सिंहदरबारमा सम्पादकहरूसँग प्रधानमन्त्रीको छलफल, के भयो कुरा ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रधानमन्त्री कार्यालयमा सम्पादकहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा सम्पादकहरूसँग राज्य संचालनका क्रममा भएका विषयमा सुझाव सल्लाह लिनुका साथै प्रधानमन्त्रीले आफ्ना विषय राखेका थिए ।छलफलका क्रममा प्रधानमन्त्री र सम्पादकहरूबीच समसामयीक विषयमा खुलेर छलफल भएको थियो ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र अहिले सुन्ने गरिएका लोकतन्त्र विराधी स्वरहरुको कुनै तुक नरहेको बताए ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरुसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भने, “विश्वले नै अपनाएको र नेपालमा पनि नेपाली जनताले छानेको व्यवस्था नै लोकतन्त्रिक गणतन्त्र हो, यसको अर्को कुनै पनि विकल्प छैन ।”
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समयमा संविधान, लोकतन्त्र र गणतन्त्रमाथि नै प्रश्न उठाउने गरिएको पाइएको प्रसङ्ग उल्लेख गर्दै यस्ता स्वरहरुको कुनै तुक र आधार नभएको र तिनको व्यवस्थापन गरी गणतन्त्रको जग बलियो बनाउने विषयमा सरकार र गणतन्त्र पक्षधर राजनीतिक दलहरु एकमत रहेको बताए ।
यसै प्रसङ्गमा प्रधानमन्त्रीले भने “पूर्व राजावादीहरुका नाममा अलि बढी नै चलखेल गर्न खोजेको देखिएको छ । नेपाली जनताको बलिदानीबाट प्राप्त भएको वर्तमान संविधानको विरुद्धमा जाने छुट कसैलाई पनि छैन । यदि यसको विरुद्धमा कोही जान खोज्छ भने तिनीहरुलाई कसरी ‘ट्याकल’ गर्ने भन्ने बारेमा नेपालमा गणतन्त्र ल्याउन लागिपरेका सबै राजनीतिक दलहरुले आवश्यक रणनीति बनाएरै बसेका छौँ ।”
धर्मका बारेमा पछिल्लो समयमा भएका गतिविधिहरु पनि सरकारको सूचनामा रहेको उल्लेख गर्दै यस विषयमा पनि संविधानमा लेखिएभन्दा यता उता नहुने उनले स्पष्ट गरे ।
हरेक नेपाली नागरिकको सनातनदेखि चल्दै आएको धर्म र संस्कृतिको संरक्षण गर्ने तथा राज्य आफैँ धर्म निरपेक्ष रहने विषय स्पष्ट रुपमा संविधानमा व्यवस्था भएकाले सरकार यसबाट कुनै तलमाथि नहुने उनले स्पष्ट गरे ।
प्रधानमन्त्रीले भने, “यस विषयमा नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पनि संविधानमा लेखिएको विषयमा नै प्रतिबद्ध छन् र सरकार पनि स्पष्ट छ । वास्तवमा कुरा के हो भने अहिले आएर धर्मलाई संविधानबाट चलाइयो भने त्यहाँ गणतन्त्र पनि चल्छ र त्यसपछि फेरि राजतन्त्रका बारेमा अनेक थरी कुरा हुन सक्छन् भन्ने बारेमा गणतन्त्रका पक्षधर सबै राजनीतिक दलहरु पनि स्पष्ट नै छन् । त्यसैले अहिले हिन्दू राज्य घोषणा गर्ने रे भनेर ल्याएका नाराहरुको कुनै तुक छैन ।”
प्रधानमन्त्री प्रचण्डले विश्वले नै अपनाएको लोकतान्त्रिक गणतन्त्र वैज्ञानिक र अग्रगामी शासन व्यवस्था भएकाले अहिले आएर यसको विकल्प खोज्नु सर्वथा गलत हुने बताउँदै कुनै तत्वले यसको विकल्प खोज्दैमा सम्भव नहुने बताए ।
सत्ता गठबन्धन टुट्दैन
