भेरी–बबई डाइभर्सनकाे सुरुङ कार्तिकबाट खन्न शुरु हुने

भेरी–बबई डाइभर्सनकाे सुरुङ कार्तिकबाट खन्न शुरु हुने

काठमाडौँ, असार १४ गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न थालिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम द्रुत गतिमा सञ्चालन भइरहेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने काम कात्तिक  महिनाबाट सुरु गरिनेभएको छ ।

भेरी नदीको पानी सुरुङमार्फत बबई नदीमा खसालेर सिँचाइ तथा जलविद्युत् निकाल्ने बहुउद्देश्यीय लक्ष्य राखेको यो आयोजनामा हालसम्म १५० मिटर सुरुङ मानिसले हातले खनेका हुन्  । आयोजनाको सुरुङ खन्नका लागि मेसिन राख्ने ठाउँ बनाउन यो १५० मिटर सुरुङ खनिएको आयोजनाका निर्देशक शिवकुमार बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो, सुरुङ खन्ने मेसिन राख्नका लागि हामीले हातले (म्यानुअल)  १५० मिटर जति सुरुङ खनिसकेको छौँ । त्यो  ठाउँमा मेसिन राखेर धमाधम सुरुङ खन्ने काम आगामी कात्तिक महिनाबाट सुरु हुनेछ ।
टनेल बोरिङ मेसिन (टीबीएम) विदेशबाट आयात गरिँदै छ । सो मेसिन नेपालमा आइसकेपछि फिटिङ गर्न कम्तीमा अढाई महिना लाग्ने आयोजनाले बताएको छ ।
आयोजनाका डिभिजनल इन्जिनियर मिनराज ढकालका अनुसार सो मेसिन चीनको साङ्घाईबाट कलकत्ता बन्दरगाहका लागि लोड भइसकेको छ । कलकत्ता बन्दरगाहबाट आयोजनास्थलसम्म ल्याई पु¥याउने बित्तिकै जडानको काम सुरु गरिने भएको छ । आधुनिक टनेल बोरिङ मेसिनका अधिकांश भाग चीनमा बनेको भए पनि केही पार्टपुर्जा अमेरिकी कम्पनीले बनाउने भएकाले मेसिन खरिदका लागि अग्रिम जानकारी गराउनुपर्ने र केही समय लाग्ने भएको आयोजनाले जनाएको छ ।

सो मेसिनले सुर्खेतको हात्तीखालदेखि चिप्लेसम्मको ४.२ ब्यास (डाइमिटर) को १२ किलोमिटर सुरुङ खन्ने काम गर्नेछ । चिनियाँ निर्माण ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको टनेल खन्नेलगायतका अन्य संरचना आगामी सन् २०२० को मार्चसम्म  सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।  यो कार्यका लागि वि.सं. २०७१ साल माघ १५ गते सरकारले यो कम्पनीसँग सम्झौता गरेको थियो । सो चिनियाँ कम्पनीले चार वर्ष १० महिनामा कार्य सम्पन्न गर्ने प्रतिबद्धता सम्झौतापत्रमा गरेको छ ।
आयोजना निर्देशक बस्नेतलका अनुसार बहुउद्देश्यीय यो योजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने भएको छ भने ४८ मेगावाट जलविद्युत् उत्पादन हुनेछ । सुरुङ निर्माण गर्नका लागि मात्र १० अर्ब ५६ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजनाको निर्माणपछि बिजुलीबाट वार्षिक रूपमा दुई अर्ब र सिँचाइतर्फ वार्षिक अढाई अर्ब रुपियाँ फाइदा हुने सरकारी अनुमान रहेको छ ।
आयोजनाले काम गर्न थालेको छोटो अवधिमा आयोजना निर्माणस्थलसम्म पुग्ने पहुँच मार्ग झण्डै अढाई किलोमिटर निर्माण भइसकेको छ । आधुनिक टनेल बोरिङ मेसिन राख्नका लागि १५० मिटरको सुरुङ पनि निर्माण भइसकेको छ । मेसिन फिट गर्दा चाहिने प्लेटफर्मको समेत निर्माण भइसकेको आयोजना निर्देशक बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, भूकम्पले गर्दा एक÷दुई महिनाबाहेक अरू बेला द्रुत गतिमा काम भइरहेको छ । निर्माण कम्पनीको हालसम्मको काम हेर्दा निर्धारित समयमा तोकिएको काम सम्पन्न हुनेमा आशावादी भएका छौँ ।

