साझा यातायातको निःशुल्क यात्रा, ज्येष्ठ नागरिक उत्साही

साझा यातायातको निःशुल्क यात्रा, ज्येष्ठ नागरिक उत्साही

काठमाडौँ, असार २८ । रामेछापका ७५ वर्षीय दुर्गाप्रसाद घिमिरे थापाथलीबाट जाउलाखेल जाँदा साझा यातायातमा चढ्नुभयो । उहाँले बस भाडा दिँदै गर्दा साझा यातायातले भाडा नै लिएन ।

आफूजस्ता ज्येष्ठ नागरिकका लागि साझा यातायातले पूरै भाडा छुट गरेको छ भन्ने कुरा दुर्गाप्रसादलाई थाहा नै थिएन । “एक दिन म थापाथलीबाट साझा यातायातमा जाउलाखेल जाँदै थिए, तर भाडा दिएको त मलाई नै फिर्ता दियो, त्यसमा ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा गर्न पाउने व्यवस्था गरेको रहेछ, खुशी लाग्यो”– उहाँले भन्नुभयो ।

विगत चार वर्षदेखि नयाँ बानेश्वरस्थित सडक विभाग नजिकै धर्ना बस्दै आउनुभएका सिन्धुलीका ८२ वर्षीय नारायणप्रसाद पोखरेलले साझा यातायातमा भाडा छुट दिएकोप्रति खुशी व्यक्त गर्नुभयो । पोखरेल नयाँ बानेश्वरबाट जडीबुटी जाँदा साझा यातायातले भाडा लिएन ।

काठमाडौँ महानगरपालिकाको सहकार्यमा साझा यातायातले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई काठमाडौँ उपत्यकाभित्र निःशुल्क यात्राको व्यवस्था गरेको साझाका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत ७० वर्ष पुगेका ज्येष्ठ नागरिकको परिचयपत्र, अपाङ्गता भएका व्यक्ति (‘क’ र ‘ख’ वर्गमा पर्ने) दृष्टिविहीन (ह्वाइलचियरको प्रयोग गर्ने) लाई साझा यातायातको झाडामा छुट दिन सुरू गरिएको हो ।

सुन्धारा नजिकै सडकमा गीत गाएर आफ्नो गुजारा चलाउँदै आएका दृष्टिविहीन धीरेन राईले साझाले दृष्टिविहीनलाई भाडा निःशुल्क गरेकोमा खुशी व्यक्त गर्नुभयो । काठमाडौँ उपत्यकामा चल्ने अन्य सार्वजनिक यातायातमा गत वर्षदेखि ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट गर्ने व्यवस्था लागू हुँदै आएको छ ।

“ज्येष्ठ नागरिकको हकमा सरकारले केही गरेको छ, तर गर्नुपर्ने अझै धेरै छ, ज्येष्ठ नागरिकका लागि काम गर्ने सरकारलाई हामी धन्यवाद दिन चाहान्छौँ”–विगत पाँच वर्षदेखि नयाँ बानेश्वरमा धर्नामा बस्दै आउनुभएका महाप्रसाद पराजुलीले भन्नुभयो ।

अग्रज समाज नेपालका अध्यक्षसमेत रहनुभएका पराजुलीले साझामा भाडा निःशुल्क गर्नु प्रशंसायोग्य भएको बताउनुभयो । अहिले ज्येष्ठ नागरिकले रु दुई हजार वृद्धाभत्ता (सामाजिक भत्ता) पाउँदै आएका छन् । त्यसैगरी ज्येष्ठ नागरिकले परिचयपत्रको आधारमा सार्वजनिक यातायातामा र सरकारी अस्पताल (स्वास्थ्य उपचारमा) मा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।

ज्येष्ठ नागरिकले सरकारले दिँदै आएको मासिक रु दुई हजार वृद्ध भत्तालाई बढाउनुपर्ने, स्वास्थ्य र यातायातमा दिइएको ५० प्रतिशत छुटको व्यवस्थालाई जिल्ला–जिल्लामा कार्यान्वयन गर्नुपर्ने माग राखेर विगत पाँच वर्षदेखि महाप्रसाद पराजुलीले धर्ना बस्दै आएका छन् । धर्र्ना बस्ने ज्येष्ठ नागरिकमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्राललयका उपसचिव मीरा शेरचनाका अनुसार विगत दुई वर्षदेखि ७५ वटै जिल्लामा रहेका महिला बालबालिका कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिँदै आएको छ । उहाँका अुनसार हालसम्म करिब तीन लाख ज्येष्ठ नागरिकले परिचयपत्र पाइसकेका छन् ।

धर्नामा बस्ने ज्येष्ठ नागरिकमध्ये धेरै जना आफन्त नभएका, छोरा बुहारीले वृद्धाश्रम र सडक छेउमा बेवारिसे अवस्थामा छोडिदिएका, आफन्तले घरबाट निकालिदिएका विभिन्न दलका नेता, सरकारी कर्मचारी र राज्यका जिम्मेवार निकायमा रहनुभएका व्यक्तिका आमाबाबु सहभागी हुनुहुन्छ ।

अध्यक्ष पराजुलीले सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई मात्र वृद्ध भत्ता दिने गरेको हुँदा ६० वर्षदेखि नै दिन सुरु गर्नुपर्ने माग गर्नुभयो । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या करिब २२ लाख रहेको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय