राजधानीकै मतदाता भन्छन्–“मतदान गर्न आउँदैन”

राजधानीकै मतदाता भन्छन्–“मतदान गर्न आउँदैन”

भक्तपुर, मंसिर १३ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्नका लागि आम मतदाता मतदान गर्न आतुर छन्, तर डर छ, कतै आफूले गरेको मतदान बदर भएर खेर जाने त होइन ? प्याब्सनकी केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले मतदाता अन्यौलमा रहेको बताइन ।

तीन पटक मतदान गर्नुपर्छ भन्ने जनताले बुझे पनि चार ठाउँमा मतदान गर्नुपर्छ भन्ने बुझ्न सकेका छ्रैनन् । कुन रंगको मतपत्र कसका लागि हो भन्ने बुझ्न नसक्दा उनीहरु अन्यौलमा परेका छन् ।

निर्वाचन आयोगले देशव्यापी रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर गाउँ टोलमा टोली पठाए पनि प्रभावकारी हुनसकेको छैन । घरघरमा पुगेर मतदाता शिक्षा दिनुपर्ने प्रावधान भए पनि त्यसरी परिचालित हुननसक्दा मतदाता शिक्षा प्रभावकारी हुननसकेको गुनासो आएको हो ।

सूर्यविनायक नगरपालिका– १ सिरुटारकी प्रतिमा श्रेष्ठ कसरी मतदान गर्ने भन्ने अन्यौल भएको बताइन । उन भने,–“भोट हाल्ने दिन नजिक आइसक्यो, कसैले तीनवटा भोट हाल्नुपर्छ भन्छन्, कसैले चारवटा, तर कति पटक कसरी हाल्ने र कसरी खसाल्ने भन्ने कुरा जाने कै छैन ।”

भक्तपुर नगरपालिका १ दूधपाटिका सरोज सुवालको भनाइ पनि यस्तै छ । “पहिला पनि भोट हालेकै हो, त्यसैगरी अहिले पनि भोट हालौला, तर कुन भोट कुन पदका लागि त्यो थाहा छैन, भोट हाल्ने ठाउँमै सोध्नु पर्ला”–उहाँले भन्नुभयो । मतदातालाई भोट हाल्ने ठाउँमा केही सोध्न पाइदैन भन्ने पनि थाहा छैन, यस्तो बेलामा मत बदर हुने सम्भावना हुन्छ ।

गत स्थानीय तहको निर्वाचनमा एउटै मतपत्रमा सात वटा छाप लगाएका मतदातामध्ये कतिपयले यसपटक पनि यस्तै होला भन्ने बुझेका छन् । चाँगुनारायण नगरपालिका– ३ का कोपिला खड्का एउटै मतपत्रमा चारवटा छाप लाउने भन्ने आफूले बुझेको बताइन । उनले भनिन्–“भोट हाल्न त आइहाल्छ नि, अस्तिको चुनावमा एउटै मतपत्रमा सात ठाउँमा छाप लगाए, अहिले चार ठाउँमा लाउनुपर्छ भन्ने सुनेको छु, त्यसैगर्छु ।”

दलका नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेपनि कसरी मतदान गर्ने, कतिवटा मतपत्र हुन्छ, कतिवटामा छाप लगाउने भन्ने जानकारी मतदातालाई नगराउदा मतदाता अन्यौैलमा परेका हुन् ।

नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले मतदाता शिक्षा प्रभावकारी रुपमा घरदैलोमा नपुगेको बताउँदै यसमा बजेट सदुपयोग हुन नसकेकाले यसको जिम्मा दलले पाउनुपर्ने जिकिर गर्छन ।

यता एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राजथला पनि चुनावप्रचार र घरदैलोमा व्यवस्त नेता कार्यकर्ताले मतदातालाई भोट हाल्न नसिकाएको बताउदै मतदाता शिक्षा प्रभावकारी हुननसकेको बताउछन ।

नेमकिपा भक्तपुरका केन्द्रीय सदस्य एवं क्षेत्र नं २ प्रदेशसभा क का उम्मेदवार सरोजराज गोसाइँ भने आफ्नो पार्टीले चुनावप्रचारसँगै मतदाता शिक्षा पनि दिएको बताए । मतदाता शिक्षा भन्दा पनि दलहरुले आफैले भोट हाल्न सिकाउदा मत बदर हुने सम्भावना कम हुने उनको भनाइ छ ।

यता जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले पनि मतदाता शिक्षा प्रभावकारी नभएको गुनोसो आएपछि खटिएका टोलीलाई प्रभावकारी रुपमा मतदाता शिक्षा दिन निर्देशन दिएको बताए । उनले भने,–“यस जिल्लाका लागि २०९ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेका छौँ, घर÷घरमा गएर नमूना मतपत्रमा मतदान गर्न सिकाउन निर्देशन दिएका छौं, दलका प्रतिनिधिले पनि मतदाता शिक्षामा सहयोग गर्नुपर्ने आवश्यक छ ।”

निर्वाचन आयोगले आउँदो २१ गतेको निर्वाचनका लागि तीन रंगका मतपत्र छपाइ गरेको छ । पहिलो हरियो रंगको मतपत्रमा आफूले रोजेको प्रतिनिधिसभा सदस्यको एउटा चिन्हमा, दोस्रो कालो रंगको मतपत्रमा आफूले रोजेको प्रदेशसभा सदस्यका एउटा चिन्हमा र तेस्रो रातो मतपत्रमा आफूले रोजेको प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फ माथिल्लो कोष्टको चुनाव चिन्हमा र प्रदेशसभा सदस्यको समानुपातिकका लागि तल्लो कोष्टको चुनाव चिन्हमा छाप लगाउनुपर्ने राईले जानकारी दिए ।

हरियो र कालो मतपत्रमा एक भन्दा बढी छाप लगाए रद्द हुने र रातो मतपत्रमा माथि र तल फरक÷फरक कोष्टमा एक÷एक वटा चिन्हमा छाप लगाउनुपर्छ भनेर बुझाउनु अत्यावश्यक रहेको उनको भनाइ थियो । मतदान गरेपछि मत खसाल्ने क्रममा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकको मत निर्धारित बाकसमै खसाल्नुपर्छ । अन्य बाकसमा खसाले त्यस्तो मत समेत बदर हुने भएकाले मतदाता शिक्षा प्रभावकारी हुनुपर्ने प्रमुख राईले बताए ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय