शिक्षामा नीतिगत र संरचनात्मक सङ्क्रमणको वर्ष
काठमाडौँ, चैत २९ । संविधानानुकूल शिक्षा क्षेत्रमा नयाँ कानुन, नीति र संरचना सङ्क्रमणको वर्षका रुपमा संवत् २०७३ बित्दैछ ।
विद्यालय शिक्षाको नयाँ संरचनाले कानुनी मान्यता पाएको यस वर्ष उक्त कानुन अनुसार जारी हुनुपर्ने शिक्षा नियमावली र निर्माण हुनुपर्ने संरचनाको स्थापना भने पूरा हुन सकेनन् । सरकारले प्रतिबद्धता व्यक्त गरेअनुसार अधिकारसम्पन्न राष्ट्रिय शिक्षा परिषद् गठन हुन नसक्दा नयाँ शिक्षा नीति बन्ने विषय चर्चामै सीमित रह्यो । शिक्षासम्बन्धी नीतिनियम तर्जुमाका लागि शिक्षामन्त्रीको अध्यक्षतामा परिषद् गठन गर्ने कार्यले मूर्त रुप लिन सकेन । यसै वर्षका दोस्रा शिक्षामन्त्री धनीराम पौडेलले अघिल्ला मन्त्री गिरिराजमणि पोखरेलको प्रतिबद्धतापत्रलाई मुख्य आधार मान्दै सार्वजनिक गरेको कार्ययोजनामा पनि परिषद् र अलग्गै शिक्षा आयोग गठनको विषय उल्लेख थियो ।
व्यवस्थापिका–संसद्मा लामो समयदेखि विचाराधीन शिक्षा ऐन, २०२८ (आठौँ संशोधन) गत जेठ २२ गते पारित भयो भने असार १५ मा राष्ट्रपतिबाट प्रमाणीकरण भई लागू भयो । सो ऐनले एक दशकअघि लागू भई अवधि पूरा भएको ‘विद्यालय क्षेत्र सुधार कार्यक्रम’ ले परिकल्पना गरेअनुसार शिशु कक्षादेखि ८ सम्म आधारभूत र ९ देखि १२ सम्म माध्यमिक शिक्षाको संरचनाको व्यवस्था गरेको छ तर स्थलगत रुपमा हेर्ने हो भने अझै पनि विद्यालयहरुमा प्राथमिक, निम्नमाध्यमिक र उच्च माध्यमिक तहसहितको नाम र बोर्ड हटाइएको छैन ।
शिक्षा नियमावली आउन ढिलाइ हुँदा ऐनका कतिपय व्यवस्था कार्यान्वयनमा आएका छैनन् । कक्षा ९ देखि १३ सम्म प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको धारमा विद्यार्थी प्रवेशका लागि भने सो कानुनले थप सहजता दिएको छ । ऐनबमोजिम प्रवेशिका परीक्षा खारेज भई माध्यमिक शिक्षा परीक्षा यसै वर्षदेखि औपचारिक रुपमा लागू भयो ।
आठौँ संशोधन ऐनको मस्यौदा संविधान जारी हुनुपूर्व गरिएकाले सङ्घीय नेपालको शिक्षाको कार्यभारलाई त्यसले पूर्णतः बोक्न सक्ने अवस्था भने छैन । स्वयं शिक्षामन्त्री, विभिन्न दलका शिक्षा विभाग प्रमुख र सरोकार भएकाहरुले राज्य पुनःसंरचनाको आयामलाई बोक्ने नयाँ शिक्षा ऐनको आवश्यकता औँल्याउन थालेका छन् । स्थानीय तह पुनःसंरचना भई निर्वाचनको तयारी भएकाले संविधानको अनुसूचीमा माध्यमिक शिक्षा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी ती निकायको हुने भएकाले सोबमोजिम कानुनी व्यवस्थापन र हालका शिक्षाका निकायले जिम्मेवारी हस्तान्तरणको कार्य नयाँ वर्ष, २०७३ मा सरेको छ ।
शिक्षा मन्त्रालयले अघि सारेको सातवर्षीय ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ पनि यसै वर्ष लागू भएको भएको छ तर कार्ययोजनानुसार अपेक्षित बजेट विनियोजन हुन नसक्दा विद्यालय सुधारका कतिपय कामले गति लिन सकेनन् । भूकम्पपछिको विद्यालय पुनःनिर्माण पनि सोचेजस्तो प्रभावकारी हुन सकेन ।
ऐन संशोधन भएपछि माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न गठित राष्ट्रिय परीक्षा बोर्डले नौ महिना बित्दा पनि अध्यक्ष पाउन सकेन । विगतको प्रवेशिका परीक्षा बोर्ड र उच्चमाध्यमिक शिक्षा परिषद् समायोजनको प्रक्रिया सुरु भएको छ । बोर्डका अध्यक्षमा शिक्षाविद् वा परीक्षासम्बन्धी विज्ञमध्येबाट सरकारले नियुक्त गर्नेछ ।
