यी नेपाली महिला हुन्, जो उद्यममा चम्किएका छन्

यी नेपाली महिला हुन्, जो उद्यममा चम्किएका छन्

देशभरका उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा छिन् । महासंघको नेतृत्वमा पुग्ने उनी नै पहिलो महिला हुन् । राणाजस्तै उद्यममा चम्केका महिला भने अरू पनि छन् । कसैले पाँचतारे होटेल चलाएका छन्, कोही विश्वका प्रिमियम ब्रान्ड हाँकिरहेका छन् । युवा महिलादेखि वृद्धासम्म उद्यममा चम्केका छन् ।

स्थापित हुन आफ्नै पौरख
केही दशकअघिसम्म नेपाली सोच थियो– महिलाहरू व्यवसाय गर्न सक्दैनन्, घरधन्दामै ठीक छन् । तर, अहिले केही महिलाले समाजको त्यो सोच भत्काइदिएका छन् ।

चुलोचौकामा अल्झिएका आममहिलाका लागि एकाध महिलाको पौरख उदाहरण बन्यो । एकपछि अर्को गर्दै महिला सानो–ठूलो व्यवसायमा होमिए । कोही त देशमै नयाँ व्यवसायको ‘ट्रेन्ड सेटर’समेत बने ।

महिलासँग सम्बन्धित व्यवसायमा धेरै महिला उद्यमी रहे पनि निर्माणदेखि वित्तीय संस्थासम्म महिला नेतृत्व फैलिएको छ । ट्राभल एजेन्सीको सानो व्यवसायबाट काम थालेकी अम्बिका श्रेष्ठले द्वारिकाज होटेल स्थापित गरिन् ।

उनी नयाँ पुस्ताका महिलाका लागि पनि रोल मोडेल हुन् । शारदा रिजाल, श्वेता खड्का, छाया शर्मा, नीरा श्रेष्ठ, रीता भण्डारी, कमला श्रेष्ठ पनि आफ्नै पौरखले चम्केका उद्यमी हुन् ।

छोरी–बुहारीले सम्हाल्दै पारिवारिक बिरासत
ठूला व्यावसायिक घरानामा पनि बाबुछोरा व्यवसाय सम्हाल्थे । छोरी–बुहारी घरधन्दामै हुन्थे । तर, अब यहाँ पनि परिस्थिति बदलिएको छ । ठूला घरानाका अर्बौँ लगानीका कम्पनी पनि छोरी–बुहारीले हाँक्न थालेका छन् ।

छोरीलाई विदेश पढ्न पठाएर दक्ष बनाउने, अनि स्वदेशमै फर्काएर कम्पनी जिम्मा लगाउने व्यावसायिक घराना धेरै छन् । गोल्छा अर्गनाइजेसनकी बुहारी सीमा र छोरी एकताले परिवारको बिरासत धानिरहेका छन् । चौधरी ग्रुपकी छोरी मेघा पनि बुबा वसन्तको उत्तराधिकारी भएर काम गरिरहेकी छिन् । भवानी राणा पारिवारिक व्यवसाय अँगाल्ने एक अग्रणी महिला हुन् ।

भवानी राणा, अध्यक्ष,
नेपाल उद्योग वाणिज्य महासंघ
राणा परिवारमा बिहे गरेर भित्रिएपछि भवानी राणा औपचारिक रूपमा बिजनेसमा जोडिइन् । होटेल, कृषि, ट्राभल, व्यापारलगायतमा सक्रिय छिन् । नेपाल उद्योग वाणिज्य महासंघको पहिलो अध्यक्ष महिलाको स्थान लिन सफल भइन् । श्रीमान् असितको व्यवसायमा भवानीले साथ दिइरहेकी छिन् ।

कतिपय व्यवसाय आफ्नै पहलमा सुरु गरेकी छिन् । नेपालगन्जमा ६० कोठाको तीनतारे होटेल छ । उनी भन्छिन्, ‘हामी हेल्थ प्रोडक्ट उत्पादनमा पनि गइरहेका छौँ ।’ उनी ट्याक्टरको व्यापारमा संलग्न छिन् । यस्तै, बर्दियाको ठाकुरद्वारमा होटेल खोल्ने तयारी भइरहेको बताइन् ।

रितुसिंह वैद्य, प्रबन्ध निर्देशक,
युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि
रितुसिंह वैद्य, सन् १९९१ की मिस इन्डिया । नयाँदिल्लीमा जन्मिएकी रितु नेपालको प्रतिष्ठित व्यावसायिक घराना ‘वैद्यज अर्गनाइजेसन’को बिरासत थामेर बसिरहेकी छिन् ।

सन् १९९४ डिसेम्बरमा सुरज वैद्यकी श्रीमती बनेर भित्रिएकी रितु जापानिज टोयोटा ब्रान्डको प्रबर्द्धनमा खटिन्छिन् । नेपालमा प्रिमियम टोयोटा गाडी भित्रिएको ५० वर्ष पुगिसकेको छ ।

सुरज वैद्य लामो समय व्यवसायीको राजनीतिमा व्यस्त रहे । नेपाल उद्योग वाणिज्य महासंघ, सार्क चेम्बर अफ कमर्सको नेतृत्वमा रहे । दर्जनौं सामाजिक संस्थाको बोर्डमा छन् ।

अहिले उनलाई सरकारले भिजिट नेपाल २०२० को संयोजकको जिम्मेवारी सुम्पिएको छ । व्यवसायमा त्यति समय दिन भ्याउँदैनन् । परिवारको व्यवसाय सबै रितुले सम्हालिरहेकी छिन् ।

उनले सनवड ब्रान्डको निर्माण औजार (हेभी मेसिन) को बिक्री पनि सुरु गरेकी छिन् । दरबारमार्गमा ‘स्पा प्राना’ पनि चलाइरहेकी छिन् । यो व्यवसायमा छोरी सभानाले पनि सघाइरहेकी छिन् ।

सीमा गोल्छा
निर्देशक, हिम इलेक्ट्रोनिक्स
गोल्छा अर्गनाइजेसनकी बुहारी सीमा गोल्छा बिजनेसमा सक्रिय छिन् । उनले हिम इलेक्ट्रोनिक्स हेर्छिन् । हिम इलेक्ट्रोनिक्सअन्तर्गत सामसुङ, हिमस्टार, बजाजको मिक्सर ग्राइन्डरलगायत ब्रान्डहरू छन् ।

उनको माइती पक्ष व्यवसायमा थिएन, जागिरमा थियो । विवाहअघि उनले भने भारतको एड एजेन्सीमा काम गरेकी थिइन् । शेखर गोल्छासँग विवाह गरेर व्यावसायिक घरानाको बुहारी बनेपछि जिम्मेवारीअनुसार व्यवसाय राम्रोसँग हाँकिरहेकी छिन् । परिवारको सहमति लिएरै इलेक्ट्रोनिक्स व्यापार थालेको उनी बताउँछिन् । सामसुङ प्लाजामा झन्डै ९५ प्रतिशत कर्मचारी पनि महिला नै छन् ।

सिर्जना राणा
कार्यकारी निर्देशक, होटेल अन्नपूर्ण
नेपालको पहिलो पाँचतारे होटेल अन्नपूर्णको कार्यकारी निर्देशक हुन् सिर्जना राणा । १० वर्षदेखि श्रीमान् कपिल राणालाई सघाउँदै होटेल व्यवस्थापनमा सक्रिय छिन् । श्रीमान्ले योजना बनाउने र आफूले कार्यान्वयन गर्ने उनले सुनाइन् ।

सिर्जनाले पोखराको फेवाताल किनारमा ‘फिस्टेल लज’ र चितवनमा ‘जगतपुर लज’समेत सञ्चालन गरिरहेकी छिन् । उनी होटेल संघ नेपाल (हान) को वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

कमला श्रेष्ठ
अध्यक्ष, सौन्दर्य कला व्यवसायी संघ
नेपालमा ब्युटिपार्लर (सौन्दर्यकला) भन्नेबित्तिकै नराम्रो नजरले हेरिन्थ्यो । छोरी–बुहारीलाई पार्लर खोल्न दिइँदैनथ्यो । तर, पछिल्लो समय समाजले पार्लर व्यवसायलाई हेर्ने नजर फेरिएको छ । पार्लर व्यवसायमा लाग्ने छोरी–बुहारीको संख्या बढ्दै छ । यो व्यवसायलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याउने श्रेय जान्छ, कमला श्रेष्ठलाई ।

थाइल्यान्डमा दुई वर्ष तालिम लिएर ०३६ मा कुपन्डोलमा सयाम इन्स्टिच्युट खोलिन् । सुरुमा सैलुन मात्र थियो । उनले २६ वर्षदेखि ब्युटिपार्लर ट्रेनिङ दिँदै आइरहेकी छिन् । ब्युटिपार्लर व्यवसायको ट्रेन्डसेटर श्रेष्ठ भन्छिन्, ‘अहिले देशभर ३ लाख हाराहारी पार्लर व्यवसायी पुगिसकेका छन् ।’ उनी नेपाल सौन्दर्य कला व्यवसायी संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पनि हुन् ।

छाया शर्मा
कलेज सञ्चालक
नेपाल कलेज अफ ट्राभल, टुरिजम एन्ड म्यानेजमेन्टकी संस्थापक छाया शर्मा शैक्षिक क्षेत्रमा आबद्ध छिन् । नेपालमा निजी क्षेत्रबाट पर्यटनसम्बन्धी पहिलो कलेज नै आफूले स्थापना गरेको उनी बताउँछिन् ।

सन् १९९५ मा एनसिसिटिएम सुरु गर्दा ५ जना मात्रै विद्यार्थी थिए, अहिले ५ सय पुगेका छन् । उनको अरू केही विद्यालय र कलेजमा पनि लगानी छ । आफ्नो लगानी रहेको कलेज र विद्यालयमा कुल दुई सयजनाले प्रत्यक्ष रोजगारी पाइरहेका छाया बताउँछिन् । अहिले हस्तकला उत्पादनको व्यवसाय पनि सुरु गरेकी छिन् ।

ज्योत्सना श्रेष्ठ
मेरिगोल्ड ज्वेलर्स
मेरिगोल्ड सयपत्री ज्वेलर्सकी प्रोपाइटर ज्योत्सना श्रेष्ठ रत्न, आभूषण तथा सुनचाँदी व्यवसायमा आवद्ध छिन् । उनी सञ्चालक रहेको गरगहना सोरूम काठमाडौंको न्युरोड र दरबारमार्गमा छन् ।

रत्न, आभूषण तथा गरगहना उनको पुख्र्यौली व्यवसाय हो । तर, उनी आबद्ध भएको करिब अढाई दशक भएको छ । ज्योत्सना पर्यटन व्यवसायमा पनि प्रवेश गर्दै छिन् । झापामा पाँचतारे होटेल सञ्चालन गर्दै छिन् ।

सलुजा आचार्य
सिइओ, एभिओन्ते प्रालि
करिब १९ वर्ष अमेरिका बसेर फर्किएकी सलुजा आचार्य आइटी कम्पनी एभिओन्तेको प्रमुख कार्यकारी अधिकृत छिन् । सन् २०१३ मा नेपाल फर्किनेबित्तिकै एभिओन्तेको व्यवस्थापनमा रहेर काम सुरु गरिन् ।

उनले कम्पनीमा ६० जनाभन्दा बढी आइटी इन्जिनियरलाई जागिर दिइरहेकी छिन् । उनको कम्पनीले वल्र्ड क्लास’ सफ्टवेयर उत्पादन गर्छ । अमेरिकामा रहँदा उनी हेल्थ इन्स्योरेन्स कम्पनी ब्लुक्रस ब्लुसिल्डको अफिसरका रूपमा काम गर्थिन् । एप्लिकेसन डेभलपरका रूपमा कम्पनीमा छिरेकी उनले १५ वर्षजति काम गरिन्, विभिन्न ओहोदामा रहेर ।

प्रमिला आचार्य रिजाल
निर्माण र लघुवित्त
साउथ एसियन वुमन डेभलपमेन्ट फोरमकी संस्थापक अध्यक्ष प्रमिला आचार्य रिजाल अढाई दशकदेखि व्यवसायमा आबद्ध छिन् । २२ वर्षअघि बुटिक व्यवसाय सुरु गरेकी उनले निर्माण, वित्तलगायत विभिन्न व्यवसायमा हात हालिन् ।

सफलतासँगै उनी अहिले निर्माण कम्पनी ‘प्रतिष्ठा कन्स्ट्रक्सन’की अध्यक्ष छिन् । दक्षिण एसियाका महिलाले उत्पादन गरेका वस्तुको बजार व्यवस्थापन तथा प्रबर्द्धन गर्ने संस्था ‘सार्क चेम्बर क्राफ्ट भिलेज मार्केटिङ सेन्टर’की संस्थापक सदस्य तथा सञ्चालक पनि हुन् । उनको मनुषी माइक्रो क्रेडिट बैंक पनि छ ।

मेघा चौधरी
प्रबन्ध निर्देशक, नर्भिक हस्पिटल
उद्यमी वसन्त चौधरीकी एक मात्र छोरी हुन्, मेघा चौधरी । अहिले नर्भिक इन्टरनेसनल हस्पिटल मेघाकै काँधमा छ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा दिइरहेको नर्भिकमा नेपालका हाइप्रोफाइल बिरामी पुग्छन् । नर्भिकलाई मुलुककै पहिलो नम्बरको हस्पिटल बनाइराख्न मेघा खटिइरहेकी छिन् ।

विदुषी राणा
निर्देशक, गोल्डस्टार जुत्ता
नूरप्रताप राणाले स्थापित गरेको गोल्डस्टारको बिजनेसमा बुहारी विदुषी राणा सक्रिय छिन् । ६ वर्षजति कुमारी बैंकको मार्केटिङ म्यानेजर बनेकी उनले पछिल्लो दुई वर्षदेखि गोल्डस्टारको ब्रान्डिङ र मार्केटिङ हेर्दै आएकी छिन् । गोल्डस्टार नेपालको लोकप्रिय ब्रान्ड हो । नेपालमा उत्पादित गोल्डस्टार जुत्ता सबैभन्दा बढी निर्यात हुन्छ ।

