मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म

मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म

“पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?” आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर—११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञासा आउने गरेका छन् ।

यस पटक आयोगले कम खर्च र स्मार्टरुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तहमा यसका लागि घरदैलोमा टोली पठाएको छैन । त्यसरी टोली नजाँदा बदर मत बढ्ने त होइन ? भन्ने प्रश्न पनि उत्पन्न भएका बेला निर्वाचन आयोगले श्रव्यदृश्य सामग्री र विभिन्न सन्देश तयार गरेर आयोगको आफ्नै फेसबुक, युट्युब, ट्वीटर, भाइबरमा नियमित प्रसारण गरिरहेको छ । आयोगले विशिष्ट व्यक्ति, लोकप्रिय कलाकार र व्यक्तित्वहरूलाई समेटेर निर्वाचनको महत्व, आचारसंहिताका व्यवस्थाका विषयका आधारमा सन्देश तयार गरेको छ ।

जोगीले फेरि लगाउने शैलीमा मनोज गजुरेल, पुराणवाचक दीनबन्धु पोखरेलको पुराण वाचनको क्यारिकेचरमा कलाकार सुवोध गौतमले मतदातालाई स्थानीय तह निर्वाचनबारे सरलरुपमा बुझाउने सन्देश पस्किएका छन् । यस्तै वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कलाकारहरु सीताराम कट्टेल र कुञ्जना घिमिरे, (धुर्मुस—सुन्तली), केदार घिमिरे (माग्ने बुढा), दीपकराज गिरी, दिपाश्री निरौलालगायत, दमन रुपाखेतीका प्रस्तुतिका साथै गायकहरू पशुपति शर्मा र मनमाया वाइवाको लोकदोहोरी पनि मतदाता शिक्षा सन्देशका रुपमा प्रयोग गरिएको छ ।

निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले ती सन्देशलाई १६ राष्ट्रिय दैनिक र २८ टेलिभिजन (रेडियो नेपाल, नेपाल टेलिभिजनसहित) बाट पनि प्रसारण भइरहेको छ । निर्वाचन तथा मतदाता शिक्षा नीति, २०७८ र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ स्वीकृत गरी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन् ।

उनले आयोगले ब्रोसर, लिफ्टलेट, पर्चा, पम्प्लेट, नमूना मतपत्र, पोष्टरलगायतका सामग्री छपाई गरेर वितरण पनि गरिसकेको र कसरी मतदाता गर्न सकिन्छ भन्ने सही तरिकाबारे बुँदागत सर्कुलर पनि गरिसकेको बताइन् । “हामी कागजी प्रकारको शिक्षाभन्दा यस पटक भर्चुअल माध्यमको शिक्षामा केन्द्रित भएका छौँ । यसमा दल, उम्मेदवार र नागरिक समाजको पनि सक्रिय भूमिका हुन आवश्यक छ ।” आयोगमा मतदाता शिक्षासमेत हेर्ने आयुक्त डा तुलाधरले भनिन्, “कुनै पनि मतदाता सचेतनापूवैक मतदान गर्न पाउने अधिकारबाट वञ्चित नहोस् भन्ने आयोगको मनसाय रहेको छ । हरेक रुचिका मतदातालाई सम्बोधन गर्ने गरी विविध सामग्री तयार गरेर प्रवाह गरेका छौँ ।

“आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी सो निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदानस्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदान स्थलहरुमा सम्बन्धित मतदान अधिकृतहरुको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रको वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्र लगायतका पोष्टर, ब्रोसर आदि छपाई सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरिएको छ ।