ऐनले खुला प्रतियोगिताका लागि शिक्षकको पद सङ्ख्या खुलाउँदा अस्थायी शिक्षकलाई अन्तिम एक पटकका लागि रिक्त रहेका कुल दरबन्दीको ४९ प्रतिशत पदमा अस्थायी शिक्षकलाई मात्र उम्मेदवार हुन पाउने गरी शिक्षक सेवा आयोगले एक वर्षभित्र विज्ञापन गर्ने भनिएकामा सोको प्रक्रिया वर्षको अन्त्यतिर सुरु भएको छ । यद्यपि अस्थायी शिक्षकले सबैलाई प्रक्रिया स्थायी हुने गरी परीक्षा लिन आवाज उठाउँदै आएका छन् ।
सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीले कार्यालय समयमा अन्यत्र अध्यापन वा काम गरेमा वा अन्य कुनै व्यावसायिक क्रियाकलाप गरेमा, शिक्षक वा कर्मचारी राजनीतिक दलको सदस्य रहेको पाइएमा कानुनानुसार कारबाही भए पनि कुनै कारबाही देखिएन । व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले शिक्षा मन्त्रालयलाई निर्देशन दिएबमोजिम उच्च शिक्षासम्बन्धी छाता ऐन आउन सकेन भने खुला विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक पारित भए पनि पदाधिकारी नियुक्त हुन सकेको छैन ।
नेपाली भाषाको पुरानो वर्ण विन्यास कायम गर्न भाषा बचाऊ अभियानकर्ताको आन्दोलनले पनि यस वर्ष चर्चा पायो । नेपाल प्रज्ञा–प्रतिष्ठानको परामर्शमा शिक्षा मन्त्रालयले तीन वर्षअघि नयाँ वर्ण विन्यास लागू गराउने निर्णय गरेकामा आन्दोलनका कारण नयाँ वर्ण विन्यास खारेजीको अवस्थामा पुग्यो ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण हुन नसक्नु, पाठ्यपुस्तकको अभाव वा निजी विद्यालयमा मनोमानी शुल्क लिने पुरानो प्रवृत्ति यस वर्ष पनि रोकिएन । सरोकार भएकाहरु र नागरिक क्षेत्रबाट सार्वजनिक शिक्षा सुधारका लागि सामूहिक प्रयासका थालनी भने यस वर्ष देखिए । शिक्षामा सुधार तथा सफलताका समाचारले सञ्चारमाध्यममा स्थान पाउने क्रम बढेको पाइएको छ । रासस
‘प्रचण्ड’को सचिवालयले भन्यो- 'शेरा दरबारको जग्गाबारे आधारहीन कपोलकल्पित कुप्रचार बन्द गरियोस्'
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले शेरा दरबार जग्गा प्रकरणमा पार्टी र पार्टी नेतृत्वलाई जोडेकोप्रति आपत्ति जनाएको छ । ‘प्रचण्ड’की स्वकीय सचिव गंगा दाहालले विभिन्न काल्पनिक र भ्रामक विषयहरू राखेर विनाकुनै प्रमाण र तथ्यविना दिवंगत भइसकेका व्यक्तिमाथि गरिएको कुप्रचार बन्द गर्न माग गर्नुभएको हो । ‘शेरा दरबार प्रकरणलाई माओवादी केन्द्रसँग जोड्नु भ्रामक मात्र नभएर बदनियत पूर्णसमेत छ । उक्त प्रकरणका अभियुक्तहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न पार्टीले सरकारसँग मागसमेत गरिसकेको छ । अभियुक्त जुनसुकै आस्था, दल वा समुदायको होस्, पूर्वाग्रह नराखी अनुसन्धान र कारबाही गर्नुपर्छ भन्नेमा हामी दृढ र स्पष्ट छौँ।’उहाँले भन्नुभएको छ । भ्रष्टाचार र अनियमिततामा जोसुकै जोडिए पनि निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्छ भन्ने अठोटका साथ नै पार्टीले सुशासनको मुद्दालाई प्राथमिकता दिएको उहाँले बताउनुभएको छ । उहाँले कुनै आधार र प्रमाणविनाको कपोलकल्पित कुप्रचार बन्द गर्नसमेत माग गर्नुभएको छ ।
विकासको नयाँ मोडल दिएर देश विकास गर्न संभव छ भन्ने भाष्य स्थापित गर्न आवश्यकः प्रचण्ड
चितवन, १६ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै तहका सरकारले विकासको नयाँ मोडल दिएर देश विकास गर्न संभव छ भन्ने भाष्य स्थापित गर्नुपर्ने बेला आएको बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिकाले मेघौलीमा आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । केही समयदेखि मुलुकमा नकारात्मक भाष्य स्थापित गर्न खोजिएको उल्लेख गर्दै उहाँले यसलाई खण्डन गर्न भरतपुर महानगरपालिकाले महत्वपूर्ण प्रयास गरिरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले नेतृत्वले इमान्दार भएर काम गर्ने हो भने देशलाई गति दिन सकिन्छ भन्ने यो नमूना भएको बताउनुभयो । अहिले चितवनबाट बिदेश जाने क्रम उल्लेख्य रुपमा कम भएको स्पष्ट गर्दै उहाँले यसबाट आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सकारात्मक भाष्य स्थापित हुँदै गएको बताउनुभयो । ‘आगामी दिनमा देशभरिकै स्थानीय तह, प्रदेश र केन्द्रले पनि विकासमा नयाँ र मौलिक मोडल दिएर देशमा विकास निर्माण र रोजगारी सिर्जना गर्न संभव छ भन्ने भाष्य स्थापित गर्न आवश्यक छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘स्थानीय समुदायको सहयोग र समर्थन लिएर राजनीतिक नेतृत्वले विकास लगायत हरेक क्षेत्रमा नमूना देखाउन आवश्यक छ । अबको प्रतिष्पर्धा यसमै हुनुपर्छ ।’ चितवनमा भौतिक पूर्वाधार र मानवीय विकास नमूनायोग्य रुपमा भइरहेको उल्लेख गर्दै उहाँले आफू पनि चितवनको नागरिक हुनुको नाताले गौरव महसुस भइरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले अब चितवन विस्तारै देशभित्र मात्र होइन, विश्व समुदायकै लागि पुग्नैपर्ने ठाउँको रुपमा स्थापित हुने बताउनुभयो । चितवनमा खेल पूर्वाधारका लागि पनि महत्वपूर्ण काम भइरहेको उल्लेख गर्दै उहाँले खेलप्रति देशव्यापीरुपमा देखिएको युवाहरुको क्रेजलाई सम्बोधन गर्न खेल पूर्वाधारमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो । आफूले तीनपटक सरकारको नेतृत्व गर्दा जनताले प्रष्टसँग अनुभूति गर्नसक्ने गरी काम गरेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउन र सुशासन स्थापित गर्न सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘मैले पहिलो कार्यकालमा मध्यपहाडी लोकमार्गको सुरुवात र गरीब किसानको ऋण मिनाह गर्ने निर्णय गरें भने दोस्रो कार्यकालमा लोडसेडिङमुक्त नेपालको निर्माण र संविधान कार्यान्वयनको वातावरण बनाएँ’– उहाँले भन्नुभयो– ‘तेस्रोपटक सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान सुरु गर्ने अवसर प्राप्त गरें ।’ एकथरि मान्छेहरुलाई यो अभियान मन नपरेर सरकार ढालिएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘म अहिले जनताको बीचमा छु, मुलुकमा स्थिरता र विकासको सपनासहित दौडिरहेको छु, आम जनताको साथ सहयोग प्राप्त हुँदै गएको छ । मलाई यो पटक प्रधानमन्त्री भएको बेलामा भन्दा जनताको बीचमा जाँदा सम्मान प्राप्त भएको छ ।’ भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले सम्बोधन गर्नुभएको थियो ।
अध्यक्ष प्रचण्डद्धारा तमु ल्होसारको शुभकामना व्यक्त
