स्थानीय तहमा ३६ हजार ६ सय ३९ जनप्रतिनिधि

स्थानीय तहमा ३६ हजार ६ सय ३९ जनप्रतिनिधि

काठमाडौं,  चैत ७। जनताको घरदैलोको सरकार मानिने देशभरका स्थानीय तहमा एकैपटक ३६ हजार ६ सय ३९ जना प्रतिनिधि निर्वाचित हुने भएका छन् ।

कार्यकारी अधिकार मात्र नभई व्यवस्थापिका र न्यायपालिकासम्बन्धी पनि केही अधिकार प्रत्यायोजन गरिएका स्थानीय सरकारमा १३ हजार ३ सय ६० महिला निर्वाचित हुनेछन् । वडा सदस्यमा एक दलित महिलाको कोटा अनिवार्य गरिएकाले ६ हजार ६ सय ६० दलित महिला पहिलोपटक स्थानीय तहमा निर्वाचित हुनेछन् । स्थानीय तहमा पहिलोपटक समावेशी प्रतिनिधित्व हुन लागेको हो ।

वैशाख ३१ गते हुने निर्वाचनबाट एकैपटक ठूलो संख्यामा जनप्रतिनिधि चयन भएपछि अवरुद्ध स्थानीय विकास अघि बढ्नेछ भने राजनीतिक दलहरूलाई आफ्ना कार्यकर्ता व्यवस्थापन गर्न सहज हुनेछ । गाउँपालिका÷नगरपालिका प्रमुख÷उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार अनिवार्य हुनैपर्ने व्यवस्था र २ जना महिला वडा सदस्यमध्ये एकजना महिला दलित समुदायको हुनैपर्ने संवैधानिक व्यवस्थाका कारण स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिला निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

७ सय ४४ स्थानीय तहमा ४ महानगरपालिका, १३ उपमहानगरपालिका र २ सय ४६ नगरपालिकाबाट २ सय ६३ प्रमुख र उपप्रमुख गरी ७ सय २६ जना निर्वाचित हुनेछन् । ४ सय ४१ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी ९ सय ६२ जना निर्वाचित हुनेछन् । गाउँपालिका र नगरपालिकाका ६ हजार ६ सय ८० वडाबाट त्यति नै संख्यामा वडाध्यक्ष निर्वाचित हुनेछन् । महिलाका लागि छुट्ट्याइएको दुई वडा सदस्यमा एक दलित महिला अनिवार्य गरिएका कारण ६ हजार ६ सय ८० दलित महिला स्थानीय तहको कार्यकारीमा पुग्दैछन् ।

नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार बनाउनैपर्ने कानुनी प्रावधानका कारण कार्यकारी पदमा पनि ठूलै संख्यामा महिला निर्वाचित हुने आयोगको विश्वास छ । ‘यो निर्वाचनबाट ४० प्रतिशतभन्दा बढी महिला निर्वाचित हुने र दलित तथा अल्पसंख्यकसहित समावेशी स्थानीय सरकार बन्नेछ’, प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने, ‘संवैधानिक रूपमा नै महिलाको प्रतिनिधित्वलाई सबैभन्दा बढी प्राथमिकतामा राखिएको छ ।

‘महिला र दलितका लागि छुट्ट्याएको कोटाबाहेक खुला प्रतिस्पर्धाबाट पनि उनीहरूको प्रतिनिधित्व हुन सक्ने भएकाले महिला र दलित समुदायको स्थानीय सरकारमा राम्रै पहुँच र प्रतिनिधित्व स्थापित हुने निर्वाचन आयुक्त इला शर्माले बताइन् । ‘टुप्पोमा पलाएको महिला नेतृत्वले मात्र सधैं धान्न सक्दैन’, आयुक्त शर्माले भनिन्, ‘स्थानीय तहमा महिलाको ४० प्रतिशतभन्दा बढी उपस्थितिले तलबाटै महिला नेतृत्व स्थापित गराएर भोलि केन्द्रीय राजनीतिमा पनि जबर्जस्त उपस्थिति जनाउनेछ ।’