निर्देशनमा मतदान अधिकृतको नेतृत्वमा खटिएको मतदान कार्यटोली मतदानस्थलमा पुगेपछि वैशाख २८ र २९ गतेका दिन सबै मतदातालाई मतदान गर्ने तरिका र मतदाता शिक्षाको लागि उपस्थित हुन सूचना दिने र यस कार्यको लागि आवश्यकता अनुसार सर्वदलीय सर्वपक्षीय सहयोग लिने, मतदानस्थलमा उपस्थित मतदातालाई नमूना मतपत्र देखाएर मतदान गर्ने तरिकाको बारेमा निष्पक्ष रुपमा जानकारी दिने, मतदान गर्ने तरिका बारेमा मतदातालाई जानकारी गराउँदा कुनै पनि राजनीतिक दलको निर्वाचन चिन्हको नाम नलिने, मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि मतदान गर्ने दिन वैशाख ३० गते शुक्रबार बिहान ७:०० देखि अपरान्ह ५ बजेभित्र मतदान गर्न आउन आग्रह गर्ने उल्लेख रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यस्तै मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जान भन्ने, मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्ने तरिकाको बारेमा मतदातालाई मतपत्रमा सातवटा निर्वाचन चिन्हमा मतसङ्केत गरी मतदान गर्नुपर्ने, पहिलो ठाडो लहरमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, तेस्रो ठाडो लहरमा वडा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, छैठौँ र सातौँ ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारहरूको निर्वाचन चिन्हहरुमध्ये कुनै दुई निर्वाचन चिन्हमा छुट्टाछुट्टै छाप लगाई दुई उम्मेदवारलाई मतदान गनुपर्ने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन्, भने छ वडा अध्यक्षसहित ३५ स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख ९ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइसकिएको र सो बमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ ।

माओवादीविरुद्ध कांग्रेस–एमाले गठबन्धन :  एमालेको उम्मेवार चुनाव चिन्ह रुख

काठमाडौं । संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेले माओवादी केन्द्रविरुद्ध चुनावसमेत मिलेर लड्ने भएका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशका कतिपय स्थानीय तहमा यी दुई दल मिलेर चुनाव लड्न लागेको उम्मेदवारी दर्ताले देखाएको छ ।  लुम्बिनी प्रदेशको रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा एमाले उम्मेदवार कांग्रेसको चुनाव चिह्न रुखबाट लड्ने भएका छन् । दुई दलबीच भएको सहमतिअनुसार माओवादीविरुद्ध रुख चुनाव चिह्नबाट एमाले उम्मेदवार लड्ने भएका हुन् । आइतबार उम्मेदवार मनोनयन गर्नुअघि दुई दलले लिखित सहमति गरेका हुन् । सहमतिअनुसार एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन दुवै पार्टीको तर्फबाट साझा उम्मेदवार बनेकी हुन् । उनी एमाले निकट महिलाहरुको संगठन अनेमसंघकी केन्द्रीय सदस्य पनि हुन् । पुथाउत्तरगंगा माओवादीको बलियो आधार क्षेत्र भएको पालिका हो । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस(एमाले उम्मेदवारभन्दा माओवादी उम्मेदवारले दोब्बर मत ल्याएर विजयी भएका थिए । पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीले भने नरपूरा बुढालाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा पुथाउत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्रकी भूपेन्द्र बुढा ४ हजार ५९ मत ल्याएर निर्वाचित भएकी थिइन् । कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए । पुथामा ११ हजार १ सय ८० मतदाता रहेका छन् ।  माओवादी केन्द्रबाट विजयी बुढाको असोजमा बागलुङमा भएको सवारी दुर्घटनामा परेर ज्यान गएपछि उपनिर्वाचन हुन लागेको हो । पालिका उपाध्यक्षसँगै पुथा उत्तरगंगाको वडा नं. २ मा पनि कांग्रेस एमालेले साझा उम्मेदवार बनाएका छन् । वडामा भने एमालेकै जिल्ला कमिटी सदस्य जीवन रोकालाई साझा उम्मेदवार बनाइएको छ । रोका भने एमालेकै चुनाव चिह्नबाट उम्मेदवार बनेका छन् ।  वडा नं. २ का माओवादीबाट निर्वाचित जसबहादुर श्रीपालीको मृत्यु भएपछि उपचुनाव हुन लागेको हो । गत निर्वाचनमा श्रीपालीले २ सय ३४ र कांग्रेसका कर्णबहादुर बुढाले १ सय ७९ मत प्राप्त गरेका थिए । कांग्रेस जिल्ला सभापति केशरमान रोकाले दुवै दलले साझा उम्मेदवार बनाउने र साझा घोषणापत्रका आधारमा पालिका र वडाको चुनाव लड्ने गरी सहमति गरिएको बताए । सहमतिपत्रमा कांग्रेसका सभापति रोका र एमालेका जिल्ला अध्यक्ष लिलामणि गौतमले हस्ताक्षर गरेका छन् ।  दुवै दलबीच निर्वाचनपछि पनि जिल्लाका सबै कार्यक्रमका लागि साझा संयन्त्र बनाउने र आलोपालो नेतृत्व गर्ने गरी सहमति गरिएको एमाले अध्यक्ष गौतमले बताए । त्यस्तै लुम्बिनी प्रदेशकै मुसिकोट नगरपालिका–१ को वडाअध्यक्षमा हुने निर्वाचनका लागि कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपा गरी ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।  मुसिकोट नगरपालिकाका एमाले अध्यक्ष प्रकाश काफ्लेका अनुसार कांग्रेसबाट आनन्द श्रेष्ठ, एमालेबाट दलबहादुर थापा, माओवादीबाट दुर्गाबहादुर बिक, राप्रपाबाट ईश्वरी थापा र रास्वपाबाट विकास थापाले उम्मेदवारी दर्ता गराएका छन् । २०७९ को निर्वाचनमा कांग्रेसका मोहन घिमिरे विजयी भएका थिए । लुम्बिनी प्रदेशका रुकुमपूर्व, गुल्मीसँगै रोल्पाको रुन्टीगढी नगरपालिका–४, कपिलवस्तुको सुद्धोधन गाउँपालिका–१ र बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा पनि वडाध्यक्षका लागि उपचुनाव हुँदैछ ।

दुर्गा प्रसाईं निवासबाटै पक्राउ, ओलीविरुद्ध भ्रम फैलाएको आरोप

काठमाडौं । फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका दुर्गा प्रसाईंमाथि लिखत सम्बन्धी कसुर (किर्ते) र विद्युतीय कारोबारसम्बन्धी अपराध (साइबर क्राइम)मा अनुसन्धान हुने भएको छ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको छ।  सीआईबीले साइबर ब्युरोमा बुझाउने तयारी गरिरहेको छ। तत्काल विद्युतीय कारोबार (साइबर) अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र अरू कसुरमा पनि जाहेरी रहेकाले थप विषयमा पनि मुद्दा अघि बढ्ने सीआईबी निर्देशक दीपक थापाले बताए। उनीविरूद्ध किर्ते कसुरमा पनि अनुसन्धान हुने गरी अदालतको अनुमति लिने तयारी भइरहेको प्रहरीले जनाएको छ। ‘प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो,’ उनले भने, ‘हिजोको घटनापछि तत्काल नियन्त्रणमा लिनुपर्ने अवस्था आयो।’ प्रसाईँले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाइएका सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोप छ।  प्रधानमन्त्रीका हस्ताक्षर नै किर्ते गरेको प्रहरीको भनाइ छ।  विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए। रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्। 

कीर्तिपुरलाई नेपालकै नमूना नगर बनाउने मेरो योजना छ

स्थानीय तह उपनिर्वाचनका लागि देशका विभिन्न ठाउँमा निर्वाचनको प्रक्रिया अगाडि बढेको छ । निर्वाचनका लागि कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उमेदवारी दर्ता भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ। त्यसैगरी कीर्तिपुर नगरपालिकामा पनि निर्वानको रापताप बढेको छ । त्यहाँ प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)ले समाजसेवी प्रा.डा.शिवशरण लाई उम्मेदवार बनाएको छ । सालिन स्वभावका बौद्यिक व्यक्ति महर्जनलाई अन्य विभिन्न पार्टीहरुले पनि सहयोग गर्ने बताएका छन् ।यसै सन्दर्भमा हामीले उहाँसँग सानो अन्तरवार्ता लिएका छौं ।  यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवार हुनुभएको छ, सबैभन्दा पहिले तपाईको वारेमा केही बताइ दिनुहोस न ? म मुख्यतः प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएको छु । मैले करिव ४३ वर्ष जनसेवा, कीर्तिपुर मा। बि स्कुल हुँदैं महेन्द्र रत्न क्याम्पस ताहाचल, सुर्खेत क्याम्पस, पृथ्बीनारायण क्याम्पस हुँदै त्रिभुवन बिश्व बिद्यालय कीर्तिपुर क्याम्पसमा अध्यापनको काम गरे । यसक्रममा मैले त्रि.वि अनुदान आयोगको सदस्य, त्रि.वि शिक्षा बिभागको प्रमुख, पुस्तकालय विकास समितिको संयोजक, प्राबिधिक शिक्षालय समितिको सदस्य सचिब, स्वास्थ्य तथा भौतिक शिक्षा बिभाग सानोठिमीको अध्यक्ष रहेर काम गरिसकेको छु ।  यसैगरी कीर्तिपुर बहुउद्देश्यीय सहकारी सस्थाको अध्यक्ष र सल्लाहाकार, कीर्तिपुर खानेपानी ब्यवस्थापन समितिको सल्लाकार, स्वास्थ्य तथा जनसंख्या बिभाग कीर्तिपुरको अध्यक्ष, स्वास्थ शिक्षा महासंघको अध्यक्ष, मंगल बहुमुखी क्याम्पसको अध्यक्ष, उज्ज्वल हाई स्कुलको अध्यक्ष, मंगल उच्च शिक्षा बिद्यालयको– अध्यक्ष, चिथुबिहार सामुदायिक विकास समितिको सस्थापक अध्यक्ष,। नेवाः दे गुठिको नेपाल मण्डल– केन्द्रिय सदस्य, सहिद स्मारक कलेजको संस्थापक, तात्कालिन चिथुविहार गा।बि।स। अन्तर्गत प्लान ईन्टरनेशनल नेपालको संयोजक जस्ता पदमा रही जनसेवाका काम गरेको छु ।  यस्तै म सिम झवाःहितिबाट कीर्तिपुरसम्म खानेपानी ल्याउन गठित बृहत् कीर्तिपुर खानेपानि परियोजना २०५० को संयोजक रहेर बि.सं.२०५२/११/०१ देखि तत्कालिन नेपाल खानेपानी संस्थानबाट अनुमति लिई कीर्तिपुर खानेपानी ब्यबस्थापन समितिको सकृयतामा घर घरमा निजि धारा बितरण गर्न सफल भइएको छ । खानेपानी ब्यबस्थापन सुधार समितिको संचालनमा पनि मेरो प्रमुख भुमिका छ । तात्कालिन चिथुबिहार गा.बि.स.को सकृयतामा बनेको चिलन्चो स्थित खानेपानी रिजरभ्वायर ट्यांकि निर्माण गर्न सक्रिय योगदान दिनुका साथै नेपालभरिमा सर्वप्रथम जनस्तरको लगानीमा कीर्तिपुर यातायात संचालन गर्नमा प्रमुख भुमिका निर्वाह गरेको छु । म कीर्तिपुर खेलकुद विकास समितिको सल्लाहकार, सामुदायिक स्कूल संजालको अध्यक्ष,  गाउँ विकास समिति संजालको अध्यक्ष रहीसकेको छु । यसैगरी नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन र मानव अधिकार संस्था काहुराष्ट्रको नेतृत्वमा रहेर काम गरिरहेको छु ।  