मंगलबार सुन्दरीजलकै सर्वसाधारणले पानी नपाएपछि खानेपानी र वडा कार्यालयमा घेराउ

मंगलबार सुन्दरीजलकै सर्वसाधारणले पानी नपाएपछि खानेपानी र वडा कार्यालयमा घेराउ

काठमाडौँ । काठमाडौँ उपत्यकाकै सबभन्दा बढी पानीको स्रोत सुन्दरीजल क्षेत्रकै धारामा डेढ महिनादेखि पानी नझरेपछि स्थानीयवासी महिलाले आज खानेपानी र वडा कार्यालय घेराउ गरेका छन् ।

यस क्षेत्रका धारामा माघ लागेदेखि नै पानी खसेको छैन । पानीको स्रोत भएका क्षेत्रमै पानी खोज्न हिँड्नुपरेको जनाउँदै स्थानीय महिलाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका सुन्दरीजल प्रशोधन केन्द्र र गोकर्णेश्वर नगरपालिका वडा नं १ कार्यालय घेराउ गरे ।

पटक पटक खानेपानी कार्यालयमा खबर गर्दा पनि पानीको मुहान क्षेत्रमा खानेपानी नआएपछि घेराउ गर्न बाध्य हुनुपरेको स्थानीयवासी पुष्पा पोखरेलले बताईन्। “अन्तका मानिसले सुन्दरीजलमा त पानीको दुःख नहोला नि भन्छन्, तर यहीँका धारामा डेढ महिनादेखि पानी आएको छैन, प्रत्येक दिन ढुंगेधारामा पानी लिन जानुपर्छ, ढुंगेधारा थोरै भएकाले एक गाग्री पानीका लागि दैनिक तीन घण्टाको लाम बस्न बाध्य हुनुपरेको छ”, उनले भनिन् ।

पानी प्रशोधन केन्द्र कार्यालय सुन्दरीजलले भने एक दिन बिराएर सुन्दरीजल क्षेत्रमा पानी वितरण गरिएको जिकिर गरेको छ । कार्यालय प्रमुख वसन्त पाल वाग्मतीमा पानी सुके पनि मुहान क्षेत्रमा एक दिन नदिइए अर्को दिन पानी पठाइने गरिएको बताउछन् । “जनघनत्व कम भएका बेला दुई इञ्चको पाइपमा यस क्षेत्रमा पानी वितरण गरिएको थियो, अहिले घर बढेका छन्, पानी वितरण गर्ने पाइप बढाइएको छैन, कार्यालयले एक दिन बिराएर पानी वितरण गर्दा पनि सानो पाइपका कारण कतै पानी जाने र कतै नजाने समस्या छ”, उनले भने।

सुन्दरीजल प्रशोधन केन्द्रमा हाल ४५ लाख लि पानी प्रशोधन गरी माथिदेखि नै वितरण हुन्छ । दुई करोड ५५ लाख लि पानी भने सुन्दरीजलबाट महाँकालचौर ल्याई प्रशोधन गरेर वितरण गरिन्छ । वाग्मती नदीको स्रोतबाट हाल दैनिक तीन करोड लि पानी वितरण भइरहेको कार्यालय प्रमुख पालले जानकारी दिए। । वर्षायाममा भने यहाँबाट दैनिक पाँच करोड लि पानी वितरण गरिन्छ । यो उपत्यकामै धेरै पानीको स्रोत भएको क्षेत्र हो ।

वडाध्यक्ष राम मानन्धर डेढ महिनादेखि मुहान क्षेत्रकै धारामा पानी नआएको समस्या लिएर स्थानीय महिला आएपछि खानेपानी कार्यालयमै लगेर कार्यालय प्रमुखसँग छलफल गरिएको बताउछन् । “सुन्दरीजल क्षेत्रको केही भागका धारामा गोकर्णमा ‘गेटभल्भ’ बन्द नगरी पानी आउँदैन, मुहान क्षेत्रमा २४सै घण्टा पानी आउने गरी व्यवस्था गर्न खानेपानी कार्यालयमा माग गरिएको छ, मेलम्चीको पानी प्रशोधनका लागि पनि यही प्रशोधन केन्द्र निर्माण भएकाले मेलम्चीको पानी यहाँ पनि वितरणको व्यवस्था मिलाउन पत्राचार गरिएको छ”, उनले भने।

मुहान क्षेत्रकै धारामा पानी आउने व्यवस्था नगरे मेलम्चीको पानी आएपछि प्रशोधन केन्द्रबाट वितरणमा अवरोध गर्ने चेतावनी स्थानीयवासीले दिँदै आएका छन् । गोकर्णेश्वर नगरपालिकाका वडा नं २, ४, ५, ६, ७, ८ र ९ का धारामा पनि पानी आउँदैन । नगरपालिकाका नयाँपाटी, गोकर्ण, अत्तरखेल, बेसीगाउँ, जोरपाटी र नयाँबस्ती क्षेत्रमा पनि पानी नआएको दुई महिनाभन्दा बढी भएको स्थानीयवासीको गुनासो छ ।

नगर प्रमुख सन्तोष चालिसे मुहान क्षेत्रका वडामा पानी आउने व्यवस्था नभए मेलम्चीको पानी रोक्न बाध्य हुनुपर्ने चेतावनी सरकारका सम्बन्धित निकायलाई दिइएको बताउछन्। । पानी आउनुभन्दा वर्षौंअघिदेखि गरिएको अनुरोध कार्यान्वयन नभई पानी रोक्दा हुने क्षतिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने उनको भनाइ छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय