हेलिकप्टर प्रयोग गरी पर्यटकको उद्वार

हेलिकप्टर प्रयोग गरी पर्यटकको उद्वार

काठमाडौं । हिमाली पदयात्राका क्रममा बिरामी परेका एक पर्यटकलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ । राहदानी नं ३३१६२३२२ इजरायली नागरिक ओेरेन जैव इडेनलाई डानेष्टिक एअरको हेलिकप्टरद्वारा रसुवाको चन्दनबारीबाट उद्धार गरी काठमाडौँ पु¥याइएको हो । हिमाली पदयात्राका क्रममा आइतबार गोसाइँकुण्डमा बिरामी परेका पर्यटकलाई आज बिहान मात्र उद्धार गरिएको चन्दनबारीस्थित होटल रेडपान्डाका ङवाङ फिन्जो तामाङले जानकारी दिए । चन्दनबारीमा उक्त होटलको मात्र हेलिप्याड छ ।

आइतबार उच्च भागमा दिनभर प्रतिकूल मौसमका कारण हेलिकप्टरले गोसाइँकुण्डको अवतरण गर्न नसकेपछि ती पर्यटकलाई स्थानीय होटल व्यवसायी समेतको सहयोगमा साँझ चन्दनबारी ल्याई आज काठमाडौँ पठाइएको बताइएको छ ।उद्धार गरिएका पर्यटकको अहिले काठमाडौँको कालोपुलस्थित स्वागन अस्पताल उपचार भइरहेको डानेष्टिक एअरका उडान प्रबन्धक दावा शेर्पाले बताए ।

दुईजना साथी मिलेर पदयात्रामा हिँडेका ती इजरायली पर्यटकमा शनिबार १४ हजार ३८० मिटरको उच्च भागमा गोसाइँकुण्ड पुगेपछि टाउको दुख्ने समस्या भएको थियो । उपचारपश्चात् ती पर्यटकको शारीरिक अवस्था सामान्य बन्दै गएको बताइएको छ । हिमाली पदयात्राका क्रममा कुनै पर्यटक बिरामी पर्दा वा यात्राको सहजीकरण गर्नु परेमा स्याफ्रुबेँसीस्थित पर्यटन प्रहरी एवं जिल्ला प्रहरी कार्यालयलाई खबर गरी दिन आग्रह गरिएको प्रहरीले जनाएको छ । रासस

यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, आजराति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर २९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।

माओवादी पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे अध्यक्ष निवास खुमलटारमा बस्न लागेको हो ।  पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण सोमबार स्थगित भएको बैठक आज  बस्न लागेको हो ।  बैठकमा पार्टीको  विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् । 

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा शुरु गरिएको छ । अस्पतालले मंसिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा शुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क गर्ने गरी गएको कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गर्नुभएको थियो । अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौं र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्ने गरी पहल सुरु गरेका थिए । बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि पनि निःशुल्क प्रदान गरिने जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०८० चैत १४ गते विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग बालबालिकामा हुने क्यान्सरको उपचारका निम्ति निःशुल्क औषधि प्राप्तिको सम्झौता गरेको थियो । नेपालमा हरेक वर्ष झण्डै १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ ।

उपनिर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज हुँदै

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ । भोलि बुधबार बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय सिमा तोकिएको छ । भोलि नै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उमेदवारी दर्ता भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।

लोकप्रिय