सिस्नुपानी नेपालको व्यंग्यात्मक देउसी–भैलो : झण्डावाला गाडी चढी जुलुस लगाउने

सिस्नुपानी नेपालको व्यंग्यात्मक देउसी–भैलो : झण्डावाला गाडी चढी जुलुस लगाउने

काठमाडौंः सिस्नुपानी नेपालले यसवर्ष पनि तिहारमा व्यंग्यात्मक देउसी–भैलो खेलेको छ ।

आइतबार साँझ प्रज्ञा प्रतिष्ठानमा प्रज्ञा–सिस्नुपानी देउसी कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, सरकारी कर्मचारी र सिंगो मुलुकका गन्नेमान्नेहरु उपस्थित रहेको थियो ।

सिस्नुपानी नेपालले विगत २१ वर्षदेखि तिहारमा व्यंग्यात्मक देउसी–भैलो खेल्दै आएको छ ।

यस्तो छ सिस्नुपानी नेपालले खेलेको व्यंग्यात्मक देउसी–भैलो :
भन भन साथी हो – देउसिरे
राम्ररी भन – देउसिरे
सिस्नुपानी भन्छ – देउसिरे
देउसी खेल्न मन छ – देउसिरे ।
आन्दोलनको आगो – बालेर
निरंकुशतन्त्र – ढालेर
राजतन्त्रलाई – फालेर
द्वन्द्वलाई शान्तिले – टालेर
जनताको संविधान – लेख्नेले
नाका बन्दी – छेक्नेले
धुलो बढार्न – सक्दैनौ ?
खाडल पुर्न – सक्दैनौ ?
जेल र नेल – भोग्नेले
छातीले गोली – रोक्नेले
देशको लागि – भनेर
सर्वस्व गुमाउन – सक्नेले
भ्रष्टाचार नगर्न – सक्दैनौ ?
नैतिकता जोगाउन – सक्दैनौ ?
दलाललाई नटेर्न – सक्दैनौ ?
अपराधी नपाल्न – सक्दैनौ ?
देउसी खेल्न आयौँ हामी जनताले पठाए
अझै बहादुर सभामुख खोज्न खटाए
तानिँदैछन् लहरा भत्किँदैछन् पहरा
भिआइपीमा को को होलान् गुप्त महरा
(माननीय सदस्यहरू, म हुँ भन्नेले हात उठाउनुहोस् , म होइन भन्नेले शिर उठाउनु होस् ।)
ज्वालामुखी जस्तो गरी विस्फोट हुन्छन् घटना
घटनालाई सामसुम पार्न आयोग गठन
झ्याप्पै पारी जसको च्याप्पै समाउनु थ्यो कठालो
आयोग आर्फैँ बस्ने गर्छ उसकै गोठालो ।
कल्ले खायो कल्ले खायो वाइडबडी पिलेन
मिलिजुली खाको कुरा भन्नै मिलेन ।
भेट्न भनी बोलाउँछन् प्रधानमन्त्री ओलीले
एकोहोरो हानिरन्छन् आफ्नै बोलीले
बालुवाटारको डाँडामाथि चिसो हावा सिरिरि
विकास सिकास त्यस्तै हो रेशम फिरिरि
रेशम फिरिरि रेशम फिरिरि
पाँच वर्ष बित्न तीन वर्ष बाँकी रेशम फिरिरि ।
हा…….
विषादीले भिसा माग्यो रक्सौलमा आएर
सरकारले दिन्न भन्यो हा…..
लैनचौरले फोन घुमायो के हो पारा भनेर
बालुवाटारले सरी भन्यो हा……
इण्डियालाई खुशी पार्न व्यापारीलाई बचाउन
हाम्ले विष खानुपर्ने हा….
सागपात समेत आयात गरी हाम्ले जीवन चलाको
हामै खेतमा खोइ फलाको हा…..
वीर जाति नेपालीको कति राम्रो बानी हो नि लै लै
नपिउन्जेल ज्ञानी पिएपछि पानी
अन्तै जाने घरै नजानी .।…..
नेकपाको इस्कूलैमा कस्तो उच्च भावना नि लै लै
माधव नेपाल दिने केपी ओली नलिने
स्वास्थ्यलाभको शुभकामना……
एउटा घाँटी दुइटा मुख प्रचण्ड र ओलीको
जनताले विश्वास गर्ने कुन चैं बोलीको
नातागोता आफन्त र परिवारका सबैलाई
अंशै सरी बाँडेका छन् पद बरि लै
कस्को घरमा डेरा बस्छौ भात खान काँ जान्छौ
चिप्लिरन्छ जिब्रो तिम्रो केको तेल खान्छौ ?
भाग्यमानी घरबेटी महादानी डेरावाल
ब्ल्याक् लिस्टेडलाई मेलम्चीको ठेक्का मालामाल ।
कोही सांसद डन गुण्डा कोही सांसद ज्यानमारा
यिनै सांसद पार्टीलाई परम पियारा
भजन सुन्न मन्दिर गाको राष्ट्रगान पो घन्कियो
चिताबाट मान्छे उठी तनक्क तन्कियो ।
मधेशवादी दलको आफ्नै मौलिक ढङ्ग छ
छेपारोलाई छक्कै पार्ने बहुरङ्ग छ
सरकार पनि चलाउने संविधान नि जलाउने
झण्डावाला गाडी चढी जुलुस लगाउने ।
काँ बिलाए आरके कमरेड काँ हराए अशोक राई
कहाँ पुगे निख्खुर क्रान्तिकारी भट्टराई
चिन्ता लाग्छ ती प्याराले हामीलाई भुले कि !
चोक्टा खान हिँडेका थे झोलमा डुबे कि ?
गुन्द्रुकमा कर लिने –को होला !
एनसेललाई छूट दिने – को होला !
सिंगापुरको बिल भर्ने – को होला !
टुँडिखेल पिच गर्ने – को होला !
वाइडबडी पचाउने – को होला !
सूनतस्कर बचाउने – को होला !
होली वाइन बाँड्ने – को होला !
मेलम्ची भाँड्ने – को होला !
पप्पुलाई पुल पार्ने – को होला !
गाई लडाई मार्ने – को होला !
हाम्रो देशको न्यायालय कति साह्रै चोखो छ नि लै लै
कार्यकर्ता न्यायाधीश दलले सोध्छ कहाँ थिस्
न्याय चाहिँ टाँय टाँय फिस…
अख्तियारको आयुक्त नै भ्रष्टाचारमा चुर्लुम्म नि लै लै
कुन चाहिँ निस्क्यो भिलेन कता सेटिङ मिलेन
पदै ढल्यो गल्र्याम गुर्लुम्म ।
नेपालमा आउँछ भन्छन् विदेशीको लगानी
आशैआशमा बित्यो दुई तिहाइको जवानी
नागार्जुनमा मुसो कुद्दा सिंहदरबार थर्किन्छ
यस्तो कुरा सुन्दा हाम्लाई पानी सर्किन्छ
हुक्के पनि तिनै छन् बैठके नि तिनै छन्
शितल निवास जनताबाट टाढा हुँदै झन्
राष्ट्रपति हुन खोज्दा राजाराजा भयौ कि
घरतिर जानु पर्ने दरबार गयौ कि !
माथिकाले खाका छन् तलकाले खाका छन्
प्रदेश सरकार कठैबरा मुख बाका छन् ।
एक वर्षमा १० महिना विदेश घुम्छन् मेयरज्यू
उतै बसून् बरु तिनलाई ग्रिनकार्ड मिलाइद्यूँ
पिर्का माथि चढीचढी खान थाले सलामी
कस्तो हतार यिनलाई जान आफ्नै मलामी
म हिँड्दा बाटोमा – जाम छैन
धुवाँ र धुलोको – नाम छैन
जुत्ताले कार्पेट – टेकिन्छ
खोइ कहाँ हिलो – देखिन्छ !
जाँ गयो त्यहीँ – भिड लाग्छ
क्यामेरा मेरै – मुख ताक्छ
शिलान्यासको – धपेडी छ
मन्चमा जाँदा – थपडी छ
देखेका जति – सुकिलै छन्
भेटेका जति – हँसिलै छन्
राजदूतले कुर्छन् – एक घण्टा
मन्त्री नै ढुक्छन् – दुई घण्टा
सि जिन फिङ लाई – ल्याकै हो
मोदीलाई पनि – भ्याकै हो
को हो त्यो विकास – नदेख्नी
विकासका सम्चार –नलेख्नी
सरकारलाई चौतर्फी – चेप्नी हो ?
दुईतिहाइ सरकारलाई – हेप्नी हो ?
हिटलरले मान्छे माथ्र्यो ग्यास च्याम्बरमा हालेर
अफ्तावले आगो ताप्यो मान्छे बालेर
मन्त्री, पुलिस, वकील र न्यायाधीश किनेर
न्याय खोज्न हिँड्नेको घाँटी थिचेर
इट्टा पोल्ने भट्टीमा जिउँदै मान्छे पोलेर
सांसद भयो, मन्त्री खायो छाति खोलेर
देउवा दाइ भन्नुहुन्छ आलम मलाई चाहिन्छ नि लै लै
दुनियाँले बोल्दैमा भट्टिमा मान्छे पौल्दैमा
समाइहाल्न कहाँ पाइन्छ ?
हाम्रा विश्वविद्यालय घाँस र झारले ढपक्कै नि लै लै
दलले खेद्दै लान्छन् गाईगोरु जान्छन्
खुरुखुरु हरियो घाँस खान्छन् ।
गीत
केको लर्को केको लर्को युट्यूबरको लर्को
बन्ने भयो संस्कृति हाम्रो घाटको न घर्को नि लौ
केको हल्ला केको हल्ला फेसबुकैको हल्ला
फेसबुकले आगो लाउँदा आफ्नै घर जल्ला नि लौ
खाए सके सिध्याए लुटे देशै बेचे भन्छन्
युट्युबैमा भिडिओ हाली डलर पो गन्छन् नि लौ
केमा थुप्र्यो केमा थुप्र्यो मोवाइलमा थुप्र्यो
अग्लो थियो मान्छे पहिले अहिले भयो कुप्रो नि लौ
केको खेति केको खेति अनलाइनको खेति
भाइरल बन्न मनपरि लेख्दा मुलुकैको क्षति नि लौ
चौथो अङ्ग मिडियाको कस्तो खबरदारी
तर्साउँदै समाचारमै कालो बजारी
राष्ट्रसेवक भन्ने हाम्रो स्थायी सरकार कस्तो छ ?
बाली चोरी खाने अटेर साँढे जस्तो छ
पछिपछि अख्तियारले पिँडुलामा हान्दैछ
अघिअघि घुसको बुजो मुखले तान्दैछ
कसले भन्छ नेपाललाई गरिब देश भनी– दे दनादन
स्वीट्जरलेन्डका बैंकभरि हाम्रो डलर मनी– दे …
बेइजिङबाट ह्याकरहरू बैंक लुट्न आउँछन्– दे …
ब्राजिलबाट तस्करहरू कोकिन बेच्न ल्याउँछन्– दे …
यूएस युरोप अष्ट्रेलिया सन्तान पढाउँछौ– दे दनादन
दिल्ली बैंकक सिंगापुरमा उपचारलाई धाउँछौ – दे …
गाडी आउँछन् जापानबाट जहाज युरोपबाट – दे …
मलेसिया चाइनाबाट आउँछन् सुत्ने खाट – दे …
दशैं तिहार मनाउनलाई च्याङ्ग्रो तिब्बतको– दे …
भ्यालेन्टाइनको उपहारलाई गुलाब इटलीको – दे …
ब्रिटिस–भर्जिन आइल्याण्डमा हाम्रो बल्याक् मनी– दे .
कसले भन्छ नेपाललाई गरिब देश भनी – दे …
आशिष
धर्मका नाममा – नखेल्नु
भिरबाट गाई – नठेल्नु
वैदेशिक सम्बन्ध – राम्रो होस्
चीन भारत दुवै – हाम्रो होस्
सामाजिक सुरक्षा – पक्का होस्
श्रमिकको भविष्य – ढुक्क होस्
अतिथि सेवा – सभ्य होस्
पर्यटन वर्ष – भव्य होस्
लोडशेडिङ् फर्केर – नआओस्
पावरहाउस बाढीले – नखाओस्
पारदर्शी स्वच्छ – चुनाव होस्
मनी र मसललाई – तनाव होस्
डाटा प्याक चलाउँ – मर्जिले
टेलिकम राम्रो – फोरजीले
डाक्टरले किड्नी – नचोरुन्
जनताले अस्पताल – नफोरुन्
जहाजमा मतुवा – नचढोस्
एयरपोर्टमा एनआरएन – नलडोस्
हुण्डीको जाल – तोडियोस्
मेलम्ची छिटो – जोडियोस्
अख्तियारका खुट्टा – नकामुन्
ठूला माछा – नभागुन्
सिजिन पिङ मोदी – आइरहून्
जनताले सास फेर्न – पाइरहून्
रेलले हिमाल – चढी आउन्
सुरुङले पहाड – छेडी जाउन्
श्रममात्र होइन –दाम पनि होस्
कुरामात्र होइन –काम पनि होस् ।।

चीनमा मार्क्सवादको नयाँ विकासमा निरन्तर बहस

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (CPC) केन्द्रीय समितिका महासचिव, चिनियाँ राष्ट्रपति, र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी जिनपिङले हालसालै नयाँ युगमा मार्क्सवादी सिद्धान्त अध्ययन र विकास गर्न कार्यक्रमबारे महत्त्वपूर्ण निर्देशन दिएका छन्। सीले मार्क्सवादी सिद्धान्तको अध्ययन र विकासलाई पार्टीको विचारधारात्मक र सैद्धान्तिक विकासको आधारभूत र रणनीतिक कार्यक्रमको रूपमा परिभाषित गरेका छन्। पछिल्लो २० वर्षमा, यस कार्यक्रममा संलग्नहरूले सधैं मुख्य कार्यहरूमा केन्द्रित रहँदै समग्र परिस्थितिलाई सेवा दिएका छन् र उच्च-गुणस्तरका अनुसन्धान परिणामहरू उत्पादन गरेका छन्। यस कार्यक्रमले पार्टीको नवीनतम सिद्धान्तहरूको अध्ययन, अनुसन्धान, र प्रचारमा महत्त्वपूर्ण भूमिका खेलेको छ र विचारधाराको क्षेत्रमा मार्क्सवादको मार्गदर्शक स्थानलाई सुदृढ बनाएको छ। सीले नयाँ युगको यात्रामा, आधारभूत सिद्धान्तहरूलाई कायम राख्दै नयाँ दिशाहरू खोल्न, चिनियाँ विशेषताहरू भएको समाजवादी विचारको अध्ययन, प्रचार र कार्यान्वयनमा ध्यान दिन, प्रणालीगत र सैद्धान्तिक अनुसन्धानलाई गहिरो बनाउन, र पार्टीको नवीनतम सिद्धान्तहरूलाई जनताबीच लोकप्रिय बनाउन थप प्रभावकारी बनाउन जोड दिए। उनले मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई चिनियाँ यथार्थ र परम्परागत संस्कृति संगसँगै एकीकृत गर्नुपर्ने कुरा पनि उल्लेख गरे। नभेम्बर २९ मा बेइजिङमा यस कार्यक्रमको कामसम्बन्धी बैठक सम्पन्न भयो। सीका महत्त्वपूर्ण निर्देशनहरू बैठकमा अध्ययन गरियो। बैठकमा स्थायी समितिका सदस्य र सचिवालयका सदस्य काइ चीले सम्बोधन गरे। काइले आफ्नो सम्बोधनमा सीका निर्देशनहरूले मार्क्सवादी सिद्धान्त अध्ययन र विकासका कार्यक्रमको स्थिति र भूमिकाबारे गहन व्याख्या गरेको र आधारभूत सिद्धान्तलाई कायम राख्दै नयाँ दिशाहरू खोल्नका लागि आवश्यकताहरू स्पष्ट पारेको बताए। उनले पार्टीको नवीन सिद्धान्तहरूलाई मार्गदर्शकको रूपमा राखेर चिनियाँ परम्परागत संस्कृतिको मूल्य र सामग्रीलाई अझ गहिरो रूपमा अन्वेषण गर्न जोड दिए। बैठकमा पार्टीको प्रचार र सांस्कृतिक कामका लागि केन्द्रीय नेतृत्व समूहका सदस्य, कार्यक्रमको जिम्मेवारीमा रहेका विभागका उच्च अधिकारीहरू, केन्द्रीय सञ्चारमाध्यमका प्रतिनिधिहरू, विज्ञ र विद्वानहरू, स्थानीय पार्टी समितिहरूका प्रचार