उम्मेदवारी दर्ता गर्दा दलित, महिला र अल्पसंख्यक समुदायले धरौटी रकममा समेत ५० प्रतिशत छूट पाउने व्यवस्था स्थानीय तह निर्वाचन ऐनमा गरिएको छ । गाउँसभा र नगरसभामा निर्वाचित हुने पदाधिकारीले निर्वाचन गरी गाउँ कार्यपालिकामा दलित र अल्पसंख्यकबाट दुईजना र नगर कार्यपालिकामा तीनजना निर्वाचित गर्नेछन् ।

आयोगले मतपत्र छपाइ, मतदाता नामावली प्रशोधन, मतदाता परिचयपत्र छपाइ, मतपेटिकाको व्यवस्थापनलगायत केन्द्रमा गर्ने तयारी कार्य अन्तिम चरणमा पुगेको भन्दै अब जिल्ला र स्थानीय तहमा चुनावको तयारी गरिने जनाएको छ । आइतबार आयोगमा आयोजित पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘केन्द्रीय स्तरमा तयारी अन्तिम चरणमा पुगेको छ भने अब जिल्लास्तर हुँदै आयोग स्थानीय तहसम्म पुग्दैछ । तोकिएको समयमा नै निर्वाचन गराउन आयोग दृढ छ ।’

निर्वाचनमा ६७ प्रकारका सामग्री प्रयोग हुने भन्दै प्रमुख आयुक्त यादवले केही सामग्री छिमेकी मित्रराष्ट्र र केही दातासँग माग गरिएको बताए । आयोगले निर्वाचनको काम तीव्र गतिमा अघि बढाइरहँदा पनि राजनीतिक दलबीच अपेक्षित सहमति, सहकार्य र विश्वास कायम हुन नसकेकोप्रति आयोग गम्भीर बनेको यादवले बताए ।

डोल्पामा कांग्रेस र ९ जिल्लामा राप्रपा लड्न नपाउने
आयोगले तोकेको समयमा दल दर्ता गर्न कांग्रेस डोल्पामा र राप्रपा ९ जिल्लामा छुटेका कारण ती जिल्लामा दुवै दलले दलगत चुनावमा भाग लिन नपाउने भएका छन् । संसद्को सबैभन्दा ठूलो दल कांग्रेस डोल्पामा छुटेको छ भने राप्रपा मोरङ, महोत्तरी, सिराहा, धनुषा, रसुवा, बारा, लमजुङ, गोरखा र डोल्पामा छुटेको छ ।
आयोगले पुस २५ देखि माघ १७ सम्म स्थानीय तहमै दल दर्ताको समय तोकेको थियो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जिल्लामा छुटेका दलले स्वतन्त्र हैसियतमा चुनाव लड्न पाउने बताए । आयोगले संसद्मा रहेका २९ दलबाहेक अन्यले स्वतन्त्र हैसियतमा चुनावमा भाग लिनुपर्ने बताएको छ । २०७० को संविधानसभा निर्वाचनभन्दा यसपटक मतदाताको संख्या बढेकाले २१ हजार मतदान केन्द्र राखिने आयोगले जनाएको छ ।

मतदाता परिचयपत्रमा क्यूआर कोड
निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य गरिएको भन्दै आयोगले क्यूआर कोडसहितको परिचयपत्र बनाउन लागेको जनाएको छ । परिचयपत्रमा भायड प्यान्टोग्राफ, माइक्रो टेक्स्ट, वाटरकर्मा र प्रमाणीकरण गर्न सकिने क्यूआर कोड राखिएको प्रमुख आयुक्त यादवले बताए ।

६ आकारको मतपत्र
सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्रले ६ आकारको मतपत्र छाप्ने काम आइतबार सुरु भएको आयोगले जनाएको छ। आयोगका अनुसार सबैभन्दा धेरै दल काठमाडौंमा ४७ र सबैभन्दा थोरै मनाङमा ६ दल दर्ता भएका छन् । आयोगले अपुग ३० हजार मतपेटिका खरिदको सम्झौता भइसकेको जनाएको छ ।
मतदाता नामावली प्रशोधनको काम भइरहेको भन्दै आयोगले १ करोड ४० लाख मतदाता हुने अनुमान गरेको प्रमुख आयुक्त यादवले बताए । निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा केन्द्रीय स्तरमा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन गरिएको र जिल्लामा गठन हुने समितिले चुनाव प्रचारप्रसार सुरु भएपछि आचारसंहिताको अनुगमन गर्ने आयोगले जनाएको छ ।