भारतमा पनि गोल्डस्टार लोकप्रिय छ । छिटै भैरहवास्थित सेजबाट पनि गोल्डस्टारले उत्पादन सुरु गर्दै छ । गोल्डस्टारलाई उचाइमा पुर्याउने अमिर राणाको अभियानमा श्रीमती विदुषीले साथ दिइरहेकी छिन् । उनीहरूको युनिभर्सल ग्रुप अफ कम्पनीभित्र कुमारी बैंक, गोल्डस्टार, हात्तीछाप चप्पल, त्रिशूल ग्यास, युनिभर्सल फर्मास्युटिकल्स छन् ।

शोभा गुरुङ
गलैँचा उद्योग
शोभा गुरुङले अढाई दशकदेखि गलैँचा उद्योग सञ्चालन गर्दै आएकी छिन् । उनको हिमालयन डेकोर रक्स प्रालि उद्योगले गलैँचा उत्पादन तथा निर्यात गर्दै आएको छ ।

यो उद्योगमा करिब ३ सयले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्षसमेत रहेकी उनी गलैँचाबाहेक हस्तकला र प्राकृतिक धागोको व्यवसाय गर्ने तयारीमा समेत छिन् ।

सिर्जना ज्योति, चिफ ब्रान्डिङ
अफिसर, स्याकार ट्रेडिङ प्रालि
ज्योति समूहकी बुहारी सिर्जना ज्योति पनि बिजनेसमै संलग्न छिन् । उनी चिफ ब्रान्डिङ अफिसर भएर काम गरिरहेकी छिन् । होन्डा कार र बाइकको बजार प्रवद्र्धनको जिम्मेवारी उनकै काँधमा छ । उनले विज्ञापन र प्रमोसनल योजना बनाउनुपर्छ । बिहानदेखि बेलुकासम्म उनी बिजनेसमै सक्रिय रहन्छिन् ।

श्वेता खड्का, उद्यमी
आममान्छे श्वेता खड्का भन्नेबित्तिकै अभिनेत्री सम्झन्छन् । उनले ‘कहाँ भेटिएला’, ‘कोहिनूर’जस्ता हिट फिल्म दिइन् । तर, उनको व्यावसायिक जीवनबारे धेरै कमलाई थाहा होला ।

कफीको अम्मली श्वेताले कफीसप नै चलाएकी छिन् । उनले हिमालयन जाभाको फ्रेन्चाइज लिएकी छिन् । उनको इन्जिनियरिङ कम्पनी पनि छ, जसले भवन निर्माण, इन्टेरियर, एक्स्टेरियर डिजाइनको काम गर्छ । उनी इन्द्रेणी हिमालय होटेलमा पनि पार्टनर छिन् । उनी फिल्मबाट हिट भइन् । तैपनि व्यवसाय पहिलो प्राथमिकता हो ।

शारदा रिजाल, हस्तकला उद्यमी
महिला उद्यमी महासंघको अध्यक्ष शारदा रिजाल करिब तीन दशकदेखि व्यवसायमा आबद्ध छिन् । ०४६ मा मिलन गार्मेन्ट सुरु गरेकी उनी हस्तकला र फेल्टमा फड्किइन् ।

अहिले उनले ‘लिमन नेपाल’ नामक निर्यात गर्ने कम्पनी र ‘युनाइटेड नेपाल फेल्ट इन्डस्ट्रिज’ नामक उत्पादक कम्पनी सञ्चालन गरिरहेकी छिन् । ३० महिलालाई प्रत्यक्ष रोजगारी दिएकी छिन् भने ५० जनाबाट आउटसोर्सिङ गर्छिन् ।

नीरा श्रेष्ठ
सञ्चालक, भिक्ट्री लङ एन्ड बार
युवा उद्यमी नीरा श्रेष्ठ उमेरले २६ मात्रै लागिन् । तर, उनको व्यावसायिक सफलता कुनै पुरानो उद्यमीको भन्दा कम छैन । बुबा आसामका कोइला व्यापारी, नीरा पनि उतै जन्मे–हुर्केकी ।

स्कुले पढाइ सकाएर नेपाल छिरेकी उनले दरबारमार्गमा ‘भिक्ट्री लङ एन्ड बार’ र ‘ब्रान्डेड कस्मेटिक सप’ सञ्चालन गरिरहेकी छिन् । दरबार रेस्टुरेन्टमा पनि लगानी थियो, हात झिकिन् ।

क्लब डेजाभुमा पनि लगानी छ । भिक्ट्री सुरु गर्दा २२ वर्ष मात्रै भएकी थिइन् । अन्य साथीहरू समेटेर भिक्ट्री सञ्चालनमा ल्याइन् । अहिले क्लब व्यवसायमा नीरा परिचित नाम हो । ‘भर्खर व्यवसाय सुरु गर्दा त बिहान ६ बजेसम्म पनि क्लबमै हुन्थेँ,’ नीराले संघर्षको कथा सुनाइन् । अब लक्जरी रिसोर्ट खोल्ने तयारीमा छिन् ।

अञ्जना ताम्राकार
नेपाली कागज
हाते कागज र सहकारी व्यवसायमा आबद्ध अञ्जना ताम्राकार लामो समयदेखि महिला उद्यमशीलता विकासमा सक्रिय छिन् । आफू मात्रै उद्यम गर्दिनन्, महिला उद्यमशीलता विकासका लागि तालिमसमेत प्रदान गर्छिन् ।

उनले इजरायल, क्यानडालगयात मुलुकबाट महिला उद्यमशीलता विकास प्रशिक्षण तालिम लिएकी छिन् । ०५४ तिर नेपाल कागज कारखाना खोलिकी हुन् । हाल उनी वुमन क्रिएसन र क्रिएटिभ वुमन क्राफ्टकी सञ्चालक पनि हुन् ।

रिता भण्डारी, नेपाली कागज
करिब ३० वर्षअघि नर्सरी उद्यम सुरु गरेकी रिता भण्डारी अहिले हाते कागज, मौलिक परिकार उत्पादन तथा बिक्री–वितरणलगायत व्यवसायमा आबद्ध छिन् । उनले सञ्चालन गरेको नेपाल पेपर क्राफ्टस् प्रालिले लोक्ताबाट कपडासमेत उत्पादन गर्छ ।

४ वर्षअघि रिताले सुरु गरेको माही इन्टरप्राइजेजले अर्डरअनुसारका मौलिक परिकार तयार गरी बिक्री–वितरण गर्छ । उनले अहिले हुम्ला, जुम्ला, बाजुरालगायत दुर्गम क्षेत्रबाट लप्सी, कागतीलगायत विभिन्न प्रकारका फल ल्याएर अचार बनाई बिक्री–वितरण गरिरहेकी छिन् ।

आस्था र आरजु बस्नेत
बुद्ध एयर
बुद्ध एयर प्रालिका उत्तराधिकारी हुन्, आरजु र अस्था बस्नेत । आरजुको सानैदेखि बुटिकमा सोख थियो, त्यसैले बुटिक पनि चलाइरहेकी छिन् । जावलाखेलस्थित बुद्ध एयरको मुख्यालयमा रहेको बुटिक राम्रोसँग चलिरहेको छ । सुरुमा आरजु र आस्था मिलेर बुटिक सुरु गरेका थिए । आस्था एयरलाइन्समै आकर्षित थिइन् ।

त्यसैले स्नातक सिध्याउनेबित्तिकै बुटिक दिदीलाई जिम्मा लगाएर जनवरी २०१७ देखि बुद्ध एयर छिरिन् । उनकै अगुवाइमा बुद्ध एयरले बनारसमा नियमित उडान सुरु गर्‍यो । बनारसको बजार अध्ययन र मार्केटिङमा उनी मजाले खटिइन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि तत्कालै अन्तर्राष्ट्रिय उडान भर्ने योजनामा छ, बुद्ध एयर । यो जिम्मेवारी सम्हाल्दै छिन् आस्था । ‘बनारस अन्तर्राष्ट्रिय उडानको पहिलो खुड्किलो हो,’ उनी सुनाउँछिन् ।

एकता गोल्छा
गोल्छा अर्गनाइजेसन
गोल्छा अर्गनाइजेसनकी चेली एकता गोल्छाले बुबा राजकुमार गोल्छालाई बिजनेसमा सघाउन थालिसकेकी छिन् । राजकुमारको भागमा अरिहन्त मल्टिफाइबर र रघुपति जुट मिललगायत परेको छ ।

अक्सफोर्ड विश्वविद्यालय पढेर फर्किएकी एकता आइटी बिजनेस हेर्छिन् । व्यावसायिक घरानाकी चेली एकता परिवारको व्यवसायलाई निरन्तरता दिन नेपाल फर्किएकी हुन् ।

सुरुचि ज्योति
ज्योति समूह
रूप ज्योतिकी छोरी सुरुचि हिरो बाइक र फिलिप्स इलेक्ट्रोनिक्स हेर्छिन् । उनी हिरोको नेपाली विक्रेता कम्पनी नेपाल जेनेरल मार्केटिङ (एनजिएम) को उपाध्यक्ष हुन् । उनले हिरो र फिलिप्सको मार्केटिङ र सेल्स हेर्छिन् । सुरुचिले पारिवारिक व्यवसायलाई निरन्तरता दिइरहेकी छिन् ।

लतिका गोल्यान
निर्देशक, गोल्यान ग्रुप
गोल्यान ग्रुपले कलंकीमा ‘हायात प्यालेस’ नामको भव्य पाँचतारे होटेल बनाउँदै छ । नेतृत्व गरिरहेकी छिन् लतिका गोल्यानले । ‘१५६ कोठा हुने १३ तले होटेलमा दुई अर्ब ८० करोड रुपैयाँ लगानी हुनेछ,’ लतिकाले भनिन् ।

होटेलको छेवैमा लक्जरी रेसिडेन्सियल अपार्टमेन्ट पनि बन्दै छ । सहरका उच्च वर्गलाई लक्षित गरिएको अपार्टमेन्ट निर्माण र बजार प्रवद्र्धनमा पनि लतिका सक्रिय छिन् । उनको एयरपोर्टनजिकै अर्को लक्जरी होटेल खोल्ने योजना छ ।

अम्बिका श्रेष्ठ
सञ्चालक,
द्वारिकाज होटेल

नेपालका लक्जरी बुटिक होटेलमा द्वारिकाज पहिलो नम्बरमा पर्छ । विदेशी पर्यटकको पहिलो रोजाइ द्वारिकाज होटेल नै हुन्छ । यो होटेलले काठमाडौंमै सबैभन्दा महँगो मूल्यमा कोठा बिक्री गर्छ । काभ्रेको धुलिखेलस्थित द्वारिकाजको रिसोर्ट पनि मुलुककै महँगोमा पर्छ ।

द्वारिकादास श्रेष्ठले इतिहास बोकेका पुराना कलात्मक झ्याल, ढोका र काठका टुक्रा प्रयोग गरेर बत्तिसपुतलीमा हेरिटेज बुटिक होटेल खोलेका थिए । उनको निधन भइसक्यो ।

श्रीमती अम्बिकाले होटेलको व्यवस्थापन सम्हाल्दै आएकी छिन्, कुशलतापूर्वक । अम्बिका सिक्किममा जन्मे–हुर्केकी । विवाहपछि सन् १९६९ मा द्वारिका र अम्बिकाले काठमाडौंमा ‘ट्राभल एन्ड टुर्स’ कम्पनी खोले ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को संस्थापक अध्यक्षसमेत हुन्, अम्बिका । सन् १९७६ मा व्यापार विस्तार गर्दै २६ कोठाको द्वारिकाज होटेल सञ्चालनमा ल्याए । अम्बिका उमेरले ८६ पुगिन् । अझै पनि उत्तिकै सक्रिय देखिन्छिन् । उनले हाँकिरहेको द्वारिकाज बुटिक होटेलको प्रेरक बनिरहेको छ । नयाँ पत्रिका दैनिकबाट साभार

