८८ केजी सुन भित्रिदा प्रहरीलाई १० लाख कमिसन !

८८ केजी सुन भित्रिदा प्रहरीलाई १० लाख कमिसन !
काठमाडौं, भदौ २० । रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन् । ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए ।

अाजको नयाँ पत्रिकामा खबर छ– कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा लुकाइएको थिएन, पछाडिको भागमा राखेर ल्याइएको थियो । उनले हरेक साताजसो चीनबाट सुन ल्याउँदै आएका थिए । सोमबार बिहान चालक मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि मात्र उनको शृंखलाबद्ध सुन तस्करीको रहस्य खुलेको हो । महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट तस्करीको ८८ केजी सुन बरामद गरेको हो ।

सुन तस्करीका मुख्य नाइके क्वाङ भने फरार भएका छन् । एकैपटक करिब ४३ करोड रुपैयाँबराबरको सुन बरामद भएकाले यसमा राज्यका विभिन्न निकायलाई प्रभाव पार्न सफल ठूलै गिरोह संलग्न रहेको प्रहरी आशंका छ ।

महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द मुख्य तस्करहरू खोज्न आफूहरूले पक्राउ परेका चालकलाई संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको बताउँछन् । संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म अभियुक्तलाई हिरासतमा राखी कारबाही गर्न सक्छ ।

समूहबीच विवादले खुल्यो राज
आइतबार दिउँसो धेरैवटा प्रहरी कार्यालयले रसुवागढीबाट ठूलो मात्रामा तस्करीको सुन बोकेको गाडी क्षेत्रपाटीमा हुने सुराकी दिएका थिए । स्रोतका अनुसार तस्करीमा संलग्न चिनियाँ गिरोहसँग विवाद भएका नेपालीहरूको अर्काे समूहले प्रहरीलाई सो सुराकी दिएको थियो ।

सोही आधारमा प्रहरी टोली खटिएको थियो । महाशाखाबाट खटिएको टोलीले सुन भएको गाडी नियन्त्रणमा लिन सफल भएको हो । टाटा स्ट्रोम ब्रान्डको गाडीभित्र लुकाइएका ८८ वटा सुनका बिस्कुट प्रहरीले बरामद गरेको थियो । ‘यसबाट अनुमान लगाउन सकिन्छ भने यो तस्करीमा एक–दुईजना मात्र होइन, ठूलै गिरोह आबद्ध भएको हुनुपर्छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका एसएसपी दिवेश लोहनीले भने ।

सुन मालिक फरार 
क्षेत्रपाटीबाट करिब तीन सय मिटर पश्चिमतर्फको सडकछेउबाट महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रजित केसी नेतृत्वको टोलीले सो गाडी नियन्त्रणमा लिई चालक अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीले सो सुन होटेलका मालिकको भएको भन्दै ठमेलको काठमाडौं वान होटेलमा लिएर गएका थिए । त्यहीँ केही व्यक्तिलाई नियन्त्रणमा लिए पनि प्रहरीले सोधपुछपछि छाडिदिएको थियो । मुख्य तस्कर चिनियाँ नागरिक भएको र उनीहरूको खोजी भइरहेको महाशाखाका एसएसपी लोहनीले बताए ।

चिनियाँ नागरिक जिया क्वाङले सो गाडी क्षेत्रपाटीको जेनजोन होटेलबाट ठमेलको काठमाडौं होटेलमा पुर्याउन जिम्मा दिएका थिए । त्यसैका लागि चालक अधिकारी बिहान साढे २ बजे त्यहाँ पुगेका थिए । गाडी कुरेर बसेको वेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिहान ३ बजे सुन बरामद गरेकोमा प्रहरीले ९ बजे मात्र सार्वजनिक गरेको थियो । जसकारण सुन तस्कर भाग्न सफल भएका हुन् । सुन तस्करीमा होटेल वानका सञ्चालक रहेका चिनियाँ दम्पतीसमेत संलग्न रहेको गाडी चालक अधिकारीले प्रहरीलाई बताएका छन् ।