टनेल बोरिङ मेसिन जडान भएपछि प्रतिदिन कम्तीमा १५ मिटरका दरले खन्ने अनुमान गरिएको छ । कुनै बाधा व्यवधान र अवरोध नआएमा करिब पाँच वर्षभित्र टनेलको काम पूरा हुने बताइएको छ । आयोजनाका डिभिजनल इन्जिनियर ढकालले भन्नुभयो, पहाडभित्रको भौगर्भिक अवस्था यस्तै छ भन्न त सकिँदैन तर पनि काम गर्दै जाँदा भित्र कमजोर भू–भाग नपरेको खण्डमा निर्धारित समयमा काम पूरा गर्न सकिन्छ ।
सुरुङ निर्माण गर्नका लागि काम सुरु भइसकेको भए पनि विद्युत् उत्पादन आयोजनाका लागि हालसम्म ठेक्कापट्टा हुनसकेको छैन । पावर हाउस र हेडवक्र्स निर्माणका लागि छुट्टै ठेक्कापट्टा गर्ने तयारी सरकारले गरिरहेको छ ।

आयोजना निर्देशक बस्नेतका अनुसार विद्युत् उत्पादनका लागि सम्भाव्यता अध्ययन प्रतिवेदनको पुनरावलोकन गर्ने कार्य हाल भइरहेको छ । यसका लागि सरकारले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरिरहेको छ ।

सन् २०११ तिर पावरहाउस र डाइभर्सन हेडवक्र्सका लागि भएको सम्भाव्यता अध्ययनलाई  पुनरावलोकन गरेर अन्तिम रूप दिने तयारीका साथै आगामी आर्थिक वर्षमा ठेक्कापट्टा गरिनेभएको छ ।

प्रभावितलाई सुविधासम्पन्न बस्ती

विकास आयोजनाबाट प्रभावित सुर्खेतको हात्तीखालका परिवारलाई आयोजनाले सुविधासम्पन्न बस्ती विकास गर्ने योजना पनि बनाएको छ । आयोजना निर्देशक बस्नेतका अनुसार ‘भेरी–बबई डाइभर्सन आयोजना भिलेज’ नाम दिइने सुविधासम्पन्न बस्तीमा एउटै आकार र डिजाइनका घर निर्माण गरिनेछ । जसका लागि आयोजनाले काम सुरु गरिसकेको छ । यो बस्तीमा सिँचाइ सुविधा, खानेपानी, बिजुली तथा बाटोघाटोको व्यवस्था गरिनेछ । आयोजनाबाट प्रभावित सुर्खेत र बर्दियाका आठवटा साविकका गाउँ विकास समितिमा सिँचाइ पोखरी, खानेपानीका लागि सौर्य प्रणाली जडानजस्ता कार्य पनि सञ्चालन भइरहेका आयोजनाले जनाएको छ ।

त्यसैगरी यो आयोजनाबाट प्रभावित सुर्खेत र सल्यानका २६ साविक गाउँ विकास समितिमा सिँचाइ पु¥याउने लक्ष्यसहित भेरी–बबई सहायक आयोजनाका रूपमा भेरी करिडोर आयोजना  सुरु गरिएको छ । प्रभावित ती क्षेत्रका खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउन सोलार लिफ्ट तथा सतह सिँचाइ र सिँचाइ पोखरीजस्ता  कार्यक्रम सुरु भइरहेका आयोजनाले जनाएको छ ।

गोर्खापत्र दैनिकबाट

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय