महासचिव गुटेरेसको नेपाल भ्रमण पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् ।
आइतबार यहाँ आइपुगेका गुटेरेसले काठमाडौँमा राजनीतिक दलका शीर्षस्थ नेतालगायतसँगको भेटपछि सोमबार सगरमाथा क्षेत्र र पर्यटकीय नगरी पोखरा पगे। उनले आजै अर्को महत्त्वपूर्ण पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविरको अवलोकन भ्रमण गरे भने त्यहाँबाट आजै लुम्बिनी पुगे । उनले लुम्बिनीमा करिब डेढ घण्टा बिताएका छन् ।
सगरमाथा र अन्नपूर्ण क्षेत्र तथा पोखरा र लुम्बिनी नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्छन् । पोखरा आन्तरिक र बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य मानिन्छ भने सगरमाथा र अन्नपूर्ण क्षेत्र पर्वतारोहण र पदयात्राका लागि विश्वभर चर्चित छन् । साथै लुम्बिनी धार्मिक पर्यटनका दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपाल भ्रमणका क्रममा यी महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा पुग्नु र पर्यटन क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको असरबारे विश्वको ध्यानाकर्षण गराउनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर पुग्नुभएका महासचिव गुटेरेसले विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको उल्लेख गर्दै हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पुर्याइरहेको बताए । धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उनले नेपालमा परिरहेको जलवायु परिवर्तनको असरमा सहयोग गर्न आग्रह गरे ।
संयुक्त राष्ट्रसङ्घका महासचिव ‘कहाँ जानुहुन्छ ?’ भन्ने विषय संसारभरका सञ्चारमाध्यमका लागि ‘बिग न्युज’ हुन्छ । त्यसैले महासचिव गुटेरेसको नेपाल भ्रमण ऐतिहासिक हुनाका साथै पर्यटकीय विकासका दृष्टिले फलदायी हुने पर्यटन व्यवसायीको विश्वास छ ।
वि.सं.२०७९ को बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणयता लुम्बिनीमा भारतीय पर्यटकको सङ्ख्या बढेको छ । त्यसैगरी, २०७५ सालमा भारतीय प्रधानमन्त्रीका रूपमा मोदीको जनकपुर र मुक्तिनाथको दर्शनले पनि ती क्षेत्रमा भारतीय पर्यटक बढेका थिए । विश्वका प्रभावशाली व्यक्तिहरूको भ्रमणले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गरेको पाइन्छ ।
कोराना महामारीलगायत कारण शिथिल बनेको मुलुकको पर्यटन यतिबेला कोरोना महामारी अघिको अवस्थामा फर्कने क्रममा छ । सम्भवतः नेपालमा विदेशी पर्यटक आगमन सन् २०२३ को अन्त्यसम्ममा कोरोना महामारी सुरु हुनुअघिको अवस्थामा आइपुग्छ । कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ मा नेपालमा करिब १२ लाख विदेशी पर्यटक आएका थिए भने सन् २०२३ को आठ महिनामा करिब सात लाख विदेशी पर्यटक नेपाल आइपुगेका छन् ।
यस्तो अवस्थामा महासचिव गुटेरेसको नेपाल भ्रमण नेपालको पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गा साबित हुने पर्यटन व्यवसायीको बुझाइ छ । उहाँको नेपाल भ्रमणले विश्वका अन्य पर्यटकलाई नेपाल आउने वातावरण बन्नेमा व्यवसायी ढुक्क देखिन्छन् ।
होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाह महासचिव गुटेरेसको नेपाल भ्रमणले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। “संयुक्त राष्ट्रसङ्घका महासचिव कहाँ जानुहुन्छ, के गर्नुहुन्छ र के बोल्नुहुन्छ भन्ने विषय संसारका मिडियाका लागि चासो हुन्छ र बिग न्युज बन्छ”, उनले भन्नुभयो, “विश्व प्रसिद्ध सर्वोच्च शिखर सगरमाथालगायतका पर्यटकीय गन्तव्यको भ्रमणले विश्वभर नेपालको प्रवर्द्धन हुन्छ, जसले नेपालप्रति विश्व समुदायको चासो बढ्छ ।” महासचिव गुटेरेसको भ्रमण राजनीतिक र आर्थिक रूपमा मात्रै नभई पर्यटन प्रवर्द्धनका दृष्टिले समेत महत्त्वपूर्ण हुनेमा उनको विश्वास छ ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पूर्ववत् लयमा फर्कन लागेको नेपालको पर्यटन क्षेत्र महासचिव गुटेरेसको भ्रमणले आगामी दिनमा थप चलायमान हुनेमा विश्वास व्यक्त गरे । उनले भन “महासचिव गुटेरेसको सगरमाथा, अन्नपूर्ण, लुम्बिनी, पोखरा र पाटन दरबार क्षेत्रलगायतका गन्तव्यको भ्रमणले नेपालको पर्यटनको विश्वभर प्रवर्द्धन भएको छ । महासचिवले गर्ने ‘ट्राभल’ संसारभरका सञ्चारमाध्यममा समाचार बन्छ, त्यसैले उहाँको यस भ्रमणबाट ठुलो प्रचारप्रसार भएको छ ।”