सो गिरोहमा काठमाडौंका सुन पसले तथा भारतीय व्यापारीहरूसमेत संलग्न रहेको प्रहरी आशंका छ । स्रोतका अुनसार सो समूहले ठमेलमा ठूलो मात्रा अवैध डलरको कारोबारसमेत गर्दै आएको छ ।

तस्करीका नाइकेको दुईवटा होटेल 

तस्करीका नाइके चिनियाँ नागरिक जिया क्विङ नै भएको प्रहरीको ठहर छ । उनकी श्रीमती जेन सुहुई र बाबु जान ग्वा पनि नेपालमै बस्दै आएका छन् ।

सुन बरामद भएपछि तीनैजना फरार भएका छन् । आइतबार बेलुका उनीहरू र्याडिसन होटेलमा बसेका थिए । उनीहरूको काठमाडौंमा दुईवटा होटेल छ । क्षेत्रपाटीमा रहेको जिनजोङ होटेल श्रीमतीको नाममा छ । त्यस्तै, काठमाडौं वान होटेल भने अर्काे व्यक्तिलाई जिम्मा दिएर चलाउँदै आएका छन् ।

बिजनेस भिसामा नेपालमा बसेर उनीहरूले सुन तस्करी गर्दै आएको प्रहरी स्रोत बताउँछ । हरेक साता केरुङ जाने गाडी उनी आफैँले चलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

४३ करोडको सुन, प्रहरीलाई १० लाख कमिसन
करिब ४३ करोड रुपैयाँको सुन बरामद गरे पनि प्रहरीले कमिसन भने १० लाख रुपैयाँ मात्र पाउँछन् । विगतमा प्रहरीले बरामद सामानको २५ प्रतिशतसम्म कमिसन पाउने प्रावधान थियो । दुई वर्षअघि अर्थ मन्त्रालयले सुराकीसम्बन्धी प्रावधान परिवर्तन गरी बरामद सामानको १० प्रतिशत कमिसन दिने निर्णय गरेको थियो ।
सुराकीले पनि बढीमा १० लाख रुपैयाँसम्म मात्र कसिमन पाउने भन्सार कार्यालय एयरपोर्टका प्रमुख नारायण सापकोटाले बताए । प्रहरीले पटक–पटक सुन बरामद गरेपछि प्रहरीलाई निष्क्रिय बनाउन एक समूहले त्यससम्बन्धी प्रावधान नै हेरफेर गरी कमिसन घटाउन दबाब दिएको थियो । सोहीअनुसार कसिमन घटाइएको स्रोत बताउँछ ।

‘यस्तो सुराकीमा एकदमै खतरा हुन्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘सानोतिनो पैसाका लागि मान्छेले सुराकी गर्दैनन्, जसकारण तस्करलाई फाइदा भइरहेको छ ।’ सिआइबीले चार वर्षअघि बरामद गरेको ३५ किलो सुनको सुराकीको कमिसनमा विवाद भएको भन्दै कमिसन घटाइएको थियो । अर्थ मन्त्रालयले परिपत्रमार्फत कमिसन घटाएको हो ।

सयपटक तस्करी हुन्छ, एकपटक समातिन्छ 
सिआइबीले गत बुधबार २१ किलो सुनसहित सातजनालाई पक्राउ गरेको थियो । सिन्धुपाल्चोकका पेम्बादोर्जे शेर्पासहित सातजनाले केरुङ नाकाबाटै २१ किलो सुन ल्याएका थिए । जसमध्ये सात केजी बिक्री गरिसकेका थिए ।

त्यसअघि पनि आफूले एकपटक रसुवागढी नाकाबाट सुन ल्याएको उनले बताएका छन् । तीन साताअघि नुवाकोटमा आठ किलो सुन बरामद भएको थियो । तीन सातामै एक सय २० किलो सुन तस्करी भएको प्रहरीको अनुसन्धानबाट प्रस्ट हु्न्छ ।

तस्करहरूबीच नै विवाद हु“दा मात्र प्रहरीले सुराकी पाएर सुन बरामद गर्ने गरेको छ । ‘प्रहरीले बरामद गर्ने भनेको बढीमा १० प्रतिशत हो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘अहिलेको ट्रेन्ड हेर्दा दैनिक ठूलो परिमाणमा रसुवागढी नाकाबाट सुन भित्रिएको अनुमान लगाउँदा गाह्रो हुँदैन ।

यसका साथै विमानस्थलबाट समेत पटक–पटक सुन तस्करी हुँदै आएको छ । एक किलो सुन तस्करीबाट ल्याउँदा करिब पाँच लाख नाफा हुन्छ । एक किलो सुनमा भन्सार शुल्क चार लाख ५० हजार रुपैयाँ छ । त्यसबाहेक हुन्डी र डलरको कारोबार पनि त्यसैबाट मिलाइने भएकाले थप नाफा हुने गरेको हो ।

देशभरिका सुन पसलमा तस्करीको सुन 
ठूलो परिमाणमा आएको सुन धेरैजसो भारत जाने गरेको छ । सिआइबीले गत साता पक्राउ गरेकोमध्ये केही सुन भारत पुगिसकेको खुलेको थियो । भारतमा पनि सरकारले सुन आयातमा कडाइ गरेकाले नेपालबाट तस्करी हुने गरेको थियो । यस्तो तस्करीमा तीन देशका गिरोह सक्रिय रहेको सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्की बताउँछन् ।

सुन तस्करीमा चिनियाँ, नेपाली र भारतीय नागरिक संलग्न रहेको प्रहरीको भनाइ छ । जसमा नेपालमै सुन पसल सञ्चालन गर्ने व्यवसायीसमेत आबद्ध छन् ।

तस्करीको केही सुन नेपालकै सुन पसलमा समेत जाने गरेको सूचना आफूहरूले पाएको डिआइजी कार्की बताउँछन् । बैंकबाट किन्न समस्या रहेको र तस्करीको सुन सस्तो पनि भएकाले देशभरिका सुन पसलमा तस्करीको सुन पुग्ने गरेको छ । गत पुसमा प्रहरीले बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा काठमाडौंका ठूला सुन पसलको संलग्नता देखिएको थियो ।

प्रहरीका ठूला सुन अप्रेसन 
१. ८८ केजी
१९ भदौ २०७४ मा महानगरीय अपराध महाशाखाद्वारा काठमाडौं क्षेत्रपाटीबाट ८८ केजीसहित एकजना पक्राउ ।
२. ३५ केजी
२५ असार २०७० मा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ३५ किलो सुन कोटेश्वरमा बरामद । सुनसहित गाडी चालक निमाछिरिङ तामाङ र सुनका मालिकद्वय मोहन अग्रवाल र ग्याम्जो लामा पक्राउ ।
३. ३३ केजी
२० पुस २०७३ मा सिआइबीले विमानस्थलबाटै तस्करीको ३३ किलो ५७७ ग्राम सुन बरामद गर्यो । जसमा प्रहरीकै एसएसपी तथा भन्सार कर्मचारीसमेत पक्राउ ।
४. २३ केजी
२९ मंसिर २०७१ मा भक्तपुरको जगातीमा २३ केजी सुनसहित कन्टेनर चालक बुद्धिबहादुर श्रेष्ठ पक्राउ ।
५. १८ केजी
१७ वैशाख २०७३ मा तातोपानी नाका हुँदै तस्करी गरेर ल्याइएको १८ केजी सुनसहित सिन्धुपाल्चोकको बाह्रबिसेमा तीनजना पक्राउ । -नयाँपित्रकाबाट

रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयले भन्यो– मनगढन्ते धारणा, अराजनैतिक प्रचार

काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उहाँको मनगढन्ते धारणा भएको बताउनुभएको छ । ‘हिजो विहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भन्नुभएको छ– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’ पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भन्नुभएको छ– ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’

श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै के भने ? (सम्बोधनको पूर्ण पाठ)

काठमाडौं । श्रीलङ्कामा निर्वाचनबाट कम्युनिष्ट नेता अनुरा कुमारा दिसानायकेले चुनाव जितेपछि अहिले संसारभरि र अझ बढी दक्षिण एशियामा यसलाई चासोका साथ हेरिएको छ । उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै कतिपय महत्वपूर्ण घोषणा गर्नुभएको छ । नेपालीहरुका लागि पनि चासोको विषय हुने भएकाले उहाँको सम्बोधनको पूर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ । "हाम्रो देशको प्रजातन्त्रको प्रमुख विशेषता भनेको जनताले शासन गर्नका लागि शासकलाई चुनिन्छन्। तर प्रजातन्त्रको मतलब केवल मतदान गरेर शासक छान्नु मात्र होइन। यद्यपि यो प्रजातन्त्रको आधारभूत पक्ष हो, हाम्रो देशमा प्रजातन्त्रलाई बलियो बनाउन हामीले शासनका सम्बन्धित संस्थाहरू र कानूनी संरचनाहरूलाई सुदृढ गर्नुपर्छ। त्यसैले, मैले सबैभन्दा पहिला जनतालाई जानकारी दिन चाहन्छु कि मेरो कार्यकालभरि म यस देशको प्रजातन्त्रप्रति मेरो पूर्ण प्रतिबद्धता देखाउनेछु। त्यस्तै, हाम्रो देशमा निर्वाचनपछि प्रजातान्त्रिक तरिकाले सत्ता हस्तान्तरण गर्ने इतिहास छ। कुनै नेताले कहिल्यै निर्वाचनको परिणाम अस्वीकार गरेका छैनन्। यसै सन्दर्भमा, म पूर्व राष्ट्रपति रणिल विक्रमसिंहेलाई जनताको जनादेश स्वीकार गरेर सत्ता हस्तान्तरणको उदाहरण प्रस्तुत गरेकोमा धन्यवाद दिन चाहन्छु। हामीलाई थाहा छ कि हामीलाई एक कठिन चुनौतीको सामना गर्नुपर्दैछ। हाम्रो देशको राजनीति यसभन्दा सफा हुन आवश्यक छ। जनताले अपेक्षा गरेको स्वस्थ राजनीतिक संस्कारको निर्माण आवश्यक छ। हामी त्यसमा आफूलाई समर्पित गर्न तयार छौं। अहिले नागरिकहरूले राजनीतिज्ञ र राजनीतिप्रतिको नकारात्मक धारणालाई बदल्नुपर्छ। धेरै मानिसले राजनीति उपयुक्त छैन भन्ने धारणा राखेका छन्। त्यसकारण, हामी जनताको विश्वास र सम्मान कायम गर्न राजनीति र राजनीतिज्ञहरूलाई सकारात्मक रूपमा अगाडि बढाउन हाम्रो पूर्ण प्रयास गर्नेछौं। हामीलाई थाहा छ, अहिलेको गम्भीर संकटलाई केवल सरकार, कुनै पार्टी, वा कुनै एक व्यक्तिले समाधान गर्न सक्दैन। मैले पहिले पनि भनेको छु कि म कुनै जादुगर होइन, म एक साधारण नागरिक हुँ। म केही गर्न सक्छु, र केही गर्न सक्दिन। म केही कुरा जान्छु, केही कुरा जान्दिनँ। तर मेरो मुख्य जिम्मेवारी भनेको आफूमा भएका क्षमता र ज्ञानलाई एकत्रित गरेर सही निर्णय गर्न र त्यसअनुसार काम गर्न हो। त्यसकारण, यो संकट समाधान गर्न सबै नागरिक र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको जिम्मेवारी हो। म सबैको समर्थनको अपेक्षा गर्दछु। म बुझ्दछु कि राष्ट्रपतिको रूपमा यो कार्यलाई नेतृत्व दिन मेरो प्रमुख जिम्मेवारी हो। म यो चुनौती पार गर्नका लागि मलाई दिइएको जिम्मेवारी पूरा गर्नेमा पूर्ण प्रतिबद्ध छु। यसका साथै, हाम्रो देशलाई अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता छ। हामी हाम्रो परराष्ट्र नीतिलाई हाम्रो हितमा अघि बढाउँछौं, चाहे विश्वमा शक्ति विभाजन जे जस्तो भए पनि। हामी संसारबाट अलग बस्न चाहँदैनौं, बरु विश्वसँग मिलेर अगाडि बढ्न चाहन्छौं। यसका लागि आवश्यक निर्णय गर्न हामी तयार छौं। उद्यमी र उद्योगपतिहरूले हाम्रो देशको विकासमा ठूलो भूमिका खेल्न सक्छन्, र हामी सरकारको विकास योजनामा उनीहरूको सहयोगको अपेक्षा गर्छौं। अन्त्यमा, म भन्न चाहन्छु कि म लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित राष्ट्रपति हुँ। जनताले मलाई समर्थन गरेर मतदान गरेका छन्, तर केही मतहरू मलाई दिइएन। त्यसैले हामी जितको संरचना र परिमाण राम्रोसँग बुझ्छौं। म यो सुनिश्चित गर्न चाहन्छु कि मेरो कार्यकालमा हामी सबैको विश्वास जित्न सकौं, चाहे उनीहरूले पहिले हामीलाई मतदान गरेका होऊन् वा होइनन्। भविष्यमा यसलाई सबैले अनुभव गर्नेछन्। म सबैको समर्थनको अपेक्षा गर्दछु।" स्रोतः जेभिपीको आधिकारिक अनलाइन

