लाखे नाच प्रतियोगितामा त्रिशूली लाखे समूह पहिलो

लाखे नाच प्रतियोगितामा त्रिशूली लाखे समूह पहिलो

नुवाकोट, साउन २९ । नेवार समुदायको परम्परागत लाखे नाचको संरक्षण र प्रचारका लागि भन्दै नुवाकोटको बट्टार बजारमा आयोजित संगम लाखे नाच प्रतियोगितामा त्रिशूली लाखे समूह पहिलो भएको छ ।

संगम बचत तथा ऋण सहकारी संस्थाले १३ औँं वार्षिकोत्सवका अवसरमा शनिबार सञ्चालन गरेको प्रतियोगितामा पीपलटार लाखे समूह कोलनी दोस्रो तथा गंगटे लाखे समूह तेस्रो भएका छन् । प्रतियोगितामा बट्टार लाखे समूह र विदुर लाखे समूहले सान्त्वना पुरस्कार हात पारेका छन् । प्रतियोगितामा बगुवा लाखे समूहले उत्कृष्ट मुखुण्डोको पुरस्कार पाएको छ ।

प्रतियोगितामा पहिलो हुनेलाई रु २० हजार, दोस्रो हुनेलाई रु १० हजार, तेस्रो हुनेलाई रु पाँच हजार र सान्त्वना हुनेलाई रु दुई हजार नगदसहित पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा नौ समूहले सहभागिता जनाएका थिए ।

विजयीलाई विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले पुरस्कार वितरण गर्दै नेवार समुदायको लाखे नाच सबै नेपालीको पहिचान जनाउने संस्कृति भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले जिल्लामा नेवार समुदायको बस्ती बाक्लो भए पनि लाखे नाचको प्रचलन सदरमुकाम र वरपर मात्र सीमित हुन थालेकाले नाचको महत्व दर्शाउनका लागि पनि प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनुभयो ।

नेवार संस्कृतिविद् नरेन्द्र प्रधानले जिल्लामा लाखे समूह २० भन्दा धेरै भए पनि अहिले प्रतियोगितामा थोरै मात्र सहभागी भएको बताउँदै लाखे नाच सञ्चालन गर्न खर्चिलो भएकाले नाच प्रदर्शन कम हँुदै गएको बताउनुभयो । “सरकारी तवरबाट लाखे नाच संरक्षणको कुनै कार्य नभएपछि एउटा संस्थाले यसलाई प्राथमिकता दिनु राम्रो हो” उहाँले भन्नुभयो, “संस्कृति संरक्षणमा सबै संघसंस्था र व्यक्ति सक्रिय हुनुपर्छ ।”

जिल्लामा बट्टार, बेत्रावती, देवीघाट, त्रिशूली, दुईपीपल, नुवाकोट, खरानीटार, रालुका, तारुकालगायत स्थानमा गाईजात्राका अवसरमा लाखे नाच प्रदर्शन गरिन्छ । पछिल्लो समय भने नाच लोपोन्मुख अवस्थामा रहेको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय