‘मिटर ब्याज’को अवैधधन्दाले सामाजिक र आर्थिक अपराधको जोखिम बढायो
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘मिटर ब्याज’को अवैधधन्दा मौलाउँदै गएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ ।
गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी अशुल हुन नसकेपछि लगानीकर्ताको भागाभाग भएको छ । मिटर ब्याजमा भएको लगानीका कारण बेनीमा केहीको घर र जग्गा नै सखाप भएको छ । मासिक चर्को ब्याज रकम रहेको यो प्रथाबाट लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन भएका छन् । एकै जनाले रु एक करोडदेखि चार करोडसम्म डुबाएर भागेको पीडितले बताएका छन् । “मिटर ब्याजको धन्दाले आफन्तजन, साथीभाइ, परिवारमा विलाप निम्त्याएको छ,” पीडित निरु खत्रीले भन्नुभयो – “भएको घरजग्गा सखाप मात्र भएको छैन कतिको परिवार नै विखण्डनको अवस्था पुगेको छ।”
कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष जनप्रतिनिधि, सामुदायिक प्रहरी र प्रहरीमा धाउने क्रम बढेको छ । दैनिक एकदुई जना मानिस आर्थिक कारोबारसँग सम्बन्धित गुनासो लिएर आउने गरेको सामुदायिक प्रहरी शाखा बेनीका अध्यक्ष श्यामलाल न्यौपानेले बताउनुभयो । “सापटी लगेको पैसा फिर्ता भएन, छलफल गराई दिनुप¥यो भनेर रुँदै आउँछन्,” न्यौपानेले भन्नुभयो, “छलफल गर्दै जाँदा मिटर ब्याजमा जोडिन्छ । लेनदेनको मुद्दामा हामीले केही गर्न नमिल्ने भएकाले अदालत जान सुझाउँछौँ ।”
मिटर ब्याजको कारोबारमा यहाँ तीन वटा समूहको संलग्नता देखिएको छ । पहिलो समूहले बढी ब्याजको लोभमा आफूसँग भएको पैसा दोस्रो समूहमा पर्ने मध्यस्थकर्ताको काम गर्नेलाई दिन्छन् । दोस्रो पक्षले पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरमा तेस्रो पक्षलाई ऋण दिन्छन् । मध्यस्थकर्ताको भूमिका खेल्ने व्यक्ति सीमित छन् । पहिलो पक्ष लगानी डुबेर र तेस्रो पक्ष बढी ब्याजदरको ऋण लिँदा ठगिएर पीडित भएका छन् । मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीका रुपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम बीस प्रतिशत रकम कटौती गरिदिने र हरेक महिना पूरै साँवा रकमको दशदेखि २३ प्रतिशतसम्म ब्याज अशुली गर्ने गर्छन् ।
बैंक, वित्तीय संस्था र सहकारी संस्थाले भन्दा बढी ब्याज दिने तथा पाउने प्रलोभनमा विशेष गरेर पैसा भएका तर आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका मानिस पर्ने गरेका छन् । सामान्य मजदूरदेखि बजारका सम्पन्न व्यक्ति यस्तो कारोबारमा संलग्न छन् । विदेशबाट आएको विप्रेषण, ढुकुटी बुझेर, बैंकमा घरजग्गा धितो राखेर मिटर ब्याजमा लगाउने भेटिएका अध्यक्ष न्यौपानेले बताउनुभयो । यस्तो अवैध कारोबारको नेतृत्व गर्ने र ठगिनेमा पुरुषभन्दा बढी महिला छन् । वैदेशिक रोजगारीमा जाने, जुवातास खेल्ने, जडीबुटी व्यापारी र घरजग्गा कारोबारी व्यापारीले मिटर ब्याजको ऋण लिने गरेको पाइएको छ । मासिक रुपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर ठगीको मुद्दाका रुपमा प्रहरी तथा अदालत पुग्ने गरेका छन् ।
सहमतिमा ऋण लेनदेन गरेर समयमै फिर्ता नभएपछि ठगी ग¥यो भनेर गुनासो गर्न आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताउनुभयो । “ठगीको मुद्दाका रुपमा प्रहरीमा आउँछन्, बुझ्दै जाँदा मिटर ब्याजमा लगानी भएको देखिन्छ,” गुरुङले भन्नुभयो । लेनदेनको मुद्दा हेर्ने अधिकार अदालतलाई मात्र छ । स्थानीय तह र प्रहरीले लेनदेनको मुद्दा आएमा अदालत जान सुझाउने गरेका छन् । चेक र रेमिटमार्फत कारोबार गर्नेले त्यसैलाई आधार बनाएर मुद्दा हाल्ने गरेका छन् ।