विभागका प्रमुख अधिकारीहरू, र प्रमुख विश्वविद्यालयका अधिकारीहरूको सहभागिता थियो। यस्ता छन् सीले जोड दिन खोजेका महत्वपूर्ण पक्षः विविध संस्कृतिहरूलाई एकल एकरूप संस्कृतिले प्रतिस्थापन गर्नेभन्दा, चिनियाँ सभ्यताले विभिन्न संस्कृतिहरूलाई साझा संरचनामा एकीकृत गर्ने प्रयास गर्छ। हाम्रो सम्मानित ५,००० वर्ष पुरानो सभ्यताका गहिरो जगका आधारमा, चिनियाँ समाजवादलाई अग्रगामी र विकास गर्ने एक मात्र बाटो भनेको मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई चीनको विशेष यथार्थ र यसको परम्परागत उत्कृष्ट संस्कृतिसँग एकीकृत गर्नु हो (‘दुई एकीकरण’)। यो निष्कर्ष चिनियाँ समाजवादको हाम्रो व्यापक अन्वेषणबाट प्रणालीगत रूपमा निकालिएको हो। हामीले सधैं मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई चीनको विशेष यथार्थसँग एकीकृत गर्न जोड दियौं र अहिले आधिकारिक रूपमा यसलाई चिनियाँ परम्परागत उत्कृष्ट संस्कृतिसँग पनि एकीकृत गर्ने कुरा अघि सारेका छौं। जसरी मैले एकपटक भनेको थिएँ, ‘यदि ५,००० वर्ष पुरानो चिनियाँ सभ्यता नै नभएको भए, चिनियाँ विशेषताहरू कहाँबाट आउने थिए? ‘दुई एकीकरण’ कुनै असम्भाव्य प्रस्ताव होइन। आफ्ना विशिष्ट उत्पत्तिका बावजुद, मार्क्सवाद र परम्परागत चिनियाँ संस्कृतिमा असाधारण सुसंगति प्रकट हुन्छ। उदाहरणका लागि, सबैका लागि समान कल्याणको खोजी गर्ने र विश्वास र मित्रता देखाउने सामाजिक सिद्धान्तहरू साम्यवादी र समाजवादी आदर्श र विश्वाससँग सुमधुर रूपमा मेल खान्छन्; राज्यको आधारको रूपमा जनतालाई मान्ने र सद्गुणद्वारा शासन गर्ने शासकीय अवधारणाहरू जनताको प्राथमिकता राख्ने राजनीतिक सिद्धान्तसँग पूर्णतया मेल खान्छन्; र पुरानो कुरा त्यागेर नयाँको पक्षमा उभिने र निरन्तर आत्म-सुधार गर्ने अभ्यासहरू कम्युनिष्टहरूको क्रांतिकारी आत्माको साथ मेल खान्छ। मार्क्सवादले मानिसको सारलाई सामाजिक सम्बन्धहरूको दृष्टिकोणबाट हेर्छ भने, चिनियाँ संस्कृतिमा मानिसलाई परिवार, देश र संसारसँगको सम्बन्धबाट परिभाषित गरिन्छ। दुवै मानवीय अस्तित्वलाई पृथक अस्तित्वको रूपमा हेर्नु अस्वीकार गर्छन्। चिनियाँ समाजवादको बाटो आधारभूत रूपमा समाजवादी छ, जुन मार्क्सवादमा आधारित छ। चिनियाँ संस्कृतिमा रहेको आवश्यक समाजवादी तत्त्वहरूले चीनमा मार्क्सवादलाई अँगाल्नका लागि बौद्धिक आधार प्रदान गर्दछ। चिनियाँ समाजवादको बाटो निरन्तर फैलिरहेको छ, र यस बाटोमा हाम्रा दृढता अडिग रहेको छ।  