पहिचानको खोजीमा महाउत समुदाय

नेपालगञ्ज । बाँके । बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ता टोलका केलाराम महाउत रोजगारीको खोजीमा नेपालगञ्जमा भौंतारिन थालेको तीन वर्ष भयो । शहरमा कुनै रोजगार नमिल्दा उहाँको मन खिन्न छ । ‘मागेर खाने भएकाले यो समुदायलाई मगन्ता भनिन्थ्यो, मागेर खाने पुख्र्यौली पेशा छोडेसँगै अहिले नयाँ पेशा र पहिचानका लागि कष्टकर जीवनयापन गर्नुपरेको छ’– केलारामले भन्नुभयो– ‘महाउत समुदाय अहिले गरिबी, अभाव र संकटबाट गुज्रिएको छ, पेशा र पहिचानबिना जीवन चलाउन कठिन भएको छ ।’ समुदायबाटै पहिलोपटक एसएलसी पास गर्नुभएका केलाराम कृषक समूह गठन गरेर खेती किसानीको काम गर्दै आउनुभएको छ । पढेलेखेर पनि बेरोजगार बस्नु पर्दा महाउत समुदायमा पढेर पनि केही नहुने गलत धारणाको विकास भएको उहाँको बुझाइ छ । ‘महाउत बस्तीमा गरिबी र अशिक्षाको चरम रुप छ । बालबालिकालाई विद्यालय पठाउन सम्झाइबुझाइ गर्दा पनि अभिभावकहरू मान्दैनन्’– केलारामले भन्नुभयो– ‘जसोतसो विद्यालयमा भर्ना गराइदिए पनि बीचबाटै विद्यालय छोड्ने समस्या छ ।’ महाउत समुदायका अधिकांश बालबालिका शिक्षाबाट बञ्चित छन्, महिलाको स्वास्थ्य अवस्था नाजुक छ । डरलाग्दो बालविवाहको समस्या मात्र होइन, सिंगो समुदाय प्रत्येक दिन छाक टार्ने समस्याबाट माथि उठ्न सकेको छैन । मागेर खाने पुख्र्यौली पेशा छोडेसँगै मगन्ताबाट महाउत बनेको यो समुदायलाई यतिबेला नयाँ पेशा र पहिचान नपाउँदा जीवन चलाउन कठिन भएको केलारामको बुझाइ छ । बाँकेको हिरमिनियालगायत विभिन्न ठाउँमा दुई सय घरपरिवारको करिब एक हजार जनसंख्या छ । महाउत समुदायका युवा पुस्ताले अब मागेर हुँदैन, काम गर्ने र त्यसअनुसारको ज्याला लिनुपर्छ भन्ने बुझेका छन् । मागेर जीवन निर्वाह गर्ने भएकाले समुदायलाई नै मगन्ता जातिको परिचय दिइए पनि अहिले युवाहरूलाई आफ्नो नामको पछाडि झुन्डिने मगन्ता शब्द मन परेको छैन । त्यसैले महाउत लेख्ने गरेको युवा विशाल महाउतले बताउनुभयो । एक पुस्ता अघिसम्म यो समुदायका मानिसको नागरिकतामा नामको पछाडि मगन्ता थर लेख्ने गरे पनि अहिले त्यसलाई परिवर्तन गरेर महाउत लेख्ने गरिएको छ । पुर्खाहरूले नाममा मगन्ता नै लेखाए तर अहिले युवाहरूले नामको पछाडि महाउत लेख्न थालेपछि केही आत्मसम्मान मिलेको विशालको अनुभव छ । अल्पसंख्यक र सीमान्तकृत समुदाय भए पनि सूचीकृत भइनसकेकाले यो समुदायले कुनै विशेष सुविधा पाउन सकेको छैन । राज्यले आफूहरूलाई अल्पसंख्यक समुदायमा सूचीकृत गरी पेशा गर्ने व्यवस्थाको माग उनीहरूले गर्दै आएका छन् । खेती गर्नका लागि आफ्नै जग्गा जमिन, रोजगारीका लागि सीप र व्यापार–व्यवसायका लागि पुँजी नभएका कारण महाउत समुदायमा अधिकांश परिवार साँझ के खाउँ, बिहान के खाउँ भन्ने समस्या खेप्न विवश रहेको स्थानीय अमृता महाउतले बताउनुभयो । मगन्ता समुदायको बस्तीमा शुद्ध पिउने पानी छैन, बस्तीमा सडक बनेको छैन । स्थानीय सरकारले मगन्ता समुदायको विकासका लागि छुट्याएको बजेट कहाँ, कसरी, कसले खर्चिन्छ, उनीहरूले थाहा पाउन सकेका छैनन् । अन्य लोपोन्मुख तथा सीमान्तकृत समुदाय राजनीतिक पहुँचका लागि राज्यसँग लडिरहेको समय आफूहरूले भने आफ्नो पहिचान समेत कायम गर्न नसकेको अमृताको भनाइ छ । ‘महाउत समुदायको पुख्र्यौली पेशा तथा काम भनेको मागेर खाने हो’– महाउत समुदायकी अगुवा एवं डुडुवा गाउँपालिका कार्यपालिका सदस्य जवन्ती महाउतले भन्नुभयो– ‘अहिले खेती किसानी र मजदुरी गरेर जसोतसो जीविकोपार्जन गर्दै आए पनि महाउत समुदाय सबै क्षेत्र र अवसरबाट पिछडिएको छ ।’ महाउत समुदायकै एक्ली जनप्रतिनिधि बाँकेमा अल्पसंख्यक महाउत समुदायकी एक्ली जनप्रतिनिधि जवन्ती महाउतले विभिन्न चुनौती चिर्दै समुदाय र टोल बस्तीको विकासमा खटिनुभएको छ । महाउत समुदायको उत्थान र वडाको समग्र बस्ती विकासका लागि काम गर्ने आफूमा हुट्हुटी भए पनि राजनीतिक खिचातानीले सोचेजस्तो काम गर्न नपाएको उहाँको अनुभव छ । स्थानीय तह निर्वाचन २०७९ मा जवन्ती बाँकेको डुडुवा गाउँपालिका–६ बाट महिला सदस्यमा निर्वाचित हुनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट वडा सदस्य जित्नुभएकी जवन्तीलाई उक्त पार्टीले कार्यपालिका सदस्य बनाएको थियो । कार्यपालिका सदस्य बनेपछि थुप्रै चुनौतीका बीच जवन्तीले काम गर्दै आउनुभएको छ । ‘हाम्रो समुदायलाई लोपोन्मुख अल्पसंख्यक जातिमा सूचीकृत गर्नुपर्नेछ, मगन्ता वस्तीलगायत वडाका समग्र टोलको विकास गर्नुछ’– जवन्तीले भन्नुभयो– ‘कार्यपालिका बैठकमा पटक–पटक हाम्रो समुदाय र वस्तीको कुरा उठाएकी छु तर अहिलेसम्म सम्बोधन भएको छैन ।” बालबालिका विद्यालय बाहिरै अल्पसंख्यक महाउत समुदायका बालबालिका आर्थिक अभावमा विद्यालय जानबाट बञ्चित हुँदै आएका छन् । विद्यालय उमेर समूहका अधिकांश बालबालिका मजदूरी गर्ने ठाउँमा भेटिन्छन् । ‘गाउँमा धेरै पढेको कोही छैन, मैले तीन कक्षासम्म पढेर छोडिदिएँ’– विद्यालय उमेर समूहका नौकुश महाउतले भन्नुभयो– ‘स्कुल जान कापी किताब, झोला र पोशाक चाहिन्छ, घरमा कसैले दिदैन । त्यसैले अहिले मजदुरी गर्न थालेको छु ।’ काशी महाउतका विद्यालय उमेर समूहका चार छोरा र एक छोरी छन् तर कोही पनि विद्यालय जाँदैनन् । साना बालबालिका बाख्रा, बङ्गुर चराउन जाने र अलि ठूलो भएपछि मजदुरीमा जाने गरेको काशीले बताउनुभयो । ‘पढे लेखेर के हुन्छ, कसैले केही काम पाएका छैनन्, त्यही भएर हाम्रा छोराछोरी स्कूल जाँदैनन्’– काशीले भन्नुभयो– ‘घरमा खान बस्नकै समस्या छ, विद्यालय पठाउन कापी किताब, झोला र पोशाक कहाँबाट ल्याउने ?’