जिल्ला अदालत म्याग्दीमा आव २०७३७४ मा ४२ वटा लेनदेनसम्बन्धी मुद्दा परेकामा २८ वटाको फैसला भएको थियो भने १४ वटाको यो वर्षका लागि जिम्मेवारी सरेको थियो । चालु आवको साउनदेखि हालसम्म लेनदेन सम्बन्धी २२ वटा मुद्दा दर्ता भएकामा एउटा मात्र फैसला भएको अदालतले जनाएको छ । सदरमुकाम बेनीबजारभित्र मिटर ब्याजको धन्दा चलाउने सक्रिय रहेको र यसबाट धेरै महिला पीडित भएको बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बताउनुभयो । “तमसुक, भरपाई बिनै लाखौँको लेनदेन गरेका छन्,” उपप्रमुख बरुवालले भन्नुभयो, “आधार प्रमाण नहुँदा पीडित कानूनी प्रक्रियामा जान सकेका छैनन् ।”
नगरपालिकाले प्रहरी, वडा कार्यालय, आमा समूह र टोल सुधार समितिमार्फत बैंकिङ शिक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उपप्रमुख बरुवालले जानकारी दिनुभयो । मिटर ब्याजको अवैध धन्दाले आपसी विश्वासका आधारमा परम्परागत रुपमा गरिँदै आएको ढुकुटी पनि संकटमा परेको छ । मानिस बढी ब्याज पाउने लोभमा मिटर ब्याजमा लगानी गर्दा बैंक, वित्तीय र सहकारी संस्थाको निक्षेप संकलनलाई असर पर्ने गरेको छ ।
यसैगरी, कर्जा लिएर मिटर ब्याजमा लगाउनेले समयमै ब्याज र किस्ता तिर्न नसक्दा पनि बैंकिङ क्षेत्रको कारोबारलाई असर पुगेको छ । मिटर ब्याजमा लगानी गरेको पैसा फिर्ता नआएपछि श्रीमान्–श्रीमतीबीच विवाद भई उत्पन्न पारिवारिक विवादले सम्बन्ध विच्छेदसम्मको रुप लिएको देखिएको छ । परिवारमा एउटाले गरेको लगानी फसेपछि ऋण तिर्न र मुद्दाबाट जोगिनका लागि व्यवहारमा सँगै बसे पनि कानूनी हिसाबले सम्बन्ध विच्छेद गर्नेहरु पनि भेटिएका छन् । रासस
सेयर बजारमा १४ अंकको गिरावट, सात अर्ब ९१ करोडको कारोबार
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार १४.१२ अंकले घटेको छ । नेप्से ०.५१ प्रतिशतले घटेर २७३४.८३ को विन्दुमा पुगेको हो । यसदिन एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर सात अर्ब ९१ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ । ९९ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको सेयर मूल्य घट्दा सात को मूल्य स्थिर छ । सबैभन्दा धेरै कमाउनेमा सप्तकोसी विकास बैंक र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कारोबारमा रहेका १३ मध्ये चार समूहको मात्रै समूहगत परिसूचक बढेको छ ।
बढ्यो डलर र युरो, यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल कात्तिक २४ गते शनिबार सन् २०२४ नोभेम्बर ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा रहेकामा शनिबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । शनिबारका लागि युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा कायम भएको छ । शुक्रबारका लागि यस मुद्राको खरिददर एकको एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम रहेको थियो । युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा रहेको छ । स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा रहेको छ । बैङ्कका अनुसार सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनबाट विद्युत प्रवाह सुरु
