राष्ट्रपतिको ‘चाँडै नै मृत्यु हुन्छ’ भनेपछि …
माघ १९ । श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको ‘चाँडै नै मृत्यु हुन्छ’ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ ।
अधिकांश श्रीलंकाली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, व्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा अद्यापि व्याप्त छ ।
हाल पक्राउ परेका ज्योतिष–विजिता रोहणा विजयेमुनि श्रीलंकाली नौसेनाका पूर्वसैनिक हुन् ।
सन् १९८९ मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी श्रीलंकाको औपचारिक भ्रमणमा रहँदा उनलाई आक्रमण र हत्या गर्ने प्रयास गरेको आरोपमा यिनले जागिर गुमाउनुका साथै सजायसमेत भोग्नुपरेको थियो ।
तथाकथित ज्योतिष विजयेमुनिले राष्ट्रपति सिरिसेनालाई अकस्मात् कडा ज्वरोले पक्डने वा अकल्पनीय दुर्घटनामा पर्ने र २७ जनवरीअगावै उनको मृत्यु हुने भनी बकबास हल्ला फैलाइ ज्योतिष विद्याभिरु समाजलाई दिग्भ्रमित पार्ने प्रयास गरेकोले पक्रिइ नियन्त्रणमा लिएको भन्ने श्रीलंकाली प्रहरीको भनाइ छ ।
राष्ट्रपति सिरिसेनाको मृत्यु हुन्छ भन्ने भविष्यवाणीसहित विजयेमुनिले गत डिसेम्बरमा आफ्नो फेसबुक पेजमा थरिथरिका थुप्रै भिडियो क्लिप अपलोड गरेकाले आमजनमानसमा भविष्यवाणी सत्य पो हुने हो कि भन्ने भ्रम फैलन गएको थियो ।
सरकारमा रहेका उच्च अधिकारीहरु चाहिँ विजयेमुनिप्रति सशंकित रहेका थिए ।
यहीक्रममा विजयेमुनिले भित्रभित्रै कतै सैनिक विद्रोह गराउने वा राष्ट्रपतिलाई अप्रत्याशित आक्रमण गर्ने षड्यन्त्रको तानाबाना त बुनिरहेको छैन भन्ने आशंकामा सन्चार मन्त्रालयका सचिव निमाल बोपेजले श्रीलंकाका प्रहरी प्रमुखलाई गोप्यरुपमा अनुसन्धान गर्न र विजयेमुनिको भविष्यवाणीले उत्पन्न गराउनसक्ने सम्भाव्य परिणामउपर निगरानी राख्ने आदेश दिएका थिए ।
कोरियामा जहाज दुर्घटना अपडेटः १७९ जनाको मृत्यु, दुई यात्रुमात्रै जीवित भेटिए
सियोल । दक्षिण कोरियामा आइतबार बिहान १८१ यात्रु बोकेको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ । जेजु एयरको बोइङ्ग ७३७-८०० विमान ल्यान्डिङ गियरमा समस्या हुँदा रनवेबाट चिप्लिएर बाहिर पुगेपछि पर्खालमा ठोक्किएको थियो । यस दुर्घटनामा अहिलेसम्म १७९ जनाले ज्यान गुमाइसकेका छन् । योनहाप न्यूज एजेन्सीले उद्धारकर्मीलाई उद्धृत गर्दै जनाएअनुसार अब जहाजमा सवार २ जना मात्रै जीवित भेटिएका छन् । अन्य सबै यात्री र चालक दलका सदस्यले ज्यान गुमाइसकेका छन् । राहत र उद्धारको काममा लागेकाहरूले जनाएअनुसार अहिलेसम्म १२० जनाको शव भेटिएको छ । न्यूज एजेन्सीका अुनसार यो दुर्घटना स्थानीय समयानुसार बिहान ९ बजेर ७ मिनेटमा भएको हक्सुको । जेजु एयरको उडान नम्बर २२१६ को जहाज देशको दक्षिण-पश्चिमस्थित मुआन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिरहेको थियो । विमान बैंककबाट दक्षिण कोरिया फर्किएर अवतरणका क्रममा दुर्घटनामा परेको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोअनुसार जहाज रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएपछि एकैचोटी आगोको मुस्लोमा परिणत भएको देखिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार जहाज चराहरूको झुन्डसँग ठोकिन पुगेको थियो । त्यसका कारण जहाजको ल्यान्डिङ गियरमा खराबी आएर दुर्घटना हुन पुग्यो । कोरिया हेराल्डले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार विमान दोस्रो पटक अवतरणको कोसिसमा लाग्दा दुर्घटनाग्रस्त भएको हो । एयरपोर्टको चक्कर लगाएपछि जहाजले ल्यान्डिङ्ग गियरलाई पूरै नझारी आपतकालीन अवतरणको कोसिस गरेको थियो । आपतकालीन अवतरणका क्रममा रनवेबाट चिप्लिएको जहाज भाँचिन पुग्यो । त्यसको केहीबेररमै विमानस्थल धुवाँको मुस्लोले भरियो । अहिलेसम्म चालक दलका एक सदस्य र एक यात्रीलाई मात्रै बचाउन सकिएको छ । बाँकी १७९ जनाको ज्यान गइसकेको छ । विमानमा १७५ यात्रु र चालक दलका ६ जना सदस्य थिए । यात्रुमा १७३ जना दक्षिण कोरियाली नागरिक थिए । अन्य दुईजनाको राहदानी थाई थियो । भिडियोमा देखिएअनुसार जहाज रनवेबाट बाहिर गएर परसम्म चिप्लिँदै एक तारजालीको पर्खालमा ठोकिएको थियो । पर्खालमा ठोकिएपछि जहाजमा ठूलो विस्फोटको आवाज आयो । जहाज ठोकिने बित्तिकै आगोको मुस्लोमा परिणत भएर नष्ट भएको छ।
कोरियाको विमान दुर्घटनामा कम्तीमा ८५ को मृत्यु, मृतकको संख्या १७९ पुग्ने अनुमान
सियोल । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जेजु एयरको विमान दुर्घटनामा ८५ जनाको मृत्यु पुष्टि भएको छ। अधिकारीहरूले मृतक संख्या १७९ पुग्न सक्ने अनुमान गरेका छन्, जसमा १८१ जना यात्रु मध्ये केवल दुई जना मात्र बाँच्न सफल भएका छन्। जेजु एयर फ्लाइट 7C2216, बोइङ ७३७–८००, धावनमार्गभन्दा बाहिर गएको, परिधि बारमा ठोक्किएको र आगलागी भएको थियो। जोन्नाम अग्नि सेवाका मुख्यालयका अनुसार बाँचेका दुई जना चालक दलका सदस्य छन्, एक पुरुष र एक महिला। यात्रुहरूमा थप जीवित मानिस फेला परेका छैनन्, र भग्नावशेषको अवस्था हेर्दा थप मानिसहरू बाँच्ने सम्भावना न्यून रहेको आगलागी नियन्त्रण अधिकारीहरूले यात्रुका परिवारहरूलाई जानकारी गराएका छन्। दुर्घटनामा विमानको मुख्य भाग पूर्ण रूपमा नष्ट भएकोले मृतकको पहिचान गर्न निकै गाह्रो भएको छ। उद्धार टोलीहरूले हराएका यात्रुहरूको शव खोज्ने प्रयास जारी राखेका छन् भने अहिलेसम्म फेला परेका शवहरूलाई राख्न अस्थायी शवगृहहरू बनाइएका छन्। प्रतिवेदनहरूका अनुसार धेरै शवहरू अत्यन्त क्षतिग्रस्त अवस्थामा फेला परेका छन्, जसले पहिचान प्रक्रिया जटिल बनाएको छ। अधिकारीहरूले उद्धार कार्यमा ध्यान केन्द्रित गरेका छन् र घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी राखेका छन्। विमान बैंककबाट बिहान १:३० बजे उडेको थियो र बिहान ८:३० बजे मुआनमा अवतरण गर्ने तालिका