यसैगरी, प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारमा सम्मिलित राजनीतिक दलहरुको सत्ता गठबन्धन नटुट्ने पनि स्पष्ट गरे । उनले भने, “तत्कालै यो सत्ता गठबनधन टुट्दैन र पछि पनि टुट्नेवाला छैन ।”
अहिले विभिन्न कोणबाट सत्तारुढ दलहरुको अहिलेको गठबन्धन टुट्न लागेको त होइन भन्ने प्रश्न आउने गरेको भए पनि सत्तारुढ दलहरुको यो गठबन्धन कायम रहने प्रधानमन्त्रीले स्पष्ट पारे।
प्रधानमन्त्री प्रच(डले संसदमा आफ्नो दलको ३२ सिटमात्र रहेको र तेस्रो दलको नेता भए पनि सरकार सङ्कटमा नरहेको र यही सत्ता गठबन्धन पूरै समय रहने बताए ।
उनले भने, “मलाई थाहा छ, मेरो ससंदमा ३२ सिट छ र संसदीय अङ्कगणितमा म शक्तिशाली पनि छैन । तर पनि म लक्की छु, किनकी यो गठबन्धन तत्काल टुट्दैन र टुटनेवाला पनि छैन ।”
टिकटक बन्द होइन नियमन गर्न सकिन्छ
प्रधानमन्त्री प्रचण्डलाई टिकटक बन्द गरिएका विषयमा सम्पादकहरुले सोधेको प्रश्नमा उनले भने, “यो बन्द गर्नुपर्यो आवाज नै धेरैतिरबाट आएको हो । कांग्रेस सभापति, एमाले अध्यक्षले पनि पटकपटक भन्नुभएको हो । बरु मैले त विवाद हुन्छ कि भनेर दुईरतीन महिना नै पर सारेको हो तर हाललाई बन्द गरौँ भन्ने भएर गरिएको हो । तर यो सधैँलाई बन्द नै गर्ने नियत सरकारको होइन बरु सामाजिक सञ्जालसम्बन्धी विधेयक आउँदैछ, त्यसमा नियमन गर्ने प्रावधान राख्न सकिन्छ ।”
नियमन नै नहुने भन्ने कुनै पनि विषय नहुने भएकाले नियमन गर्न सकिने भन्दै प्रधानमन्त्रीले यसका लागि बरु के कस्ता नियमनकारी प्रावधान राख्न सकिन्छ भनेर सुझाव दिन सबैलाई आह्वान गरिएको बताए।
टिकटकका विषयमा आफूले प्रदेश प्रदेशमा गएर नागरिकका आवाज पनि सुनेको र जनताले नै सरकारले यसलाई बन्द गरिदेओस् भन्ने गरेका प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसबाट बहुसङ्ख्यक नागरिक टिकटक बन्द भएकामा नै खुसी रहेका बताए । उनले भने, “कतै कतै सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभियो भन्ने आवाज पनि मैले सुन्ने गरेको छु । त्यो बिल्कुल गलत हो, हामी नागरिकका सबै प्रकारका अधिकार रक्षाको पक्षमा छौँ ।”
आर्थिक सङ्कट समाधान गर्नतर्फ केन्द्रित छौँ
प्रधानमन्त्री प्रचण्डले नेपालमा आर्थिक सङ्कट रहेको र यसको समाधान तत्कालै खोज्नुपर्छ भन्ने कुरा सबैतिरबाट आएकाले यसका लागि सरकार केन्द्रित भएको पनि बताए। उनले भने, “एकपटक आर्थिक ‘एजेन्डा’मा धक्का दिएर अर्थतन्त्रमा सुधार ल्याउन सकियो भने अब मुुलुक राम्रोसँग अघि बढ्छ भन्ने मेरो आत्मविश्वास छ, यसका लागि निजी क्षेत्र तथा सरोकारवालासँग बारम्बार छलफल गरिरहेका छौँ र अब फेरि अर्को यस्तै राष्ट्रिय स्तरको छलफलको तयारी पनि गरिरहेका छौँ ।”
“आर्थिक सूचकाङ्क हेर्दा राम्रै देखिन्छ, पर्यटक आगमन, रेमिट्यान्सको अवस्था एवं वैदेशक मुद्राको सञ्चिति हेर्दा पनि सबै ठिकै देखिन्छ । तर वातावरण छैन भन्ने छ अनि व्यवसायीहरु सटर बन्द भएको भयै छ भन्छन् । त्यसैले अब यो के हो त भन्ने बारेमा पुनः एकपटक गम्भीर रुपमा छलफल गर्नेछौँ,” उनले भने।