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायसहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । शुभकामना सन्देश मार्फत अध्यक्ष प्रचण्डले जनताको संघर्ष र बलिदानबाट समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरिएको बताउनुभएको छ । सबै समुदायको साझेदारीमा संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको उहाँले बताउनुभएको छ । यस्तो छ तमु ल्होसारको अवसरमा अध्यक्ष प्रचण्डले दिनुभएको शुभकामना सन्देश तमु (गुरुङ) समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायसहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। तमुहरूको प्राचीन वर्षगन्तीको पात्रोअनुसार ऋतु परिवर्तन (पुष १५)को आधारमा नयाँ वर्षको गणना गर्ने परम्परा रहेको छ। प्रकृतिमा पाइने १२ वटा जीवजन्तुहरूको नामको आधारमा १२ वर्षीय चक्रको गन्ती गर्ने परम्पराअनुसार यस वर्ष सप्रिल्हो (सर्प वर्ग) पर्न गएको छ। प्राचीन भौतिकवादमा आधारित प्राकृतवादी चिन्तन प्रणालीका रूपमा यो पर्व विशेष महत्त्वपूर्ण रहेको छ। सांस्कृतिक परम्परामा धनी तमु समुदायले सदियौँदेखि आफ्ना रीतिरिवाज, परम्परा, र संस्कृतिको संरक्षण गर्दै आइरहेका छन्। तमु समुदायमा नयाँ वर्षको आगमनको उल्लासपूर्ण वातावरणमा मनाइने यो पर्वले यस समुदायको मौलिकता, परम्परा र सांस्कृतिक महत्त्वलाई झल्काउँछ। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक हो। यहाँको विविधता हाम्रो राष्ट्रिय सम्पत्तिमात्र नभई विश्व समुदायका लागि अमूल्य निधि हो। भाषा, संस्कृति, भेषभूषा र संस्कार हाम्रा जातीय पहिचान र मौलिक सभ्यताका आधारस्तम्भ हुन्। यस्ता सांस्कृतिक विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको महत्वपूर्ण दायित्व हो। जनताको संघर्ष र बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौँ। सबै समुदायको साझेदारीमा संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो। अन्त्यमा, यो पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीबीच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, परस्पर सम्मानको भावना प्रगाढ बनाउन, राष्ट्रिय एकता र मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गरोस्। तमु ल्होसारको पुनः शुभकामना व्यक्त गर्दछु।
मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा
काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । हिजो साँझ उहाँको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ।अध्यक्ष प्रचण्ड अहिले साझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिदै परिवारसित पनि भेट गर्नुभएको थियो । सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले उहाँको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए। सो क्रममा महासचिव किरणले क्याविनको भन्दा आइसीयुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभयो । अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गर्नुभयो । सो क्रममा दुबै जना भावुक पनि हुनुभएको थियो । अध्यक्ष प्रचण्ड र महासचिव किरणबीच २०३८ देखि २०६८ सम्म निकै घनिष्ट सम्बन्ध रहेको थियो । पार्टी बिभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उहाँहरुले एकले अर्कालाई निकै आदरभावका साथ सम्मान गर्दै आउनुभएको छ।