थियो। रनवे नम्बर १ मा पहिलो अवतरण प्रयास असफल भएपछि विमान फेरि आकाशमा उडेको थियो। दोस्रो प्रयासमा, अवतरण गियर बिग्रिएपछि रनवेको अन्त्य नजिक आपतकालीन "बेली ल्याण्डिङ" गरिएको थियो। बेली ल्याण्डिङ भनेको विमानको अवतरण गियर पूर्ण रूपमा नखुलेको अवस्थामा विमानको तल्लो भागमा अवतरण गर्ने प्रक्रिया हो। पूर्ण रूपमा रोक्न नसकेपछि विमानले उच्च गतिमा एयरपोर्टको परिधि बारलाई ठक्कर दियो, जसका कारण विमान पूर्ण रूपमा ध्वस्त भयो र तत्काल आगलागी भयो। ८० अग्नि नियन्त्रक सहित आपतकालीन टोली घटनास्थलमा तुरुन्त खटिएको थियो। आगो ४३ मिनेटभित्र नियन्त्रणमा लिइयो, र विमानको पछिल्लो भागबाट उद्धार प्रयास सुरु गरियो। प्रारम्भिक अनुसन्धानका अनुसार "पन्छी ठोक्किनु" (बर्ड स्ट्राइक) अवतरण गियर बिग्रनुको सम्भावित कारण हो। यो घटना विमान पन्छीहरूको समुहसँग ठोक्किँदा वा पन्छीहरूले इन्जिनमा प्रवेश गर्दा हुन्छ। दुर्घटनामा परेको विमानमा १७३ दक्षिण कोरियन र दुई थाई नागरिक रहेको अधिकारीहरूले बताएका छन्। कार्यवाहक राष्ट्रपति चोइ सङ-मोक आइतबार बिहान ९:५० बजे केन्द्रीय विपद् तथा सुरक्षा नियन्त्रण मुख्यालय पुगेका थिए। उनले उद्धार र यात्रुहरूको सुरक्षामा प्राथमिकता दिन निर्देशन दिएका छन्। "सवै उपलब्ध उपकरण र जनशक्ति उद्धार कार्यमा केन्द्रित गर्नुपर्छ," उनले गृह तथा सुरक्षा मन्त्रालय, भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय, राष्ट्रिय अग्नि एजेन्सी, र कोरियाली राष्ट्रिय प्रहरी एजेन्सीका अधिकारीहरूलाई निर्देशन दिए। चोइले उद्धार कार्यमा संलग्न फायरफाइटर र उद्धारकर्मीहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताएका छन्। दुर्घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायहरूले अनुसन्धान जारी राखेका छन्, र सरकार प्रभावितहरूलाई पूर्ण सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। परिवारजनहरूले घटनाको बारेमा जानकारीका लागि हॉटलाइन नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्: ०८०-८९८-१५०० (कोरियामा), +८२-१५९९-८६२९ (विदेशबाट), र १-८३३-८९२-०१९७ (उत्तर अमेरिकाबाट)। स्रोतः द कोरिया हेराल्ड
तिब्बतमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण गर्ने तयारी
तिब्बत । चीनले तिब्बतमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण गर्ने योजना स्वीकृत गरेको छ। यसले तिब्बतका समुदायहरूको विस्थापन र भारत तथा बंगलादेशका नदी प्रणालीमा वातावरणीय प्रभावको चिन्ता उत्पन्न गरेको छ। यो बाँध यारलुङ त्साङ्पो नदीको तल्लो भागमा निर्माण हुनेछ। यसले हाल विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना मानिने थ्री गर्जेज ड्यामको तुलनामा तीन गुणा बढी ऊर्जा उत्पादन गर्न सक्नेछ। चिनियाँ सरकारी सञ्चारमाध्यमले यस विकासलाई "पर्यावरण संरक्षणलाई प्राथमिकता दिने सुरक्षित आयोजना" को रूपमा चित्रित गर्दै यसले स्थानीय समृद्धिलाई बढावा दिने र बेइजिङको जलवायु तटस्थता लक्ष्यमा योगदान गर्ने बताएका छन्। तर मानव अधिकार समूह र विज्ञहरूले यस आयोजनाको प्रभावको विषयमा चिन्ता व्यक्त गरेका छन्। विशेष गरी, यसले स्थानीय समुदायलाई विस्थापित गर्ने, प्राकृतिक भू–परिवेशलाई ठूलो क्षति पुर्याउने, र तिब्बती पठारका जैविक विविधतायुक्त पर्यावरणीय प्रणालीमा नोक्सान पुर्याउने जोखिम रहेको छ। चीनले तिब्बती क्षेत्रहरूमा धेरै बाँधहरू निर्माण गरेको छ, जुन सन् १९५० को दशकमा तिब्बतलाई चीनमा गाभिएपछि बेइजिङले कडा नियन्त्रणमा राखेको क्षेत्र हो। यसअघि, कार्यकर्ताहरूले बीबीसीलाई बताएका थिए कि यी बाँधहरू तिब्बती र उनीहरूको भूमिको शोषण गर्ने बेइजिङको पछिल्लो कदमको उदाहरण हो। मुख्यतः बौद्ध धर्मावलम्बी तिब्बतमा विगतमा पटक–पटक कठोर दमन भएको छ, जसमा हजारौं मानिसको मृत्यु भएको विश्वास छ। यस वर्षको सुरुमा, चिनियाँ सरकारले अर्को जलविद्युत् बाँधको विरोध गर्ने सयौं तिब्बतीलाई पक्राउ गरेको थियो। उक्त विरोधमा केही मानिस गम्भीर घाइते हुनेगरी कुटिएका थिए। विरोध गाङ्तुओ बाँध र जलविद्युत् आयोजनाको निर्माण योजनाको विरुद्ध थियो, जसले धेरै गाउँलाई विस्थापित गर्ने र पुराना गुम्बाहरूलाई जलमग्न बनाउने थियो। बेइजिङले स्थानीयलाई स्थानान्तरण गरी मुआब्जा दिएको र प्राचीन भित्ताचित्रलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ। यारलुङ त्साङ्पो बाँधको हकमा, चिनियाँ अधिकारीहरूले यस आयोजनाले ठूलो वातावरणीय प्रभाव नपर्ने बताएका छन्। तर, यसले कति मानिसलाई विस्थापित गर्नेछ भन्ने विवरण खुलाइएको छैन। थ्री गर्जेज बाँधका लागि १४ लाख मानिसलाई पुनर्स्थापित गर्नु परेको थियो। प्रतिवेदनहरूका अनुसार, यो विशाल परियोजनाका लागि नाम्चा बार्वा पहाड हुँदै कम्तीमा चारवटा २० किमी लामो सुरुङ खन्नुपर्नेछ, जसले तिब्बतको सबैभन्दा लामो नदी यारलुङ त्साङ्पोको प्रवाहलाई मोड्नेछ। विज्ञहरू र अधिकारीहरूले पनि चिन्ता व्यक्त गरेका छन् कि यो बाँधले नदीको प्रवाहलाई नियन्त्रण गर्न चीनलाई बलियो स्थिति दिन सक्छ। यो नदी दक्षिणतर्फ भारतको अरुणाचल प्रदेश र आसाम हुँदै बंगलादेशतर्फ बग्दछ। सन् २०२० मा, अष्ट्रेलियाली थिंक ट्यांक लोवी इन्स्टिच्युटको प्रतिवेदनले उल्लेख गरेको थियो, "तिब्बती पठारका यी नदीहरूको नियन्त्रणले चीनलाई भारतको अर्थतन्त्रमा चोकहोल्ड दिने सम्भावना छ।" चीनले सन् २०२० मा यारलुङ त्साङ्पो बाँधको योजना घोषणा गरेपछि, एक वरिष्ठ भारतीय अधिकारीले रोयटर्सलाई भारत सरकारले चिनियाँ बाँध आयोजनाको प्रतिकूल प्रभावलाई कम गर्न ठूलो जलविद्युत् बाँध र जलाशय निर्माणको योजना बनाएको बताए। चीनको विदेश मन्त्रालयले सन् २०२० मा प्रस्तावित बाँधबारे भारतको चिन्ताको जवाफ दिँदै चीनलाई नदीमा बाँध निर्माण गर्ने "वैध अधिकार" रहेको र तलतिरका प्रभावलाई ध्यानमा राखेको जनाएको थियो। पछिल्लो एक दशकमा चीनले यारलुङ त्साङ्पो नदीको मार्गमा जलविद्युत् उत्पादनका लागि धेरै स्टेसनहरू निर्माण गरेको छ। यो नदी संसारकै सबैभन्दा गहिरो घाटीबाट बग्छ, जहाँ नदीको एक खण्डले ५० किलोमिटरको दूरीमा २,००० मिटरको उचाइ गुमाउँछ। यसले जलविद्युत् उत्पादनका लागि ठूलो सम्भावना प्रस्तुत गरेको छ। तर, नदीको यो चुनौतीपूर्ण भौगोलिक बनावटले इन्जिनियरिङ कठिनाइ पनि प्रस्तुत गर्दछ। हालको परियोजना चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो र महत्वाकांक्षी योजना हो। विकासस्थल भूकम्प–प्रवण टेक्टोनिक प्लेट सीमामा रहेको छ। यस क्षेत्रमा ठूलो स्तरको उत्खनन र निर्माणले पहिरोको सम्भावना बढाउने चिन्ता चिनियाँ अनुसन्धानकर्ताहरूले पहिले नै व्यक्त गरेका छन्। "भूकम्पजन्य पहिरो र चट्टानी प्रवाहहरू नियन्त्रण गर्न कठिन हुनेछन्। यसले आयोजनाका लागि ठूलो चुनौती प्रस्तुत गर्नेछ," सन् २०२२ मा सिचुआन प्रान्तीय भूवैज्ञानिक ब्युरोका एक वरिष्ठ इन्जिनियरले भने। चोङ्गी जल स्रोत ब्युरोको अनुमानअनुसार, यस आयोजनाको लागत एक ट्रिलियन युआन ($१२७ अर्ब; £१०९.३ अर्ब) सम्म पुग्न सक्छ। स्रोतः विविसी
युक्रेनी ऊर्जा संयन्त्रमा रूसको भयानक हमला
काठमाडौं । रूसले युक्रेनको ऊर्जा संयन्त्रमा भयानक हमला गरेको छ । क्रिसमसकै दिन रूसले युक्रेनका कयौं शहरमा ब्यालेस्टिक र क्रुज मिसाइलबाट हमला थालेको हो । युक्रेनी ऊर्जामन्त्री जर्मन गलुशेन्कोले दुश्मन (रूस)ले आफ्ना ऊर्जा संयन्त्रमा पुनः व्यापक मात्रामा हमला गरिरहेको बताएका छन् । सो हमलाबाट युक्रेनका कयौं स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । सरकारले पनि हमलाका कारण बिजुली प्रवाह रोकिदिएको छ । युक्रेनको दोस्रो ठूलो शहर खारकीभमा रूसले सघन हमला गरेको छ । बीबीसीमा उल्लेखित समाचारअनुसार; यतिखर खारकीभ शहर रूसी मिसाइल हमलाबाट ध्वस्तजस्तै भएको छ । युक्रेनी ऊर्जामन्त्रीले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् । उनले हमला रोकिएपछि मात्र ऊर्जा कम्पनीले क्षति अनुमान गर्न सक्ने बताएका छन् । खारकीभका मेयर आयोर तेरेखोवले शहरमा ठूलो सङख्यामा मिसाइल दागिएको जानकारी दिएका छन् । एकपछि अर्को धमाका भइरहेको छ, बिस्फोटको आवाज सुनिन छाडेको छैन । शहरका क्षेत्रीय प्रमुख ओलेह सिनेहुबोवले रूसी हमलाबाट कम्तिमा ६ जना घाइते भएको जनाएका छन् । कयौं भवन क्षतिग्रस्त भएका छन् । खारकीभ शहर युक्रेनको उत्तर-पूर्वी इलाकामा रूस नजिक छ । हालैका महिनामा युक्रेनका अधिकांश ऊर्जा संयन्त्रमा रूसले हमला गरेको छ । रूसी हमलाकै कारण युक्रेनको राजधानी कियभ र निप्रो लगायत कयौं इलाकामा विद्युत कटौती भएको छ । युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईकेले आफ्नो थर्मल पावर प्लान्टमा रूसले आक्रमण गरेको जनाएको छ । कम्पनीका अनुसार: रूसी हमलाबाट प्लान्टमा निकै ठूलो क्षति पुगेको छ ।