कीर्तिपुरको मेयरमा तपाईको उम्मेदवारी किन ? कीर्तिपुर एउटा नगरपालिका मात्रै होइन, यो इतिहासको एउटा बहुमूल्य गाथा हो । यसको आफ्नै विशिष्ट र मौलिक इतिहास छ, ओज, सम्मान र गौरव छ । नेपालका राजनीतिक परिवर्तनमा, सामाजिक र सांस्कृतिक परिवर्तनमा यसको अमूल्य योगदान छ । तसर्थ हामी आफूलाई गौरवका साथ कीर्तिपुरवासी भन्छौं ।  बिडम्बनाको कुरा, लोकतन्त्र र सामाजिक न्यायका संघर्षमा हाम्रो योगदान र बिरासतमा अर्जेको यो पहिचानलाई लोकतान्त्रिक व्यवस्थामा भने उचित सम्मान मिलेन । न त कीर्तिपुरवासीको समृद्ध कीर्तिपुर बनाउने सपना नै पुरा भयो । हामी राजधानीकै एउटा महत्वपूर्ण भेगमा भएपनि राजधानीबाट टाढै रह्यौं । तुलनात्मकरुपमा उपत्यकाका अन्य स्थानीय तहहरुले उल्लेख्य प्रगति गर्दा समेत हामी भने उपेक्षित बन्दै ग¥यौं । विकास निर्माण, पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, सरसफाई, रोजगारी, व्यवस्थित बस्ती विकास लगायतका यावत क्षेत्रमा स्थानीय तहको नेतृत्व गर्ने साथीहरुले उल्लेख्य काम गर्न सक्नुभएन ।  यहाँ म कसैलाई आरोप प्रत्यारोप लगाउन चाहन्न । कसले गरेन, किन गरेन भन्ने समिक्षा गर्ने जिम्मेवारी जनताको हो । तर एउटा तथ्य के हो भने हामीले हाम्रो भविष्यको जिम्मेवारी दिएर चयन गरेका जनप्रतिनिधि साथीहरुमा कीर्तिपुरलाई नेपालकै फरक समृद्ध सांस्कृतिक सहर बनाउने कुनै भिजन, योजना, दृष्टिकोण र सो अनुरुपको पहलकदमी देखिएन । देशकै वौद्धिक, प्रशासक र राजनीतिज्ञहरु जन्माएको भूमि हो कीर्तिपुर । तर हाम्रै भूमिमा रहेको त्रिभुवन विश्वविद्यालयबाट विकास भएका ती ज्ञानहरु हाम्रो नगरको विकासका लागि उपयोग हुन सकेनन् । सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने, स्थानीय भाषा, संस्कृतिको जगेर्ना गर्ने, नयाँ विकास भएका वस्ती, क्षेत्र र भूगोलमा विकासका पूर्वाधार लैजाने काम हुन सकेन् । जसले गर्दा हिजो राजधानीको केन्द्र बनेको कीर्तिपुर ओझेलमा पर्दै जाने अवस्था सिर्जना भयो ।   यस्तो अवस्थालाई अन्त्य गर्न अब म अघि बढ्नु पर्छ भन्ने मलाई अनुभूति भयो । किन की म कीर्तिपुरमैं जन्मिएँ, हुर्किएँ । मैले यस क्षेत्रका सबै गल्ली, चोक, खेत बाटा, वस्तीमा पाइला टेकेको छु । यस क्षेत्रको विकासका लागि मैले आफ्नो प्राध्यापन पेशामा रहँदा पनि आफूलाई समर्पित गरेको छु । कीर्तिपुरको खानेपानी, सार्वजनिक यातायात, शिक्षा, विकास निर्माणसहित सामाजिक सेवाका धेरै काममा मैले अगुवाइसमेत गरेको छु ।   मेरो योगदानको समेत कदर गर्दै मलाई नेकपा (माओवादी केन्द्र)ले यसपटक कीर्तिपुरको मेयर पदमा अघि सारेको छ । एकीकृत समाजवादी, जनता समाजवादी, नेपाल समाजवादी पार्टी लगायत विभिन्न राजनीतिक दल, बुद्धिजीवी र स्वतन्त्र व्यक्तिहरुले समेत समर्थन गरेर साझा उम्मेदवारकारुपमा अघि बढाइरहनुभएको छ । कीर्तिपुर नगरपालिकाको समग्र विकास, प्रगति र उन्नतीका लागि मेरो उम्मेदवारी हो। कीर्तिपुरवासीको भाग्य र भविष्य बदल्दै नगरपालिकाको बाँकी अवधिमा कीर्तिपुरको मुहार फेर्ने हाम्रो बाचा हो । हामीसँग कीर्तिपुरलाई कस्तो बनाउने भन्ने स्पष्ट खाँकासहितको योजना छ । हाम्रो जितपश्चात् दिनरात नभनी कीर्तिपुरवासी जनताको सेवा र कीर्तिपुरको विकासका लागि खटिने छौं । हामीलाई जनताले यसपटक मौका दिनुभयो भने दुई वर्षभित्रमा कीर्तिपुरलाई नेपालको सबैभन्दा नमूनायोग्य नगरपालिकाकारुपमा विकास गर्ने योजना छ । कीर्तिपुर नगरमा तपाईका चुनावी एजेण्डाहरु के के हुन ?      कीर्तिपुर नगरपालिकामा साझा गठबन्धनको तर्फवाट संस्थागतरुपमै साझा प्रतिबद्धता पत्र आम मतदाता समक्ष सार्वजनिक गर्नेछौं । हामी विष्णुदेवी अस्पताललाई भौतिक पूर्वाधारसहित तत्काल २५ शैय्याको बनाई नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्न चाहन्छौं । हामी अशक्त, असहयाय, जेष्ठ नागरिकलाई घरमैं स्वास्थ्य परीक्षण र निशुल्क स्वास्थ्य सेवा घरदैलोमैं उपलब्ध गराउन चाहन्छौं । हामी कीर्तिपुरवासीको रैथाने सीप र पेशालाई व्यावसायिक उत्पादनसँग जोडेर कीर्तिपुरको स्थानीय उत्पादनलाई ब्राण्डिङ गरी विश्व बजारमा पुर्याउन चाहन्छौं ।  हामी त्रिभुवन विश्वविद्यालयभित्र शिक्षण अस्पताल निर्माण कार्य सम्पन्न गरी कीतिपुरवासीलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराउन चाहन्छौं । सबै क्षेत्रमा कीर्तिपुरवासीलाई निश्चित कोटाको व्यवस्था गर्न पहल गर्नुका साथै महिलाहरूलाई स्वरोजगार सहित आत्मनिर्भरता सुनिश्चित गर्न दीर्घकालीन विशेष परियोजना सञ्चालन गर्ने हाम्रो योजना छ ।   हामी कीर्तिपुर नगरपालिकालाई भ्रष्टाचारमुक्त, जातीय र लैंगिक विभेदमुक्त कीर्तिपुर बनाउन चाहन्छौं । यातायात पूर्वाधार, कीर्तिपुर रिंगरोडको सपना साकार गर्नेदेखि पुष्पलालपार्क–चम्पादेवी हुँदै हेटौँडा जाने बाटो निर्माण गरी यस क्षेत्रको समृद्धि हासिल गर्ने हाम्रो योजना छ । नगरपालिका भित्रका सबै भूगोलहरूमा सार्वजनिक सेवा समानुपातिक वितरण सुनिश्चित गर्न चाहन्छौं । साथै विकास निर्माणसँग सम्बद्ध कार्यहरूमा आम जनताको स्वामित्व र सबै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।    हामी कीर्तिपुरको इतिहास, संस्कृति र वर्तमानको सम्मिश्रण गरी एउटा नमूना सांस्कृतिक नगर निर्माण गर्न चाहन्छौं । नेपाल भन्नेबित्तिकै प्रयोग गरिने बिम्बलाई कायम राख्दै कीर्तिपुर भन्नेबित्तिकै इतिहासदेखि वर्तमान झल्किने नमूना नगर बनाउन चाहन्छौं ।  कीर्तिपुर नगरपालिकामा गुणस्तरीय सीपमूलक शिक्षा र रोजगारीको ग्यारेण्टी, नागरिक स्वास्थ्यमा स्थानीय सरकारको जिम्मेवारी, निशुल्क स्वास्थ्य विमा, वडा वडासम्म उद्योग, दिगो विकासका लागि सडक पूर्वाधार, स्वस्थ्य खानेपानी, स्ववासीहरुलाई जग्गाधनी पुर्जा वितरण, ऐतिहासिक स्थलको संरक्षण, बैज्ञानिक भू–उपयोग तथा व्यवस्थित शहरी विकासको योजना अघि सारेका छौं ।      यसैगरी पर्यटन क्षेत्रको विकासका लागि नगर स्तरीय योजना, स्थानीय कला–संस्कृति, भाषा र मौलिक पहिचानका लागि विशेष योजना र अभियान, सुसासन र भष्ट्राचारमुक्त कीर्तिपुर, सार्वजानिक सेवामा सहज नागरिक पहुँच, जनताको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि स्थानीय सरकारको जिम्मेवारी, जेष्ठ नागरिक, महिला, बालबालिका, दलित र अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यक वर्ग समुदायका लागि विशेष अधिकार, स्वास्थ्य र राहत व्यवस्थाका लागि पनि स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने हाम्रो प्रतिबद्धता छ ।      यसैगरी युवा र खेलकूदको विकास, सूचना तथा सञ्चारको विकास, कीर्तिपुरलाई हिलोधुलो मुक्त नगरका रुपमा विकास गर्ने, स्थानीय तहका वडा र टोलसम्म पक्की सडक र सहज यातायात पहुँचको व्यवस्था, अति विपन्न, मजदुर, गरिव किसान, बृद्धबृद्धा, एकल महिलाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने योजना छ । यस्तै कृषकहरुलाई कृषक परिचय पत्र, मल बिउको सहज व्यवस्था, कृषक पेन्सनकोे व्यवस्था गरिने छ । विद्युत र खानेपानी निःशुल्क गर्ने हाम्रो एजेण्डा छ । फोहर पनि निशुल्क संकलन गरिने छ ।  म मेयरमा विजयी भएमा मैले पाउने तलव भत्ता समेत समाजसेवामै लगाउने छु । तपाइँले कीर्तिपुर नगरपालिकामा जित्ने आधार चाहिँ के– के हुन् ?      कीर्तिपुर नगरपालिकामा मलाई उम्मेदवार बनाउने राजनीतिक दल र मलाई समर्थन गर्नुभएका मतदाताहरु नै हाम्रो जित्ने पहिलो आधार हो । यस बाहेक यसअघि नेकपा९एमाले० र नेपाली कांग्रेसले कीर्तिपुरमा मेयर पदमा जितेर पनि कुनै राम्रो काम गर्न नसकेकाले अहिले ती पार्टीका मतदाताले पनि मलाई मत दिनुहुन्छ भन्ने विश्वास छ । यस अघि कीर्तिपुरमा नेतृत्व गर्नुभएका दुवैले चुनावी बाचाहरु पूरा गर्न असफल भइसक्नु भएको छ । कीर्तिपुरवासी आम स्वतन्त्र मतदाताहरु छिटो छिटो कीर्तिपुरको विकास गर्ने म जस्तो परिपक्क व्यक्तित्वलाई बिजयी बनाउन आतुर हुनुहुन्छ  । एमालेवाट विभाजित पार्टी नेकपा (एकीकृत समाजवादी), अशोक राईले नेतृत्व गर्नुभएको जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, नेपाल समाजवादीलगायत पार्टीलेसमेत मलाई समर्थन गर्नुभएकाले पनि यसपटक भारी मतान्तरले मेरो जित पक्का छ । यस बाहेक हामीले उठाएका एजेण्डा र अघि सारेका उम्मेद्वारका अनुहार नै हाम्रो जितको अर्को आधार हो । यी सबै आधारमा भन्दा कीर्तिपुरमा हाम्रो जित सुनिश्चित भइसकेको छ । अन्त्यमा केही भन्नु छ कि ? अव चुनावको दिन आउन थोरै दिनमात्रै बाँकी छ । कीर्तिपुरमा ठूलो भूगोल र हजारौ मतदाता रहनुभएकाले हामीले सबैलाई व्यक्तिगतरुपमा भेटन सकिरहेका छैन । हरेक मतदाता र शुभेच्छुकहरुको घरदैलोमा पुग्न नसके पनि गाउँ टोलमा हुने चुनावी कार्यक्रममा सरिक भई हाम्रा योजना सहितको प्रतिबद्धता पत्र प्रस्तुत गरी उहाँहरुका समेत सुझाव लिदै अघि बढिरहेका छौं ।      चाहँदा चाहँदै पनि यहाँहरुसँग भेट हुन नसके पनि यहाँले मलाई आफै उम्मेदवार भए सरह मान्नुभए हुन्छ । म निर्वाचित भए पछि यहाँहरुको घर घरमा आएर सुझाव लिनेछु र यहाँको सल्लाह सुझावअनुसार अघि बढ्ने छु ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाडौँ । पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधन भएको छ ।स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना भएका उनको आज  दिउँसो दुई बजे निधन भएको अस्पताल स्रोतले जानकारी दियो ।  कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल भएका उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।

लोकप्रिय