जब हजार जनाले पानीको मुहान खोल्न थाले

काठमाडौं । लगाएको चैते धानको खेतमा धाँजा फाट्न थाल्यो । मकै पहेंलो हुँदै सुक्न थाले । चिसापानी हुँदै कर्णालीमा पानी त बगिरहेको छ तर स्थानीय किसानका लागि त्यो विरबलको खिचडी जस्तै भयो । किसानसँग दुई वटा विकल्प थिए । एउटा आकाशबाट पानी आउला र आफ्नो वाली सप्रेला भनेर आश गर्नु, अर्को चिसापानीबाट कर्णाली बग्दै गरेको पानी ल्याउनु । बाली सुक्न खोज्दै थियो । किसान आकाशतिर फर्किए । तत्काल खेत भिज्नेगरी पानी आउने सम्भावना देखिएन । त्यसपछि सुरु भयो बुढीकुलोमा पानी ल्याउने कुरा । किसानका समस्या साझा थियो । त्यसैले जुट्न समय लागेन । स्थानीय दयाराम बैद्य भन्छन्, ‘हामी २० जना भएर गयौं, अलिअलि पानी खोल्यौं ।’ २० जनाले पानी कुलोमा पु¥याउन कठिन थियो । तर समस्या त सबै किसानको साझा थियो । पटक पटक योजना परेको र काम हुने नगरेको यो कुलोमा पानी ल्याउन आफै जानुपर्ने सबै किसानको सोच थियो । २० जना गएर काम सुरु गरेको थाहा पाएपछि होस्टेमा हैंसे गर्न पानी लगाउनुपर्ने सबै किसान जम्मा हुने निधो गरे ।  चैत्र छ गते सल्लाह भयो । अर्को दिन अर्थात सात गते विहान ८ बजे बुढीकुलोमा पानी ल्याउनका लागि सबै जम्मा हुने । धेरै खबर गर्नै परेन । किनभने पानी ल्याउनु र खेतमा सिंचाई गर्नु मुख्य कुरा थियो । बुढीकुलोमा पानी लिन जनकनगर, बगहिपुर, भठेरा, सर्खोल, बनखेत, गोला र अन्य गाउँका किसानहरु आफै जम्मा भए । हामीले फोन गर्दा दयाराम बैद्य कुलोमा पानी ल्याउन ढुङ्गो पल्टाउँदै थिए । ‘हामी करिब हजार जना जति जम्मा भएका छौं । अब बुढिकुलोमा पानी जान्छ ।’ उनले सुनाए ।  कुलोमा पानी भएपछि बुढीकुलोबाट सिंचाई हुने करिब साढे दश हजार हेक्टर क्षेत्रफल सहित अन्य तीन कुलो पनि मिलाएर छ गाउँका हजार बढि परिवारलाई राहत हुने बैद्यले सुनाए । हजार जनाको श्रममा अहिले बनाएको कुलोले यस पटकको हिउँदे बाली जोगिने भयो । बैद्य ढुक्क छन्, ‘बैशाखसम्म कुलोमा पानी पुगेपछि यसपटकको बाली जोगिनेछ ।’ त्यसो त वर्षात्को समयमा मुहान फेरि उस्तै हुनेछ । हजार जनाको अहिलेको लगानी क्षणभरमै बगर हुनेछ । यो पनि किसानलाई थाहा नभएको होइन । तर यसपटककै बाली जोगाउन कुलोमा पानी ल्याउन मुहान बनाउनुको विकल्प थिएन ।  ‘स्थायी संरचना बनाउन पालिका तथा सरकारबाट पहल भएको छैन त ?’ प्रश्न खस्न नभ्याउँदै बैद्यले लामै गुनासो गरे, ‘पहल भएको भन्छन्, काम भएको छैन । आश्वासन मात्रै पाइन्छ । मन्त्री आएपनि हेरेर मात्रै गए । अहिलेसम्म केहि भएन । मुहान नै नभएपछि के गर्ने ? तलतिर मात्रै आयोजनाको काम भनेर भएन । ११ गाविसलाई काम लाग्ने भनेको छ, भजाई खाने बाटो मात्रै भयो ।’ मुहान बनाउनका लागि दुई करोड आएको भन्ने सुनेका किसानहरु त्यो रकम खर्च गराउन पनि पटक पटक ताकेता नगरेका होइनन् । बैद्य भन्छन्, ‘एकले अर्कोलाई देखाउँदै आफु पन्छिने काम मात्रै भयो । सीडीयोले अर्कोलाई देखाउँछ, अर्कोले सीडीयोलाई ।’   यो वर्ष खोला बढि डाइभर्ट भएकाले खोलामा पानी कम भएको उनले सुनाए । त्यसैले पनि यस वर्ष बढि मिहनेत गर्नुपरेको छ । बुढिकुलोको मुहान बनाउनका लागि कर्णाली सिंचाई आयोजनाले अग्रसरता देखाउनुपर्नेमा आयोजना यो विषयमा पनि गम्भिर नबनेको स्थानीय किसानको आरोप छ ।  गेरुवा गाउँपालिकाले भने मुहानको काम सक्नका लागि बजेट सहितको हेर्ने काम प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको बताए । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले भने, ‘दुई करोड सहितका सबै यो आयोजनाको काम हेर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीले लिनुभएको हो ।’   गेरुवा गाउँपालिका वडा नम्बर १, बर्दियामा रहेको यो कुलोको मुहान बनाउनका लागि प्रमुख जिल्ला अधिकारीले फेरि आयोजना प्रमुखलाई जिम्मा दिएको किसान बनाउँछन् । प्रमुख जिल्ला अधिकारी परिवर्तन भएपछि पनि काम अघि बढाउन समस्या भएको स्थानीय बताउँछन् । गएको पुस ८ गते कार्यालयमा हाजिर भएका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई यसै विषयमा सोध्न खोज्दा सम्पर्कमा आएनन् ।

