सिमांकन हेरफेरसहितको संशोधन प्रस्ताव फिर्ता
काठमाडौं, चैत २९ । सरकारले सिमांकनको हेरफेरसहित संविधान संशोधन गर्न व्यवस्थापिका संसदमा दर्ता गरेको प्रस्ताव फिर्ता लिएको छ । प्रदेश नम्बर ५ को सिमांकन हेरफेर गर्नेसहितका प्रस्ताव गरेर मंसिर १४ गते सरकारले संसदमा दर्ता गरेको विधेयक फिर्ता गरेको हो ।
मंगलबारको संसद बैठकलाई सम्बोधन गर्दै कानुन मन्त्री अजयशंकर नायकले आन्दोलनरत मधेसी मोर्चाको माग पूरा गर्न तथा विपक्षी दल एमालेको भावनालाई पनि समेट्नका लागि विधेयक फिर्ता गरेको बताउनुभयो । सरकारले आजै संविधान संशोधनको अर्को विधेयक मंगलबार नै दर्ता गर्दैछ । मन्त्रीपरिषद बैठकले सोमबार पारित गरेको प्रस्ताव सरकारले मंगलबार संसदमा दर्ता गर्ने तयारी गरेको हो ।
यसैबिच मुख्य विपक्षी दल एमालेलेसुरक्षाको अवस्था सुधार गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा एमालेका सांसद रविन्द्र अधिकारीले चुनाव आउन ३४ दिन मात्र बाँकी रहँदा समेत शान्ति सुरक्षाको अवस्था सुधार हुन नसकेको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
अधिकारीले एमाले नेता सत्यनारायण मण्डलको घरमा आक्रमण भएको, तराईमा एमालेले कार्यक्रम गर्न नदिने गरिएको तथा एमालेका कार्यकर्ता पनि असुरक्षित रहेको बताउनुभयो । उहाँले नागरिकको मौलिक हकको हनन् हुँदा समेत सरकार चुप लागेर बसेको भन्दै सरकारले यसबारे जवाफ नदिएसम्म संसद बैठक अवरुद्ध गर्ने बताएपछि एमाले सांसदले आफ्नो ठाउँबाट उठेर संसद अवरुद्ध गरेका थिए ।
उहाँले गृहमन्त्री उपस्थित नभएको मन्त्रीपरिषद बैठकले प्रहरी महानिरीक्षक नियुक्त हुनु अशोभनीय भएको टिप्पणीसमेत गर्नुभयो । सभामुख ओनसरी घर्तिले शान्ति सुरक्षाबारे तथा एमाले नेताको घरमा भएको आक्रमणबारे जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।
‘प्रचण्ड’को सचिवालयले भन्यो- 'शेरा दरबारको जग्गाबारे आधारहीन कपोलकल्पित कुप्रचार बन्द गरियोस्'
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले शेरा दरबार जग्गा प्रकरणमा पार्टी र पार्टी नेतृत्वलाई जोडेकोप्रति आपत्ति जनाएको छ । ‘प्रचण्ड’की स्वकीय सचिव गंगा दाहालले विभिन्न काल्पनिक र भ्रामक विषयहरू राखेर विनाकुनै प्रमाण र तथ्यविना दिवंगत भइसकेका व्यक्तिमाथि गरिएको कुप्रचार बन्द गर्न माग गर्नुभएको हो । ‘शेरा दरबार प्रकरणलाई माओवादी केन्द्रसँग जोड्नु भ्रामक मात्र नभएर बदनियत पूर्णसमेत छ । उक्त प्रकरणका अभियुक्तहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न पार्टीले सरकारसँग मागसमेत गरिसकेको छ । अभियुक्त जुनसुकै आस्था, दल वा समुदायको होस्, पूर्वाग्रह नराखी अनुसन्धान र कारबाही गर्नुपर्छ भन्नेमा हामी दृढ र स्पष्ट छौँ।’उहाँले भन्नुभएको छ । भ्रष्टाचार र अनियमिततामा जोसुकै जोडिए पनि निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्छ भन्ने अठोटका साथ नै पार्टीले सुशासनको मुद्दालाई प्राथमिकता दिएको उहाँले बताउनुभएको छ । उहाँले कुनै आधार र प्रमाणविनाको कपोलकल्पित कुप्रचार बन्द गर्नसमेत माग गर्नुभएको छ ।
विकासको नयाँ मोडल दिएर देश विकास गर्न संभव छ भन्ने भाष्य स्थापित गर्न आवश्यकः प्रचण्ड
चितवन, १६ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै तहका सरकारले विकासको नयाँ मोडल दिएर देश विकास गर्न संभव छ भन्ने भाष्य स्थापित गर्नुपर्ने बेला आएको बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिकाले मेघौलीमा आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । केही समयदेखि मुलुकमा नकारात्मक भाष्य स्थापित गर्न खोजिएको उल्लेख गर्दै उहाँले यसलाई खण्डन गर्न भरतपुर महानगरपालिकाले महत्वपूर्ण प्रयास गरिरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले नेतृत्वले इमान्दार भएर काम गर्ने हो भने देशलाई गति दिन सकिन्छ भन्ने यो नमूना भएको बताउनुभयो । अहिले चितवनबाट बिदेश जाने क्रम उल्लेख्य रुपमा कम भएको स्पष्ट गर्दै उहाँले यसबाट आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सकारात्मक भाष्य स्थापित हुँदै गएको बताउनुभयो । ‘आगामी दिनमा देशभरिकै स्थानीय तह, प्रदेश र केन्द्रले पनि विकासमा नयाँ र मौलिक मोडल दिएर देशमा विकास निर्माण र रोजगारी सिर्जना गर्न संभव छ भन्ने भाष्य स्थापित गर्न आवश्यक छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘स्थानीय समुदायको सहयोग र समर्थन लिएर राजनीतिक नेतृत्वले विकास लगायत हरेक क्षेत्रमा नमूना देखाउन आवश्यक छ । अबको प्रतिष्पर्धा यसमै हुनुपर्छ ।’ चितवनमा भौतिक पूर्वाधार र मानवीय विकास नमूनायोग्य रुपमा भइरहेको उल्लेख गर्दै उहाँले आफू पनि चितवनको नागरिक हुनुको नाताले गौरव महसुस भइरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले अब चितवन विस्तारै देशभित्र मात्र होइन, विश्व समुदायकै लागि पुग्नैपर्ने ठाउँको रुपमा स्थापित हुने बताउनुभयो । चितवनमा खेल पूर्वाधारका लागि पनि महत्वपूर्ण काम भइरहेको उल्लेख गर्दै उहाँले खेलप्रति देशव्यापीरुपमा देखिएको युवाहरुको क्रेजलाई सम्बोधन गर्न खेल पूर्वाधारमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो । आफूले तीनपटक सरकारको नेतृत्व गर्दा जनताले प्रष्टसँग अनुभूति गर्नसक्ने गरी काम गरेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउन र सुशासन स्थापित गर्न सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘मैले पहिलो कार्यकालमा मध्यपहाडी लोकमार्गको सुरुवात र गरीब किसानको ऋण मिनाह गर्ने निर्णय गरें भने दोस्रो कार्यकालमा लोडसेडिङमुक्त नेपालको निर्माण र संविधान कार्यान्वयनको वातावरण बनाएँ’– उहाँले भन्नुभयो– ‘तेस्रोपटक सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान सुरु गर्ने अवसर प्राप्त गरें ।’ एकथरि मान्छेहरुलाई यो अभियान मन नपरेर सरकार ढालिएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘म अहिले जनताको बीचमा छु, मुलुकमा स्थिरता र विकासको सपनासहित दौडिरहेको छु, आम जनताको साथ सहयोग प्राप्त हुँदै गएको छ । मलाई यो पटक प्रधानमन्त्री भएको बेलामा भन्दा जनताको बीचमा जाँदा सम्मान प्राप्त भएको छ ।’ भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले सम्बोधन गर्नुभएको थियो ।
अध्यक्ष प्रचण्डद्धारा तमु ल्होसारको शुभकामना व्यक्त
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायसहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । शुभकामना सन्देश मार्फत अध्यक्ष प्रचण्डले जनताको संघर्ष र बलिदानबाट समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरिएको बताउनुभएको छ । सबै समुदायको साझेदारीमा संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको उहाँले बताउनुभएको छ । यस्तो छ तमु ल्होसारको अवसरमा अध्यक्ष प्रचण्डले दिनुभएको शुभकामना सन्देश तमु (गुरुङ) समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायसहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। तमुहरूको प्राचीन वर्षगन्तीको पात्रोअनुसार ऋतु परिवर्तन (पुष १५)को आधारमा नयाँ वर्षको गणना गर्ने परम्परा रहेको छ। प्रकृतिमा पाइने १२ वटा जीवजन्तुहरूको नामको आधारमा १२ वर्षीय चक्रको गन्ती गर्ने परम्पराअनुसार यस वर्ष सप्रिल्हो (सर्प वर्ग) पर्न गएको छ। प्राचीन भौतिकवादमा आधारित प्राकृतवादी चिन्तन प्रणालीका रूपमा यो पर्व विशेष महत्त्वपूर्ण रहेको छ। सांस्कृतिक परम्परामा धनी तमु समुदायले सदियौँदेखि आफ्ना रीतिरिवाज, परम्परा, र संस्कृतिको संरक्षण गर्दै आइरहेका छन्। तमु समुदायमा नयाँ वर्षको आगमनको उल्लासपूर्ण वातावरणमा मनाइने यो पर्वले यस समुदायको मौलिकता, परम्परा र सांस्कृतिक महत्त्वलाई झल्काउँछ। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक हो। यहाँको विविधता हाम्रो राष्ट्रिय सम्पत्तिमात्र नभई विश्व समुदायका लागि अमूल्य निधि हो। भाषा, संस्कृति, भेषभूषा र संस्कार हाम्रा जातीय पहिचान र मौलिक सभ्यताका आधारस्तम्भ हुन्। यस्ता सांस्कृतिक विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको महत्वपूर्ण दायित्व हो। जनताको संघर्ष र बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौँ। सबै समुदायको साझेदारीमा संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो। अन्त्यमा, यो पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीबीच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, परस्पर सम्मानको भावना प्रगाढ बनाउन, राष्ट्रिय एकता र मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गरोस्। तमु ल्होसारको पुनः शुभकामना व्यक्त गर्दछु।
मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा
काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । हिजो साँझ उहाँको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ।अध्यक्ष प्रचण्ड अहिले साझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिदै परिवारसित पनि भेट गर्नुभएको थियो । सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले उहाँको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए। सो क्रममा महासचिव किरणले क्याविनको भन्दा आइसीयुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभयो । अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गर्नुभयो । सो क्रममा दुबै जना भावुक पनि हुनुभएको थियो । अध्यक्ष प्रचण्ड र महासचिव किरणबीच २०३८ देखि २०६८ सम्म निकै घनिष्ट सम्बन्ध रहेको थियो । पार्टी बिभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उहाँहरुले एकले अर्कालाई निकै आदरभावका साथ सम्मान गर्दै आउनुभएको छ।