यो खबर अाजको अन्नपूर्ण पोस्टमा छ ।

बंगलादेशको अन्तरिम सरकार नेपालबाट बिजुली लैजान सकारात्मक

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले समेत नेपालबाट ४० मेगावाट बिजुली लैजान चासो देखाएको छ । बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पालामै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता मिति तय गरिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा सम्झौता स्थगित गर्न भन्दै बंगलादेशले गत साउन पहिलो साता पत्र पठाएर अनुरोध गरेको थियो ।  बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि साउन २२ मा राजीनामा दिँदै शेख हसिनाले देश छाडेकी थिइन् । हसिनाकै अगुवाइमा भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश लैजाने गरी ४० मेगावाट बिजुली खरिद प्रक्रिया अघि बढेको थियो । तर हसिनाले देश छाडेपछि ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता अब के हुन्छ भन्ने थियो । अहिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने विषयलाई समर्थन गरेको कान्तिपुर दैनिकले लेखेको छ । यसअघि नै सबै कागजपत्र पूरा भइसके पनि तीन देशबीच सम्झौता गर्न मात्र बाँकी थियो ।  हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६।४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर ९१ अर्ब २३ करोड, बुधबारको विनिमय दरअनुसार० आम्दानी हुने प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर भारत–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

किन बढ्दै छ सरकारको स्थायित्वमाथि आशंका ?

काठमाडौं । राजनीतिक स्थायित्व, सुशासन, सेवा प्रवाह र संविधान संशोधनसहितको सातबुँदे सहमतिअनुसार गठन भएको संसद्का दुई ठूला दल नेपाली कांग्रेस–नेकपा (एमाले) सम्मिलित सरकारको स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ। सरकार गठन भएको दुई महिना नपुग्दै राजनीतिक वृत्तमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयुका सम्बन्धमा विभिन्न टीकाटिप्पणीहरू हुन थालेको आजको नेपाल समाचारपत्रले लेखेको छ। सत्ता पक्षकै कतिपय सांसदहरूले वर्तमान सरकारको चाल हेर्दा लामो समय जाने संकेत नदेखिएको बताए । गत असार १७ गत मध्यरातमा एकाएक भएको कांग्रेस–एमाले सत्ता समीकरणसँगै आक्रामक बनेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बिचौलिया, तस्कर र भ्रष्टाचारीलाई बचाउन आफूलाई सरकारबाट हटाएको आरोप लगाउँदै आएको थियो । प्रतिपक्षको उक्त आरोपलाई सत्तापक्षका सांसदहरूले खण्डन गरे पनि पछिल्लो समयमा सरकारका गतिविधिप्रति मन्त्रीहरू नै सन्तुष्ट देखिएका छैनन्। एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भएकाले आ–आफ्नो राजनीतिक अभियानलाई सशक्त बनाएर जनतामाझ पुग्न कठिन भएको बताउन थालेका छन् । प्रतिपक्षी दलहरूले खेलिरहेको अवस्थामा सरकारकै मन्त्रीहरूले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले विवादित बनेका छन् । पछिल्लोपटक सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि त्यसको व्यापक आलोचना भएको छ । सो विषयमा आपत्ति जनाउँदै सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सदनबाटै सरकारको ध्यानाकर्षण गर्नुभयो । मन्त्रीहरूलाई जिब्रोमा ब्रेक लगाउन आग्रह गर्दै खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिनसमेत माग गर्नुभएको थियो । त्यस्तै, गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेको मन्त्रालय बेच्ने अभिव्यक्तिले अर्को तरंग उत्पन्न भएको छ । उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले गण्डकीमा मन्त्री पद पैसामा बिक्री गर्न शुरू भएको हो रु भन्दै सरकारसँग जवाफ माग्नुभएको छ । प्रदेश सांसद मनाङेले आफूलाई वन मन्त्रालयको जिम्मेवारी दिएकोप्रति असन्तुष्टि जनाउँदै मन्त्रालय ३ करोडसम्ममा बिक्रीमा राखेको अभिव्यक्ति दिनुभएको थियो । यता, कांग्रेसका सहमहामन्त्रीसमेत रहेका संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पनि दुई प्रतिस्पर्धी दलबीचको गठबन्धनले पार्टी खुकुरीको धारमा हिँड्नुपरेको टिप्पणी गर्नुभएको थियो । उहाँले मन्त्री भएर काम गर्नै नसकेको भनेर पार्टीको केन्द्रीय समिति बैठकमा दिएको अभिव्यक्तिले समेत पार्टी र सरकारमा एकखालको तरंग छाएको थियो। केही समयअघि परराष्ट्रमन्त्री आरजू देउवा राणा भारत भ्रमणबाट फर्कनासाथ उहाँप्रति लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै अब महिला प्रधानमन्त्री बनाउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभएको थियो– ‘म महिला प्रधानमन्त्री भएको देख्न चाहन्छु । मेरै पालामा महिला राष्ट्रपति, महिला सभामुख, महिला न्यायाधीश र महिला मुख्य सचिव बनाइसकिएको छ । अब महिला प्रधानमन्त्री बनाउने मेरो चाहना छ । त्यो चाँडै पूरा हुन्छ, तर केही महिना लाग्छ।’ उहाँको यस्तो अभिव्यक्तिलगत्तै आरजू राणालाई कतिपयले भाबी प्रधानमन्त्रीका रूपमा प्रचार नै गरेपछि राणाले आगामी सरकारको प्रधानमन्त्री आफू नभएर कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने लिखित धारणा सार्वजनिक गर्नुभएको थियो। सरकारले अपेक्षकृत रूपमा काम गर्न नसकेको टिप्पणीहरू भइरहेका बेला सरकारसम्बद्ध व्यक्तिहरूबाटै आएका यस्ता आलोचित र विवादित विषयले सरकारलाई थप कमजोर गर्दै लगेको विश्लेषकहरूले बताएका छन्। तर, सरकारका प्रमुख दलका शीर्ष नेताद्वय शेरबहादुर देउवा र केपी ओलीसमेत सरकारको आयुका विषयमा निश्चिन्त हुनुहुन्न । उहाँहरूले हतारमा अभिव्यक्ति दिँदै यो सरकार दुई दलबीच भएको सहमतिअनुसार जाने जिकिर गर्नुभएको छ। कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको दाबी गर्नुभयो । बुधबार सार्वजनिक कार्यक्रममा बोल्दै देउवाले भन्नुभएको छ– ‘एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ । कति कुरा समस्या हुन सक्छन् । समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो । यसमा चिन्ता लिनुपर्दैन । मलाई विश्वास छ, ओलीजी र मैले मिलेर अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ।’ बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पोलिटब्युरो बैठकमा एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने पार्टी नेताहरूलाई आश्वस्त पार्नुभएको छ। सरकारलाई सय दिन पूरा नहुँदै घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न उहाँले नेताहरूलाई निर्देशन नै दिनुभएको छ। ‘कांग्रेस र एमालेबीच भएको सहमति अक्षरशः कार्यान्वयन हुन्छ। यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन’ –उहाँले भन्नुभयो।

शीर्ष नेताको बैठक बस्दै, कार्यादेश टुंग्याउने तयारी

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक आज बिहान बस्न लागिएको हो । शनिबार उक्त विषयमा टुंगोमा नपुगेकाले बैठक आज बस्ने तय गरिएको हो ।  

सुन तस्करीका लागि हङकङमा कार्यालय, यस्ता छन् कार्यालय खोल्ने नागरिक

काठमाडौं । नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करीमा लागेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार हङकङका नेपाली र भारतीय व्यापारीहरूले कार्यालय खोलेर नेपालमा अनुकूल वातावरण तयार पारी सुन पठाउने गरेका छन्। ‘नेपाली र भारतीय व्यापारीहरूको हङकङमा संयुक्त कार्यालय रहेको छ, जहाँबाट सेटिङ मिलाएर मात्रै नेपालमा सुन पठाउने गर्छन्। कुनै बेला सेटिङ भत्कियो भने वा कमिसनमा कुरा मिलेन भने मात्रै सुन बरामद हुने गरेको छ,’ स्रोतले भन्यो। सुन तस्करीका लागि हङकङमा कार्यालय खोल्नेमा अधिकांश भारतीय नागरिक तथा भारतीय मूलका नेपाली व्यापारी छन्। यो नागरिक दैनिकमा आज प्रकासित समाचार हो ।

लोकप्रिय