सरकारको एक वर्ष : तस्करी र अपराध नियन्त्रणमा ऐतिहासिक कदम

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा सुशासन प्रवद्र्धन, सेवा प्रवाह, तस्करी र अपराध नियन्त्रणमा आशाको सञ्चार छरिएको छ । सुशासन, सामाजिक न्याय तथा सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको सरकारले अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण कदम चालेको छ । गत वर्ष यही समयमा राष्ट्रिय परिचयपत्र र राहदानी लिन नागरिकको राति २ बजेदेखिको ठेलमठेल भीड अहिले देख्न सकिँदैन । सुन तस्करी तथा नक्कली कागजात तयार पारी राज्यलाई नै हानि पु¥याउने (नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने) कार्यको सञ्जाललाई नै ध्वस्त बनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनको एक वर्ष पुग्दा यी र यस्ता केही देखिने तथ्यहरुले गएको वर्ष तस्करी र अपराध नियन्त्रणका दृष्टिले सफल मान्न सकिने राजनीतिक क्षेत्रका जानकारहरु बताउँछन् । सरकारबाट अझै धेरै गर्न भने बाँकी रहेको उहाँहरुको प्रतिक्रिया छ । छिटफुट केही योजना सोचेअनुसार सफल हुन नसकेकाले गति बढाउनुपर्ने स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउँदै आएका छन् । अर्को वर्ष लागेसँगै नयाँ ढङ्गले जाने उहाँले यसअघि नै उद्घोष गरिसकेका छन्। अहिले उहाँ मन्त्रालयगत प्रगति विवरण अध्ययनकै चरणमा हुनुहुन्छ भने अधिकांश मन्त्रालयले प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइसकेका छन् । कार्यालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री दाहाल सबै अध्ययन र समीक्षापछि अर्को नयाँ चरणको घोषणा गरेर अघि बढ्ने तयारीमा हुनुहुन्छ । सरकारले पहलकदमी लिएको एक वर्ष नपुग्दै मिटरब्याजी पीडितका समस्या समाधानको चरणमा अघि बढेको छ । नागरिकता समस्या तथा प्रशासनिक निकायमा हुने ढिलासुस्ती र हैरानी पनि कम भएको छ । छिटोछरितो रुपमा राष्ट्रिय परिचयपत्र पाउने वातावरण बनेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत अब जनताले हैरानी खेप्नुपर्ने अवस्था नरहेको बताउनुहुन्छ । दशकौँदेखि जकडिएर रहेको मिटरब्याजी समस्याका कारण तराईका कैयौँ नागरिक घरबारविहीन भएका थिए । कतिपय पीडित हिंसामा परेका थिए । आफ्नै छोरी चेलीहरु साहुबाट जोगाउन मुस्किल भएको थियो । अझ दिन दुई गुणा रात चौगुणा मिटरब्याजको थिचोमिचोले भयभित नागरिक घर छाडेर हिँड्न बाध्य परेको अवस्थाबाट पीडितले विस्तारै राहत पाउन थालेका छन् । झण्डै नौ महिनाको अवधिमा उक्त समस्या एक चरणमा हल भएर मिटरब्याज अपराधका रुपमा परिभाषित भई कानुन तर्जुमा भएकाले अब विगतमा जस्तो मिटरब्याजबाट नेपाली नागरिकले हैरानी खेप्नुपर्ने अवस्थाको अन्त्य भएको उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ बताए। सुन तस्करी नियन्त्रणमा पनि सरकारले ठूलो पहलकदमी लिँदा सङ्गठित तस्कर, विचौलिया, सहयोगीहरु पक्राउ परेका छन् भने पछिल्लो एक वर्षमा मात्रै झण्डै १०० किलो सुन बरामद गरिएको छ । गृहमन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि पहिलो निर्णय नै सुराकी खर्च हटाउने निर्णय गरेर सुशासनको जग तयार पारे। यसले हरेक महिना गृहमन्त्री र सचिवले कानुनी आधार बिनै लिन पाउने लाखौँ रकम जोगिएको छ । त्यसपछिका दिनहरुमा गृह मन्त्रालयबाट लगाताररुपमा शान्ति सुरक्षा, अमनचलन कायमका सवालका साथै चोरी, तस्करी, अपराध नियन्त्रणमा ठोस कदम चालिएको छ । अर्को महत्वपूर्ण घटना भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहको सेटिङ नै भत्काइएको छ । उक्त कदमको सर्वत्र प्रशंसा भएको छ । शरणार्थी प्रकरणमा राजनीति व्यक्तिदेखि उच्च सरकारी कर्मचारी तथा विचौलियालगायतका व्यक्तिहरु पक्राउ परेका छन् । उनीहरु अहिले पुर्पक्षका लागि कारागारमा छन् भने केही कारागार बाहिर बसेर मुद्दा लडिरहेका छन् । वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले अनलाइन माध्यमबाटै श्रम अनुमति आवेदन दिने तथा सामाजिक सुरक्षाको दायरामा ल्याउने काम पनि भएको छ । दुई–दुई पटक सङ्घीय संसद्ले पारित गरी राष्ट्रपति कार्यालय पठाइएको नागरिकता विधेयक यसपटक भने टुङ्गोमा पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित विधेयक ऐनका रूपमा कार्यान्वयन आइसकेको छ । यसले लामो समयदेखि आफ्नै देशमा पनि अनागरिक भएर बसेका नागरिकले नेपाली नागरिकता प्राप्त गर्न थालेका छन् । यस्तै गैरआवासीय नेपालीले समेत नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ । धेरैले नागरिकता समेत प्राप्त गरिसकेका छन् । गृह मन्त्रालयअन्तर्गतका निकायमा योग ध्यान शिविर चलाएर सरकारले कर्मचारी वर्गमै नयाँ सन्देश दिएको छ । सुराकी खर्च खारेज गृहमन्त्री श्रेष्ठले गत चैत १७ गते गृह मन्त्रालयमा पद बहाल हुनुभएको थियो । सरकारको एक वर्ष पुग्नै लाग्दा गृहमन्त्रीको एक वर्ष पुगेको छैन । तर पनि मन्त्री श्रेष्ठले सम्हालेको गृहले महत्वपूर्ण पहलकदमी लिएको छ । गृहको पुरानो चलन गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा लाखौँ खर्च गर्न पाउने कार्यविधिलाई खारेज गर्ने फाइलमा हस्ताक्षर गरी उनले पदबहाली गरेका थिए । त्यो रकमको अडिट, भरपाई बिलिङ नै हुँदैनथ्यो । आवश्यकताका आधारमा सुराकी खर्च भनेर गृहमन्त्री र सचिवबाट सामान्यतया १५ देखि २५ लाखसम्म मासिक खर्च हुन्थ्यो त्यसलाई गृहमन्त्री श्रेष्ठको प्रस्तावमा सरकारले खारेज गरिसकेको छ । मिटरब्याजी समस्या समाधान गत वर्षको यो समयमा मिटरब्याजी पीडित जिल्लामा आन्दोलित थिए । सरकारसँग विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका उनीहरु केही सीप नलागेपछि चैतमा राजधानी केन्द्रित भए । सरकारले द्रुतगतिबाट उनीहरुको समस्या समाधानको बाटो समाएको थियो । सरकार गठनको एक वर्ष नबित्दै उक्त समस्याले समाधानको बाटो समाएको छ । विशेषत तराईमा मिटरब्याजमा लगाउने चलन थियो । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार यस विषयमा गृहमन्त्री श्रेष्ठ पहिलै जानकार हुनुहुन्थ्यो । मधेसमा एक लाख दिएर पाँच लाखको चेक लिने, पाँच लाख दिँदा २५ लाखको चेक लिने वा जग्गा जमिन लिने गरिन्थ्यो । विदेश जानेले एक(डेढ लाख रकम सापटी लिँदा १०(१५ लाखको जग्गा लिने पुरानो जकडिएको अपराध थियो । कानुनको अभावमा नहुँदा साहुले बनाएको कागज नै कानुनी आधार हुँदा धेरै पीडितहरु मुद्दा खेपेर थप पीडित बनेका थिए । मन्त्रालयमा आएको एक सातामै उनले मिटरब्याजीपीडितको माग सम्बोधन गर्नुभएको गिरी स्मरण गर्नुहुन्छ । त्यसबेला गृहमन्त्री श्रेष्ठले भन्नुभएको थियो, “ऐन ल्याएर समस्या हल गर्छु अहिलेको अवस्थामा सामन्तवादीजस्तो अपराध र अन्यायपूर्ण कुरालाई हल गर्छु ।” त्यति सहज नभएको उक्त काम प्रधानमन्त्री प्रचण्डको पूर्ण साथ र गृहमन्त्रीको आफ्नै पहलमा कानुन नै बनेर आएको र जाँचबुझ आयोगले काम सम्पन्न गरेको छ । सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगमा २८ हजार निवेदन परेकामा हासम्ममा पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र भएको छ । आयोगका सदस्य पूर्वएआइजी उत्तमराज सुवेदीका अनुसार आयोग गठन भएपछि यसरी मिलापत्र गरी २१८ बिघा, १० कट्टा, ०७ धुर जग्गा ९७९३ कित्ता० साहुबाट पीडितलाई फिर्ता गराइएको छ । कूल रु एक अर्ब ७२ करोड ८६ लाखको कारोबार दुवै पक्षबीचको सहमतिमा मिलापत्र भएको छ । अहिलेसम्म ३९ जिल्लामा अनुचित लेनदेनको समस्या समाप्त भएको छ । अब अनुचित लेनदेनको उजुरी तथा समस्यालाई गृहमन्त्रालय र अन्तर्गतका जिल्ला प्रशासन कार्यालयले टङ्गङ्गो लगाउने गरी आयोगले प्रतिवेदन बुझाएको छ । संसद्ले यससम्बन्धी कानुनसमेत पारित गरी कार्यान्वयनमा आइसकेको छ । भुटानी शरणार्थी काण्ड अर्को डरलाग्दो काण्ड हो सक्कली नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराध । यो राज्य संयन्त्रकै उपस्थितिमा भएको जघन्य अपराध थियो । भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ रकम असुली गरेको आरोपमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत १२ मा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुका बयानका आधारमा प्रहरीले लहरो तान्दै जाँदा बहालवाला सचिव तथा राजनीतिक उच्च नेतृत्वसम्म पुग्यो । उक्त मुद्दामा ३० जनाविरुद्ध झण्डै रु २९ करोड बिगो दाबीसहित मुद्दा दायर भएको थियो । जिल्ला अदालत काठमाडौँले पक्राउ परेकामध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार पठाएकामा पछि पुनरावेदन हुँदा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका केही व्यक्तिहरु धरौटीमा छाडिएका छन् भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राईलगायत कारागारमै छन् । सुन काण्ड अघिल्लो माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (भेप) मा लुकाइछिपाइ ल्याएको नौ किलो सुन प्रकरण र ब्रेक शुमा हालेर ल्याइएको ६१ किलो सुन गत साउन २ गते विमानस्थलको भन्सार कार्यालय अगाडि बरामद गरिएको प्रकरणले नेपालमा सुन कसरी भित्रिन्छ भन्ने तथ्य उजागर गरिदिएको छ । उक्त प्रकरण अनुसन्धानमा स्वदेश र विदेशका ठूलो गिरोह सक्रिय रहेको पाइएको छ । सरकारले असोज १४ मा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरेकोमा अहिले आयोगले काम गरिरहेको छ । ती ठूला सुन काण्डको अनुसन्धान जारी रहँदा गत भदौ ३ र असोज १३ गते रसुवा नाकाबाट तीन किलो, असोज १० र ११ गते दोलखाबाट सात किलो सुनसहित केही व्यक्तिलाई समात्यो । मङ्सिर २१ गते राति १४ किलो सुनसहित गोरखा बारपाकका चन्द्र घलेसहितका व्यक्तिहरु समातिएका छन् । त्यसको केही दिनमै न्युरोड र नागढुङ्गाबाट नौ किलो सुन बरामद गरी पाँच जना पक्राउ परे । प्रहरीबाट प्राप्त विवरणमा पछिल्लो १० वर्षमा तस्करी गरेर ल्याइएको सात सय किलो सुन बरामद भएको छ । सुन ओसारपसारमा संलग्न छ सयभन्दा बढी समातिएका छन् । सुन भित्रिने अवैध बाटोको पहिचान र सुन ल्याउने तस्कर खोज्ने काम अझै पनि जारी छ । ललिता निवास काण्डमा उथलपुथल अर्को सरकारी जमिन घोटालाको नमूना उदाहरण रहेको ललिता निवास काण्ड २०४९ देखि २०६९ को समयभित्रको हो । त्यसको फाइल खोलेर सरकारले अर्को महत्वपूर्ण कदम अघि बढाएको छ । विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । यस प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायतविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले भदौ १० गते उक्त मुद्दामा ३१० जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । गृह प्रशासन सुधारको पहल सरकारले गृह प्रशासन सुधारको पहल पनि सुरु गरेको छ । प्रधानमन्त्री प्रचण्डसँगको परामर्शपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले गृह प्रशासन सुधारका लागि नीतिगत पहल थालेका हुन्। उनले गृह प्रशासनको नीतिगत सुधारको सुझाव पेस गर्नका लागि यही कात्तिक २६ गतेको निर्णयले पूर्वमुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा एक समिति र अन्य पाँच उपसमिति गठन गरेर आवश्यक कार्यादेश दिएका छन् । सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन गृह मन्त्रालय र अन्तर्गतका निकायको प्रभावकारिताका लागि आवश्यक सुझाव दिने गरी पौडेलको नेतृत्वमा समिति बनाइएको हो । “गृह प्रशासनलाई सबल र सक्षम बनाउन, जनताको सुरक्षाको निश्चितता गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादन चुस्त हुनु जरुरी छ”, श्रेष्ठले भने, “यस प्रक्रियामा देखिएका समस्या तथा कमीकमजोरी र चुनौती पहिचान गरी सुधारका क्षेत्र तथा उपायहरू र त्यसको कार्ययोजनासमेत तयार गर्नु जरुरी देखिएकाले यो समिति बनाइएको हो ।” शान्ति सुव्यवस्था कायम राख्न, सेवालाई पारदर्शी, परिणाममुखी तथा चुस्त बनाउन, सङ्गठन तथा कर्मचारीलाई उत्तरदायी, सक्षम एवम् जवाफदेही बनाउन, नीतिगत, कानुनी तथा कार्यगत सुधारका क्षेत्रहरू पहिचान र कार्ययोजनाहरू तर्जुमा गर्न अध्ययन समिति तथा विषयगत उपसमितिहरूले सुझवा पेस गर्ने छ । केही बाँकी गर्न काम केही कामहरु भने थाती नै छन् । लामो समयदेखि प्रहरी समायोजन हुन नसकेकाले त्यसलाई अघि बढाउन जरुरी रहेको छ । एक चरणको छलफल भइसकेको र प्रदेशका मन्त्रीहरुबाट ध्यानाकर्षण गराइसकेकाले पनि सरकारले यसलाई गम्भीर चासोका साथ काम गरिरहेको जनाइएको छ । तीनै तहका सरकारको कामकारबाहीका बारेमा भएका बेमेल, शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउनेदेखि सुरक्षा निकायबाट हुने गरेका कमीकमजोरीमा अझै पनि ठोस काम हुन नसकेको गुनासाहरु देखिएका छन् । चोरी तस्करी नक्कली कागजात बनाएर विदेश पठाउने गिरोहहरुको सक्रियता बढिरहेको छ । युवाहरु विदेश पलायन हुने क्रम जारी छ, रोजगारीका नाममा मानव तस्करी बढिरहेको छ । यसतर्फ पनि सरकारले कदम अघि बढाउन जरुरी छ । यद्यपि सरकारी कर्मचारीले कमिसन खाएर भिजिट भिसामा नक्कली कागजातका आधारमा विदेश पठाउने गरेको पाइएकाले त्यसविरुद्ध अहिले कारबाही अभियान चलिरहेको छ । अहिलेसम्म ३५ जनाभन्दा बढीलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । अझै पनि नागरिकले सोचेअनुसारको सेवा पाउन नसकेकोतर्फ पनि सरकार सचेत हुनुपर्ने नागरिकहरुबाट गुनासो छ ।

राष्ट्रका नाममा प्रधानमन्त्री प्रचण्डको सम्बोधन, अब सरकारले गियर बढाउने (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्ने उल्लेख गरे। दाहालले एक वर्षे कार्यकालमा कयौँ उपलब्धि भएको सुनाउँदै अबको २०८० को दशकलाई विकासको दशक बनाउने पनि बताए। पूर्णपाठ 

लोकप्रिय