माघ २४ गते पश्चात् नबसेकाले अघिल्लो बैठकमा पेस भइ निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने माग गरिएको छ । यस्तै समानीकरण अनुदान कटौती नगर्न, स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणको आरका वृद्धि गर्न, राष्ट्रिय भूमि आयोगका काम छिटो सम्पादन गराउन र जिल्ला समन्वय समितिलाई स्रोतसाधन सम्पन्न बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । प्रधानमन्त्री ओलीले संविधानबमोजिम स्थानीय सरकारलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।