त्रिविमा २०५८ पछिका परीक्षार्थीले एकपटक जाँच दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछिका वार्षिक प्रणाली अन्तरगतका परीक्षार्थीहरुले एक पटकका लागि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ । त्यसैगरी सेमेष्टर प्रणाली अन्तरगत ०६९ देखि समयसीमा कटेका परीक्षाथीहरुले पनि मौका परीक्षा दिन पाउने सूचनामा उल्लेख गरिएको छ । सोमबार बसेको त्रिवि परीक्षा सुधार समितिको बैठकले यस्तो निर्णय गरेको त्रिभुवन विश्व विद्यालय शिक्षाध्यक्षको कार्यालयले जनाएको छ । बैठकपछि जारी सूचनामा भनिएको छ,‘त्रिवि अन्तरगतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून शंकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका विद्यार्थीहरुको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ सालदेखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरुका लागि एक पटकका लागि मौका परीक्षाको अवसर दिने व्यहोरा सूचित गरिन्छ ।’ त्यसैगरी त्रिविले जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गरिने जनाएको छ । हेर्नुहोस् सूचना 

संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरु गम्भीर नभएको बताउनुभएको छ । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।’ वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको पनि उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– ‘काग्रेस एमालेका नेताहरुले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो, जनतालाई पनि लुकाएर राखियो तर जनताले सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीजीले संसदमा पढेर त सुनाउनुभयो तर त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन ।’ कथा र बहाना नभई एजेण्डाका हिसाबले अघि सार्ने हो भने संविधान संशोधन आवश्यक रहेको तर त्योभन्दा अघि कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । ‘सबैभन्दा पहिले कार्यान्वयन गर्नतिर जोड दिनुपर्छ र कार्यान्वयनमा समस्या आए, कुन कुन विषयमा फेर्नुपर्ने हो, त्यसको निर्क्योल गरेर मात्रै संविधानको समीक्षा गर्न सकिन्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर संविधान जसरी पनि कार्यान्वयन गर्नेतिर होइन, कमजोर बनाउनेतिर राजनीतिक नेतृत्वको माइन्डसेट बनेको छ । संविधान बनाउँदा माओवादी एजेण्डा स्वीकार गरिदिएको रुपमा लिएका नेताहरुले अहिले कार्यान्वयनमा पनि इमान्दारिता देखाएका छैनन् । कार्यान्वयन नगर्ने तर संशोधन मात्रै भनेर औचित्यपूर्ण हुँदैन ।’ संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन ठूला दलहरुको सहयोग नपाएको स्मरण गराउँदै उहाँले संघीय निजामति ऐन संसदसम्म पुर्याउन १८ महिना लागेको,  बल्लतल्ला पुर्याउँदा पनि त्यसलाई पारित गर्न तत्परता नदेखाएको र प्रहरी समायोजन ऐन बन्दा पनि कार्यान्वयनमा लैजान आनाकानी गरिरहेको बताउनुभयो । उहाँले यो संविधान शान्ति सम्झौताको अंग भएकाले संशोधनको चर्चा गर्दा शान्ति सम्झौताको पक्षमा पनि विचार गर्नुपर्ने बताउनुभयो । अहिलेको भन्दा अन्तरिम संविधान बढी प्रगतिशील रहेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘किनकि अन्तरिम संविधान माओवादीको रापतापमा बनेको थियो । माओवादीलाई कमजोर नबनाई संविधान बनाउँदा अन्तरिम संविधानभन्दा प्रगतिशील बन्ने डरले पहिलो संविधानसभा तुहाइयो ।’ दोस्रो संविधासनभाबाट पनि नबन्ने अवस्था रहेकोमा भूकम्पका कारण मुलुकमा संकट सिर्जना भएपछि भूकम्पको पुनर्निर्माण र जनतलाई राहत दिने अनि संविधान निर्माणमा बिपक्षी नभई आफूले सत्तापक्षकै जस्तो भूमिकामा निर्माण गरेको स्मरण पनि उहाँले गराउनुभयो । संविधान निर्माण गर्दा आन्तरिक र बाह्य दुबै हिसाबले आफूले जोखिम मोलेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हाम्रै एकथरि साथीहरु अब क्रान्तिकारी संविधान नबन्ने भयो भनेर पार्टी विभाजन गरेर निस्कनुभयो । तर मैले शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले त्यसरी भाग्न मिल्दैन्थ्यो । ठूलो जोखिम मोलेर भए पनि शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंगोमा पुर्याएरै छाडें ।’ यसरी शान्ति प्रक्रियाको एउटा विशिष्ठ अंगको रुपमा रहेको संविधान संशोधनको बहस गर्दा शान्ति प्रक्रियाको एउटा पक्षसँग सरोकार नराखिएकाले संविधान संशोधनको चर्चामा गम्भीरता नदेखिएको उहाँले दोहोर्याउनुभयो । अब संविधान संशोधनमा जानुपर्ने अवस्था आयो भने विभिन्न समुदायले पाएको समानुपातिक समावेशी अधिकार नखोस्ने गरी राजनीतिक स्थायित्व र भ्रष्टाचार अन्त्यका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नतिर जोड गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँले स्पष्ट गर्नुभयो । ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले समाजमा रहेका विज्ञहरुबाट मन्त्री बनाउने र सांसदहरु मन्त्री बन्ने होइन, ऐन कानुन बनाउनतिर लाग्ने गरी बहस अघि बढाउनुपर्छ’– उहाँले भन्नुभयो– ‘करोडौं खर्च गरेर सांसद बन्ने, सांसद बनेपछि मन्त्री बन्नैपर्ने र मन्त्री बनेपछि चुनाव खर्च उठाउन लाग्ने अहिलेको पाराले अब अघि बढ्न सकिदैन । राजनीतिक भ्रष्टाचारको जग निर्वाचन प्रणाली भएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।’ तर, संविधान संशोधनको बहस संवेदनशील भएर धेरै सोचेर मात्र अघि बढ्नुपर्ने उहाँको धारणा छ । अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘संविधान संशोधन गम्भीर र संवेदनशील विषय हो । पन्डोराको बाकस खोलेजस्तो पनि हुनसक्छ । अहिलेसम्म भएको प्रणाली भत्कने र अराजकता निम्तने खतरा आयो भने मुलुक नयाँ द्वन्द्वको भुमरीमा फस्ने खतरा छ । यसमा बढी नै ध्यान दिनुपर्छ ।’ संविधान निर्माणको मुख्य पहलकर्ता र शान्ति सम्झौताको एक हस्ताक्षरकर्ताको हैसियतले संविधानलाई बढी सर्वस्वीकार्य बनाउन पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।      

लोकप्रिय