लघुवित्त तथा सहकारीसम्बन्धी नीति, बैंकको ब्याज तथा व्यवसायीलाई दिने प्याकेज आदि विषयमा सरकारले धेरै निर्णय पनि गरिसकेको तर कता कता यस विषयमा गाँठो नफुकेको पो हो कि भन्ने देखिएकाले सरकार यसको आवश्यक निदानका लागि लाग्ने उनले विश्वास दिलाए।
नेपालले ‘क्लाइमेट जस्टिस’ पाउँछ
प्रधानमन्त्री प्रचण्डले संयुक्त अरब इमिरेट्सको दुबइमा जारी जलवायु सम्मेलन ‘कोप–२८’ नेपालमय भएको सुनाए ।
आफू संयुक्त राष्ट्रसङ्घीय महासभामा गएका बेला राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आमन्त्रण गरेको र उनी नेपालमा आई चार दिनसम्म बसेकाले अहिले कोप–२८ मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असरका बारेमा उनले नै वकालत गर्नु हाम्रा लागि खुसीको कुरा भएको प्रधानमन्त्रीले बताए ।
यस पटकको विश्व सम्मेलनमा नेपालले आफ्ना कुरा स्पष्टसँग राखेको र महासचिव गुटेरेसले पनि नेपालको नाम पटकपटक लिएर नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने असरबाट जोगाउनुपर्ने बताएकाले नेपालले न्याय पाउने धारणा प्रधानमन्त्रीले राखे।
जलवायुसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा पहिलोपटक नेपालका बारेमा यति धेरै चर्चा भएको भन्दै प्रधानमन्त्रीले नेपालले यसबारेमा पाउनुपर्ने सहयोगका लागि बल मिलेको बताए । उनले भने, “हामीले जलवायु परिवर्तनको असरका कारण प्राप्त गर्न पाउनुपर्ने अधिकारका कुरा राखेका छौँ र राष्ट्रसङ्घले पनि महसुुस गरेको छ । यसबाट अहिले विश्व समुदायलाई पनि जानकारी दिने काम भएको छ । त्यसैले हामीले सहयोग प्राप्त गर्छौं भन्ने मेरो विश्वास छ र यसका लागि नेपालका सम्बद्ध सबै निकायलाई ‘फलो अप’ गर्न पनि भनिसकेको छु ।”
विपीन जोशी छुट्छन् भन्ने विश्वास छ
अन्तरक्रियाकै क्रममा हमास विद्रोहीहरुको नियन्त्रणमा रहेका नेपाली युवक विपीन जोशीको अवस्था के हो भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उनी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको जानकारी पनि दिए ।
हमास र इजरायलसँग मध्यस्थता गरिरहेको कतारसँग नेपाल सरकारले पनि विपीनको रिहाइका लागि पहल गरिदिन अपिल गरेको, इजरायल सरकारसँग त सुरुदेखि नै माग गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले विपीनको रिहाइका लागि सबै प्रयासलाई जारी राखेको र हामीले गरेका अपिलका आधारमा उनी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको बताए।
त्यसैगरी, पछिल्लो समयमा रुस र युक्रेनमा पनि नेपाली युवा सेनामा भर्ती भइरहेको भन्ने सूचना पाएपछि सरकारले ती देशलाई नेपालको कुनै पनि नागरिक विदेशी सेनामा भर्ती हुने नीति नरहेको विषयमा जानकारी गराइएको र अब रुस र युक्रेन नजानका लागि पनि युवालाई नेपालमा चेतना जगाउने कामका लागि सम्बद्ध निकायले तयारी थालेको जानकारी उनले दिए ।
एनसेल बिक्री प्रकरणमा थप अध्ययन हुन्छ
नेपालमा सञ्चालनमा रहेको एक टेलिकम्युनिकेसन्स सेवा एनसेलको बिक्री भएका विषयमा हालैमात्र आएको समाचारबारे उनले सरकारले थप अध्ययन गर्ने बताए ।
यसअघि आफूले नै सरकारको नेतृत्व गरेका बेला सो कम्पनीबाट ठूलो मात्रामा कर असुली गरिएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले आएर किन्ने र बेच्नेको मात्र कुरा मिलेर नहुने र त्यसलाई सरकारले थप अध्ययन गर्ने प्रतिक्रिया दिए ।
उनले भने, “सरकार अध्ययन नगरी अघि बढ्दैन । कम्पनीको करिब एक सय ३० अर्बजतिको सम्पत्तिलाई पाँचरछ अर्बमा बेच्न खोजिएको जस्तो सूचना हामीले पाएका छौँ । यहाँ क्रेता र बिक्रेताको मात्र कुरा मिलेर हुँदैन, त्यो सबै प्रक्रियामा सरकार र यसका सम्बद्ध निकाय पनि संलग्न हुनुपर्छ । अहिलेलाई म यत्ति नै भन्छु आजमात्र मुख्यसचिवसँग मैले यस विषयमा कुरा गरेको छु र अहिलेलाई यो प्रक्रिया रोकिन्छ र थप अध्ययन गरेरमात्र अघि बढिन्छ ।”
नेपालको प्रतिष्ठा बढेको छ
त्यसैगरी, प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार एक वर्ष नपुग्दै अमेरिका, भारत, चीनलगायत देशको भ्रमणका साथै संयुक्त राष्ट्रसङ्घीय महासभा र जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा भएको उपस्थितिले नेपालको प्रतिष्ठा बढाएको बताए ।
भारत र चीनमा भएका औपचारिक भ्रमणमा पनि मुलुकको हितमा महत्वपूर्ण सम्झौता गरेको चर्चा गर्दै प्रधानमन्त्रीले ती सहमतिमा नेपालले पाउने लाभका विषयमा लाग्न नेपाली निकायलाई लागिपर्न निर्देशन दिइरहेको बताए।
भारतसँगको जलविद्युत्सम्बन्धी सम्झौताको कार्यान्वयनका लागि होस् या पञ्चेश्वर परियोजनालाई नेपालको हितका पक्षमा कार्यान्वयन गराउन आफू लागिपरेको उनले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले एक प्रसङ्गमा नेपालको संसद्ले सर्वसम्मतिबाट पारित गरेको नेपालको चुच्चे नक्साको कार्यान्वयन गरी त्यस बमोजिमको नेपाली भूमि कायम गर्नका लागि भारतसँग कूटनीतिक वार्ता गरिरहेको पनि बताए ।
उनले भने, “यो विषयको कार्यान्वयन द्विपक्षीय वार्ताबाहेक अरूबाट सम्भव छैन । त्यो विषयमा मेरो भारत भ्रमणका समयमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा भएको हो । वार्ताका माध्यमबाट समाधान गर्नेमा उहाँ पनि सकारात्मक हुनुहुन्छ ।”
प्रधानमन्त्री प्रचण्डले अर्को एक प्रसङ्गमा सरकारले सुशासन र जनताका पक्षमा काम गरेको बताए । नागरिकतासम्बन्धी कानुन, मिटरब्याजीलाई कारबाही गर्ने कानुनको निर्माण, भूटानी शरणार्थी प्रकरणको छानबिन र कारबाही, ललिता निवासलगायत अरू भूमाफियाका विरुद्धको कारबाही सबै यही सरकारको पहल र प्रतिबद्धताका कारण भएका पनि स्पष्ट गरे।
बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’ सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’ उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’ सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर
काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।
गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।