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। जसको प्रभावले यतिबेला (सोमबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। काठमाडौँ उपत्यकोको आकाश भने बिहानैदेखि बादलले ढाकेको छ। तर, पानी भने परेको छैन।  आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा  दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। कोसी र गण्डकी  प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एकदुई स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला मंगलबार र बुधबारको मौसम? २०८१ असोज १५ गते मंगलबार दिउँसोː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज १६ गते बुधबार दिउँसोː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

चलचित्र लालसलामकी नायिकालाई सांस्कृतिक रुपान्तरण पुरस्कार

काठमाडौं । चलचित्र लालसलामकी नायिका प्रेमा अधिकारी गैरेलाई चलचित्र विकास बोर्डले सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ प्रदान गर्ने भएको छ । बोर्डको सोमबार बसेको बैठकले चलचित्र मार्फत सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा योगदान पु¥याए वाफत गैरेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताउनु भयो ।  प्रवक्ता बुढाथोकीका अनुसार संविधान दिवसको अवसरमा आगामी असोज ४ गते एक समारोहबीच कलाकार गैरेलाई २५ हजार नगद र ताम्रपत्रसहित पुरस्कृत गरिनेछ । कलाकार गैरेले चलचित्र लालसलामा लगायत थुप्रै नाटक, ओपेरा र म्यूजिक भिडियोमा अभिनय गर्नु भएको छ ।  त्यस अवसरमा निर्देशक तुलसी घिमिरे, नीर शाह, हरिवंश आचार्य, ऋद्धिचरण श्रेष्ठ, देशभक्त खनाल, लोचन भट्टराई, रमेशरञ्जन झा, श्याम तमोट, माओत्से गुरुङ, विकास चौधरी र कविता आलेलाई पनि सांस्कृतिक रुपान्तरण पुरस्कार प्रदान गरिने प्रवक्त बुढाथोकीले बताउनु भयो ।

चलचित्र विकास बोर्ड अध्यक्षद्वारा पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले पदभार ग्रहण गरेका छन्। सोमबार बोर्डको कार्यालय पुगेर डिसीले कार्यभार सम्हाल्नुभएको छ । सोमबार बिहान उनलाई बोर्डका सदस्य र कर्मचारीले फूलमालाले स्वागत गरेका थिए।  बोर्डको  हलमा आयोजित बधाई तथा शुभकामना अर्पण कार्यक्रममा नेपाल चलचित्र संघ, चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ लगायतका फिल्मसँग सम्बन्धित संस्थाका पदाधिकारीसहित अन्य फिल्मकर्मी समेत पुगेका थिए ।  पदभार ग्रहण गर्दै डिसीले आफू काम गर्न बोर्डमा आएको बताउनुभयो । उहाँले नेपाली फिल्म क्षेत्रको समस्या समाधानका लागि आफूले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत बिहीबार मन्त्रिपरिषदको बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। डिसी लामो समयदेखि फिल्म र सञ्चार क्षेत्रमा सक्रिय हुनुहुन्छ।

लोकप्रिय