महासचिव गुटेरेसको खुम्बु क्षेत्रको भ्रमणले जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभाव न्यूनीकरण गर्दै दिगो पर्यटन विकासमा यसले विश्वव्यापी रूपमा बहस हुने निर्देशक लामिछानेको भनाइ छ । गुटेरेसले खुम्बु क्षेत्रको भ्रमणका साथै ‘एभरेष्ट भ्यु’ होटलमा ‘लञ्च’ गर्नुले विश्वभरका ‘हाई इन्ड टुरिस्ट’लाई आकर्षण गर्ने पर्यटन बोर्डको विश्वास छ ।
छोटो समयमा संसारका अग्ला र उत्कृष्ट हिमाल पनि भ्रमण गर्न सकिने रहेछ भन्ने सन्देश पनि प्रवाह हुने भएकाले नेपालको पर्यटनका लागि महासचिव गुटेरेसको भ्रमण ऐतिहासिक उपलब्धि हुने निर्देशक लामिछानेको बुझाइ छ ।
जलवायु परिवर्तन र दिगो पर्यटन विकासको विषय विश्वव्यापी रूपमा उठिरहेको सन्दर्भमा महासचिव गुटेरेसको भ्रमणबाट विश्वको ध्यानाकर्षण भएको हानका अध्यक्ष शाहको बुझाइ छ । “नेपालको कूटनीतिक सम्बन्ध, संयुक्त राष्ट्रसङ्घको सदस्यको हिसाबले नेपालले गरेको प्रतिबद्धता त छँदैछ तर, यसले पर्यटन क्षेत्रलाई पनि नयाँ उचाइमा पुर्याउँछ । पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्छ ।”
नेपालमा यतिबेला मुख्य पर्यटकीय याम चलिरहेको छ । दसैँ सकिएर, तिहार र छठ पर्वको माहौल छ । पदयात्रा र पर्वतारोहणका लागि विभिन्न मुलुकबाट उल्लेख्य सङ्ख्यामा पर्यटक आइरहेका छन् । आन्तरिक पर्यटन पनि चलायमान भएको छ ।
महासचिव गुटेरेसको भ्रमणले पर्यटक बढाउन मद्दत पुग्नेमा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले विश्वास व्यक्त गर्नुभयो । साहसिक पर्यटनको आकर्षक गन्तव्यसमेत रहेको नेपालको पर्वतीय पर्यटन, धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्द्धनमा गुटेरेसको भ्रमणले विशेष अर्थ राख्ने उहाँले बताउनुभयो ।
पाटन दरबार क्षेत्र अवलोकन
नेपालको औपचारिक भ्रमणमा रहेएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवम् पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको आइतबार अवलोकन गरे। सो अवसरमा महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवं पुरातात्त्विक महत्वका सम्पदाबारे जानकारी गराए । महासचिव गुटेरेस पाटन दरबार क्षेत्रमा पुग्दा धिमे बाजा र परम्परागत नृत्य प्रस्तुत गरिएको थियो ।
महासचिव गुटेरेसले पाटन दरबार क्षेत्रको अवलोकनपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै नेपालका ऐतिहासिक एवं पुरातात्त्विक महत्वका सम्पदाको संरक्षणमा जोड दिएका छन् । उनले पुरातात्त्विक महत्वका सम्पदाको वास्तविक स्वरूप बिग्रन नदिन विशेष प्रयत्न गर्नुपर्ने बताए ।उनले भने, “भावी पुस्ताका लागि नेपालका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्छ । यसले नेपालको भविष्य उज्ज्वल हुनेछ ।”
सन् १९७८ मा पनि आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालको प्राकृतिक सौन्दर्य र सम्पदाबाट आफू मन्त्रमुग्ध भएको उनले प्रतिक्रिया दिए । महासचिव गुटेरेसले नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको उल्लेख गर्दै यस्ता ऐतिहासिक सम्पदाले पर्यटकलाई आकर्षित गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सक्ने बताए ।
जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण
महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । महासचिव गुटेरेसले सोमबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तरक्रिया गरेका थिए। सो अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८)मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गरेका थिए ।
महासचिव एन्टोनियो गुटेरेस आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। भ्रमणले लुम्बिनी र गौतमबद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
विश्वमा शान्ति स्थापनामा विशेष भूमिका खेल्दै आएको विश्व संस्था संयुक्त राष्ट्रसङ्घका महासचिवले शान्तिका अग्रदूत गौतमबद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दाहरू पनि उत्साहित भएका छन् । रासस
बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’ सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’ उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’ सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर
काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।
गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