काठमाडौं । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार बेलुकी सात बजेर पाँच मिनेटमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो । यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरिएको छ । उक्त सबस्टेसनमा २२०र१३२ केभी, १६० एमभीएका दुईवटा बैंक गरी ३२० एमभीए र १३२/३३ केभीतर्फ, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्महरू रहेका छन् । आयोजना अन्तर्गतकै त्रिशूली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ । अनुमानित लागत तीन अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) को अनुदान रहेको छ । आयोजनामा युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण रहेको छ ।
अलैंचीको मूल्यवृद्धिले किसान उत्साहित
ताप्लेजुङ । ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपियाँ पुगेको छ । यस वर्ष नयाँ उत्पादन निस्कन थालेदेखि नै सामान्य रूपमा मूल्यवृद्धि हुँदै आएको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९० हजार रुपियाँ पुगेको हो । करिब दुई सातासम्म प्रतिमन ८९ हजार रुपियाँमा स्थिर रहेको अलैँचीको मूल्य बुधबार बढेर ९० हजार रुपियाँ पुगेको स्थानीय व्यवसायीले बताएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा बुधबार अलैँची प्रतिमन ९० हजार रुपियाँमा कारोबार भएको स्थानीय व्यवसायी कमल बरालले बताउनुभयो । बरालका अनुसार दसैँको समयमा अलैँची प्रतिमन ८२ देखि ८४ हजार रुपियाँसम्म कारोबार भएको थियो । व्यवसायीका अनुसार दसैँ सकिएपछि स्थानीय बजारमा अलैँचीको सामान्य रूपमा मूल्यवृद्धि सुरु भएको थियो । दसैँपछि प्रतिमन एक हजार र एक हजार पाँच सयले वृद्धि हुँदै केही दिनको अन्तरालमै ८९ हजार रुपियाँ पुगेको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले बताउनुभयो । फुङलिङ बजारका स्थानीय व्यवसायीसमेत रहनुभएका रेग्मीले अलैँचीको मूल्य प्रतिमन ८९ हजार रुपियाँ भने करिब दुई सातासम्म कायम रहेको बताउनुभयो । उहाँका अनुसार स्थानीय बजारमा बुधबार प्रतिमन ९० हजार रुपियाँमा अलैँचीको खरिदबिक्री भएको छ । ताप्लेजुङमा प्रतिमन ९० हजारले खरिदबिक्री हुँदा झापाको बिर्तामोडमा भने एकदेखि दुई हजार रुपियाँसम्म बढीमा अलैँचीको कारोबार हुने स्थानीय व्यवसायी बताउँछन् । अलैँची व्यवसायी सङ्घका अनुसार यस वर्ष नयाँ अलैँची बजार निस्कन थाल्दा नै प्रतिमन ५५ देखि ६० हजार रुपियाँसम्ममा कारोबार भएको थियो । भदौको पहिलो सातादेखि बजारमा अलैँची निस्कन थाल्ने गरेको छ । अलैँची बजारमा निस्कन थालेको करिब तीन महिना पुग्न लाग्दा सुरुदेखि नै क्रमशः मूल्यवृद्धि हुँदै बुधबार प्रतिमन ९० हजार रुपियाँ पुगेको स्थानीय व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार यस वर्ष अलैँचीको मूल्यमा हालसम्म उतारचढाव अर्थात् मूल्य घटबढ आएको छैन । सामान्य रूपमा भए पनि मूल्यवृद्धि हुँदै आएको उनीहरूको भनाइ छ । हालसम्मको कारोबार र उत्पादनको अवस्थालाई हेर्दा यस वर्ष अलैँचीको मूल्य प्रतिमन एक लाख रुपियाँ नाघ्ने अनुमान लगाउन थालिएको छ । गत वर्षभन्दा उत्पादनमा कमी आएकाले अलैँचीको मूल्यवृद्धि हुने अगुवा किसान तथा व्यापारीको अनुमान छ । अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै जाँदा स्थानीय किसान तथा व्यवसायीमा खुसी छाएको छ । यता अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीमा पर्दछ । जिल्लाका अधिकांश किसान खेतीमा संलग्न रहँदै आएका छन् भने करिब चार हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ ।